
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको बताएका छन् ।
‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनुलाई नेपाली जनताले चासोको रूपमा हेरेका छन्,’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले विपद्मा सरकार रमिता हेरेर बसिरहेको आरोप लगाए ।
‘रोम जलिरहेको अवस्थामा राजाले बाँसुरी बजाएर बसेको’ कथनजस्तै ‘घोर’ अल्पमतमा परेको प्रचण्ड सरकारले पनि बाँसुरी बजाइरहेको उनले टिप्पणी गरे । “सरकार यस्तो पनि हुँदो रै’छ कहिले कहिले, गीत गाएर बसेको छ । बरु, उडायो सबै सपना हुरीले गीत गाएको भए हुने नि ,” उनले भने ।
सांसद गैरेले आफू अल्पमतमा परेको थाहा हुँदाहुँदै प्रधानमन्त्री प्रचण्ड ‘धारापानी र संविधानमा प्वाल खोज्दै हिँडेको’ आरोप लगाए । प्रधानमन्त्रीले ‘अस्थिरता, बेथिति र विभाजनतर्फ देशलाई लैजान प्रयत्न गर्दै सदनमा पनि सोहीअनुरूप तर्क–वितर्क भइरहेको’ उनले उल्लेख गरे ।
हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेले समर्थन फिर्ता लिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा २, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।
एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए । राजीनामा दिदै दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न थपलियाले मुख्यमन्त्रीलाई सचेत पनि गराएका छन ।
अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । विश्वासको मत लिने दलको बैठकले निर्णय गरे पनि मिति भने नतोकिएको उनले जानकारी दिए ।
नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी छ ।
कास्की : अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा क्षिरेश्वरनाथ गाउँपालिका-१० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका-११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारत बिहार प्रदेश सितामणी डुमरा थाना सुरसड पक्ष्मी-१ सुरसड गाउँ घर भइ कास्की पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन् ।
उनीहरूले असार १७ गते बिहान तनहुँ म्याग्दे गाउँपालिका-४ थर्पुबाट नाबालिकालाई ललाई फकाई ग.८ प ४२८० नम्बरको मोटरसाइकलमा राखी कास्की पोखरा महानगरपालिका-११ रानीपौवा स्थित उनीहरूको कोठामा बन्धक बनाई सामुहिक रूपमा जबरजस्ती करणी गरी पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा महानगरपालिका-३० पावरहाउसबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरू उपर कास्की जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दामा ८ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । भक्तपुरको पलाँसेबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ४ घर भइ हाल काठमाडौँको आरुबारी बस्ने २४ वर्षीय लाक्पा काजी शेर्पालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बागमती प्रदेश(०२(०४८ प ९५ ४७ नम्बरको स्कुटर काठमाडौँको गोंगवुबाट हराएको भनि अजय तामाङले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । खोजतलासका क्रममा उक्त स्कुटर सहित शेर्पालाई आज अपरान्ह ४ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि शेपालाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता श्रेष्ठले सम्पूर्णमा अनुरोध समेत गरे ।
टोरन्टो । चर्चित अमेरिकी अभिनेता तथा रेस्लर जोन सिनाले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लूडब्लूई) बाट औपचारिक रूपमा संन्यासको घोषणा गरेको छ । क्याडनाको टोरन्टोमा आयोजित ‘मनी इन द बैंक’ कार्यक्रमकाबीच सिनाले दर्शकसामु यस्तो घोषणा गरेको हो ।
सिनाले सन् २०२५ मा अन्तिम प्रतियोगितामा भाग लिने समेत जानकारी दिए । ४७ वर्षीय जोन सन् २००१ मा डब्लूडब्लूईमा आबद्ध भएको थियो । उनी इतिहासकै सबैभन्दा लोकप्रिय रेस्लरमध्ये एक हुन् । जोनले १६ पटक डब्लूडब्लूईको वर्ल्ड च्याम्पियनसिप जितेको छ । सिनाले सन् २०२५ मा आयोजना हुने रेसलमेनिया नै आफ्नो अन्तिम प्रतियोगिता हुन सक्ने सङ्केत गरेको हो । उनको घोषणापछि टोरन्टोका दर्शकले ‘धन्यवाद सिना’ भन्दै नारा लगाएका थिए ।
डब्लूडब्लूईबाहेक सिनाले हलिउडका चलचित्रहरू पनि खेलेको छ । सन् २००६ मा द मरिनमार्फत उनले अभिनयमा डेब्यू गरेको थियो । त्यसपछि उनले ट्रेनरेक (२०१५), द सुसाइड स्क्वाड (२०२१), फास्ट एन्ड फ्युरियस ९ (२०२१) का साथै डीसी सुपरहिरो टिभी सिरिज पिस मेकरमा पनि काम गरेको छ ।
चलचित्रमा अभिनय गर्न थालेपछि उनले सन् २०१८ यता डब्लूडब्लूईमा पार्ट टाइम मात्र काम गर्दै आइरहेका थिए । एजेन्सी
काठमाडौं: अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ४८ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी जम्मा ५४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी ७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा १ सय २१ घर डुबानमा परेका छन् । ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार ५८ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।
काठमाडौँ । यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिनुभयो ।
“सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्”, रिजालले भन्नुभयो, “कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यसवर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन । तर भोलि रातीदेखि बजेट भुक्तानी हुँदैन ।”
सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले भोलिसम्ममा चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उहाँले बताउनुभयो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।
दमौली । तनहुँमा पहिरोमा परि बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा खसेको पहिरोमा तीन जना बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक जनाको शव शनिबार नै फेला परेको थियो भने आइतबार बिहान थप दुई जनाको शव फेला परेको हो ।
पहिरोमा परेर ज्यान गुमाउनेमा ४० वर्षीय हिरा नेपाली, ३७ बर्षिय अनिशा बास्तोला र ६५ बर्षिय श्याम भण्डारी रहेका छन् । तीनै जनाको शव जिपी कोइराला श्वासप्रस्वास उपचार केन्द्रमा राखिएको प्रहरीले बताएको छ । सो पहिरोमा पाँच जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशका इन्चार्ज र सचिवहरुलाई केन्द्रिय समिति सदस्यको ड्राफ्ट तयार गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
आईतवारको केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले यस्तो बताएका हुन् । उनले बैठकले यसअघि कायम प्रदेश इन्चार्जहरुलाई सोही स्थानमा रहेर काम गर्न दिने निर्णय भएको बताए । उनले जिम्मेवारीअन्तर्गत केही
दिनभित्र प्राप्त ड्राफ्टलाई केन्द्रिय कमिटीले निर्णय गरेर सदस्य पूरा गर्ने बताए । उनले बढीमा १० दिनभित्रमा केन्द्रिय कमिटी सदस्यको टुंगो लगाउने बताए ।
उनले भने, ‘बैठकले पूर्णता दिनका लागि प्रदेशका यस भन्दा पहिला इन्चार्ज भएकाहरुलाई यथावत गरेका छौँ, अन्तरिम व्यवस्थाका लागि । प्रदेशका इन्चार्ज र सचिवहरुसहित र यो केन्द्रिय कमिटीमा भएका सदस्यहरुसहित परामर्शमा प्रदेश र जिल्लाबाट क्लस्टर मिलाइ आवश्यक व्यवस्था गर्न केन्द्रिय सदस्यहरुमा मनोनयन गर्ने ड्राफ्ट तयार गर्नका निम्ति जिम्मेवारी प्रदान गरिएको छ । बढीमा १० दिनभित्रमा हामी यो काम सम्पन्न गरी कमिटीलाई पूर्णता प्रदान गर्नेछौँ ।’
पार्टीले जनतालाई सर्वसम्मत नेतृत्व चयन गरेको सन्देश दिने बताए ।





