
कास्की । कास्कीको पोखरामा रोकिराखेको रोलर मेसिनमा आगलागी भएको छ। गएराति पौने १ बजेतिर पोखरा महानगरपालिका ८ जनप्रिय स्कुल पछाडी प्रतिभा मार्गमा प्रतिभा मार्ग सडक निर्माणको लागि पार्किङ गरी राखेको रोलरमा आगोलागी भएको हो ।
सिम्रन कन्ट्रक्सन प्रालि महतगौडाको जेसीबी रोलर मेशिनमा अचानक आगोलागीभएको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको थियो।
स्थानीय र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा राति साढे एक बजेतिर आगो निभाएको थियो। आगलागीबट रोलरको फलामको भाग बाहेक पुर्ण रुपमा क्षेती जलेको छ। आगलागीका कारण नखुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वशन्तकुमार शर्माले बताए।
करोडौं रुपैयाँ खर्चेर बनाइएका गण्डकी प्रदेशका चार विमानस्थल प्रयोगविहीन बनेका छन्।
मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन्। लामो समयदेखि बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्र लगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने/नचल्ने कुनै टुङ्गो छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा दश करोड, पालुङटारमा सात करोड, बलेवामा १२ करोड र ढोरपाटन विमास्थलमा दुई करोड रुपैयाँ खर्च भएको छ। मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन।
प्राधिकरणले २०६९ सालमा नौ करोड खर्चेर हुम्डेमा धावनमार्ग कालोपत्र गरेको थियो। धावनमार्ग कालोपत्र भएपछि २०७६ भदौमा समिट एअरको विमानले परीक्षण उडान भरेको थियो। परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासी अहिले भने निराश छन्।
लाखौं रकम खर्चेका हुम्डे विमानस्थल परीक्षण उडानमै सीमित रहेकामा सदरमुकाम चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले गुनासो गरे। “२०३९ सालदेखि २०६८ सम्म विमानस्थल नियमित चल्यो, अहिले बन्द अवस्थामा छ। लगानी गरिसकेपछि त्यसको उपयोग त गर्नुपर्छ नि,” उनले भने।
मनाङ पुग्ने अधिकांश पर्यटक पदयात्रामार्फत तिलिचो ताल र थोरङ भञ्ज्याङ हुँदै मुस्ताङतर्फ जाने गरेका छन्। मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवतजावत गर्ने गरेको लामाले बताए। २०६९ सालमा मनाङ सदरमुकाम चामेमा सडक पुगेको थियो। सडक यातायातको सुविधापछि विमान चढ्ने यात्रु घटेको अनुमान गरिएको छ।
बागलुङ नगरपालिका-१४ स्थित बलेवा विमानस्थल पनि नियमित उडानका लागि तयारी अवस्थामा छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि आठ करोड २४ लाख रुपैयाँ खर्चेर धावनमार्ग कालोपत्र गरेको थियो। २०२२ सालमा बनेको यो विमानस्थल पोखरा-बागलुङ सडक बनेपछि २०४८ सालमा बन्द भएको थियो।
२६ वर्षपछि २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन। केही महीनापछि विमानस्थलमा उडान बन्द बन्द गरियो।
त्योवेला नेपाल एअरलाइन्स र तारा एअरलाइन्सको ट्विनअटर विमानले साताको दुई दिन उडान भर्थे। १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार बेहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो। पछि यात्रु पनि घटेर नगरपालिकालाई आर्थिक बोझ थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो।
विमान कम्पनीले शुरूमै बागलुङ-काठमाडौँको भाडादर ६ हजार ५०० तोकेपछि यात्रुले महँगो भएको गुनासो गरेका थिए। विमानस्थल पुग्ने सडक स्तरहीन हुनु र धावनमार्ग कालोपत्र नहुँदा पनि विमान सेवा नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण थियो। अहिले धावनमार्ग कालोपत्र गरिएको भए पनि विमानस्थल बन्द छ भने अब कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुङ्गो छैन।
त्यस्तै, गोरखाको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने योजना अलपत्र परेको बताए। “पालुङटार विमानस्थललाई हवाई तालिम केन्द्र या अन्य कुनै प्रयोजनमा लगाउनु उपयुक्त देखिन्छ, तत्कालै विमानस्थल सञ्चालनमा आउने सम्भावना देखिन्न,” उनले भने, “काठमाडौँ र पोखरा जोड्ने राजमार्गको स्तरोन्नति हुँदा यस क्षेत्रमा यातायात सेवा नै बढी प्रभावकारी हुने देखिन्छ।”
२०१८ सालमा सञ्चालनमा आएको पालुङटार विमानस्थल २०३५ सालमा बन्द भएकार मेयर चिन्तनले बताए। काठमाडौँ-पोखरा जोड्ने पृथ्वी राजमार्ग बनेपछि यो विमानस्थल बन्द हुन पुगेको उनको भनाइ छ। विमानस्थल सञ्चालनका लागि धावनमार्ग, घेराबारलगायत पूर्वाधारका काममा सरकारले करोडौँ लगानी गरे पनि सञ्चालनमा आउन सकेको छैन।
देशको एकमात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन उपत्यकाको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ। विमानस्थलको धावनमार्ग गौचरणमा परिणत भएको छ। बर्सेनि वन्यजन्तु सिकारका लागि विदेशी हेलिकोप्टरमार्फत ढोरपाटन पुग्ने गरेका छन्। सडक यातायात पुगेपछि पर्यटकको आवागमन सहज बनेको छ।
काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन शाह र वडा अध्यक्षहरु बीच विवाद बढिरहेको छ । मेयर बालेनले अगाडी सारेका कैयौं काममा वडा अध्यक्षले विरोध शुरु गरेपछि यसको असर नगर सभामा समेत देखिएको छ ।
मेयर बालेन्ले शुक्रबार एक स्ट्याटस लेख्दै कांग्रेस-एमालेका जनप्रतिनिधिले नगर सभा बैठक रोकेको आरोप लगाएका छन् ।
उनले कांग्रेस-एमालेका जनप्रतिनिधिले विपी र मदन भण्डारीको नाममा करोडौको कार्यक्रम गर्न भनेको उल्लेख गर्दै आफुले त्यसको बदला चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।
काठमाडौँ । काठमाडौँ महानगरले कक्षा ११ मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ ।
काठमाडौँ महानगरले आज एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि हुने परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्रबारे प्रस्ट पार्दै माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुने जानकारी समेत दिएको छ ।
असार १५ गतेबाट अनलाइनमार्फत आवेदन दिन सकिने पनि महानगरले जानकारी दिएको छ । असार २९ गते शनिबारसम्म आएका आवेदनलाई सदर गरिने र परीक्षा सञ्चालन साउन ४ गते हुने सूचनामा उल्लेख छ ।

बागलुङ । लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ । नेपाली सेनाको आर्थिक तथा श्रमदानबाट जीर्णोद्धार गरी कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको हो ।
शक्तिशाली राज्य सञ्चालन भएको ऐतिहासिक स्थलको रुपमा रहेको गलकोटको कोतघर नेपाली सेनाको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी गलकोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
गलकोट–३ स्थित उक्त कोतघर बाइसेचौबिसे राज्यका पालाको इतिहासका रुपमा रहेको भन्दै सेनाले सामाजिक कार्यअन्तर्गत पुनःनिर्माण गरी बिहीबार पालिकालाई हस्तान्तरण गरेको २३ नम्बर बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले बताउनुभयो ।
नेपाली सेनाको श्रीमेहर गण, घोडाबाँधे बागलुङले दु्रतप्रभाव योजनाअन्तर्गत नागरिकसँग सेनाको भूमिका बढाउनका लागि गलकोटस्थित कोतघर पुनःनिर्माण गरी हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।
सहायक रथी पौडेलले पुनःनिर्मित कोतघरलाई गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि सहायक रथी पौडेलले सेनाले विद्यालय भवन मर्मत, नागरिकमैत्री हेलिप्याड निर्माण, कोतघर जीर्णोद्धारलगायत सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको बताउनुभयो । बाइसेचौबिसे पालाको राज्यशक्ति सञ्चालन र हतियार भण्डारण थलको रुपमा रहेको कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको उहाँको भनाइ छ ।
लामो समयदेखि कोतघरको जीर्णोद्धार नहुँदा पानी चुहिने, अन्य भौतिक संरचना भत्किन थालेपछि नगरपालिकासँगको समन्वय, सेनाको आर्थिक तथा जनशक्ति व्यवस्थापनमा कोतघरलाई पुरानै मौलिक शैलीमा जीर्णोद्धार सम्पन्न गरिएको नगरप्रमुख गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानै शैलीमा नयाँ काठको प्रयोग, परम्परागत रुपमा रहेका आँखी झ्याल, खोपेर बनाइएको ढोका र छाना छाइएको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुनःनिर्माण गरी ढुङ्गाले छाइएको थियो ।
त्यसयता गलकोट नगरपालिकाले मर्मत सम्भार गर्दै आए पनि भत्काएर पुनःनिर्माण भने गर्न सकेको थिएन । “बाहिरबाट रङ्गरोगन गरेर सामान्य मर्मत सम्भार गरेपनि जीर्णोद्धार गर्न नसक्दा भित्रि काठ कुहिँएको रहेछ, ढुङ्गाको छाना चुहिएर कोतघर जीर्ण भनेको थियो । नगरपालिकाले डिपिआर बनाएर कोतघरको पुनःनिर्माण गर्ने तथा यस क्षेत्रको विकास गर्ने योजना अघि बढाएको थियो”, नगरप्रमुख गैरेले भन्नुभयो, “नगरपालिकाको योजनामा सेनाले आर्थिक तथा श्रमदान गरी जीर्णोद्धार सम्पन्न गर्दा कोतघर चिटिक्क परेको छ ।”
नगरपालिकाले हातहतियार प्रतिस्थापन, साजसज्जा, घेराबार, पदमार्ग, खानेपानी र शौचालयलगायत संरचना बनाइसकेको छ । सेनाको श्रीमेहर गणले रु नौ लाख आर्थिक तथा रु तीन लाख बराबरको श्रमदानमा जीर्णोद्धार गरी पालिकाको जिम्मा लगाएको प्रमुख सेनानी धनबहादुर रानाले जानकारी दिनुभयो ।
कोतघरको बृहत् जीणोद्धारका लागि नगरपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अन्तर्गत पश्चिम पृतनाको बजेटमा कोतघर पुनःनिर्माण गरिएको उहाँको भनाइ छ । गत वैशाख २३ गतेदेखि पुनःनिर्माण थालेको सेनाले यही असार ७ गते सम्पन्न गरेको थियो । पुनःनिर्माणमा सेनाका झण्डै ३० जना जनशक्ति दैनिक रुपमा परिचालन भएपछि छिटो काम सम्पन्न भएको हो ।
ऐतिहासिक र पुरातात्विक महत्व झल्काउने गरी कोतघरको जीर्णोद्धारले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने नगरप्रमुख गैरेले बताउनुभयो । उहाँका अनुसार कोतघरमा टँुडाल, झ्याल तथा ढोका पोखराबाट झिकाएर प्रयोग गरिएकाले थप आर्कषित भएका छन् । ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नेगरी पालिकाले रु ५० लाख बढीको पूर्वाधार निर्माण गरिसकेको छ ।
उक्त कोतघरबाट दुई सय १३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य सञ्चालन गरेका स्थानीयको भनाइ छ । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाललगायत संरचना निर्माण गरिएको थियो ।
कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि यहाँ छ । राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भइसकेका छन् । स्थानीयका अनुसार यहाँ झिँगटीले छाएको भूइँतले दरबार थियो । दरबारको जगमा अहिले पनि इँटामा अवशेष भेटिने गरेको छ । साथै विसं २०४० मा कोतघरको पुनःनिर्माण गरिएको थियो ।
अहिलेको गलकोट नगरपालिकाको नामसमेत यही कोतबाट निर्माण भएको इतिहास छ । गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम पछि गलकोटका रुपमा प्रचलित हुँदै गएको हो । कोतघरमा अहिले पनि वडादसैँ र चैतेदसैँमा विशेष पूजा गरिन्छ ।
काठमाडौँ । हिजो घटेको सुनको भाउ आज फेरि बढेको छ । हिजाेकाे तुलनामा एक हजार रुपैयाँले बढेकाे हाे ।
आज सुनकाे भाउ एक हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ४१ हजार आठ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । हिजाे सुन ताेलाकाे एक लाख ४० हजार आठ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी १० रुपैयाँले बढेर ताेलाकाे एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
काठमाडौं । रामेछापको लिखु तामाकोसीमा बस दुर्घटना हुँदा ७ जना घाइते भएको छ । काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस शुक्रबार बिहान लिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडा भन्ने ठाउँमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेकाअनुसार घाइतेमध्ये २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । बसमा २५ जना सवार रहेको थियो ।
घटनाको थप विवरण आउन बाँकी छ ।
काठमाडौं । आज संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई लिएर शीर्ष तीन नेताहरूबीच छलफल भएको छ । बिहीबार साँझ नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।
कानुनमन्त्री पदम गिरीका अनुसार नेताहरूबीच शान्ति प्रक्रियाका सम्बन्धमा बाँकी कामहरूलाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको हो । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका धेरै बुँदामा सहमति भइसकेको बताए ।
नेताहरूबीच सहमति हुन नसकेका विषयलाई चाँडो टुंगोमा पुर्याउन गहिरो गृहकार्य गर्ने समझदारी बनेको छ ।
धेरै बुँदामा सहमति भइसक्यो, तीन–चार बुँदामा सहमति जुटाउन बाँकी छ । खासगरी, मेलमिलापका सन्दर्भमा पीडित पक्षको स्वतन्त्र सहमतिमा टुंग्याउन भनिएको थियो । तर, पीडित पक्षको स्वतन्त्र सहमति नभएको अवस्थामा कसरी जाने भन्ने विषय टुंगिन बाँकी छ । गम्भीर मानव अधिकार र मानव अधिकारका कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने भन्ने विषयमा पनि छलफल हुन बाँकी छ, उनले भने ।
काठमाडौं: विवाहको वहानामा चीन पुर्याई मानव बेचबिखन गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा जाहेरी दिएपश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भयो, चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर चीनमा आउ, विवाह गर्ने केटासँग मेरो चिनजान रहेको छ, केटा धनी र राम्रो छ भनी प्रलोभन देखाई पीडितलाई काठमाडौंको ठमेलमा चिनियाँ केटासँग भेट गराई २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
राईलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सुर्खेत । पहिलो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक ई स्पोर्ट्स संघ नेपाल (ईशान) ले सुर्खेतको विरेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । कर्णाली प्रदेश ई स्पोर्ट्स संघ सह–आयोजक रहेको प्रतियोगिताको अन्तिम खेल शुक्रबार र शनिबार सुर्खेतमा सञ्चालन हुदैछ ।
ईशानका सचिव आशिष दाहालले प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका सम्पुर्ण खेलाडी सुर्खेत आईसकेको बताए । पब्जी मोबाईल, मोबाईल लेजेण्ड्स र ई फुटबल समावेश गरिएको राष्ट्रिय च्याम्पियनसिपको छनोटमा पब्जीमा १ सय ३६ टिम, मोबाईल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १ सय ९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मोबाईल लेजण्ड्स र ई फुटबलको फाइनल शुक्रबार अनलाईनमा हुनेछ भने पब्जी मोबाईलको फाईनल ल्यान ईभेन्ट शुक्रबार र शनिबार सुर्खेतमा हुने सचिव दाहालले बताए ।
कुल पुरस्कार राशी १२ लाख रहेको प्रतियोगितामा पब्जी मोबाईलमा ९ लाख, मोबाईल लेजेण्ड्समा २ लाख र ई फुटबलमा एक लाख रुपैयाँ प्रदान गरिने छ ।
यस वर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारलाई सहयोग पुर्याउने उद्धेश्यले पहिलो राष्ट्रिय प्रतियोगिताका लागि सुर्खेतलाई छनोट गरिएको संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसीले बताए । उनले राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट दशौं राष्ट्रिय खेलकुदमा ई स्पोर्ट्स प्राथमिकतमा पर्ने विश्वास ब्यक्त गरे ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको बताए । कर्णाली प्रदेशमा रहेका ई स्पोर्ट्सका खेलाडीको आकर्षणलाई हेरेर प्रदेशले आयोजनामा सहयोग गरेको बताए । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश ई स्पोर्ट्स संघले सहयोग गरेका छन् ।





