
काठमाडौँ । सत्तासमीकरण दलका तीन शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
स्रोतका अनुसार अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सत्तासमीकरणमा देखिएको असमझदारी मेटाउने विषयमा छलफल हुँदैछ ।
पछिल्लो समयमा बजेटका विषयमा सत्तासमीकरण दल खासगरी एमाले र रास्वपाका नेताहरूले सार्वजनिक रूपमै आलोचना गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो किसिमले बजेट विनियोजन गरेको आरोप लगाएपछि सत्तासमीकरणकै भविष्यमा प्रश्न उठ्न थालेको बेला यस भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेश सभाका सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
‘ह्विप’ उल्लङ्घन गरी देवकोटाले गएको जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए त्यसपछि माओवादी केन्द्रले उनलाई ‘ह्विप’ उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो । कारबाहीबारेको निर्णय जेठ ३२ गते सभामुख कृष्णप्रसाद धितालले गण्डकी प्रदेश सभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए । जेठ २८ गते मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका उनले भोलिपल्ट नै ऊर्जामन्त्रीको सपथ खाएका थिए ।
देवकोटाले आज सर्वोच्चमा दायर गरेको रिटमा आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख धितालले प्रदेश सभामा वाचन गरेको पत्र खारेज गर्न माग गरेका छन्। नेपाल समाजवादी पार्टी (नेसपा) का देवकोटा गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका थिए ।
काठमाडौँ । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमाेदन गरेकाे हाे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह गर्न सकियो भन्ने उद्देश्यले प्रदेश तहमा पनि परिषद्को कार्यालय स्थापना गर्ने कार्य अगाडि बढाएको हो । उक्त कार्यका लागि परिषद्ले सम्भाव्यता अध्ययन टोली समेत खटाएको छ ।
बैठकले परिषद्लाई थप व्यवस्थित गर्नका निम्ति डिजिटलाइजेशनमा लैजाने प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । मन्त्री चौधरीको पहलमा परिषद्को कामकारबाही थप व्यवस्थित गर्न डिजिटलाइजेनशमा लैजान यसअघि परिषद्लाई निर्देशन दिनुभएको थियो ।
साथै बैठकले परिषद्का पदाधिकारीहरूको कार्य विभाजन समेत परिवर्तन गरेको छ । जसअनुसार अध्यक्ष र सदस्यसचिवमा निहित अधिकारहरू उपाध्यक्ष, कोषाध्यक्ष र बोर्डका सदस्यहरूलाई अधिकार प्रत्यायोजन गर्न प्रक्रिया अगाडि बढाएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको गुनासो गरे ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा ११ जना सांसदले भाग लिएपछि प्रधानमन्त्री प्रचण्डले आफूले जवाफ दिएका थिए ।
‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि प्रतिपक्षका पनि सबै नेताहरु, सबै माननीय सदस्यहरु, मन्त्रीहरु इमर्जेन्सीबाहेक सबै माननीयज्यूहरु उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो’, उनले भने, ‘तर अब क्रमशः त्यो पातलिन थालेको छ ।’
संसदमा धेरै सांसद अनुपस्थित हुनुलाई उनले प्रधानमन्त्रीको अवमूल्यन हो कि भन्ने आशंका पनि गरे ।
‘यसले हामीले अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैंलै आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ भन्ने विश्वास सहित बिदा हुन्छु’ प्रचण्डले भने ।
सत्तारुढ गठबन्धनकै प्रमुख घटक नेकपा एमलेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि अनुपस्थित रहे ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्रामसहित महोत्तरी एकडाँडा गाउँपालिका-४ बस्ने २८ वर्षीय राम लोप्चन ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.४ ख१९३४ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २८ वर्षीय अमित चौधरी र २० वर्षीय अमृत हलवाई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय राकेश चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दिया, राजापुर नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्रामसहित बढैयाताल गाउँपालिका-३ भोलागौडी बस्ने २६ वर्षीय करण सिंह सुनारसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोठियाघाट र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले नेपालगंजदेखि राजापुरतर्फ जाँदै गरेको भे.१ ज ११११ नम्बरको गाडीमा उक्त पदार्थ फेला परी गाडी चालक सुनार समेत दुवै जनालाई पक्राउ गरेको हो ।
सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडि बसपार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित लहान नगरपालिका-८ बस्ने किशोरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी सिराहा, मिर्चैया नगरपालिका-६ मटिअर्वास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० मिलिग्रामसहित सोही नगरपालिका-९ सुन्दरपुर बस्ने २५ वर्षीय सुन्दर कुमार महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले कमलदहबाट मटिअर्वातर्फ आउँदै गरेको मधेश प्रदेश-०२-००७ प ८८७८ नम्बरको मोटरसाइकलको बाँया साईडको इन्डिकेटरमा प्लाष्टिकमा बेरी राखिएको अवस्थामा उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक महतोलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर ये हनविङ्गले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।
गृहसचिव एकनारायण अर्यालका निमन्त्रणामा नेपाल भ्रमणमा आएका हनविङ्ग र लामिछानेबीच बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेट भएको हो।
भेटका अवसरमा हनविङ्ग सुरक्षा सम्बन्ध मजबुत बनाउन र द्वीपक्षीय सहकार्य बढाउन सहमत भएको गृहमन्त्रालयले बताएको छ।
भेटका अवसरमा सुरक्षा क्षेत्रमा सामूहिक सहभागीता, विपद जोखिम न्यूनिकरण र पूर्वाधार क्षेत्रकमाथि केन्द्रित वर्षौं पुरानो सम्बन्धमाथि छलफल समेत भएको थियो।
काठमाडौं। पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटा मार्फत पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । विश्व तेक्वान्दोले मंगलबार पत्र पठाइ भरतको सहभागिता निश्चित भएको बताइएको छ ।
भरतले पेरिस पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौलसमूहमा जम्मा १२ खेलाडी रहने छन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन् । वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी ५ खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए ।
दार्चुला अपिहिल गाउँपालिका वडा ८ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहेका छन् । भरतसंग हालसम्म २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।
एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसंग चुकेका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१ औं स्थानमा पुगेका थिए । त्यसअघि उनी वरीयताविहीन थिए । भियतनामा पनि भरतले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोश्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए । भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८ औं स्थानमा उक्लिएको प्रशिक्षक लामाले जनाएका छन् । अहिले पनि भरत ५८ औं स्थानमा कायम छन् ।
पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या २ पुगेको छ । पलेशा गोबर्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट भएकी हुन् । चीनको ताइयानमै भएको एसियाली छनोटको के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् । चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
काठमाडौं : दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताए ।
स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबै भन्दा महत्वपूर्ण हुने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भने, ‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौं हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौं, हाम्रो एकाग्रता, सोंच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजको लागि महत्वपूर्ण हुन्छ । स्वस्थ मानिसकताका साथ आगाडि बढ्न सक्यौं भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।’
गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने चर्चा गर्दै त्यसका लागि शरीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको बताए । संगठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने बताउदै कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने विचार व्यक्त गरे ।

देश र जनाताको सेवामा दिन रात खटिने नेपाल प्रहरीका सदस्यहरूलाई व्यस्त, चुनौतिपूर्ण र कठिन जीवनशैलीमा योग अभ्यासले शारीरिक र मानसिक रूपले थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्याई सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने विचार उनले व्यक्त गरे ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिबृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको विश्वास व्यक्त गरेका थिए । एकै दिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उहाँले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गरे ।
प्रहरी महानिरीक्षक कुँवरले निश्चित आसन, विधि र पद्धतिको अवलम्बनद्वारा गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोंचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्नुका साथै स्वअनुशासन र आध्यात्मिक अनुशासनतर्फ डोर्याउन समेत मद्दत पुग्ने बताए । मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी शारीरिक, मानसिक र आध्यात्मिक अनुभूतिलाई सन्तुलनमा राखी मानव जीवनलाई शान्त, रचानात्मक र उत्पादनमूलक बनाउन योग प्रभावकारी सिद्ध भएको र यसले समाजमा अपराधका घटनाहरू समेत न्यूनिकरण हुने अपेक्षा लिएको उनले बताए ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय एम्पुल, फेनारगन ६ सय एम्पुल, नोफिन ६ सय एम्पुल र नाईट्राभेट ३ हजार ट्याब्लेटसहित काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ बस्ने १९ वर्षीय दिपेश तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ सय ८८ एम्पुल, प्रोमोथाइजिन हाइड्रोक्लोराइड ८ सय ८८ एम्पुल र बुप्रेनोर्फिन ८ सय ८८ एम्पुलसहित नवलपरासी रामनगर नगरपालिका-१ बस्ने २२ वर्षीय प्रितम सहनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले परासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १६८६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रम्हदेवबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रम्हादेवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्रामसहित मोरङ उर्लाबारी नगरपालिका-२ बस्ने २५ वर्षीय शुसिल खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।
रूपन्देही, तिलोत्तमा नगरपालिका-२ योगिकुटी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३५ मिलिग्रामसहित बुटवल उपमहानगरपालिका-११ कालीकानगर बस्ने २८ वर्षीय विजय श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पाटन । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आज सार्वजनिक भएको छ।
महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत आव २०८१/८२ को नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा आगामी वर्षदेखि आवधिक योजनाबमोजिम मध्यमकालीन खर्च संरचना तयार गरी सोहीअनुसार वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्ने व्यवस्था मिलाइने, बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न ‘कार्यक्रम कार्यान्वयन कार्ययोजना’ तथा ‘खरिद योजना’ अनिवार्य तवरले तर्जुमा गरिने, स्वीकृत योजनाको कार्यान्वयन तथा प्रगति सम्बन्धमा त्रैमासिक समीक्षा गर्ने व्यवस्था अनिवार्य तवरले गरिने नीति प्रस्ताव गरिएको छ।
महानगरपालिकाभित्र विगत लामो समयदेखि अधुरा रहेका प्राविधिक, सामाजिक तथा आर्थिक हिसाबले सम्भाव्य नरहेका योजनाको लगत कट्टा गरिनेछ।
सोका लागि पेस्की/आयोजना फछ्र्यौट कार्यदल गठन गरिने र महानगर क्षेत्रभित्र विगत आव २०७४/७५ देखि २०७९/८० सम्म सम्झौता भई सञ्चालन भएका तर विविध कारणले सम्पन्न हुन नसकेका र प्रचलित कार्यविधिबमोजिम म्याद थप हुन नसक्ने आयोजनाको हकमा सम्बन्धित उपभोक्ता समितिबाट मूल्याङ्कन गरी फछ्र्यौटका लागि निवेदन पेस हुन आएमा उक्त आयोजना जेजस्तो अवस्थामा छ सोही अवस्थामा मूल्याङ्कन गरी फछ्र्यौट गरिने नीति महानगरले तय गरेको छ।
बढ्दो सवारी चापको व्यवस्थापन तथा पैदलयात्रीको सहजताका लागि ललितपुर चक्रपथ खण्ड र अन्य उपयुक्त स्थानमा आकाशे पुल निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने र धुलोरहित सडक व्यवस्थापनका लागि नख्खु खोला तथा अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइने विषयलाई नीति तथा कार्यक्रममा पनि समेटिएको छ।
महानगरको नीति तथा कार्यक्रममा टिपरलगायत मालवाहक सवारी साधनको आवागमन करिडोर ९नख्खु, बागमती०बाट मात्र सञ्चालन गर्न सम्बन्धित निकायमा समन्वय गरिनेछ। ठैव, हरिसिद्धि, धापाखेललगायत आवासीय क्षेत्रबाट टिपर चलाउन नपाउने गरी समन्वय गरिने विषयलाई पनि कार्यक्रममा समेटिएको छ।
महानगर क्षेत्रभित्र रहेका शिल्पकला, काष्ठकला, धातुकला, प्रस्थरकलासँग सम्बन्धित श्रमिकको लगत ‘श्रम बैङ्क’का रुपमा तयार गरी सम्पदा संरक्षणका आयोजनामा परिचालन गर्ने व्यवस्था मिलाइने र पुरातात्विक संरचना, देवालय, शिवालय, मठ, मन्दिर, विहारमा प्रयोग हुने काठ, ढुङ्गा, माटो एवं धातुबाट तयार गर्नुपर्ने विभिन्न कलात्मक वस्तुको प्रदर्शनी कक्ष स्थापना गरिने विषयलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।





