
काठमाडौँ । नवलपरासी पश्चिम र मोरङबाट अवैध लागु औषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-२ घोडाहास्थित सडकबाट अवैध लागु औषध जस्तो देखिने खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलाटारी र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ एवाई ५४५० नम्बरको मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको रंगेली नगरपालिका-४ बाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय भुवनेश्वर प्रसाद साह र सोही नगरपालिका-९ बस्ने २५ वर्षीय सागर यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय रंगेली र लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कर्णाली। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटमाथि छलफल सुरु भएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आज बसेको १२औँ बैठकमा भाग लिँदै राजस्व र व्ययको वार्षिक अनुमानित बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेसँगै छलफल सुरु भएको हो ।
छलफलको प्रारम्भमा भाग लिँदै प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीवविक्रम शाहले कर्णाली प्रदेशले आफ्नो आन्तरिक राजस्व वृद्धिमा ध्यान नदिई परनिर्भरतातर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।
“हाम्रो प्रदेशमा जडीबुटी, जलस्रोत, हिमाल, परम्परागत बाली, सभ्यता, संस्कृति, कृषि र पर्यटनको उच्च सम्भावना हुँदाहुँदै किन हामी कमजोर शैलीबाट प्रस्तुत हुँदैछौँ रु”, उहाँले भन्नुभयो, “यसमा सरकारले आत्मनिर्भर आर्थिक विकासमा ध्यान दिनुपर्छ ।” बजेट विनियोजन प्रक्रिया दुर्गममैत्री नभएको भन्दै उहाँले राजधानी केन्द्रित बजेट विनियोजन प्रणालीले गलत संस्कारलाई प्रश्रय दिने बताउनुभयो ।
सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य मङ्गलबहादुर शाहीले बजेट विनियोजन विभेदकारी भएको टिप्पणी गर्नुभयो । उहाँले कालीकोट, जुम्ला र मुगु जिल्ला गरी कूल बजेट रु २० करोड ६५ लाख हुँदा वीरेन्द्रनगर नगरपालिकाको रु २४ करोड ५६ लाख हुने गरी वितरण गर्ने प्रणाली असन्तुलित र अन्यायपूर्ण भएको बताउनुभयो । यसलाई तुरुन्त सच्च्याउनुपर्ने अन्यथा त्यसको विरोधमा उठ्ने सदस्यले शाहीले चेतावनी दिनुभयो ।
सत्तासाझेदार नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेत टेकराज पछाइले बजेट सारमा सकारात्मक र जनमुखी आएको र त्यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य सर्त हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य कल्याणी खड्काले महिला, बालबालिका, दलित, हिंसा पीडितको न्याय, सुशासन र मानव अधिकारको प्रवद्र्धन हुने गरी बजेटलाई अन्तिम रुप दिनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा प्रदेशसभा सदस्यहरु जानकी सिंह, भीमप्रकाश शर्मा, तुलसा मल्ल, कृष्णबहादुर बिसी, उर्मिला विश्वकर्मा, खड्गबहादुर पोखरेल, सुरेश अधिकारी, देवेन्द्रबहादुर शाही र बलिमाया बुढालगायतले बैठकमा आफ्ना धारणा राख्नुभएको थियो ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन्। मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन्।
‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो। रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु। तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ। तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ (पोडियम)मा राख्छु मैले’, उनले भने, ‘यो मेरो मनको मात्र कुरा होइन, संसद् बैठकमा बसेका जुनसुकै पार्टीका ४ वटा निर्वाचन क्षेत्रबाहेकका सबै प्रतिनिधिसभाका सदस्यहरूको मनको कुरा हो।’
अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमाथि अहिले संसद्मा मन्त्रालयगत छलफल भइरहेको छ। छलफलपछि असार ७ गते बजेट पारित गर्ने तालिका छ। प्रतिपक्षीमात्र होइन, सत्ता पक्षकै सांसदहरुले पनि बजेटको आलोचना गरिरहेका छन्।
काठमाडौँ । स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको चाँदी आज रु १५ ले बढेर रु एक हजार आठ सय १५ मा कायम भएको छ ।
महासङ्घका अनुसार छापावाल सुनको मूल्य मङ्गलबारका लागि प्रतितोला रु एक लाख ४२ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४१ हजार पाँच सय कायम छ ।
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानलाई निलम्बन गर्नु पर्ने माग गर्दै दर्ता भएकोे रिटमा आज सुनुवाइ हुँदैछ ।
अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
सो रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ ।
अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै रिट दायर गरेका थिए ।
रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको छ ।
रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ ।
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । राष्ट्रपति पुटिनले करिब २४ वर्षपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । यसअघि सन् २००० मा पुटिन प्योङयाङ पुगेका थिए ।
दक्षिण कोरियाली समाचार संस्था योन्हाप न्युज एजेन्सीले उत्तर कोरियाली पुटिनको स्वागतका लागि भव्य तयारी गरेको जनाएको छ । दक्षिण कोरियाली अधिकारीहरूले स्याटेलाइटबाट लिइएको तस्बिरका आधारमा पुटिनको स्वागतका लागि प्योङयाङमा तयारी चलिरहेको समेत दाबी गरेका छन् । पुटिन मंगलबार नै उत्तर कोरिया जाने पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
यसअघि गत सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ रुस भ्रमणमा गएका थिए । पुटिनको भ्रमणबारे क्रेमलिनले भने औपचारिक रूपमा जानकारी गराएको छैन । तर रुसी सञ्चारमाध्यमले भने पुटिन भियतनाम र उत्तर कोरियाको भ्रमणमा निस्कने सम्भावना रहेको भन्दै समाचार लेखेका छन् । अमेरिकाले भने उत्तर कोरिया र रुसबीचको बढ्दो घनिष्ठ सम्बन्ध चिन्ताजनक रहेको बताएको छ । रुसी सञ्चारमाध्यमहरूले भने पुटिन ‘मैत्रीपूर्ण राजकीय भ्रमण’मा उत्तर कोरिया जाने बताएका छन् । प्योङयाङ भ्रमणको पूर्वसन्ध्यामा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग मिलेर विभिन्न देशहरूले लगाएको नाकाबन्दी प्रतिरोध गर्ने बताएका छन् ।
गुल्मी । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उहाँ बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्नुहुन्छ । उहाँले भन्नुभयो, “अब घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु । २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेको छु । जग्गामा किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेको छु । रसियन कम्फे विशेषगरी बङ्गुर र कुखुराको आहाराका लागि प्रयोग हुने गर्दछ । अन्य घाँस पनि गाईभैँसीलाई फाइबर, प्रोटिन र भिटामिनयुक्त रहेका छन् । यसका कारण गाईभैँसीलाई दान कम दिएर पनि दूध बढी उत्पादन हुने गर्दछ । ”
गत वर्षदेखि बिरुवा बिक्री गर्न सुरु गर्नुभएका उहाँले हालसम्म रु १० लाख ५० हजारभन्दा बढीको बिरुवा बिक्री गर्नुभएको छ । उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटबल, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुमपश्चिम, रोल्पा, दाङ, हेटौँडा, मोरङलगायत स्थानमा बिक्री हुने गर्दछ । अधिकांश बिरुवा उहाँले अनलाइन मागका आधारमा पठाउने गर्नुभएको छ । प्रतिबिरुवा रु दुईदेखि ५० सम्मका बिरुवा उहाँसँग छन् । अहिलेको वर्षायाममा बिक्री गर्नका लागि उहाँसँग रु ४० लाख बराबरका घाँसका बिरुवा रहेको छ । उहाँले गत वर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँसखेती विस्तार गर्नुभएको छ ।
मासिक ८२ हजारको जागिर छाडेर आएँ
खत्रीले १३ वर्ष दुबईको कम्पनीमा काम गर्नुभयो । उहाँले भन्नुभयो “दुबईमा मेरो मासिक रु ८२ हजार आम्दानी हुन्थ्यो । प्रत्येक शुक्रबार र शनिबार विभिन्न ठाउँमा घाँसखेती र बाख्रापालन गरेको ठाउँमा घुम्न जान्थे । त्यही देखेर गाउँमा घाँसखेती गर्न मन लाग्यो ।”
रु सात लाखबाट सुरु गरेको घाँसखेती व्यवसाय अहिले झण्डै रु ४० लाखको भएको छ । अहिले घाँसका साथसाथै होलिस्टिन जातका तीन गाई र तीन भैँसी पनि पाल्नुभएको छ । साथै एक सय ३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गर्नुभएको छ । अबको केही समयपछि बाख्रापालन गर्ने सोच बनाएको खत्रीले बताउनुभयो । “घाँसलाई मल चाहिन्छ, त्यो बाख्रा, गाईभैँसीबाट प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “गाईबाख्रालाई आवश्यक घाँस आफ्नै बारीमा उत्पादन हुन्छ ।”
व्यवसायका लागि उहाँले श्रीमतीका साथ पाइरहनुभएको छ । “विदेशको पैसाभन्दा यहाँको दुःख धेरै प्यारो छ”, खत्रीले भन्नुभयो, “अब विदेश नजाने गरी व्यवसाय सुरु गरेको हुँ ।” उहाँले अन्य युवाहरूलाई स्वदेशमा प्रशस्त सम्भावना रहेको भन्दै गाउँमै कर्म गर्न सुझाव दिनुभयो ।
घाँखखेती गर्नका लागि उहाँले कतैबाट पनि अनुदान लिनुभएको छैन । “अनुदानले मानिसलाई परनिर्भर गराउँछ”, उहाँ भन्न्नुहुन्छ, “ सरकारले अनुदान बाँड्ने होइन, बजारीकरणमा सहयोग गर्ने हो ।” जग्गाको भाडामात्र वार्षिक रु एक लाख बुझाउने उहाँले प्रत्येक वर्ष एक हजार पाँच सयले रोजगार पाएको बताउनुभयो । मदाने –३ का वडाध्यक्ष चेतबहादुर सेनले आफूहरू खत्रीकोजस्तै व्यावसायिक किसानलाई प्रोत्साहन गर्न लागिपरेको बताउनुभयो ।
भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा बल्ल करिब २५ प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।
विसं २०७९ पुस २४ गते निर्माण कम्पनीले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारका लागि सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले सडक विस्तारका क्रममा रहेका अस्थायी घरटहरा र संरचना भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम सम्पन्न भएको जानकारी दिए ।
सडक मापदण्डभित्र परेका केही स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुगेको जनाउँदै उनले बीचबीचमा काम छाड्दै अगाडि बढ्नुपरेको छ भने । उनले स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको जनाउँदै अहिलेसम्म क्षतिपूर्ति दिनेबारेमा निर्णय नहुँदा पनि समस्या भइरहेको जानकारी दिए ।
आयोजना प्रमुख दासले भने, “वर्षा लागिसक्यो, महत्त्वपूर्ण काम छिटो सम्पन्न गर्ने भनेर दिनरात नभनी काम गरिरहेका छौँ, सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ ।
छिटोभन्दा छिटो सूर्यविनायक र त्यसमाथिका तीनवटा कलभर्ट सञ्चालन गर्ने तयारी गरेका छौँ, कलभर्ट सञ्चालनमा आएपछि सवारी आवागमनमा समस्या हुँदैन ।” सडक निर्माणका क्रममा ठूलो घुम्ती, तल ठूलो भिर भएकाले साँगामा निकै समस्या परिरहेको उनले बताए ।
आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा यस वर्ष सरकारले रु ५४ करोड अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ । यस्तो अवस्थामा काम गर्न गाह्रो, मजदुर थप्न समस्या, सामान खरिदमा समस्या हुने भएकाले पनि काममा ढिलाइ हुन गएको छ । सरकारले सम्झौताअनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सक्ने आयोजनाको दाबी छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूर्यविनायकबाट साँगासम्मका अस्थायी संरचना, घरटहरा हटाउने काम सम्पन्न भइरहेको जानकारी दिए । उनले सूर्यविनायक नगरपालिकाको समन्वयमा अस्थायी संरचना हटाउने काम भइसकेको र स्थायी संरचना हटाउन भने प्रतिवेदन र मूल्याङ्कनको प्रतिक्षामा रहेको बताए ।
स्थायी टहरा हटाउनेबारेमा जिम्मेवार निकायबाट प्रतिवेदन आउने, त्यस्ता संरचनाको मूल्याङ्कनसहितको मुआब्जा दिनेबारेमा निर्णय आएर प्रक्रिया अगाडि बढेपछि स्थायी संरचना पनि हटाइने उनले जानकारी दिए । प्रजिअ श्रेष्ठले भने, “यो सडकखण्डमा अस्थायी संरचना, घरटहरा ५३ थियो, त्यो हटाएका छौँ । अब सडकमा ७८ वटा स्थायी संरचना छन्, त्यो हटाउन मूल्याङ्कनसहितको प्रतिवेदन आउन बाँकी छ, सडक विभागमा फाइल छ, हटाउनुपर्ने स्थायी संरचनाको मुआब्जा दिनु अगाडि २०७२ सालको भूकम्पमा ती घरले राहत लिएका छन् कि छैनन् भनेर बुझ्ने काम पुनःनिर्माण प्राधिकरणबाट भइरहेको जानकारी पाएका छौँ । मुआब्जा निर्धारणमा ढिलाइ हुँदा त्यस्ता स्थायी संरचना हटाउन ढिलाइ भइरहेको छ ।”
जिल्ला प्रशासन कार्यालयले त्यसका लागि पनि सहजीकरण गरिरहेको जनाउँदै उनले अहिले बजेट न्यून आएकाले सडक विस्तार सुस्ताएको जानकारी पाएको बताए । जेठमा पानी पर्दा केही काम रोकिएको, सडकको डिपिआरमै नभएको चौबाटोमा समेत थप काम गर्नुपर्ने भएकाले डिपिआर नै संशोधनको तयारी भइरहेको प्रजिअ श्रेष्ठले बताए ।
विद्युत् प्राधिकरणले सडकमा परेका पोल नसारिदिँदा काममा थप समस्या आएको जनाउँदै उनले प्रशासनबाट पोल सारदिन समन्वय गरिरहेको बताए । सडकमा करिब २० वटाभन्दा बढी पोल रहेको तर प्राधिकरणले पोल सार्न आउँछौँ भनेर पटकपटक भनेर पनि नआएकाले ताकेता गरिरहेको उनले बताए । उनले वर्षा सुरु भइसकेकाले दुईतर्फी सडक आवागमनमा समस्या नहोस् भनेर मुख्य काम छिटो सम्पन्न गर्नुपर्ने बताए ।
बागमती प्रदेशसभा सदस्य किरण थापाले बर्खा लागिसकेकाले जगातीबाट साँगासम्मको सडकखण्डअन्तर्गतका अप्ठ्यारो काम तत्कालै सम्पन्न गर्न आयोजना र सरकारले ध्यान जानुपर्छ भने ।
उनले भने, “नगरपालिका र स्थानीयबाट समस्या आउँदैन, आएका समस्या हामी सुल्झाउँछौँ, तर सरकारले बजेट नपठाएपछि आयोजनाको काम सुस्ताएको छ, बर्खा लागिसक्यो अप्ठ्यारा ठाउँमा काम नसके समस्या आउँछ, त्यसैले छिटो काम गर्नु आवश्यक छ ।”
यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ । यसका लागि प्रतिमिटर १५ लाख लाग्ने अनुमान गरिएको छ ।
साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने छ ।
विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गर्यो । यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए ।
सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने छ । यो सडकमा हाल कोटेश्वरबाट लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ ।
सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन् ।
अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बाढीेले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जानकारी दिनुभयो ।
त्यस्तै, गए राति झापा –३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ । उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आलगीबाट करिब रु २० हजार बराबरको क्षति भएको जनाइएको छ ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले निर्वाचन हुन बाँकी रहेका राष्ट्रिय खेल संघको निर्वाचन सम्भव तुल्याइ छाड्ने बताएका छन् ।
एथलेटिक्स परिवार नेपालको आयोजनामा सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘म परिषद्मा आउँदा २ सय भन्दा बढीको हारीहारीमा राष्ट्रिय खेल संघ थिए । निर्वाचन कुन चराको नाम हो जस्तो थियो । अहिले ६१ राष्ट्रिय खेल संघ कायम गरिएको छ । ४३ वटाको निर्वाचन भएको छ । बाँकीको निर्वाचन हुन सकेको छैन । तिनि भित्र एथलेटिक्स संघ पनि परेको छ । म यहाँहरुलाई के विश्वास दिलाउन चाहन्छु भने एथलेटिक्स संघको निर्वाचन प्रक्रिया पनि छिट्टै आरम्भ हुनेछ ।’
सदस्य–सचिव घिसिङले भने– ‘सामान्तय परिषद्ले कुनैपनि संघमा हस्तक्षेपकारी कदम चालेको छैन । मैले संघहरुलाई व्यवस्थित बनाउनका निम्ति ध्यानाकर्षण गराउने काम भने गरेको छु । त्यसलाई हस्तक्षेप मान्नु भएन । एउटा विधिमा हिडाउनका निमित्त मात्र कोसिश गराएको हुँ । त्यो एउटा सत्प्रयासबीचमा ४३ वटा संघको निर्वाचन हुँदो रहेछ भने बाँकी संघको पनि निर्वाचन सम्भव तुल्याइ छाड्ने छु ।’





