
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा प्वाल परेको कारण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले हाल अन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द रहेको बताएका छन् ।
प्वाल परेको भागलाई टालेपछि मात्रै उडान अवतरण हुने भएकोले आवश्यक मर्मतका लागि विमानस्थलबाट हुने उडान अवतरण बन्द गरिएको हो । करिब १० मिनेटदेखि धावनमार्ग मर्मत भइरहेको उनले बताए ।
अबको १० मिनेटपछि मर्मत सकिएर नियमित सुचारु हुने निरौलाको भनाइ छ ।
यसअघि पनि जेठ ११ गते धावनमार्गको कोटेश्वर (०.२) भागको पीचमा प्वाल परेपछि ४५ मिनेट उडान रोकिएको थियो ।
सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका-४ विस्टारमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
विरामी हुनेहरूमा तीनपाटन गाउँपालिका-४ विस्टारका वर्ष ६७ का केशर बहादुर भुजेल, वर्ष ५३ का पूर्णमाया भुजेल, वर्ष ३८ का घनश्याम भुजेल, वर्ष २१ का किरण भुजेल र वर्ष २० की नानीमाया समाल रहेका छन् ।
बिहीबार विहान जंगली विषालु च्याउ पकाएर खाँदा परिवारका पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले जनाकारी दिए ।
च्याउ खाएकाहरूमा वाकवाकी लाग्ने, बान्ता आउनेलगायतका समस्या देखिएको छ। विरामी पाँचै जनलाई प्राथमिक स्वास्थ्य केन्द्र लाम्पान्टारमा उपचारका लागि लगिएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न निर्देशन दिएको छ । महानगर क्षेत्रमा सञ्चालित अधिकांश अस्पतालले आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र अनिवार्यरुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको महानगरपालिकाको स्वास्थ्य विभागका निमित्त विभागीय प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “महानगरभित्र सञ्चालित अधिकांश अस्पतालको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिलाई फार्मेसी सञ्चालन गर्न दिँदा उपभोक्त गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधिजन्य सामग्री बिक्री भइरहेको भन्ने गुनासो बढेपछि आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिइएको हो ।” रासस
जनकपुर । धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ ।
जिल्लाका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा गरिएको आँप खेतीबाट चालु आर्थिक वर्षमा २३ हजार एक सय मेट्रिकटन आँप उत्पादन भएको एक तथ्याङ्कले जनाएको छ । विभिन्न प्रजातीका २३ करोड १० लाख मूल्य बराबरको आँप उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार यस जिल्लामा चार हजार हेक्टर जमिनमा आँपको रुख रहेकामा दुई हजार तीन सय हेक्टर जमिनमा उपरोक्त परिमाणमा आँप उत्पादन भएको जनाइएको छ ।
गत आर्थिक वर्षमा पनि किसानले सोही अनुपातमा आँपको खेती गरेको थियो । एक वर्ष आँप फल्ने र अर्को वर्ष आँप नफल्ने प्राकृतिक कारणले गत वर्ष आँपको उत्पादन अत्यन्त कम भएको थियो । त्यस कारण आँपको उत्पादन कम हुँदा महँगो भएको तथा भारतीय बजारबाट आयात गर्नुपर्ने बाध्यता रहेको थियो । यस वर्ष आँपको रुखमा लटरम्म फल लागेकाले व्यापारी किसानको आँप बगँैचामा गएर आँपको ठेक्का लिने गरेका छन् ।
जिल्लामा करिब ७५ प्रतिशत किसान आँपको खेती गर्ने गरेका छन् भने २५ प्रतिशत किसान आफूलाई खानका लागि खेत तथा बारीमा आँपको रुख लगाउने गरेको सो केन्द्रको कार्यालयले जनाएको छ । धनुषामा आँपले व्यावसायीक रुप लिएपछि उत्पादन भएको आँपको कारोबारमा साना तथा ठूला करिब १० हजार व्यापारीले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् । यस पटक हुरी, असिना, पानी र झरी नआएकाले आँपलाई क्षति नभएको हो ।
जिल्लामा वटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका र धनुषधाम नगरपालिका लगायतका स्थानमा व्यावसायिकरुपमा आँप खेती भइरहेको छ । यहाँ उत्पादित आँप हेटौँडा, बुटवल, नारायणघाट तथा काठमाडौँलगायतका अन्य सहर तथा भारतीय बजारमा समेत बिक्री हुने गरेको छ । ज्ञानकेन्द्रले आँप उत्पादन गर्ने किसानलाई समय-समयमा प्राविधिक सहयोग, सल्लाह, कीटनाशक औषधिलगायत सहयोग गर्ने गरेको केन्द्रका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिनुभयो ।
किसानले आँप खेती गरी बढी आर्थिक लाभ लिन थालेपछि जिल्लामा रहेका नर्सरीबाट आँपको बिरुवा बिक्रीसमेत अत्यधिक बढ्न थालेको छ । यहाँका किसानले मालदह, बम्बई, दशहरी, कलकतिया, वैशाली, आम्रपाली, नकुअवा लगायतका आँप खेती गर्ने गरेको केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तादेखि हालसम्म नेपाल-भारत सीमा भिटामोडबाट ६८ लाख मूल्य बराबरको एक लाख १४ हजार तीन सय २१ किलो आँप जनकपुर आयात भएको पलान्ट क्वारेन्टाइन कार्यालय भिटामोडका प्रमुख किशोर यादवले बताउनुभयो । रासस
कास्की। प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनिले तपस्या गरेको ऐतिहासिक स्थल शीतल गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गरी प्रचारप्रसार गर्न स्थानीयवासीले माग गरेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-५ सल्यानस्थित झोवाङमा अवस्थित शीलत गुफाले ऐतिहासिक महत्व राखे पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुनासो स्थानीयवासीको छ । ऐतिहासिक शीतल गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिका र ट्रेकिङ्ग एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान) गण्डकीद्वारा बुधबार गुफा परिसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले त्यस्तो गुनासो गरेका हुन् ।
बैज्ञ नामका ऋषिमुनि बस्ने ओढारको नामले परिचित एक सय मिटर लम्बाइ रहेको उक्त शीतल गुफा अवलोकनका गर्न दैनिक स्वदेशी तथा विदेशी पर्यटक आउने गरे पनि प्रचार प्रसारको अभावमा प्रयाप्त मात्रामा पयर्टक आउन नसकेको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका संस्थापक अध्यक्ष सदाखर पौडेलले बताउनुभयो । समुद्र सतहदेखि एक हजार एक सय मिटर उचाइमा अवस्थित यस गुफामा पोखरादेखि ४० किलोमिटरको दूरीमा रहेको र यातायातको साधनबाट सजिलै गुफा पुग्न सकिन्छ ।
गुफामा बालाचतुर्दशी, शिवरात्रि र साउनमा पर्ने बोलबममा भक्तजनको घुइँचो लाग्ने जानकारी संस्थापक अध्यक्ष पौडेलले दिनुभयो । परापूर्वकालमा ऋषिमुनिहरु हिमालय पर्वतमाला गई तपस्या गरी ज्ञान प्राप्त गर्ने क्रममा बैज्ञनामका ऋषिमुनि उक्त गुफामा बसेर विभिन्न महामारी रोगको जडीबुटी बैद्यविधिबाट आयुर्वेदिक उपचार गर्ने गरेको कुरा जनश्रुतिमा पाइएको जानकारी पौडेलले दिनुभयो । गुफाभित्र भेटिएका अनाज, तामाका गाग्री, तामा पाथी, पित्तलका थाल लगायतका भाँडावर्तन अझै छन् ।
वि.सं.२०३७ देखि ओढारलाई गुफाको रुप दिई प्रचारप्रसार गर्दै आइएको छ । उक्त ओढारललाई स्थानीयवासी तथा शिक्षक केदारनाथ शर्माले शीतल गुफाको नामले परिचित गराउनुभएको थियो । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त शीतल गुफालाई व्यवस्थित धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले व्यक्त गर्नुभयो । गुफा क्षेत्रको भौतिक विकास तथा संरक्षणका लागि पछिल्लो पाँच वर्षमा सरकारी तथा निजी क्षेत्रबाट दुई करोड खर्च भइसकेको जानकारी अध्यक्ष केसीले दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको प्रमुख पर्यटकीय धरोहर मानिँदै आएको उक्त गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गर्न आफूले यसै आर्थिक वर्षमा बजेट छुट्याउने जानकारी अध्यक्ष केसीले दिनुभयो । गुफाको अध्ययन अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकका यातायातका साधनलाई व्यवस्थित पार्किङ स्थल, ढुङ्गाका चट्टानमा सिसाको पुल, पर्यटकका लागि प्रतीक्षालय, गुफामा जानका लागि व्यवस्थित ढुङ्गाका सिँढी र गुफाभित्रको भागलाई संरक्षण गर्ने काम गर्ने प्रतिबद्धता केसीले व्यक्त गर्नुभयो ।
शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष प्रमोदकुमार पोखरेलले गुफाको चौतफी विकास गर्न गुफा परिसर्मा १०८ पिपल वृक्षको वृक्षरोपण, एक सय आठ शालिग्राम व्यस्थापन, हिमालय कैलाश पर्वतको स्वरुप निर्माण, गुरुकुल शिक्षालयको स्थापना, ज्येष्ठ नागरिक केन्द्र, वृद्धाश्रम निर्माण, पिङ, उद्यन, वाटिका निर्माण, साहसी खेल रक क्लाइम्बिङ खेलको लागि गन्तव्य निर्माण, अन्नपूर्ण पौवा निर्माण, सङ्ग्रहालय स्थापनाका साथै गाउँमा होमस्टे (घरबास) को विकास गर्ने छ ।
गण्डकी प्रदेशको पर्यटकीय धार्मिक स्थल मुक्तिनाथ मन्दिर, म्याग्दीको घोडेपानी, कास्कीको घान्द्रुक र वीरेठाँटी, र पर्वतको पर्यटकीय गाउँ चित्रे जाने बाटोको उद्गमस्थलमा अवस्थित शीतल गुफालाई धार्मिक पर्यटकीय हवको रुपमा विकास गर्न जरुरी रहेको भनाइ अध्यक्ष पोखरेलको छ । एक सय आठ धारा, गणेश मन्दिर, शिव मन्दिर अन्य मठमन्दिरको दर्शन गर्दै गुफा प्रवेश गर्न सकिन्छ । दुईतले उक्त गुफाभित्र पानीका छहरा, विभिन्न देवीदेवताका अवतारको आकृति, वाद्यवादन, गौमाता , बूढानीलकण्ठको शयन दृश्य, रामलक्ष्मण वनबास दृश्य, विघ्नहर्ता गणेश भगवानस्वरुप, चमेराको वासस्थान गुफाभित्र देख्न सकिन्छ । रासस
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेगावाट विद्युत थप गर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले दुई वर्षभित्रमा एक हजार मेगावाट विद्युत सोलारबाट थप गर्ने बताएका हुन्।
उनले सो सम्झौता राष्ट्रको हितमा भएको भन्दै राष्ट्रको हितमा नै काम गर्दै जाने बताए। बस्नेतले भने, ‘आगामी दुई वर्षभित्र सोलारबाट नै हामीले एकहजार मेगावाट विद्युत थप गर्नेछौँ। आगामी वर्षमा हामीले जलवायुबाट ४५ सय पुर्याउने भनेका छौँ। यो राष्ट्रको अहितमा छैन। सजगताका साथ कार्यान्वयन हुन्छ। राष्ट्रको हितमा हेरिन्छ।’
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभा बैठकबाट अनुमोदन भएको छ।
काठमाडौं ।अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ६६ टिमको सहभागिता रहने एआईएका प्रबन्ध निर्देशक विष्णु अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा २६ र जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहने छ । खेल लिग कम नकआउट आधारमा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने एआईएका प्रिन्सिपल खगेश्वरी गिरीले जनाएका छन् । तीनदिने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।
जनकपुर । मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा जनमत पार्टीले सतिशकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव विपी साहले जानकारी दिए ।
मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादीको सहमति रहेको उनले जानकारी दिए ।
प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक छ । यस गठबन्धनलाई ५५ सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको सचिव साहले बताए ।
काठमाडौं। गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ।
सडक निर्माण कम्पनीले सडकको ‘ग्रेड’ उच्च रहेको र चौडाइ कम भएका स्थानमा ‘ब्रेकर’ प्रयोग गरी ‘ब्याक कटिङ’ र ‘ग्रेड डाउन’ गर्न लागिएको जनाउँदै ती दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सो सडकखण्ड बन्द हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा आज यहाँ जारी सूचनामा सडक निर्माणको ठेक्का प्राप्त कम्पनीको आग्रहमा सडक बन्द गरेर सडक विस्तार एवं स्तरोन्नति गर्न लागिएको हो।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले गत माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न रु आठ करोड विनियोजन गरेको थियो। सो मार्गअन्तर्गत सेतो पहरो क्षेत्र उच्च दुर्घटनाग्रस्त मानिएको छ । गत पुुस २८ गते सेतो पहरो क्षेत्रमा कार दुर्घटना हुँदा पाँचजनाको अकालमा मृत्यु भएको थियो।
काठमाडौँ । गायक शाहिल लिम्बुको सुङ्गुरको मासुमा पल्केर बोलको नया गितको म्युजिक भिडियो सार्बजनिक भएको छ।
शहिललाइ सम्झना योङ्गहाङ ले फिमेल भोकलमा साथ दिईएकि छन् । शाइल लिम्बुकै सब्द/ सङ्गीत रहेको गितलाइ विषम आचार्यले एरेङ गरेका छन् भने राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। G media Connection को प्रस्तुती मा बनेको गितको म्युजिक भिडियो को निर्देशन हाङ चेम्जोङले गरेका छन्।
नेपाली गित सङ्गितलाइ माया गर्दै g media connection ले विभिन्न म्युजिक भिडियो,फिल्म,टेलि सिरियल आदि निर्माण गर्दै आएको छ। दिनेश माङ्मु लिम्बुको कोरियोग्राफी रहेको भिडियोलाइ भुपेन्द्र थापा मगरले छायान्कन गरेका हुने भने अनिल रानाले सम्पदान गरेका छन् । पुर्बेली रमाइलो गितको भिडियोमा धिरेन शाक्य र बिपना आङ्बुहाङ को अभिनय रहेको छ। हाङ बारेको निर्माणमा बनेको उक्त म्युजिक भिडियोलाइ G media Connection को युटुब च्यानलमा हेर्न सकिन्छ ।





