
एजेन्सी । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले जुन ८ मा शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)ले लोकसभा निर्वाचनमा २९३ सिट ल्याएको थियो । एनडीएले मोदीलाई गठबन्धनको नेता चयन गरेको छ । मोदीले तेस्रोपटक प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्न सक्ने बताइएको छ ।
शपथ ग्रहण समारोहलाई भव्य बनाउने तयारी भइरहेको छ । सो समारोहमा विदेशी अतिथिहरूलाई पनि बोलाइने छ । बङ्गलादेश, भुटान, श्रीलङ्का र मरिशस लगायत देशका शीर्ष नेता आउन सक्ने भन्दै अमर उजालाले समाचार छापेको छ । औपचारिक निम्तो भने बिहीबार पठाइने तयारी गरिएको छ । यसअघि विश्वभरका ७५ नेताले मोदीलाई बधाई दिएका थिए ।
कूटनीतिक स्रोतका अनुसार प्रधानमन्त्री मोदीले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग फोनमा कुराकानी गरेका थिए । मोदीले हसिनालाई आफ्नो शपथ ग्रहण समारोहमा उपस्थित हुन निम्तो गरेको र उनले स्वीकारेको पनि बताइएको छ ।
सोही क्रममा मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि फोनमा कुराकानी गरेका थिए । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गर्ने निश्चित भएको स्रोतले जनाएको छ ।
यसैबिच, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले पनि नरेन्द्र मोदीलाई जितको लागि फोन गरेर बधाई दिएको उनको मिडिया डिभिजन कार्यालयले बताएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपतिलाई आफ्नो शपथ ग्रहण समारोहमा निम्तो दिएका छन्, विक्रमासिङ्घेले निम्तो स्वीकार गरेका छन् ।
सन् २०१४ मा नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सात देशका नेताहरूलाई शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो । यसै क्रममा २०१९ मा दोस्रो पटक प्रधानमन्त्री बनेपछि उनको शपथ ग्रहण समारोहमा बिमस्टेक देशका नेताहरूलाई बोलाइएको थियो ।
बाइडेन, सुनक, पुटिनलगायतले दिए बधाई
अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विजयी भएकोमा बधाई दिएका छन् । पुटिनले फोनमा मोदीलाई बधाई दिँदै विश्वव्यापी नेता भनेका छन् । अर्कोतर्फ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीलगायत विश्वका धेरै नेताले पनि मोदीसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् । अमेरिकाले सफल चुनावका लागि भारत सरकार र देशका जनताको प्रशंसा गरेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बिच हुँदैछ । नेपाली समयअनुसार राति ९ः४५ बजे साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा खेल हुनेछ ।
यसअघि नेपाल र युएईबिच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । फिफा वरीयतामा युएई ६७औँ स्थानमा छ भने नेपाल एक सय ७८औँ स्थानमा छ ।
नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन् । त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन् । यसैगरी मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशिष राई छन् । फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी छन् ।
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित गरेर दिएके अभिव्यक्तिलाई लिएर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अन्तरदेशीय विवाह पितृसत्तालाई मन नपरेको बताएका हुन् ।
‘आज देश विदेश फैलिएर अन्तरदेशीय विवाह पनि हुने गरेको छ । तर पितृ सत्तालाई यो मन परेको छैन । त्यसैले कयौं टिप्पणीहरु आउने गरेका छन् । शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भीर आपत्ति जनाएका छौं’, लामिछानेले भने, ‘तपाईंले कसलाई माया गर्ने, कोसित विवाह गर्ने, तपाईको व्यक्तिगत जीवन कस्तो हुने भन्नेकुरा तपाईको निर्णय हो, मात्र तपाईको । अरु कसैको निर्णय होइन ।’
केही दिनअघि शिक्षक प्रतिनिधिसँगको भेटमा र गत शनिबार सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विदेशी नागरिकसँग गरेको विवाहलाई लिएर टिप्पणी गरेका थिए ।
माइती गाउँ घुम्न आएको बेला चुनाव हुन लागेको, त्यहाँ समानुपातिक पद्धतिबाट सांसद छानिएको र अहिले मन्त्री बनेको ओलीले टिप्पणी गरेका थिए । ओलीले गरेको टिप्पणीप्रति शिक्षामन्त्रीले पनि बुधबार सामाजिक सञ्जाल मार्फत प्रतिवाद गरेकी छन् ।
यस्ताे छ उनले सामाजिक सञ्जालमा राखेकाे भनाई :
- ”विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् ।
- आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।
- कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै सम्वृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्र्याउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।
- तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिष्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो “तँ बसेर आएको देश हो र नेपाल पो हो” भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुदोरहेछ। कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, ऐले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् ।
- महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । “समाजको नियम” भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यहि भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भए पछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यहि कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो ।
- यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले “नेपाल जान्छु र केहि गर्छु” भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।”
काठमाडौं : ज्यान सम्बन्धी कसूरका फरार काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने दोलखा भिमेश्वर नगरपालिका-१ घर भएका ५० वर्षीय गणेश घिमिरेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दोलखा भिमेश्वर नगरपालिका-१ सुष्पाक्षमावती बस्ने ७७ वर्षीय झिलक बहादुर विश्वकर्मा आइतबार बिहान सोही ठाउँस्थित आफ्नै मकै बारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रही फरार रहेका घिमिरे काठमाडौं महानगरपालिका-५ स्थित लुकिछिपी बसिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द लेखिएको विषयलाई लिएर कुनै आग्रह पूर्वाग्रह नराख्न आग्रह गरेका छन् ।
बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले संविधानमा उल्लेख भएको भन्दा अर्को शब्द किन प्रयोग गरिएको भनेर प्रश्न गरेका थिए । बिहीबार कांग्रेसका सांसद रामहरि खतिवडाले पनि यो प्रश्न गरेका थिए ।
सुरुमा जवाफ दिँदा यो विषयमा अर्थमन्त्री पुन मौन रहेपछि सांसद खतिवडाले जनयुद्ध शब्दको प्रयोगबारे जवाफ नआएको भनी अर्थमन्त्रीलाई स्मरण गराए । जवाफ दिने क्रममा अर्थमन्त्री पुनले बजेट वक्तव्यमा जनयुद्ध शब्द पहिलो पटक नपरेको बताए ।
‘१९९८ वरिपरीका चार सहिदहरु देखि २००७ सालको आन्दोनको सम्मान हुने गरी, २०४६ सालको, २०५२ को, २०६२(०६३, मधेश आन्दोलन, आदिवासी-जनजाती आन्दोलनका लगायत सबै आनदानेलनका सहिदहरुप्रति श्रद्धान्जलि, घाइते अपांगहरुप्रतिका सम्मानहरु राखेको छु’ अथृमन्त्री पनुले भने ।’
तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्द्ध युद्धलाई संविधानमा ‘सशस्द्ध युद्ध’ भनेर सम्बोधन गरिएको छ । माओवादी केन्द्रले जनयुद्ध शब्द प्रयोग गदै आएको छ ।
काठमाडौं । बोस्टन ओपन कराते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले ५ वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन् ।
त्यस्तै अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले कांस्य जिते । उनले १५–१६ वर्ष उमेरसमूहको एडभान्स कुमुतेमा सफलता पाएका हुन् ।
प्रतियोगितामा पदक विजेता रायडेन र याङजुनसहित न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्सबाट ४ खेलाडीले सहभागिता जनाएका थिए । १०–११ वर्षको एडभान्स कुमुतेमा याङतेन लामा तथा बिगिनर्स कुमुतेमा डेछेन शेर्पाले सहभागिता जनाएका थिए ।
टोलीको प्रशिक्षकमा बंगलादेशको ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र पुष्प थापा मगर रहेका छन् ।
काठमाडौं । योगेन्द्र विष्टले १३ औं एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले पुरुष ८१ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रतियोगिता इरानको तेहरानमा जुन ६ देखि १० तारिखसम्म हुनेछ । एसियाली प्रतियोगितामा योगेन्द्रको यो पहिलो सहभागिता हो । योगेन्द्र भारतको केरलामा गत अप्रिलमा भएको प्रथम दक्षिण एसियाली कुराँश प्रतियोगिताका स्वर्ण विजेता हुन् ।
योगेन्द्रसंगै मनोज आचार्य र नेपाल कुराँश संघका कार्यवाहक अध्यक्ष जीवन राई पनि इरान जाँदै छन् । मनोज प्रशिक्षक सेमिनार तथा जीवन एसियाली कुराँशको कोंग्रेसमा सहभागी हुने छन् । दुवै कार्यक्रम प्रतियोगिताकै दौरान हुनेछ । टोली बिहीबार इरान प्रस्थान गर्ने छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले खेलको पहिलो अनुहार खेलाडी हुन् भन्दै कुराँश संघलाई खेलको विस्तार गरी खेलाडी उत्पादनमा जोड दिनु पर्ने बताए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा स्वीकृत भएको छ । लोकसभा चुनावको नतिजापछि आज प्रधानमन्त्री मोदीले बुझाउनुभएको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले स्वीकृत गर्नुभएको हो ।
राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्नसमेत आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । वर्तमान १७ औँ लोकसभाको कार्यकाल जुन १६ तारिखमा सकिँदैछ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पर्सि जुन ७ मा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनको संसदीय दलको बैठक बसेर भाेलिपल्ट अर्थात् जुन ८ नयाँ सरकारको शपथ ग्रहण समारोह गर्ने तयारी छ ।
हिजो भएको लोकसभा चुनावको मतगणनामा भाजपाले दुई सय ४० सिट जितेको छ । भाजपा नेतृत्वको गठबन्धन एनडीएको दुई सय ९२ सिट भएको छ । कांग्रेसले ९९ सिट जितेको छ । कांग्रेस नेतृत्वको गठबन्धन इन्डियाको दुई सय ३४ सिट भएको छ ।
सरकार बनाउन दुई सय ७२ सीट चाहिन्छ । एनडीएले दुई सय ९२ सिट जितेसँगै मोदी तेस्रो पटक प्रधानमन्त्री बन्न सक्ने सम्भावना उच्च रहेको हो ।
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूकुम पश्चिम चौरजहारी नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३ सुकेधारा बस्ने ३९ वर्षीय रूपेश राज गिरी, स्याङजा आँधिखोला गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।
पक्राउमध्ये रूपेशले रोमानिया पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ, राजुले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र युवराजले पोल्याण्ड पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश राजलाई काठमाडौं आलोकनगरबाट, राजुलाई काठमाडौं नागपोखरीबाट र युवराजलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएको छ ।
आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।
उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए ।
कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा आएका थिए ।





