
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए। आजै ५ बजे शपथ ग्रहण हुने उनले जानकारी दिए।
यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मतलाई जेठ १४ मा सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो। सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। यसरी नियुक्त मुख्यमन्त्रीले पनि ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ।
पाण्डे दोस्रो पटक मुख्यमन्त्री बनेका हुन्। यसअघि उनी नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै माओवादीले समर्थन फिर्ता लिएको थियो।
प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले राजीनामा दिएका थिए। त्यसपछि गत वैशाख २३ मा माओवादीको समर्थनमा एमालेका अधिकारी मुख्यमन्त्री बनेका थिए।
अधिकारीले प्रदेश सभाबाट लिएको विश्वासको मत सर्वोच्चले बदर गरेपछि फेरि पाण्डे मुख्यमन्त्री बनेका हुन्। प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुख सहित आठ, राप्रपाका दुई र एक जना स्वतन्त्र सांसद छन्।
रामेछाप । नेकपा माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रामेछापले जिल्लाको अगुवा महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम यहि जेठ १८ गते शुक्रबार रामेछाप जिल्लाको मन्थली गुम्बा हलमा हुने अ.ने.म. संघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष गिता बिष्टले बताएकी छिन ।
जेठ १८ गते शुक्रबार हुने उक्त कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकको रुपमा अनेम संघ (क्रान्तिकारी ) केन्द्रीय उपाध्यक्ष तथा कानुन न्याय तथा मानव अधिकार समिती सभापति माननीय विमला सुवेदी रहने छिन ।
पार्टीकाे केन्द्रीय सदस्य तथा अनेम संघ बाग्मति प्रदेश अध्यक्ष सुनिता गाैतम लगायतका प्रदेश पदाधिकारीहरु कार्यक्रममा प्रशिक्षक हुने अध्यक्ष बिष्टले बताइन ।
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ ।
गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै गत सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
अधिवक्ता भट्टराईले लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरेका छन् ।
महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा कुनै पनि उजुरी नपरेको पत्र पठाएपछि अधिवक्ता भट्टराईले गृहमन्त्री र महान्याधिवक्ताविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए। तर, अदालत प्रशासनले उक्त रिट दरपीठ गरेपछि भट्टराईले अर्को रिट दायर गरेका थिए ।
उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको थियो।
रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।
काठमाडौँ । सरकारले कोदो लगायतका घरेलु मदिराको ब्रान्डिङका लागि कानून बनाउने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को अनुमानित आय व्यय विवरणमार्फत घरेलु रक्सीको उत्पादन, ब्रान्डिङ, बजारीकरण र बिक्री गर्न कानूनी व्यवस्था गरिने घोषणा गरिएको हो।
यसैबीच गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्नेबारे पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङमा अध्ययन शुरू गरेको छ। त्यस्तै, तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गरेर ब्रान्डिङ गर्ने तयारी गरेको जनाएको छ।
नेकपा (एमाले)का नेताहरू शेरबहादुर तामाङ, उषाकला राई लगायतले केही वर्षदेखि कोदोको रक्सि ब्रान्डिङ गर्नुपर्नेमा जोड दिंदै आएको थियो।
विराटनगर । मोरङका अलग-अलग स्थानबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेका छन्। विराटनगर महानगरपालिकाबाट नेपाल प्रहरी र जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले राति ११:३० बजेतिर विराटनगर–१४ जतुवास्थित कच्ची सडकमा रोकेर राखेको मिनी ट्रकबाट १८१ किलो गाँजा बरामद गरेको हो।
खाली सिलिन्डर लोड गरिएको प्रदेश १–०२–००१ ख ९२७० नम्बरको ट्रकबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। उनका अनुसार सडकको साइडमा रोकेर राखिएको ट्रक खानतलासी गर्दा पछाडि बोरामा प्याक गरी माथिबाट कुचोले छोपेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो।
गाँजा बरामद भएपछि मिनी ट्रकलाई नियन्त्रणमा लिएर चालक संखुवासभाको चैनपुर नगरपालिका–१ बस्ने २७ वर्षीय लाक्पा दोर्जे शेर्पालाई पक्राउ गरिएको एसपी कार्कीले बताए। उनका अनुसार चालक शेर्पाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने छ।
त्यस्तै, नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत जहदा–१ मुसहरी टोलबाट सशस्त्र प्रहरीले मंगलबार साँझ ९० किलो गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्काका अनुसार गाँजा कसले लुकाएको हो भन्ने यकिन भएको छैन। ‘मकै बारीभित्र लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको हो,’ उनले भने, ‘लुकाउने मान्छे फेला परेनन्।’ बरामद भएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएर त्यसको धन्दामा संलग्नको खोजी थालिएको एसपी खड्काले बताए।
पछिल्लो समय बरामद भएको गाँजा सीमा क्षेत्रबाट भारततर्फ लैजाने गरिएको छ। नेपालमा भन्दा दोब्बर बढी मूल्य पाइने भएका कारण अवैध धन्दामा संलग्नहरुले गाँजा भारत पुर्याउन बल गर्ने गरेको प्रहरीको विश्लेषण छ। नेपाल–भारत सीमा क्षेत्रबाट पछिल्लो समय ठुल्ठूला परिमाणमा गाँजा बरामद भइरहेको छ।
काठमाडौं । सरकारले सामाजिक सरक्षा भत्ताका लागि एक खर्ब १६ अर्बको बजेट विनियोजन गरेको छ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय ससदको संयुक्त बैठकमा बजेट भाषण गर्दै सो जाानकारी दिएको हो । तर, सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई थप गर्नेृ कुनै कार्यक्रम भने ल्याइएको छैन।
सरकारले अहिले वृद्ध भत्ताको रूपमा ६८ वर्ष नाघेका नागरिकलाई मासिक चार हजार रूपैयाँ भत्ता उपलब्ध गराइँदै आएको छ।
त्यस्तै कर्णाली र दलित परिवारका हकमा ६० वर्षमाथिका नागरिकलाई यस्तो भत्ता दिइएको छ।
काठमाडौं । एस इन्टरनेसनल विजनेस स्कुलको आयोजनामा एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ ।
प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ गरी ४४ टिमको सहभागिता रहने आयोजक एसका प्रोग्राम म्यानेजर कौशलराज पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रोग्राम म्यानेजर पौडेलले युवा खेलाडीलाई खेलकुदमा आकर्षित गर्न र विद्यालयबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतियोगिता आयोजना गरिएको बताउदै प्रतियोगिताबाट प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट भौचर प्रदान गरिने छ ।
तीनदिने प्रतियोगिताका खेलहरु सिनामंगलस्थित आयोजककै कोर्टमा खेलाइने छ ।
पत्रकार सम्मेलनमा एसका सहायक प्रोग्राम म्यानेजर सविन पाठक र प्रशासकीय अधिकृत आशिष न्यौपानेले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३–३ तथा मुवाँथाई र उसुका समान १–१ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।
एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए । सन्तोषीले बंगलादेशमा भएको ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण तथा राजपुरा र राममायाले नेपालमा भएको १६ औं एसियाली क्रस कन्ट्रीको व्यक्तिगत र टिम स्पर्धामा रजत जितेका थिए ।
शारीरिक सुगठनबाट ललित धिमाल, रजनी श्रेष्ठ र समन मुलगुठीलाई पुरस्कृत गरियो । ललितले माल्दिभ्समा भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण तथा रजनी र समनले नेपालमा भएको ५५ औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
मुवाँथाईबाट गुणराज रुचाल तथा उसुबाट विजयी सिंजालीले पुरस्कार पाए । गुणराजले थाइल्यान्डमा भएको १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण जितेका थिए । विश्व च्याम्पियनसिपको सेमी प्रोमा गुणराजअघि कुनैपनि नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन् । विजयीले साउदी अरबमा भएको विश्व कम्ब्याट गेम्समा स्वर्ण जितेका थिए ।
जम्मा ६ लाख ५० हजार नगद पुरस्कार वितरण गरियो । राजपुरा र राममायाले समान ५५–५५ हजार नगद पुरस्कार पाए । बाँकीलाई समान ९०–९० हजार नगद पुरस्कार प्रदान गरियो ।
खेलाडीलाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष कोइरालाले पुरस्कृत खेलाडीलाई बधाइ दिदै आगामी दिन अझ बढी सफलता हासिल गर्न शुभकामना दिए । उनले नेपाललाई खेलाडीको देश भनेर चिनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नु पर्ने बताए ।
सदस्य–सचिव घिसिङले ऐतिहासिक दिवसका अवसरमा परिषद्ले खेलाडीलाई गरेको बताउदै कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको बेलैमा सुरु नगरे खेलाडीबाट ठूलो सफलताको अपेक्षा गर्नु न्यायोचित नहुने बताए । उनले ओलम्पिकमा पदक हासिल गर्ने हो भने खेलकुदलाई विद्यालय तहबाटै पाठ्यक्रममा समावेश गर्नु पर्नेमा जोड दिदै यो अभियानमा सरोकारवाला सबैको एक स्वर हुन पर्ने आवश्यकता औल्याए ।
महासचिव श्रेष्ठले खेलाडीका लागि सम्मान र पुरस्कारको ठूलो महत्व हुने बताउदै यस्ता सम्मानले खेलाडीमा उर्जा थप्ने विश्वास व्यक्त गरे ।
खेलाडी छनोट गर्न राखेपले तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई सदस्य रहने गरी तीन सदस्यीय खेलाडी छनोट कार्यदल गठन गरेको थियो ।
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमार्फत सरकारले खर्च कटौतीका विभिन्न योजना अघि सारेको छ । सार्वजनिक खर्च बढ्दा बजेटको स्रोतमा चाप परेको भन्दै हरेक वर्ष आलोचना हुने गरेको छ । चालु शीर्षकका खर्च कटौतीका लागि सरकारले विभिन्न योजना ल्याएको हो ।
“सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइनेछ । कार्यालयको प्रकृति र जनशक्तिको आधारमा कार्यालय सञ्चालन खर्च, घरभाडा, बिजुली, इन्धन, पानी, सञ्चार महसुल खर्चमा मितव्ययिता कायम गरिनेछ”, बजेट वक्तव्यमा भनिएको छ, “मन्त्रालय र निकायको चालु प्रकृतिका खर्च कार्यक्रम खर्चबाट व्यहोर्ने प्रवृत्ति निरुत्साहित गरिने छ । आयोजना सञ्चालनको लागि आवश्यक पर्ने जनशक्ति निजामती सेवाबाट खटाउने व्यवस्था मिलाइने छ ।” सङ्घीय कार्यालय औचित्य र आवश्यकताको आधारमा एकापसमा गाभिनेछ वा खारेज गर्ने नीति लिइने आगामी आवको बजेटमा उल्लेख छ ।
त्यस्तै, सरकारी कार्यालयको सेवाप्रवाह, जनशक्ति, कार्यक्षेत्र र कार्यवोझलगायतको आधारमा भवनको संरचना, आकार र आन्तरिक साजसज्जाको मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने जनाइएको छ । विभिन्न मञ्चमा मुलुकको प्रतिनिधित्व सम्बन्धित देश वा कार्य क्षेत्रमा रहेका नेपाली दूतावासबाट गर्ने व्यवस्था मिलाई नेपाल सरकारबाट अनिवार्यरुपमा प्रतिनिधित्व गर्नुपर्ने बाहेक वैदेशिक भ्रमणलाई निरुत्साहित गरिने जनाइएको छ ।
त्यस्तै, सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व मूल्याङ्कनको तेस्रो प्रतिवेदनका आधारमा सार्वजनिक वित्त व्यवस्थापन सुधार रणनीति तयार गरी कार्यान्वयनमा ल्याइने बजेटमा उल्लेख छ । आन्तरिक ऋणको पुनः संरचना गरी मध्यमकालीन र दीर्घकालीन उपकरणको उपयोग गर्ने रणनीति लिइने, परियोजना विशेष ऋणपत्रमार्फत लगानी जुटाउने प्रबन्ध मिलाइने, नेपाल सरकारमार्फत सरकारी संस्थानमा परिचालन हुने ऋण ‘एस्क्रो एकाउन्ट’मार्फत सोझै भुक्तानी गर्ने व्यवस्था मिलाइने जस्ता विषय बजेटमा राखिएका छन् ।
“निर्माणजन्य सामग्रीको सहज उपलब्धताको लागि प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइनेछ । सार्वजनिक खरिद प्रक्रियालाई थप सरल, पारदर्शी र लागतप्रभावी बनाउन वस्तु तथा सेवाको प्रकृतिअनुरुप अलग अलग मापदण्ड तर्जुमा गरिनेछ”, बजेट वक्तव्यमा भनिएको छ, “बोलपत्र प्रस्ताव गर्दा लागत अनुमानभन्दा बढीको मात्र प्रस्ताव पेस भएमा सो मध्ये न्यूनतम बोलपत्र प्रस्तावकसँग ठेक्काको शर्त परिवर्तन नहुने गरी वार्ताबाट ठेक्का सम्झौता गर्न सकिने व्यवस्था मिलाइनेछ ।”
इ-मार्केट पोर्टल तयार गरी पोर्टलमा सूचीकृत वस्तु तथा सेवा सीधै वार्ताद्वारा खरिद गर्न सकिने व्यवस्था गर्ने, योग्यता मूल्याङ्कन गर्नु नपर्ने तोकिएको मूल्य सीमासम्मको खरिद सूचना प्रणालीमा नै ‘रिभर्स अक्सन’का माध्यमबाट योग्य प्रस्तावक छनोट गरी खरिद गर्न सकिने लगायतका विषय समावेश गरी सार्वजनिक खरिद कानुन संशोधन गरिने पनि बजेटमा उल्लेख छ । आगामी आवको बजेट कार्यान्वयन कार्ययोजना २०८१ असार मसान्तभित्र र आवश्यक कार्यविधि, मापदण्ड र निर्देशिका २०८१ साउन मसान्तभित्र तयार गरिसक्नुपर्ने पनि बजेटमा उल्लेख छ । रासस
काठमाडौँ । सहकारीको बचत ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन भएको छ।
नेकपा (एमाले) का सांसद सूर्य थापाको नेतृत्वमा संसदीय छानबिन विशेष समिति गठन भएको हो । मंगलबार साँझ बसेको प्रतिनिधि सभा बैठकबाट संसदीय छानबिन समिति गठन गरिएको हो।
समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट सांसदहरू बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने सदस्य छन् भने एमालेबाट थापा र सरिता भुसाल तथा नेकपा (माओवादी केन्द्र) बाट राजन दाहाल सदस्य छन् ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेको सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सुनाएका छन् । यो समितिलाई सभाले सहमति जनाएको सभामुख घिमिरेले घोषणा गरेका थिए।
यो समितिको कार्यअवधि तीन महिनासम्मको हुनेछ । सहकारीको बचत ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो।
लामिछानेको नाम र पद उल्लेख नगरी उनी पहिले प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कको नाम राखेर संसदीय छानबिन समिति गठन भएको छ।





