२०८३ मंसिर १४
२०८३ मंसिर १४

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका छन् भने अर्को स्थानमा पुल निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाण्डाखोलामा २०७६ सालमा ५० मिटर लामो पक्की पुल, दुई वटा कल्भर्ट र १०० मिटर पहुँचमार्ग निर्माण भएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत तत्कालीन अवस्थामा मुस्ताङ कार्यक्षेत्र भएको सडक डिभिजन कार्यालय बागलुङमार्फत पाण्डा लुप्रा खोला मोटरेबल पुल निर्माणका लागि २०७३ सालमा लोकप्रिय शङ्कर माली जेभीले नौ करोड ९० लाखमा ठेक्का लिएको थियो ।

जोमसोमदेखि वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका हुँदै चीनको सिमाना कोरला नाका जोड्ने सडकमा पर्ने पाण्डाखोलाको पुलको सतहसम्म नै गेग्रान थुप्रिएको छ । हरेक बर्खामा आउने बाढीले जोमसोम–कागबेनी–कोरला सडकमा यातायात प्रभावित हुने गरेको छ ।

त्यतिबेलाको मापदण्डअनुसारकै उचाइ भएको पुल बने पनि कालीगण्डकीको सहायक पाण्डा खोलामा आउने बाढी र थुप्रिने गेग्रानले पुल जोखिममा परेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताए ।

“धार परिवर्तन गरिरहने मुस्ताङका खोलाहरु सधैँ एकै ठाउँबाट नबग्ने भएकाले एकातिर पुल बन्ने, खोला अर्कैतिरबाट बग्ने समस्या देखिएको हो”, उनले भने, “खोलाले धार परिवर्तन गरिरहने र अनपेक्षित बाढीका कारण पुल निर्माणका लागि फरक डिजाइन र उपाय खोज्नुपर्ने अवस्था आएको छ ।”

घरपझोङ गाउँपालिकाको मार्फाखोलामा बेमौसमी बाढीले मोटर गुड्ने पक्की पुल निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ । १२० मिटर लामो पुल निर्माणाधीन अवस्थामा रहेको मार्फाखोलामा गत चैतमै बाढी आएको थियो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा छ वर्ष लगाएर निर्माणको अन्तिम चरणमा पुगेको २५ मिटर लामो पक्की पुल गत साउन २९ गते कागखोलामा आएको बाढीले बगायो ।

तत्कालीन सडक डिभिजन कार्यालयले २०७३ असारमा गाल्वा एण्ड रफिना जेभीसँग रु। दुई करोड ८८ लाखमा ठेक्का सम्झौता गरेर बेनी–जोमसोम–कोरला सडक आयोजनालाई हस्तान्तरण गरेको यो पुलको दुबैतर्फको खम्बा रहे पनि गाडी गुड्ने भाग बाढीले बगाएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलामा २०७७ साउनमा आएको बाढीले निर्माणको क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दुरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोडिएको छ ।

४० मिटर लम्बाई भएको रुप्से खोलाको पुलको दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जग नै खल्बलाउने गरी बाढीले बगाएको थियो । रुप्सेखोलामा पक्की पुलको विकल्पमा बेलिब्रिजबनाएर यातायात सञ्चालन गरिएको छ ।

भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संसोधन गरी लम्बाई बढाउन पुरानो ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका इञ्जिनीयर विष्णु चापागाईका अनुसार कागबेनीको पक्की पुलको बिमा मूल्याङ्कनको चरणमा छ ।

पाण्डाखोला र छुसाङको खालीगण्डकीमा निर्माण भएको पुलले खोलाको सबै भाग समेट्न नसकेपछि अर्को ५० मिटर लामो अर्को पुल बनाउन प्रस्ताव समेत गरिएको छ । बाढी र नदीले धार परिवर्तन गर्ने समस्या समाधानका लागि पक्की पुलको उचाई र दूरी बढाउनुपर्ने भएको हो ।

विश्वव्यापी तापक्रम वृद्धि र मौसममा भएको परिवर्तनका कारण मुस्ताङको जनजीवन प्रभावित, विकास आयोजनाका संरचनामा क्षति र विपद्को जोखिम बढेको डिभिजन वन कार्यालय मुस्ताङका प्रमुख मनोज रानाभाटले बताए । “पानी धेरै पर्न थालेपछि माटोले छाएका घर, गुम्बाहरु चुहिने, भत्किने, खोलामा बाढी आएर कटान गर्ने, नदीमा गेग्रान थुप्रिएर बगर वस्ती भन्दा अग्लो हुने, बस्तीमा कटान हुने, खोलाले धार परिवर्तन गर्ने समस्या बढेको हो,” उनले भने, “सडक, पुल र भवन जस्ता सार्वजनिक भौतिक संरचनाको दिगोपनाका लागि मौसम, बाढी, पहिरोको विगतको अवस्थालाई आधार बनाएर डिजाइन गर्नुपर्छ ।”

बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत १४ ठाउँमा ठूला पहिरो छन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नम्बर–१ बेगखोला, वडा नम्बर –२ माझखर्क, कुनौटो, रिठाबोट, वडा नम्बर –३ मा पर्ने बैसरी, चमेरे र गलेश्वर पारी राहुघाटमा पहिरोले सडक निर्माण र यातायात सञ्चालन प्रभावित बनाएको छ । अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने नागढुङ्गा, भुरुङभीर, वडा नम्बर–६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार माथिबाट खस्ने पहिरोले सडक जोखिम बनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ३ दानाको गुइठेभिर, खाम भित्ता, लाटाखोलामा वर्षेनी निरन्तर माथिबाट पहिरो झर्ने तथा कालीगण्डकीले कटान गरिरहेको छ । खामभित्तामा तलबाट कालीगण्डकीले कटान गरेको र माथिल्लो खण्डमा संरक्षण विना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ । काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा रक फलको समस्या छ । मुस्ताङको घासा नजिकै खहरेखोला क्षेत्रमा पहिरो र कालीगण्डकी नदीको कटानको दोहोरो समस्या छ । लेतेखोला क्षेत्रमा पनि पहिरोको समस्या छ ।

कालीगण्डकी नदीको किनार र कडा चट्टान भएको अन्नपूर्ण गाउँपालिकाको भिरकाटे क्षेत्रमा सडकको विकल्पमा ३८४ मिटर लामो सुरुङ बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी बजेट व्यवस्थापनका लागि प्रस्ताव गरिएको छ । कालीगण्डकी नदीको कटानको जोखिम रहेको सो ठाउँमा सुरुङमार्ग बनाउन ९० करोड लागत अनुमानसहितको डिपिआर तयार पारिएको हो ।

रक फल हुने काभ्रेभिरको सडकलाई फराकिलो र ग्रेड सुधार गरेर सुरक्षित बनाउन ‘रक एन्करिङ÷रक नेलिङ’ गर्न थालिएको बेनी जोमसोम कोरला सडक योजनाका सव इञ्जिनियर गणेशमान श्रेष्ठले बताए । “बादरजुङ भिरमा कालीगण्डकीको कटान नियन्त्रणका लागि खोला डाइभर्सन गरेर सडक संरक्षण गर्न थालिएको छ,” उनले भने, “बाढीले बगाएको निर्माणाधीन रुप्सेखोला र खहरेखोलाको पुलको ठेक्का तोडिएको छ ।” भुरुङ्गखोला र रुप्सेखोलामा बेलिब्रिज जडान र रुप्सेमा भित्ता काटेर पहिरो पन्छाउने तथा सडक फराकिलो बनाउने काम अन्तिम चरणमा रहेको उनले बताए ।

बेनी–जोमसोम–कोरला सडकमा बाढी, पहिरो र कटानको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न स्थानीय सरोकारवालाले माग गरेका छन् । तत्कालीन रुपमा कटानको जोखिममा रहेको ठाउँमा कालीगण्डकीलाई डाइभर्सन र माथिबाट खस्ने पहिरो रोकथामका लागि भूमिगत पानी व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्नुपर्ने म्याग्दीका प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । पहिरो र कटानको जोखिम भएको ठाउँमा विस्तृत अध्ययन गरी थप आयोजना सञ्चालन गर्नुपर्ने देखिएको उनले बताए ।

म्याग्दीको बेनीदेखि मुस्ताङको लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्ययभार बढेको छ ।

“बाढी, कटान र पहिरो नियन्त्रणको काम तत्काल गर्न नसके नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको छ,” आयोजना प्रमुख झाले भने, “सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरेका छौँ ।”

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने कालीगण्डकी कोरीडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हुदै मुस्ताङको कोरला नाकासम्मको २०२ किलोमिटर दूरीको सडक स्तरोन्नति र सडकमा पर्ने खोलाहरुमा पुल निर्माण गर्न २०७४सालदेखि जोमसोममा कार्यालय स्थापना गरेर काम थालिएको थियो ।

१४ खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० फागुन मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत छ । छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ४८ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । यस सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण भएको छ । छ ठाउँमा पक्की पुल निर्माणाधीन छन् । रासस

संखुवासभा । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मादी नगरपालिका-६ पुलुङ बस्ने २१ वर्षीय गयामणी राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मादिराम्बेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुट्न नसकेपछि आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।

सहकारी ठगीमा छानबिन गर्न संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभा बैठक प्रभावित बनेको हो ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण जानकारी दिए ।

‘आज मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११:०० बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’, जारी सूचनामा भनिएको छ ।

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्रालय लिएर सहभागी हुने भएको छ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले सरकारमा एमाले र माओवादीले दुई, दुई मन्त्रालयसहित सहभागी हुने जानकारी दिए ।

बिहीबार एकीकृत समाजवादी बाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीले विश्वासको मत प्राप्त गरेको थिए ।

सुदूरपश्चिम प्रदेश सभामा अहिले माओवादीका सभामुख सहित ११ सासंद छन्। एमालेका उपसभामुख सहित ११ जना सासंद छन् ।

राजनीति कतिसम्म निर्मम हुँदो रहेछ भन्ने कुरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँका सहयात्रीहरूको सम्बन्धले पुष्टि गरेको छ । जनयुद्धको प्रतिकूल समयमा होस् या राजनीतिका कठिन मोडमा, निरन्तर साथ दिएका नेताहरूलाई क्रमशः किनारामा पार्दै प्रचण्ड भने सत्ताको खेलमा रमाइरहेको सन्दर्भ हो यो ।

त्यसो त, सहकर्मीहरूबीच कृत्रिम अन्तरविरोध सिर्जना गर्ने अनि त्यसैमा खेलेर आफू निरन्तर नेतृत्वमा स्थापित हुने उपयोगितावादको राजनीति गरेको आरोप प्रचण्डमाथि लाग्दै आएको छ । जनयुद्धका बेला मोहन वैद्य किरण र डा। बाबुराम भट्टराईबीचको वैचारिक मतभेद उत्कर्षमा पुग्दा उनीहरू अध्यक्षबाट पालैपालो प्रयोग भएको भन्ने गरिन्छ । आफूपछिको वरीयताका यी दुवै नेता अहिले प्रचण्डको साथमा छैनन् ।

कुनै समय ‘म अध्यक्ष कमरेड प्रचण्डमा बिलय भएँ’ भन्ने रामबहादुर थापा नेतृत्वले पार्टीमा टिक्न नदिएको आरोप लगाएर एमाले रोज्न पुगे । जनयुद्धताका प्रचण्डको उत्तराधिकारीका रूपमा चर्चा गरिएका नेत्रविक्रम चन्द विप्लव पनि अर्कै कित्तामा छन् । देव गुरुङलाई महासचिव बनाउनकै लागि प्रचण्डले वर्षमान पुन र जनार्दन शर्मालाई भिडाएको चर्चा माओवादी वृत्तमा अहिले पनि हुने गर्छ ।

यता, जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै संविधान निर्माणको जटिल प्रक्रियामा प्रचण्डको बलियो सारथि बनेर उभिएका कृष्णबहादुर महरालाई पनि त्यसैगरी मिल्काइएको छ । पार्टी अध्यक्ष देशको कार्यकारी प्रमुख रहेकै बेला प्रहरी हिरासतमा पुगेका उनी बुढ्यौलीसँगै रोगले थलिएका छन् । जीवनको ऊर्जाशील समय पार्टी र आन्दोलनमा बिताएका उनलाई अहिले कतैबाट पनि आड भरोशा छैन ।

अध्यक्ष प्रचण्ड सिंहदरबारमा सत्ताको हिसाब मिलाउन व्यस्त रहँदा फोन सम्पर्क र पिएसओको साथ बिना खुमलटारस्थित भाडाको घरमा गुमनाम जिन्दगी बिताइरहेका महराले पार्टीबाट सान्त्वनाको आससमेत मारिसकेका छन् । भेट्न आउने शुभचिन्तकहरूले सोध्दा विरक्त मान्दै भन्ने गरेका छन्, ‘पार्टी पनि छ र १’

आफैँ रोगले ग्रस्त महराको पारिवारिक पीडा झन् दर्दनाक छ । चार वर्षअघि जीवनसंगिनी गुमाएका उनलाई अहिले तातोपानी तताएर दिने मान्छेसमेत छैन । छोरो राहुल जेलमा छन् भने जेठी छोरीलाई प्यारालाइसिस भएको छ ।

अर्कोतिर मासिक घरभाडा कसरी तिर्ने भन्ने चिन्ता उस्तै छ । खर्चपर्च कसरी मिलाउनुभएको छ रु भन्ने प्रश्नमा उनी भन्छन्, ‘मागेर खाने, अरु के गर्ने १’

माओवादी आन्दोलनभित्र मात्र होइन, राष्ट्रिय राजनीतिले समेत उपयोगितावादको प्रचण्ड नीतिको भर्पाइ गरिरहेको छ । कमजोर संसदीय गणितका बाबजुद कांग्रेस र एमालेसँग पालैपालो समीकरण मिलाएर प्रधानमन्त्रीमा टिक्ने प्रचण्डको रणनीति मूलतः उपयोगितावादको पुरानै सिद्धान्त हो भन्ने कुरा हालैका केही घटनाले पुष्टि हुँदै छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनयता निरन्तर साथ दिँदै आएका थिए । संसद विघटनविरुद्धको सडक संघर्षदेखि सत्ताको जोड–घटाउमा यी दुई नेता सधैँ प्रचण्डको खम्बा बनेर उभिए । तर, जसपा विभाजनसँगै प्रचण्डसँग माधव र उपेन्द्रको दूरी बढेको छ । संसद विघटनमा जसका विरुद्ध संघर्ष गरेको हो, उसैको साथ लिएर प्रधानमन्त्रीले सत्ता साझेदार दल जसपा फुटाएको आरोप लागिरहेको छ ।

यसबीच विकसित राजनीतिक घटनाक्रम र स्वयं प्रधानमन्त्रीका सार्वजनिक अभिव्यक्तिबाट पनि त्यस्ता आरोपमा सत्यता देखिन्छ । किनभने प्रधानमन्त्री र एमाले अध्यक्षले सार्वजनिक मञ्चबाटै ‘सरकार जोगाउन पार्टी फुटाएको’ घुमाउरो स्वीकारोक्ति दिइसकेका छन् । सत्ताको अंकगणित मिलाउन रवि लामिछानेलाई च्यापेर लामो समयदेखिका सहयात्री र यौटै मोर्चामा रहेका उपेन्द्र र माधवलाई कर्नरमा पार्ने राजनीति निर्मम मात्र होइन निर्लज्ज पनि हो ।

अमेरिकाबाट फर्केलगत्तै बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका उपेन्द्रले पार्टीका शीर्ष नेताहरूको बैठकमा प्रचण्ड र ओलीको संलग्नतामा पार्टी फुटाइएको ब्रिफिङ गरेका थिए । सो भेटमा प्रचण्डले ‘तपाईं अर्को गठबन्धन बनाउन लाग्नुभएको भनेर इन्फर्मेसन आइरहेको थियो, त्यतिबेलै तपाईंका मान्छे पनि सहयोग गर्छौँ भनेर आएपछि यो घटना घट्यो’ भनेको रिपोर्टिङ उपेन्द्रबाट सुनेका एक नेता भन्छन्, ‘यसको सिधा अर्थ सरकार जोगाउन हामीले पार्टी फुटाइदियौँ भनेको हैन र १’

त्यस बैठकमा पार्टी फुटमा आंशिक रूपमा बाह्य प्रभावले पनि काम गरेको चर्चा भएको थियो । यद्यपि, भारत संस्थागत हिसाबले भने आफ्नो पार्टी फुटाउन नलागेको सो पार्टीका नेताहरूले निश्कर्ष निकालेका छन् । खासगरी प्रदिप यादवले आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतलाई प्रयोग गरेको उनीहरूको बुझाइ छ ।

पार्टी फुटाउन मुख्य भूमिका खेलेका प्रदिपलाई उपेन्द्रको ठाउँमा स्वास्थ्यमन्त्री बनाइएकाले पनि त्यस्तो खेल भएको हाम्रो अनुमान हो’, बैठकमा भएका छलफलको निश्कर्ष सुनाउँदै एक नेताले भने ।

स्मरण रहोस्, दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउन अध्यादेश ल्याएर साना पार्टी फुटाउने तयारी भइरहेको समाचार जनआस्थामा प्रकाशन भएको थियो । सरकार जोगाउने र वैकल्पिक गठबन्धन बनाउने ठूला पार्टीको प्रयासमा साना दल फुट्ने खतरा औँल्याइएको उक्त समाचारमा त्यसनिम्ति भित्रभित्रै केही पाकिरहेकोतर्फ सतर्क गराइएको थियो ।

तथापि, त्यही आसपास अमेरिका उड्नुअघि उपेन्द्रले पार्टीको बैठकमा ‘माधव नेपालको बार्गेनिङ घट्दै गएकाले सरकारलाई खतरा नरहेको’ ब्रिफिङ गरेका थिए । तर, सरकार ढाल्ने चलखेल गरेको आरोप लगाउँदै उनी अमेरिका रहेकै बेला प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद लिएर अशोक राईले पार्टी फुटाइदिए ।

(साभार जनआस्था साप्ताहिकबाट)

काठमाडौँ । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुट्न नसकेपछि आइतवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ ।

नेपाली कांग्रेससहितका विपक्षी दलले संसदीय छानबिन समितिको टीओआरमा सहमति नजुट्दासम्म बैठक नचलाउन आग्रह गरेका छन् ।

विपक्षी दलको आग्रहमा बैठक बस्न ढिला भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

संसदीय समितिको टीओआरमा सहमति खोज्न कानून मन्त्रालयमा कार्यदलको बैठक बसिरहेको छ । कानूनमन्त्री पदम गिरीको कार्यकक्षमा जारी बैठकमा कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका शिशिर खनाल छन् ।

संसदीय छानबिन समितिको टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्ने–नराख्ने विषयमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी हुन कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । विपक्षमा रहेका राजनीतिक दलका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन् ।

समिति बनाउने कुरामा सहयोग पुग्ने देखिएकाले बोल्दा अवरोध नगर्ने निष्कर्षमा आफूहरु पुगेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार छानबिन समितिको टीओआर नबनेसम्म अन्य कारबाही अघि बढ्न नदिने निर्णय भएको छ ।

“माननीय रवि लामिछानेले धेरै समय माग्नुभएको छ । उहाँलाई समय दिँदा हामी त्यसमा उहाँलाई सुन्न तयार छौँ,” उनले भने, “समिति नबनेसम्म हामी हाम्रो मागमा अडिग छौँ ।”

उनले टीओआर नबन्दै बोल्न चाहे दिने तर समितिले पूर्णता नपाएसम्म संसद्का अन्य कारबाही अघि नबढ्ने बताए ।

सनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका थिए ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी र मापदण्ड विपरित बनाइएका घर टहरामा डोजर चलाएको छ ।

महानगरले आज बिहान गौशालाचोक आसपासमा सडककिनार अतिक्रमण गरी बनाइएको घर टहरा सटरहरु भत्काएको नगरप्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए ।

उनका अनुसार गौशालादेखि एयरफोर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरु भत्काउन सुरु गरिएको हो ।

मापदण्ड विपरित बनाइएको घर टहरामा नियमित रुपमा भत्काउँदै जाने प्रमुख पाण्डेकाे भनाइ छ ।

काठमाडौं । संसद् बैठक बस्नुअघि प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेससहित प्रतिपक्षी दलको बैठक बसिरहेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका प्रतिपक्षी दलका नेताहरू सहभागी छन् ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

सोही क्रममा बिहीबार संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेल भएपछि प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् । उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् ।

मकवानपुर । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन ।

सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिए । बजेटको सैद्धान्तिक पक्षमा भोलिपनि छलफल हुनेछ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।