
प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ युवकलाई पक्राउ गरिएको छ ।
हत्यामा संलग्न रहेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
खोटाङको मजुवागढी गाउँपालिका–१ का प्रहरी जवान घिमिरे शुक्रबार काठमाडौँको तार्केश्वर-९ मनमैजुस्थित निर्माणाधीन घरमा मृत फेला परेका थिए। उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए ।
हेटौंडा । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ ।
अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए ।
“नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ”, उनले भने, “टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ ।” पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ ।
मोतिहारी–अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ । दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याङ्क’, दुई सय ५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्याङ्क’, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको प्रमुख उपाध्यायले बताए ।
पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ ।
एउटै पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सभामुखले सदस्यहरूको मनोनयन गर्नेछन् ।
त्यस्तै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने पनि आजको कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्नेछन् ।
त्यसपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलको बैठकमा संसदीय छानबिन समिति गठनका लागि सहमत भएको थियो । बैठकले समिति बनाउने निर्णय गरेकोले आजको प्रतिनिधिसभा बैठकले निरन्तरता पाउने देखिएको छ ।

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्न सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन्।
सनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। तर समितिको कार्यादेश टुंगो लागेको छैन ।
त्यसका लागि आजै विहान ८ बजे संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु बैठक बस्दैछन् ।
कार्यादेश टुंगो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

मन्थली । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार मन्थली नगरपालिका वडा न. १४ फुलासीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्दै उत्कृष्टक कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरिएको मन्थली शाखा प्रमुख अमर यादवले जानकारी दिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जय कुमार मण्डलको सभाअध्यक्ष र मन्थली नगरपालिका उप- प्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पाँच वटा केन्द्र सहित तीन जना उत्कृष्ट बचतकर्ता लाई सम्मान गरिएको थियो ।

यस्तै तीन जना उत्कृष्ट ऋणि, तीन जना उत्कृष्ट उद्यमी सदस्यहरुलाई पुरस्कृत गरिएको मन्थली शाखा प्रमुख यादवले बताए । कार्यक्रममा पाँच परिवारका पाँच जना विद्यार्थीहरुलाई एक बर्षको छात्रवृती सहित शैक्षिक सामग्री पनि हस्तान्तरण गरिएको थियो ।
दुई बर्ष अघि फुलासी पोखरीमा शाखा स्थापना गर्दै सेवा सुरु गरेको सो संस्थामा मन्थली नगरपालिका,दोरम्बा गाउँपालिका र खाँडादेवि गाउँपालिका कार्यक्षेत्र रहेको छ । यादवका अनुसार उक्त संस्थामा पाँच सय ७९ जना सदस्य रहेका छन् भने ४९ वटा केन्द्र रहेको छ । सो संस्थाले वित्तीय, डिजिटल र सामाजिक क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा वित्तीय साक्षरताका विषयमा प्रशिक्षण दिँदै केन्द्रीय कार्यालयका तालीम विभागीय रन्जना निरौलाले ऋण लगानी र बचत संकलनलाई सदस्यहरुको हितमा राखेर व्यवस्थित गरिएको बताए । देशको २४ जिल्लामा १६० वटा शाखा रहेको सो संस्थामा हाल सम्म ३ लाख २५ हजार सदस्य र १ लाख ९६ हजार सदस्यलाई ऋण लगानी गरिएको निरौलाले बताए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मण्डलले गरिवी निवारण र विपन्न समुदायको जीवन स्तर उकास्न ग्रामिण क्षेत्रमा सेवा सञ्चालन गरिएको बताए । उनले भने `हामीले मुनाफा भन्दा पनि गरिव तथा विपन्न वर्गलाई हितमा राखेर ऋण लगानी र बचत संकलनमा जोड दिएका छौँ ।´

विभिन्न वचतकर्ता र स्थानीय गरि झन्डै तीन सय जनाको उपस्थिति रहेकोे कार्यक्रममा मन्थली नगरपालिका उप-प्रमुख बस्नेत सँगै वडा नं १४ का वडाअध्यक्ष मोतिलाल तामाङ, वडासदस्य सरिता तामाङ र केन्द्र प्रमुख सन्जु तामाङ लगायतले समेत मन्तव्य राखेका थिए ।
जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मण्डल नेपाल लघुवित्तको वैकर्ष संघका महासचिव समेत हुन् ।
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफुले जति पटक विश्वासको मत लिए पनि पाउनेमा ढुक्क रहेको बताएका छन् ।
शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले चौथो पटक लिन लागेको विश्वासको मत प्राप्त हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह समेत गरे ।
‘७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन’, उनले भने ।
३१ वैशाखमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले नियुक्ति हुँदा, एमालेले सत्ता गठबन्धन छाड्दा र कांग्रेसले सत्ता गठबन्धन छाड्दा गरी तीन पटक विश्वासको मत लिइसकेका छन् ।
काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा फलफूल आयातमा अर्बौँ रुपैयाँ बाहिरिएको देखिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा विदेशबाट ११ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको फलफूल आयात भएको हो ।
यस अवधिमा सबैभन्दा धेरै स्याउ आयातमा रकम बाहिरिएको तथ्याङ्क विभागले दिएको छ । विभागका अनुसार स्याउ आयातमा ६ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ । यस्तै, अङ्गुर आयातमा १ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ बाहिरिएको छ ।
अङ्गुरको आयात स्याउपछि सबैभन्दा धेरै हुने गरेको छ । यसपछि सुन्तलाको आयातमा १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बाहिरिएको देखिएको छ । सुन्तलाको आयात तेस्रो नम्बरमा छ । यसबाहेक विदेशबाट ९ करोडको भुइँकटर, चार करोडको एभोकाडो आयात भएको छ ।
यस्तै अम्बाको आयातमा ४० करोड बाहिरिँदा ४९ करोडको कागती आयात भएको छ । कागतीजस्तै अमिलो प्रकारका फलफूलको आयातमा ९ करोड बाहिरिँदा ड्राइ अङ्गुर आयातमा १७ करोड बाहिरिएको छ ।
यसबाहेक वाटर मेलोनको आयातमा ३६ करोड, मेवामा आयत १८ करोड तथा नासपतिको आयातमा २३ करोड ८५ लाख रुपैयाँ बाहिरिएको छ ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताएका छन् ।
शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूलाई बेवास्ता गरिरहेको उनले आरोप लगाए ।
साथै, राजनीतिक दिशा कतातिर जाने हो भन्ने चिन्ता रहेको नेपालको भनाइ छ ।
देशमा स्थायित्व र वामपन्थी कम्युनिष्टहरू बीचको एकता र समझदारी नयाँ उचाईमा पुग्नुपर्ने उनले बताए ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित किताव बिमेचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेको र विश्वास मत पाउनेमा ढुक्क रहेको बताएका हुन् ।
विश्वास मत नपाउनेमा दुविधामा नपर्न पार्टीका नेताहरूलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरे। ‘एक पटक त झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै दुविधामा छैन, तपाईंहरु पनि दुविधामा पर्नु पर्दैन,’उनले भने।
काठमाडौं । कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देबराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सुरु भएको छ ।
शनिबार दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयुक्त छलफल सुरु भएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ।
कांग्रेसले गृहमन्त्रीलाई सदनमा बोल्न दिएको छैन । तर अन्य प्रतिपक्ष दलहरूले भने एक पटक बोल्न दिएर समिति बनाउने बताइरहेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पहिला एमाले र सभामुखसँग छलफल गर्ने र वार्ता निष्कर्मा नपुगे अन्य सत्ता दललाई पनि बोलाइने छ ।
सचिवालयले भन्यो, ‘कांग्रेसलाई सो बैठकमा राख्ने नराख्ने विकसित घटनाले देखाउँछ ।’





