
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा न.१३ कालिञ्जोरका राम तमाङको छोरा वर्षा २७ को बलराम तमाङ लामो समय देखि घर परिवार सग सम्पर्क बिहिन भएका छन् ।
२०८० फगुन ५ गते सुर्यविनायक सडक मर्मत गर्न जान्छु भनि घरबाट सोहि दिन बेलुका जोरपाटी जान्छु भनि परिवार संग फोनमा कुरा भएको र फागुन ६ गते देखि सम्पर्क बिहिन भएको र आज सम्म पनि सम्पर्कमा नआए पछि घर परिवारले खोजिदिन आग्रह गरेका छन् ।
देख्नु हुने र भेट्नु हुने महानुभावहरुले नाजिकैको प्रहारी चौकि तथा दिएको मोबाई नाम्बारहरुमा सम्पर्क गरि दिनु होल । मो.न:बुबा राम तमाङ : ९८०३३९८२६३ ,सुर्जे तमाङ ब्लोन :९८४११३०५१९ ,९८२७६७२३०१ रेडियो नमोबुद्ध स्थानिय सम्पदाक श्याम योञ्जन :९८१३०२४६८० ,९८४१९८३३०३ रेडियो नमोबुद्ध कार्यलय काभ्रे धुलिखेल :०११४९०६१८
फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापुमा मतदानको नियमलाई लिएर तीन दिनदेखि जारी प्रदर्शन हिंसात्मक हुन थालेको छ । प्रदर्शनमा अहिलेसम्म पाँच जनाको ज्यान गएको र ६४ जना घाइते भएका समाचार संस्था अलजजिराले जनाएको छ । प्रहरीले दुई सय जनालाई पक्राउ गरेको छ ।
प्रदर्शन हिंसात्मक हुन थालेपछि १२ दिनका लागि सङ्कटकाल घोषणा गरिएको फ्रान्स सरकारले जानकारी दिएको छ । फ्रान्सले हालै न्यू क्यालेडोनियामा मतदान नियम परिवर्तन गर्ने विधेयक पारित गरेको थियो । यो विधेयकअन्तर्गत न्यू क्यालेडोनियाका मूल निवासीबाहेक फ्रान्सबाट त्यहाँ बसोबास गर्ने व्यक्तिलाई पनि मतदान गर्ने अधिकार दिइएको छ । यसैको विरोधमा त्यहाँ प्रदर्शन भइरहेको हो ।
फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको यो टापु फ्रान्सले एक सय ७१ वर्षदेखि आफ्नो कब्जामा राखेको छ ।
काठमाडौँ । प्रतिनिधिसभाको बैठक ढिलोगरी सुरु हुने भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलले केही समय माग गरेकाले केही समय ढिलोगरी सुरु हुने भएको सभामुखको सचिवालयले जनाएको छ ।
यसअघि बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले अवरोध गरेको थियो।
सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता भएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ।
समिति बनाउन दलहरू तयार भएपनि टीओआर (कार्यादेश) कस्तो हुने भन्ने कुरामा सहमति हुन नसक्दा दलहरूबीच थप समस्या उत्पन्न भएको छ।
काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले नेत्र सुवेदीलाई बागलुङको सीडीओ बनाएर पठाएको छ भने बागलुङका खगेन्द्र रिजालको बाँकेमा सरुवा भएको ।

नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ ।
आइसीसीले शुक्रबार जारी गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।
नेपालले विश्वकप अघि टेस्ट राष्ट्रसँग अभ्यास खेल खेल्ने अपेक्षा गरेको भएपनि सो पुरा हुन सकेन ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
काठमाडौं । सभामुख देवराज देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी बैठकमा सभामुख घिमिरेले सदनको गतिरोध अन्त्यका विषयमा छलफल गरिरहेका हुन् ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेला–धकेल भएको थियो ।
शुक्रबार बोलाइएको बैठक बस्नुअघि सभामुख घिमिरेले सहमतिको प्रयास गरेका हुन् । यसअघि शुक्रबार बिहान बसेको कांग्रेसको बैठकले आफ्नो अडान यथावत राख्ने निर्णय गरेको छ ।
प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ । आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ।
बिहीबारदेखि नै यो पर्वका अवसरमा आयोजित विविध धार्मिक अनुष्ठान आज सम्पन्न हुँदैछन्।
सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नाउँले जानकीलाई पुकारिन्छ । हिन्दू परम्परा र मान्यतामा देवीस्वरुपा मानिने जानकी अघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ । पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष सुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ।
जानकी नवमी पर्व सम्पूर्ण हिन्दू समुदाय, नेपालीहरुका लागि उत्तिकै महत्वपूर्ण भएपनि सीता प्राचीन मिथिलाकी छोरी भएकी हुँदा यहाँका बासिन्दामा यस पर्वको भावात्मक सम्बन्ध रहेको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त तथा मिथिला परम्परा तथा संस्कृतिका ज्ञाता रवीन्द्रदास वैष्णव बताउँछन्।
पर्वका अवसरमा प्राचीन मिथिलाका सबैजसो मठमन्दिरमा विशेष भजनकीर्तन हुँदै आएका छन् । त्यसैगरी सीताजी प्रकट हुनु भएको पौराणिक कथाका आधारमा ती विषय समेटिएको भावका मङ्गलगान आज जताततै गुञ्जिरहेका छन्।
मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरको ब्रह्मचारीकुटीस्थित रामजानकी मन्दिर, बर्दिबासस्थित रामजानकी मन्दिर र जिल्लाका सबैजसो मठमन्दिरमा जानकी नवमीका अवसरमा विशेष धार्मिक अनुष्ठान भएका छन् । यस अवसरमा सीता जन्म कथा, सीता स्वयंवर, रामलीला र रासलीलासहितका कार्यक्रम मञ्चन भएका छन्।
यसैबीच, प्राचीन मिथिलाको राजधानी जनकपुरधाम र त्यहाँका मठमन्दिरमात्र नभएर घरघरमा हिजो बिहीबार साँझदेखि नै दीपावली गरिएको छ । तिथिको घटबढले हिजोको साँझ र रात नवमी तिथि परेको हुँदा हिजो न दीपावली गरिएको थियो।
जनकपुरधामस्थित दुधमती नदीमा आज बिहानै शाहीस्नान सम्पन्न भएको छ । यस अवसरमा महोत्तरीको मटिहानीस्थित लक्ष्मीसागर, जलेश्वरस्थित भार्गव, पुरन्दर र वरुणसरलगायत तलाउमा स्नान गर्ने श्रद्धालुको भीड लागेको छ।
यसैगरी आज मध्याह्न १२ बजे विशेष आरती महोत्सव गरी जानकीको डोला जनकपुर नगर परिक्रमा गराई सन्ध्या आरतीपश्चात् पर्व सम्पन्न गरिने तयारी रहेको जानकीमन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिएका छन्। रासस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठक केहीबेरमा सिंहदबारमा बस्दैछ ।
देउवाले आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि निम्ता गरेका छन् । नेपाल पछिल्लो समय सत्तापक्ष भन्दा ज्यादा प्रतिपक्षीको भूमिकामा देखिँदै आएका छन् ।
तर, निम्ता गरिएपनि नेपाल बैठकमा सहभागी हुने–नहुने भने निश्चित भइसकेको छैन । बैठक केहीबेरमा सिंहदबारमा बस्दैछ । बैठकमा राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा, जनमोर्चा लगायतका दललाई बोलाइएको छ।
आजको बैठकले संसद्मा सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्नेबारेमा ठोस निर्णय लिनेछ ।
काठमाडौँ । राष्ट्रियसभाको बैठक साढे ४ बजेका लागि सारिएको छ । आज दिउँसो १ः१५ बजेका लागि बैठक बस्ने गरी निर्धारण गरे पनि विशेष कारण देखाउँदै सूचना टाँस गरेर बैठक सारिएको छ ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षले आजै अपराह्न ४ः ३० बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।
नेपालमा चिसो हावापानी भएको ठाउँमा स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन्।
कैलाली– तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्न सक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एक जना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन्। चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका हुन्।
किसान ओलीले फलाएको हर्मन ९९ जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ। उनले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन्। कैलालीमा उनले पहिलोपटक व्यावसायिक रूपमा नै स्याउखेती गरेका हुन्।
विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन्। रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले भने, “अहिले फुलेको स्याउलाई औषधि हालेर झारेको छु, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि ३०–४० बोटमा मात्र फलाएको छु।”
उनका अनुसार बिरुवा लगाएको दुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ। बिरुवा लगाएको तीन वर्षपछि मात्रै आम्दानी गर्न सकिन्छ भने पाँच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ ।
तराईका क्षेत्रमा नौलो मानिएको स्याउखेतीका लागि हालसम्म ८० लाख लागत लागिसकेको ओलीले बताए। ओलीले स्याउसँगै अम्बा र बयर पनि रोपका छन्। एक हजार दुई सय स्याउ, पाँच सय अम्बा र एक सय बयर उनले लगाएका छन्।
तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको बताउँदै ओलीले भने, “कृषि निर्देशक यज्ञराज जोशीको सल्लाहले मैले यो खेती गर्ने हौसला पाएँ र मलाई काम गर्न सहयोग मिल्यो।”
हाललाई अम्बा र बयर बेचेर आम्दानी गरिरहेका ओलीले स्याउको बेर्नाबाट पनि आम्दानी लिइरहेका छन्। प्रतिबेर्ना तीन सयका दरले बेचेको बताउँदै उनले भने, “हालसम्म एक हजार आठ सय बेर्ना बेचिसकेको छु।”
ओलीका अनुसार सिरहा, सप्तरीलगायत तराई क्षेत्रबाट र सिन्धुपाल्चोकबाट पाँच सय बिरुवा किन्न किसान आएका थिए तर पहाड क्षेत्र भएकाले बेर्ना बेचिएन। ओलीले प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख रुपैयाँ अनुदानसमेत पाएका छन्।
स्याउखेती गर्दाको शुरूआतमा नै बिरुवा खरिदका लागि प्रदेश कृषि निर्देशनालयले चार लाख रुपैयाँ दिएको बताउँदै उनले भने, “कृषि ज्ञान केन्द्र कैलालीले तारबारका लागि ११ लाख पचास हजार अनुदान दिएको थियो र हाल सिँचाइका लागि ज्ञान केन्द्रले चार लाख २८ हजार अनुदान दिएको छ।”
विगतमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासीमा बस्दै आएका ओली स्याउखेती गर्नका लागि कैलालीको प्रतापपुरमा आएका हुन्। उनले एक करोड ४६ लाख रुपैयाँमा जमिन खरिद गरी स्याउखेती थालेका हुन्। शुरूमा तराईमा स्याउ लगाउनेभन्दा छिमेकीले विश्वास नगरे पनि अहिले बगैँचामा फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेका छन्। आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उनले बताए । रासस





