
रामेछाप — ११ मंसिर २०८३ । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले रामेछापको सुनापति गाउँपालिकामा तीनदिने ‘सुनापति पर्यटन महोत्सव–२०८३’ आयोजना हुने भएको छ। महोत्सव मंसिर २५ देखि २७ गतेसम्म सुनापति डाँडामा सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार महोत्सवमा करिब १५ हजार दर्शक तथा पर्यटक सहभागी हुने अनुमान गरिएको छ। आयोजनाका लागि एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। महोत्सवसँगै पर्यटन वर्ष घोषणा गर्ने कार्यक्रमसमेत राखिएको छ।
महोत्सवको मुख्य उद्देश्य सुनापतिको धार्मिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु, स्थानीय उत्पादनको प्रवर्द्धन गर्नु र पर्यटनलाई रोजगारी तथा आयआर्जनको माध्यम बनाउनु रहेको छ। धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, ग्रामीण पर्यटन र कृषि पर्यटनलाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने आयोजकको योजना छ।
महोत्सवमा सुनापति डाँडा, १०८ लहरेमाने तथा महादेव मन्दिरलगायत धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरिनेछ। स्थानीय कृषि उपज, फलफूल, तरकारी, खाद्यान्न, हस्तकला, घरेलु सामग्री तथा मौलिक परिकारको प्रदर्शनी र बजारीकरणलाई प्राथमिकता दिइनेछ।
त्यस्तै, स्थानीय कला, संस्कृति, मौलिक भेषभूषा, तामाङ समुदायको सांस्कृतिक पहिचान, परम्परागत नृत्य तथा सांगीतिक प्रस्तुति, साहित्य, सिर्जना र खेलकुद गतिविधिसमेत महोत्सवमा समेटिनेछन्।
गाउँपालिकाले पर्यटन व्यवसायी, निजी क्षेत्र, स्थानीय युवा, महिला समूह, सहकारी तथा समुदायसँग सहकार्य गरी पर्यटन पूर्वाधार, सेवा र व्यवसाय विस्तार गर्ने लक्ष्य राखेको छ। महोत्सवबाट स्थानीय रोजगारी, उद्यमशीलता, पर्यटन बजार र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।
काठमाडौं — ११ मंसिर २०८३ । किरात स्वायत्तता जन अभियान केन्द्रीय समितिले विवादबीच २०८३ सालको दीपावली अवसरमा देउसी–भैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ। अभियानले विभिन्न स्थानबाट देउसी–भैलो खेलेर एक लाख ४१ हजार ५५४ रुपैयाँ संकलन गरेको र कार्यक्रम खर्च कटाएर १४ हजार ७७३ रुपैयाँ बचत रहेको सार्वजनिक गरेको छ।
अभियानका केन्द्रीय सचिव प्रेम कुमार राईद्वारा सार्वजनिक विवरणअनुसार बुढानीलकण्ठ, ललितपुर, गोकर्णेश्वरलगायत विभिन्न स्थानमा आयोजित देउसी–भैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको हो। किराया बुढानीलकण्ठ नगर कार्यालय, श्रम संस्कृति पार्टीको नगर कार्यालय, रोडुङ क्याफे, मान्द्रो सेकुवा कर्नर, किराया ललितपुर परिवार, किरात सेवा समाज केन्द्रीय समितिको अध्यक्ष सुरेश राईको घरलगायत स्थानमा कार्यक्रम गरिएको विवरणमा उल्लेख छ।
अभियानले संकलित रकममध्ये ३१ हजार ९४६ रुपैयाँ विभिन्न संघसंस्थाका देउसी–भैलो कार्यक्रम तथा बिरामी पत्रकार नवीन प्यासीको उपचार सहयोगका लागि दक्षिणा प्रदान गरेको जनाएको छ। श्रम संस्कृति पार्टी, किरात सेवा समाज, किरात राई चेली माइती, खोटाङ सेवा समाज, किरात राई युवा समूह हलेसी, किरात राई यायोक्खा गोकर्णेश्वर तथा टोखा नगरलगायत संस्थालाई सहयोग गरिएको विवरणमा उल्लेख छ।
प्रकाशित हिसाब अनुसार दक्षिणा तथा सहयोगतर्फ ३१ हजार ९४६ रुपैयाँ र प्रशासनिक, व्यवस्थापन तथा यातायात खर्चतर्फ ९४ हजार ८३५ रुपैयाँ खर्च भएको छ। दुवै शीर्षकको खर्च जोड्दा एक लाख २६ हजार ७८१ रुपैयाँ पुगेको छ। संकलित रकमबाट उक्त खर्च कटाउँदा १४ हजार ७७३ रुपैयाँ संस्थामा बचत रहेको अभियानले जनाएको छ।
तर, कार्यक्रम सम्पन्न भएको दाबी सार्वजनिक भइरहँदा अभियानको देउसी–भैलो कार्यक्रमबारे विवादसमेत देखिएको छ। किरात स्वायत्तता जन अभियानका केन्द्रीय संयोजक नगेन्द्र किरातीले भने जनअभियानको देउसी–भैलो खेल्ने कुनै कार्यक्रम नरहेको भन्दै प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका थिए।
एकातिर केन्द्रीय समितिका सचिवले कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गरेका छन् भने अर्कोतिर केन्द्रीय संयोजकले कार्यक्रम नरहेको जनाएपछि अभियानभित्र कार्यक्रमको आधिकारिकताबारे प्रश्न उठेको छ।
जय किरात, जय पहिचानको नारा अघि सार्दै सार्वजनिक गरिएको आर्थिक विवरणले कार्यक्रमको हिसाबकिताब स्पष्ट राखिएको दाबी गरे पनि विवादको विषयमा अभियानको आधिकारिक धारणा भने थप स्पष्ट हुनुपर्ने देखिन्छ।





