
मस्तिष्कमा रक्तस्राव भएपछि कलाकार रञ्जना तामाङ अस्पतालमा उपचाररत, शरीरका अधिकांश भाग चल्न नसक्ने अवस्था; आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल।
काठमाडौँ १२ मंसिर २०८३ । पूर्व जनमुक्ति सेनाका योद्धा कृष्ण घिसिङ ‘बादल’की जीवनसाथी तथा सामना सांस्कृतिक परिवारकी कलाकार रञ्जना तामाङ मस्तिष्कमा रक्तस्राव भएपछि अस्पतालमा उपचाररत छिन्। उनको उपचारका लागि आर्थिक अभाव भएपछि परिवारले स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक, सहकर्मी र सहयोगी मनहरूसमक्ष आर्थिक सहयोगको अपिल गरेको छ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१, बालुवापाटी निवासी तामाङलाई २०८३ मङ्सिर ८ गते उच्च रक्तचापका कारण अचानक स्वास्थ्य समस्या देखिएपछि मध्यपुर ठिमी अस्पतालमा भर्ना गरिएको हो। मस्तिष्कमा रगत जमेको (रक्तस्राव) कारण उनको शरीरका अधिकांश भाग चल्न नसक्ने अवस्था रहेको जनाइएको छ।
अचानक आइपरेको स्वास्थ्य संकटले परिवारलाई गम्भीर पीडामा पारेको छ। जीवनसाथीको उपचारमा जुटिरहेका कृष्ण घिसिङ ‘बादल’ परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिन भइरहेको छ। अस्पतालको उपचार, औषधि तथा थप स्वास्थ्य सेवाका लागि आवश्यक खर्च व्यवस्थापन गर्न परिवारलाई आर्थिक सहयोगको आवश्यकता परेको छ।
संकटको यो घडीमा परिवारले स्वदेश तथा विदेशमा रहनुभएका साथीभाइ, इष्टमित्र, समाजसेवी, उद्योगी, व्यापारी, राजनीतिकर्मी तथा मानवीय संवेदना भएका सबैमा आफूले सक्ने सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ। सानो–ठूलो सहयोगले पनि उपचारमा महत्वपूर्ण योगदान पुग्ने र पीडित परिवारलाई आशा तथा साहस प्रदान गर्ने विश्वास गरिएको छ।
सहयोग गर्न इच्छुक महानुभावहरूले रञ्जना तामाङका आफन्त अरुण बराईलीको ग्लोबल आइएमई बैंक खातामा रकम जम्मा गर्न वा उपलब्ध क्यूआर कोड स्क्यान गरेर सहयोग गर्न सक्नेछन्।
सहयोगका लागि बैंक विवरण:
खातावाल: अरुण बराईली (आफन्त)
बैंक: ग्लोबल आइएमई बैंक
खाता नम्बर: 2570768882200018
मानवीय संवेदना र सहकार्य नै संकटमा परेका परिवारका लागि सबैभन्दा ठूलो सहारा हो। रञ्जना तामाङको शीघ्र स्वास्थ्यलाभ र जीवनमा पुनः सामान्य अवस्था फर्काउन सहयोगी हात अघि बढाइदिन परिवारले सबैमा अपिल गरेको छ।






