२०८३ मंसिर ९
२०८३ मंसिर ९

काठमाडौँ । दसैंको ६ दिने सार्वजनिक बिदा अवधिमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले देशभरका शाखा कार्यालय र डिपोहरूलाई आलोपालो खुलाउने निर्णय गरेको छ।

निगमका अनुसार वीरगञ्ज शाखा र दाङ डिपो ४–४ दिन खुल्नेछन्। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रादेशिक कार्यालयहरू ३–३ दिन सञ्चालन हुनेछन्। बाँकी शाखा तथा डिपोहरू २ दिन मात्र खुल्ने तालिका तय गरिएको छ।

दीपायल शाखा कार्यालय भने आवश्यकताअनुसार सञ्चालन हुने निगमले जनाएको छ।

बिदाका दिनमा डिपो बन्द हुँदा पेट्रोलियम आपूर्ति सहज बनाउन प्रत्येक डिपोको लागि छुट्टै सम्पर्क व्यक्ति तोकिएको छ। उपभोक्ता वा ढुवानीकर्ताले तोकिएको व्यक्तिसँग सम्पर्क गरेर आवश्यक समयमा इन्धन प्राप्त गर्न सक्ने व्यवस्था निगमले गरेको छ।

निगमका अधिकारीहरूले यस व्यवस्थाले दसैं अवधिमा देशभर पेट्रोलियम पदार्थको अभाव नहुने विश्वास व्यक्त गरेका छन्।

मुस्ताङ । यस वर्ष मुस्ताङबाट करिब ३५ करोड रुपैयाँभन्दा बढी मूल्यका भेडाच्यांग्रा बाहिर पठाइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार दसैँका लागि मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट १४ हजार ६६८ भेडाच्यांग्रा मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम–कोरला सडकमार्गबाट निकासी गरिएको हो ।

केन्द्रका पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार निकासी भएका भेडाच्यांग्रा र रमा (च्यालु) को औसत मूल्यका आधारमा करिब ३५ करोड रुपैयाँको व्यापार भएको अनुमान छ ।

निकासीमध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा डोल्पा, मुगु र जुम्लाका रहेका छन्। यसमा मुस्ताङको हिस्सा मात्रै करिब २० करोड रुपैयाँ बराबरको रहेको बताइएको छ ।

व्यापारीले किसानकै खोरमा गएर च्यांग्रा छनोट गर्ने गर्छन्। हाल बजार मूल्य च्यांग्राको करिब ३५ हजार, भेडाको २८ हजार र रमा (च्यालु) को १२ हजार रुपैयाँ रहेको छ ।

स्थानीयको भनाइअनुसार वास्तविक निकासी संख्या अझै बढी हुनसक्छ, किनकि परीक्षणका क्रममा च्यांग्रा धनीहरूले पूर्ण विवरण नदिने गरेको पाइएको छ ।

काठमाडौं – नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष जनकराज शर्माले शुक्रबार शपथ ग्रहण गरेका छन्। अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा उनले पदको शपथ लिएका हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयका अनुसार शर्मा शपथपछि आजै पदभार ग्रहण गर्नेछन्।

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने भएको छ ।

बिहीबार बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले मतदान गर्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगले १६ बर्ष उमेर पुरा भएर नागरिकताको प्रमाण पत्र लिएका नपाली नागरिकले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुमा दर्ता गर्न सकिने जानकारी दिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्यादेश रहेको छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने कानुनी व्यवस्थालाई सरकारले अध्यादेश ल्याएर सो व्यवस्था संशोधन गरेर जेनजी युवाहरुले मतदान गर्न पाउने व्यवस्था गर्न लागेको हो ।

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो ।

काठमाडौं । आगामी दसैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्कीले चाडपर्वमा अपराधका घटना बढ्ने सम्भावना रहने भएकाले यस वर्ष पनि कडाइका साथ रणनीति बनाइएको बताए। “यो पटकको चाडपर्व अरू वर्षभन्दा फरक छ। हामी भवनभन्दा पनि भावनाले काम गर्ने संगठनका सदस्य हौं, त्यसैले नागरिकको सुरक्षामा कुनै कमी हुन दिने छैनौं,” उनले भने ।

कार्कीका अनुसार काठमाडौं उपत्यकामा कुल ६ हजार १०६ प्रहरीलाई नियमित ड्युटीमा खटाइनेछ। बढी भीडभाड हुने क्षेत्र र आर्थिक कारोबार हुने स्थानमा सादा पोसाकका प्रहरी टोली पनि परिचालन गरिनेछ। यात्रुहरूको सहजताका लागि बसपार्कलगायत स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।

एसएसपी शेखर खनालका अनुसार, प्रहरी रातिको समयमा पनि अपरेसनमा रहनेछ। जेनजी प्रदर्शनका क्रममा केही प्रहरी भवन र सवारीसाधन जले पनि सुरक्षा व्यवस्थामा कुनै कमजोरी नआउने उनले स्पष्ट पारे ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रहरीको हतियार र भवन जलेका थिए, जसको प्रभाव अहिले पनि देखिएको छ ।

काराकस । उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट १४ किलोमिटर टाढा, २७ किलोमिटर गहिराइमा थियो । यो क्षेत्र थोरै जनसङ्ख्या भएको मानिन्छ ।

भूकम्प राजधानी काराकसमा पनि महसुस गरिएको थियो । राजधानी काराकस केन्द्रविन्दुबाट छ सय किलोमिटरभन्दा टाढा छ । केही भवनहरू हल्लिएका कारण धेरै बासिन्दा आफ्ना अपार्टमेन्ट छोडेर बाहिर निस्किन बाध्य भएको एएफपी पत्रकारहरूले जनाएका छन् ।

युएसजिएसले यस भूकम्पबाट सुनामीको कुनै महत्त्वपूर्ण खतरा नभएको भन्दै ‘कुनै कार्य आवश्यक छैन’ भन्ने सल्लाह जारी गरेको छ ।

यसअघि केही घण्टाअघि उही क्षेत्रमा ६.२ म्याग्निच्युडको अर्को भूकम्प आएको थियो, जुन छिमेकी कोलम्बिया र क्यारिबियनका अरुबा, कुराकाओ र बोनेयर टापुमा समेत महसुस गरिएको थियो । तर तत्काल ठूलो क्षतिको कुनै खबर आएको छैन ।

भेनेजुएलामा शक्तिशाली भूकम्प सामान्यतया कमै आउने भएकाले काराकस र माराकाइबो लगायतका सहरमा यसपटकको कम्पनले चेतावनी जारी भएको थियो । मानिसहरू सडकमा उत्रिए, तर गृहमन्त्री डायोस्डाडो क्याबेल्लोले राज्य टेलिभिजनमार्फत भूकम्प ‘उल्लेखनीय संरचनात्मक क्षति बिना’ भएको स्पष्ट पार्नुभयो ।

लगभग ८० प्रतिशत भेनेजुएलालीहरू भूकम्पीय क्षेत्रमा बस्छन् । सन् १९९७ मा सुक्रे राज्यको क्यारियाकोमा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएपछि हालसम्म ठूलो घटना भएको थिएन । त्यसअघि, सन् १९७६ मा काराकसमा आएको भूकम्पमा करिब तीन सय जनाको मृत्यु र दुई हजार घाइते भएका थिए ।

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरोका कारण पृथ्वीराज मार्गमा यातायात अवरुद्ध भएको छ । सडकमा ठुलो परिमाणमा माटो र ढुङ्गा खस्दा सवारी आवागमन दुवैतर्फ रोकिएको हो । आज बिहान करिब १० बजेबाट पहिरो झर्न सुरु भएको हो ।

हाल सडकमा यातायात सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

दसैँ सुरु भएसँगै घर फर्किने यात्रुको चाप बढिरहेको अवस्थामा राजमार्ग बन्द हुँदा हजारौँ सवारी साधन बाटैमा रोकिएका छन् । रोकिएका सवारी साधनलाई सम्भावित जोखिम कम हुने सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

अवरुद्ध स्थान नजिकै मात्र नभई अन्य ठाउँमा पनि पहिरोको उच्च जोखिम रहेको भन्दै यात्रुलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा यसअघि (सोमबार राति) सुक्खा पहिरो खस्दा १७ घण्टा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । बुधबार बेलुका झरेको पहिरो आज बिहान पन्छाएर सडक सञ्चालन गराइएको थियो ।

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजबाट करिब २ सय ३६ किलो ७५० ग्राम गाँजासहित मिनिट्रक चालक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय अमलेखगंजको टोलीले सोमबार दिउँसो मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको बा.२ ख ९५६९ नम्बरको मिनिट्रक तलासी गर्दा गाँजा बरामद गरेको हो। ट्रकको छतमाथि फल्स बटम बनाई त्रिपालले छोपेर राखिएको २८ वटा पोकामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–१० का ३८ वर्षीय रमेश रूम्बा रहेका छन्। उनीलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ । सरकारले तीन जना सचिवहरूको सरुवा गरेको छ।

गृहसचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ भने उनका स्थानमा रामेश्वर दंगाललाई नयाँ गृहसचिव नियुक्त गरिएको छ। दंगाल यसअघि रक्षा सचिवको जिम्मेवारीमा थिए।

त्यस्तै, अब रक्षा सचिवमा सुमनराज अर्याललाई पठाइएको छ। अर्याल यसअघि योजना आयोगका सदस्य–सचिवको भूमिकामा थिए।

यसअघि सम्पन्न मन्त्रिपरिषद् बैठकले सचिवहरूको यो सरुवा गर्ने निर्णय गरेको हो।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।