
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार ७ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार १ सय रुपैयाले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदी १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविद् सरोज पुडासैनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।”
अहिले बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आजको अधिकतम तापक्रम २७ देखि २९ डिग्री तथा न्यूनतम तापक्रम २१ दशमलव दुई डिग्री सेन्टिग्रेट छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले बताउनुभयो । कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काराकास । भेनेजुएलाको विपक्षी पार्टीले हालै त्यहाँ भएको राष्ट्रपति निर्वाचनमा आफू विजयी भएको दाबीका निम्ति यही अगस्ट १७ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्न आह्वान गरेको छ ।
राष्ट्रपति निकोलस मादुरोले उक्त निर्वाचनमा आफू तेस्रो कार्यकालका निम्ति विजयी भएको दाबी गर्दै आएका छन् । विपक्षीले आफूले विजय हासिल गरेको जनाउँदै आएको छ ।
विपक्षी पार्टीले आफ्ना उमेदवार इडमुन्डो गोन्जालेज विजयी भएको जिकिर गरेको छ । उक्त दलले निर्वाचन आयोगलाई विस्तृत चुनावी तथ्यांक सार्वजनिक गर्न आग्रह गर्दै आएको छ । बीबीसीबाट
काठमाडौं । ज्यान मार्ने उदेश्यले खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा संखुवासभाको खाँदबारी नगरपालिका–५ घर भएका २५ वर्षीय मिङमा शेर्पा र सोही ठाउँका ३० वर्षीय रिन्जी शेर्पा छन् । उनलाई शनिबार पुरानो बसपार्कबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले गत शुक्रबार राति साढे १० बजेतिर काठमाडौं महानगरपालिका–२५ उग्रतार मन्दिर अगाडि रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ घर भएका २४ वर्षीय सुमन खड्कामाथि ज्यान मार्ने उदेश्यले खुकुरी प्रहार गरेको आरोप लागेको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी वैठकमा नेताहरुले आफ्नो विचार राख्ने क्रम जारी छ । यसै क्रममा आज (आइतबार) को वैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई अब संरक्षक भएर बस्न सुझाव दिएका छन् ।
नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण ।’ शर्माले युवालाई सांगठनिक नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव पनि गरेका छन् । उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् ।
वैठकमा शर्माले तीन वटा प्रस्ताव अघि सारेका छन् । उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरेका हुन् । पार्टीको जारी स्थायी समिति बैठकमा आफ्नो लिखित प्रस्तावमा शर्माले यस्तो बताएका छन् ।
उनले नेतृत्व पुस्तान्तरण गर्ने हो भने अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने प्रस्ताव गरेका छन् । यस्तै हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने शर्माको प्रस्ताव छ ।
त्यो पनि नभए हालको केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने उनको प्रस्ताव रहेको ती नेताले जानकारी दिए । पार्टी बनाउन पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा भई नेतृत्वको विकल्पमा जानुपर्ने शर्माको भनाइ छ ।
बैठकमा उनले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १२ पृष्ठको र ‘फुटबारे चलाइएका हल्ला’ शीर्षाकमा थप दुई पृष्ठ लामो प्रस्ताव पेस गरेका छन् । शर्माले पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गएको, फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको र कम्युनिस्ट मूल्यमान्यताअनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुगेको आफ्नो निष्कर्ष सुनाएका छन् ।
‘पार्टीलाई आम जनताबाट अलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो,’ उनले भने । शर्माले माओवादी फुटाउन लागेको आरोप आफूमाथि लगाइएको समेत बताए । ‘पार्टीभित्र मुद्दा विशेषका कमी कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दै छ भन्ने हल्ला चलाइयो ।’
उनले बैठकमा भने, ‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔं भन्दा डर मान्नु पर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहन गर्न राज्यशक्तिको समेत दुरुपयोग भएको आभास भयो ।’ सरकारमा रहँदा बालुवाटारबाटै कहिले आफू त कहिले अर्का उपमहासचिव पुनविरुद्ध दुश्प्रचार गरिएको, प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्ति प्रयोग गर्न खोजेको, पार्टीभित्र विभिन्न तहका नेताहरूलाई फुटाउन खोजेको समेत शर्माले बताएका छन् ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् । अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्ताव छ ।
नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्वबारे उपमहासचिव जनार्दन शर्माले तीन वटा प्रस्ताव अघि सारेका छन् । उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरेका हुन् ।
शर्माले यो प्रस्ताव साउन २५ गतेदेखि सुरु स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका हुन् । सो बैठकमा उनले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए ।
नेतृत्व हस्तान्तरणबारे शर्माको प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने ।’
यस्तै हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने शर्माको प्रस्ताव छ ।

त्यो पनि नभए हालको केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने उनको प्रस्ताव रहेको ती नेताले जानकारी दिए ।
पार्टी बनाउन पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा भई नेतृत्वको विकल्पमा जानुपर्ने शर्माको भनाइ छ ।
चितवन । चितवनको भरतपुर महानगरपालिका १५ मा तीन वर्षदेखि अलपत्र गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सुरू गरिएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालेको छ।
महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ। निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको छ। उनले भने “निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेका छन् ।”
महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालका अनुसार १० हजार दर्शक बस्नमिल्ने प्यारापिटसहित मैदान तयार गरिने छ। रंगशालानिर्माणको लागत रु ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ छ। विसं २०८३ पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।
चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड र भरतपुर महानगरपालिकाले रु.चार करोड ८० लाख बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ ।
सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेशनले पाँच हजार जना अट्ने प्यारापिट तयार गरिसकेको छ । त्यसका लागि दुई सय ८६ वटा पिलर खडा भइसकेका छन्। त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विघा १९ कट्ठा जग्गा रंशगालाका लागि छुट्याइएको छ।
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सुरु भएको छ । आजको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुने बताइएको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन् ।
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको थियो ।





