
काठमाडौं । माओवादी केन्द्रले बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव अघि सारेको छ ।
पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चासँगै बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव गरेका हुन् । जनता बृहत वाम एकता र कम्युनिस्ट पार्टी पुनर्गठनको पक्षमा रहेको भन्दै प्रवत्ता अग्नि सापकोटाले भने, ‘एकपल्ट बिग्रियो भनेर सधैंका लागि बिग्रिन होइन । बृहत वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरु आउँदै गर्दा खासखास नेताहरु अहिले कम्युनिस्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य छ ।’
त्यसअघि पार्टीमा शुद्धीकरण अभियान चलाउने र एकताबद्ध बनाउने प्रचण्डले बताएका छन् ।
पार्टीको आठौं महाधिवेशनले गरेको विचारको संश्लेषण गर्दै नयाँ ढंगले बहस गर्नुपर्ने उनले बताए । पार्टीमा शुद्धीकरण अभियान चलाउने, नयाँ कार्यक्रमसहित जनतामा जाने प्रचण्डको जोड छ ।
सुनसरी, धरान उपमहानगरपालिका-५ सेउती पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बसन तामाङ र धरान उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय रूपेश तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, दुहवी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध गाँजा करिब ३९ किलो १ सय ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २३ वर्षीय राम बहादुर राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बा.५७ प १२२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरा र झोलामा राखिएको ३६ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम, नगद ४ हजार ८ सय ३० रूपैयाँ र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका-१० सर्वेश्वरी टोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले ती किशोरलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१३ बाहुन्नेबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीया रूप बहादुर थिङ समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ बजार लाईनस्थित निर्माणाधिन घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सुजन गुरूङ समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ आदर्श टोल बस्ने ३८ वर्षीय निगु दोर्जे तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पिपरहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी प्रतापपुर गाउँपालिका-५ बसहिया बस्ने ४० वर्षीय अनिल कुमार कुर्मी र ५४ वर्षीय फेकु पासी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रूपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले युपि ५७ एच ८६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, जगरनाथपुर गाउँपालिका-४ सोपुरबाट अवैध लागूऔषध गाँजा १७ किलोग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ दसौता टोल बस्ने ६० वर्षीय लक्ष्मण राउत र भारत बिहार राज्य घर भएका २० वर्षीय नयाज आलम रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले लक्ष्मणको साथबाट ९ किलो र नयाजको साथबाट ८ किलो गाँजा फेला पारी पक्राउ गरेको हो । साथै सोही स्थानमा प्रहरीलाई देखि १ जना पुरूषले ५ किलोग्राम गाँजा फाली फरार भएका थिए । प्रहरीले उक्त गाँजा बरामद गरी हाल फरार व्यक्तिको खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताउनुभएको छ ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार प्रहरी उपरीक्षक नवीन किशोर प्रधानद्वारा लिखित ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैमा एउटा कठिन परिश्रम भएको एवम् ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता रहेको चर्चा गर्दै आम जनमानसमा रहेको प्रहरी प्रतिको लाठी र बन्दुक मात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस कृति प्रशंसनीय रहेको बताउनुभयो । अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति सुरक्षा अमनचयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयमिक प्रतिभा समेत हुन्छ भन्ने तथ्य आजको नाटक तथा कथासङ्ग्रहको लोकार्पणले प्रष्फुटित गरेको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले वंश परम्परा सम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबीचको मानसिक मतभेद जस्ता सामाजिक विषयवस्तु समेटिएको लेखान्त नाटक तथा हालको सामाजिक एवम् राजनीतिक वस्तुस्थितिमा आधारित ‘सादृश्य विम्ब’ सामाजका विविध पक्षहरूलाई उजागर गर्दै नयाँ दृष्टिकोण प्रदान गर्ने र पाठकहरूको मन मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने साहित्यिक सिर्जनका रूपमा रहने अपेक्षा लिएको बताउनुभयो । साथै उहाँले प्रहरी उपरीक्षक नवीन किशोर प्रधानलाई बधाई दिँदै आगामी दिनमा अझ नवीन र सिर्जनशील रहँदै साहित्यिक क्षेत्रमा थप अग्रसर भई ख्याती प्राप्त गर्न सफल हुन शुभकामना समेत व्यक्त गर्नुभयो ।
उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त कथासङ्ग्रह र नाटक लोकार्पण गर्नुभएको थियो । साथै प्रहरी महानिरीक्षक कुँवरले कृति प्रकाशनमा संलग्न महानुभावहरूलाई कदरपत्र समेत प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्राज्ञ डा. मधुसूदन गिरीले ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र डा. भक्त राईले ‘लेखान्त’ नाटक कृतिको समीक्षा गर्दै कृतिमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो । डा. छायादत्त न्यौपाने ‘बगर’ ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कृति सर्जक प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले कृति सम्बन्धी आफ्नो धारणा सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अक्षरधाम प्रकाशनका प्रबन्धक निर्देशक देवराज सिंखडाको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, साहित्यकारहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताएका छन् । शनिबार काठमाडौंमा लायन्स क्लबले आयोजना गरेको एक कार्यक्रममा उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धता दोहोर्याए ।
देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिन आफू सदैव लागिपरेको उनले उल्लेख गरे । उनले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए । गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न सक्छु ? भन्दै प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे ।
जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने विषयलाई आफूले चासोमा राखेर त्यसलाई पूरा गर्न ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य तय गरेर अघि बढेको उनले बताए । उनले आमजनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने उल्लेख गरे ।
काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् । शनिबार काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताएका हुन्।
अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए ।
आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले यस क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए । आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिले भन्दा धेरै काम गर्नुपर्छ भन्नेमा सचेत रहेको बताए ।
काठमाडौं । शेख हसिनाले बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा नै नदिएको ‘खुलासा’ भएको छ । उनका छोरा सजिब वाजेदका अनुसार प्रदर्शनले उग्ररूप लिएपछि हसिनाले राजीनामा दिने योजना बनाएकी थिइन् । तर, प्रदर्शनकारीहरू निवास नै घेराउ गर्न पुगेपछि उनले राजीनामा नै दिन नपाएको उनको दाबी छ ।
“मेरी आमाले औपचारिकरूपमा राजीनामा दिनुभएको छैन । उहाँले राजीनामा दिने समय नै पाउनुभएन । उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हुनुहुन्छ,” वाजेदले वासिङ्टनबाट रोयटर्ससँग शनिबार भनेका छन् ।
वाजेदका अनुसार हसिनाले एक वक्तव्य दिएर राजीनामा दिने योजना बनाएकी थिइन् । तर, आन्दोलनकारीहरू प्रधानमन्त्री निवासमा र्याली गर्न थालेपछि उनले समय नै पाइनन् ।
“मेरी आमाले सामान प्याक गर्ने समय पनि पाउनुभएन । संविधानअनुसार उहाँ अझै पनि बंगलादेशको प्रधानमन्त्री हो ।”
राष्ट्रपतिले सेना प्रमुख र विपक्षी दलहरूसँगको परामर्शमा गरेको संसद् विघटन र प्रधानमन्त्रीले औपचारिकरूपमा राजीनामा नदिएर कामचलाउ सरकार गठन गरेकोविरुद्ध ‘अदालतमा चुनौती दिन सकिने’ उनको दाबी छ ।
काठमाडौं: चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ५० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय गिता प्रसाद ढुङ्गानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १६१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । हाल देशभर साधारणतया बदली (आकाशमा बादल) छ । आज रति सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
अनि कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति आंशिकदेखि साधारणतया बदली रहने छ। यस क्रममा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ। यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।
यस्तै धेरै, थोरै तथा एक/दुई स्थान भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यही-यही ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ।
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालै बंगलादेशमा भएको घटनाले कांग्रेस-एमाले गठबन्धन सरकारलाई मनोवैज्ञानिक त्रास उत्पन्न गराएको दाबी गरेका छन् ।
शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकको उद्घाटन गर्दै दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार ‘सुशासनविरोधी, भ्रष्टाचारलाई प्रशय दिएको’ आरोप लगाए । ‘हालै बंगालादेशमा भएको राजनीतिक उथलपुथलको मनोवैज्ञानिक असर गठबन्धन सरकारलाई परेको छ,’ उनले भने, ‘हामीले मुलुकमा सुशासन, भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा सरकारबाट बाहिरिनु परेको सन्देश जनतामाझ गएको छ ।’
उनले माओवादी दागरहित भएर सरकारबाट बाहिर आएको उल्लेख गर्दै अघिल्लो सरकारले उठाएका सुशासन, सामाजिक न्याय र समृद्धिका मुद्दालाई संसद् र सडकबाट खबरदारी गर्ने दाबी गरेको एक स्थायी समिति सदस्यले बताए । दाहालले शनिबार ‘वर्तमान परिस्थिति र पार्टी निर्माण’ सम्बन्धी थप प्रस्ताव राख्ने छन् ।
शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा शनिबारदेखि नेताहरुले आ-आफ्ना धारणा राख्ने छन् ।
काठमाडौँ । न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका छ ।
यसरी सिफारिस हुनेमा यसअघि जिल्ला न्यायाधीशको परीक्षामा सहभागी भए असफल भएकाहरू पनि अटाएका छन् । संविधानले उनीहरू योग्य हुने भनेकाले परिषद्ले उनीहरूलाई पनि समावेशी गरी जिल्ला न्यायाधीश सिफारिस गरेको परिषद्ले दाबी गरेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरूको सिफारिस गरेको हो । उच्च र सर्वोच्च अदालतमा पनि न्यायाधीश रिक्त रहेका छन् ।
उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेको छ । न्यायाधीश अभावको समस्या सबैभन्दा धेरै सर्वोच्चले भोगिरहेको छ । तर परिषद्ले जिल्लाबाट नियुक्तिको थालनी गरेको हो ।
यसअघि लोक सेवा आयोगले जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो । उक्त परीक्षामा न्यूनमात्र पास भएका थिए ।
संविधानले नै परीक्षाको माध्यमबाट जिल्ला न्यायाधीशमा निश्चित कोटा नियुक्ति गर्ने व्यवस्था गरेको छ । तर हरेक वर्ष न्यून मात्र उम्मेदवार उत्तीर्ण हुने हुँदा फेल भएका योग्य जनशक्तिबाटै पुनः परिषद्ले नियुक्ति गर्ने गरेको छ । यसपटक पनि ३५ जना चोर बाटोबाट जिल्ला न्यायाधीश हुने मौका पाएका थिए ।
यसरी सिफारिस भएका न्यायाधीशहरुलाई परिषद्ले नै विभिन्न जिल्लामा पदस्थापन पनि गर्ने छ ।





