
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका छन् ।
कांग्रेसकै सांसद ईश्वरी न्यौपानेले भदौ १० गते राज्यव्यवस्था समितिको सभापति पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा कांग्रेसले खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टीको सिफारिसमा बिहीबार खतिवडाले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका हुन्। सुनुवाइ समितिको सभापति चयनका लागि निर्वाचन शुक्रबार तोकिएको छ ।
निर्वाचनका लागि बिहीबार दिउँसो २ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यसूची रहेको थियो ।
काठमाडौं । नेपाल सरकारले दर्ता नगरेका सामाजिक सञ्जाल नेपालभित्र बन्द गर्ने निर्णय गरेको छ।
सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन तथा दर्ता गर्न परमादेश दिएपछि मन्त्रिपरिषदले नेपालमा सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यसअघि २०८२ भदौ १२ गते सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र सूचीकरणका लागि सम्पर्क गर्न आग्रह गरिएको थियो। तर तोकिएको समयमा सम्पर्क नगरेका सामाजिक सञ्जाललाई अब नेपालभित्र निष्क्रिय गराइने मन्त्रालयले स्पष्ट पारेको छ।
सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयका अनुसार यस निर्णयलाई तत्काल कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ। नेपालमा टिकटक र भाइबर भने सूचीकरण भइसकेका छन्।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार जारी विज्ञापनअनुसार सहायक निर्देशक (अधिकृत तृतीय) र वरिष्ठ सहायक (सहायक प्रथम) तहका पदहरू खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा भर्ना गर्न आवेदन माग गरिएको हो ।
सहायक निर्देशकमा प्रशासन समूह खुला १, कानून समूह मधेशी समावेशी १ र दलित समावेशी १ पद खुला गरिएको छ। त्यस्तै, वरिष्ठ सहायकमा प्रशासन समूह खुला १ र महिला समावेशी १ पदमा आवेदन मागिएको छ ।
उम्मेदवारहरूले बोर्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन असोज २ गतेभित्र दिनुपर्नेछ भने दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म बुझाउन सकिनेछ ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ६ सय रुपैयाँ निर्धारण गरिएको छ। यससँगै सुनको मूल्य पहिलो पटक तोलामै २ लाख नाघेको हो।
महासंघले चाँदीको मूल्य पनि तोकेको छ, जसअनुसार शुक्रबार चाँदी २ हजार ३६० रुपैयाँ मा किनबेच भइरहेको छ।
बिहीबार एक तोला सुन १ लाख ९९ हजार ४०० र चाँदी २ हजार ३५० मा कारोबार भएको थियो। आज सुनमा १२ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले वृद्धि भएको छ।
काभ्रे । जनप्रिय काम मार्फत निरन्तर चर्चामा रहने खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले फेरि एक पटक जनताको बीचमा उदाहरणीय काम प्रस्तुत गरेका छन् ।
डाक्टरले तोकेको समय नाघ्दासमेत बच्चा जन्माउन नसकेकी वडा नं. ६ माझीटारकी गर्भवती सजिना गोलेलाई अध्यक्ष थिङले आफैँ उद्धार गरेका हुन् । उपचारका लागि हेटौडा लैजानुपर्ने अवस्था आएपछि थिङले बिरामी राखिएको स्ट्रेचर काँधमा बोकेर करिब डेढ घण्टा पैदल हिँड्दै आफ्नै गाडीसम्म पुर्याएका थिए ।
बिरामीको तीन दिनदेखि गर्भमा बच्चा नचल्ने समस्या देखिएको उनका परिवारजनले बताएका छन् । तत्कालीन अवस्थामा अन्य विकल्प नदेखेपछि अध्यक्ष थिङकै पहलमा आफ्नै सवारी प्रयोग गरी गोलेलाई हेटौडा अस्पतालतर्फ लगिएको हो ।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ भने स्थानीयले थिङको मानवीय सहयोगलाई “साँचिकै नेतृत्वको जिम्मेवारी पूरा गर्ने कार्य” भन्दै प्रशंसा गरेका छन् ।
हामी सङ कुराकानी गर्दै अध्यक्ष थिङले संघीय सरकारले खानीखोलाको स्वास्थ्य र यातायात समस्या समाधानमा ध्यान नदिँदा यस्तो अवस्था दोहोरिने गरेको गुनासो पोखे । साथै, राष्ट्रपति महिला उत्थान कार्यक्रमसमेत आफ्नो गाउँपालिकामा लागू नगरेकोमा असन्तुष्टि व्यक्त गरे ।
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको धन्वन्तरी आयुर्वेद अस्पताल र रामेछाप निवासी स्वास्थ्यकर्मी तेज बहादुर श्रेष्ठ बीच उपचार सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
बुधबार अस्पतालका सञ्चालक डा. विजन कोजु र श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार, श्रेष्ठको सिफारिसमा आउने रामेछापका बिरामीले धन्वन्तरी आयुर्वेद अस्पतालमा उपचार गराउँदा उपचार खर्चमा ४० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।
सम्झौता आजदेखि लागू हुने र पाँच वर्षसम्म कायम रहनेछ। दुबै पक्षले सहमतिका बुँदाअनुसार पूर्ण रूपमा सम्झौताको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस पहलबाट ग्रामीण तथा दूरदराजका बिरामीलाई आयुर्वेद उपचारमा सहज पहुँच हुने अपेक्षा गरिएको छ ।

काठमाडौं — बृहत नागरिक आन्दोलनले संक्रमणकालीन न्यायप्रति राज्यका निकायहरू असफल देखिएको भन्दै ‘नागरिक आयोग’ गठन गर्ने घोषणा गरेको छ। शनिबार काठमाडौंमा आयोजित ‘नागरिक विमर्श – १४’ कार्यक्रममा उक्त घोषणा गरिएको हो।
‘सङ्क्रमणकालीन न्याय आयोगप्रति द्वन्द्वपीडितको आपत्ति किन?’ भन्ने शीर्षकमा आयोजित विमर्शमा मानव अधिकारकर्मी राजुप्रसाद चापागाईं, गीता रसाइली र द्वन्द्वपीडित सुमन अधिकारी वक्ताको रूपमा सहभागी थिए। उनीहरूले वर्तमान सत्य निरूपण तथा मेलमिलाप आयोगप्रति गम्भीर शंका व्यक्त गर्दै आयोगले द्वन्द्वपीडितलाई न्याय दिन नसक्ने स्पष्ट पारे।
कार्यक्रममा बोल्दै राजु चापागाईंले भने, “सरकारले गठन गरेका आयोगहरू राजनीतिक स्वार्थअनुसार चलेका छन्। पीडितको आवाज नसुनिने र दोषी उन्मुक्ति पाइरहने अवस्थामा अब नागरिक तहबाट विकल्प खोज्नुपर्छ।” उनले पीडितहरूको विश्वास जित्न सक्ने स्वतन्त्र, निष्पक्ष र जिम्मेवार नागरिक आयोग आवश्यक रहेको बताए।
गीता रसाइलीले पनि सत्य निरूपण आयोग पीडितमैत्री नभएको र यसले द्वन्द्वपीडितको पीडामा मलहम लगाउन नसक्ने बताइन्। “यो आयोगले पीडितहरूलाई झनै पीडा थप्ने काम गरिरहेको छ,” उनले भनिन्।
द्वन्द्वपीडित सुमन अधिकारीले आफ्नो अनुभव सुनाउँदै राज्यका आयोगहरूद्वारा पटक-पटक धोका पाइएका घटनाहरू उल्लेख गरे। “हामी न्याय खोज्दै थाकिसक्यौं। अब नागरिक तहबाटै पहल हुनुपर्छ,” उनले भने।
कार्यक्रममा सहभागीहरूबीच आयोगको वैधता, निष्पक्षता र कार्यक्षमताबारे व्यापक छलफल भएको थियो। निष्कर्षमा, बृहत नागरिक आन्दोलनले अबको केही हप्ताभित्र ‘नागरिक आयोग’ गठन गर्ने तयारीमा रहेको जानकारी दिइएको छ। यो आयोगले सत्यको खोजी, पीडितको आवाज उठाउने र वैकल्पिक न्याय प्रक्रिया अगाडि बढाउने बताइएको छ।
काठमाडौँ, साउन १९। नेकपा (माओवादी केन्द्र) का नेता तथा पार्टी सचिव गंगानारायण श्रेष्ठलाई केन्द्रीय स्कुल विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ। माओवादी नेतृत्वले आज (साउन १९ गते) श्रेष्ठलाई स्कुल विभागको उपप्रमुखका रूपमा जिम्मेवारी दिएको हो।
उक्त विभागको इञ्चार्जमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं रहेका छन् भने प्रमुखको भूमिकामा पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेल छन्।
गंगानारायण श्रेष्ठ २०७२ सालमा माओवादी पार्टी परित्याग गरी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानमा लागेका थिए। तर, २०८२ साल जेठ १२ गते नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्षको हैसियतमा रहेका उनी पुनः माओवादी केन्द्रमा फर्किएका थिए।
पूर्वमन्त्री समेत रहेका श्रेष्ठ हाल बागमती प्रदेशसभा सदस्य रहेका छन् ।
रामेछाप, । अखिल (क्रान्तिकारी) रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको भेला तथा सम्मेलनबाट सुनगाभा थापा मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति निर्वाचित गरिएको छ।
शनिबार काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा आयोजित सम्मेलनले उपाध्यक्षमा कुमार मानन्धर र अस्मिता चौहान, सचिवमा सरोज चौलागाईं, सह–सचिवमा अबिशेक कार्की र सन्तोष गौतम तथा कोषाध्यक्षमा अन्नपूर्ण श्रेष्ठलाई चयन गरेको हो।
कार्यक्रम नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ, जिल्ला संयोजक कमान सिंह मोक्तान, रामेछाप–काठमाडौं सम्पर्क समन्वय समिति इन्चार्ज कर्णखर चौलागाईं, सह–इन्चार्ज राजन पौडेल, पूर्वअध्यक्ष प्रवल बल, बागमती प्रदेश सदस्य शिशिर खड्गी, रबिन्द्र पौडेल, उद्धव रम्तेल, तथा YCL नेपाल केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज मुकुन्द गौतम , अखिल क्रान्तिकारी बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल, उपाध्यक्ष सन्तोष चौहान र कोषाध्यक्ष अनिता श्रेष्ठ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
अखिल (क्रान्तिकारी) रामेछापका अध्यक्ष रोशन कार्कीका अनुसार कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्र अध्यक्ष विजय प्रकाश सापकोटा, केन्द्रिय उपाध्यक्ष अटल आचार्य, र केन्द्रिय उप–महासचिव निरोज श्रेष्ठको पनि बिशेष उपस्थिति रहेको थियो।
सो अवसरमा रामेछाप जिल्लाबाट २०८१ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५० भन्दा बढी विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमले संगठनात्मक एकता सुदृढीकरण, विद्यार्थी आन्दोलनको सशक्तिकरण र आगामी राजनीतिक तथा शैक्षिक अभियानमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको अखिल (क्रान्तिकारी) केन्द्र अध्यक्ष विजय प्रकाश सापकोटाले बताए।
सिरहा । सिरहाको लहान ३ अस्पताल चोकस्थित क्षेत्रबाट स्रोत नखुलेको १० लाख एक हजार ६९५ रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लास्थित लौकाहा बजार निवासी करिब २४ वर्षीय राहुल कुमार रहेको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाले जनाएको छ ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार लहानस्थित सुरक्षा बेस क्याम्पबाट खटिएको चेक प्वाइन्ट टोलीले आज बिहान करिब ९:३० बजे इनरुवाबाट लहानतर्फ आउँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा राहुललाई ठूलो रकमसहित फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राहुलसँग फेला परेको नगद रकमको स्रोत नखुलेपछि उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





