
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाहले आज मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
प्रदेश प्रमुख नजीर मियाँले शाहलाई दाबीबमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
केन्द्रमा कांग्रेस–एमालेको समीकरण बनेसँगै प्रदेशहरुमा पनि त्यसको प्रभाव देखिएको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिबमोजिम शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।
सुदूरपश्चिम प्रदेश सभा कूल ५२ सदस्यीय रहेको छ । नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसदको समर्थनमा सरकारको दाबी पेश गरेका थिए ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट निष्कासित सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई कार्यकारी निर्देशक कुलमान घिसिङले बैठकमा बोलाएका छन् । पुन र आचार्यलाई हालै मात्र सरकारको ठाडो आदेशमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो ।
खासगरी उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई सरकारलाई असहयोग गरेको भन्दै मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो। तर, विना कारण आफूहरूलाई जिम्मेवारीबाट हटाएकाले सरकार विरुद्ध अदालत जाने बताइरहेकै बेला कार्यकारी निर्देशक घिसिङले बोर्ड सदस्यकै भूमिकामा आचार्य र पुनलाई बैठकमा बोलाएका हुन् ।
तथापि, आइतबार साँझ ४ बजेका लागि बैठकमा बोलाए पनि आफूहरू नगएको कपिल आचार्यले जानकारी दिए । तर मन्त्रालयले हटाइसकेको सदस्यलाई बैठकमा बोलाएर कार्यकारी निर्देशक घिसिङले भने सरकारलाई चुनौती दिएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी अधिकारी र प्रकाश सपुतलगायत क्रिकेटप्रमीसँगको संयुक्त भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट, खेलाडी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गर्नुभएको हो ।
“क्रिकेट रङ्गशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो । यससँगै रङ्गशाला निर्माणलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने विश्वास लिएका छौँ”, प्रधानमन्त्री ओलिले भन्नुभयो । मन्त्रिपरिषदको पहिलो बैठकले त्रिवि मैदानलाई तीन सय दिनमा अन्तर्राष्ट्रितनस्तरको सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो ।
बाँके । बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको छ । निकुञ्जभित्र रहेका प्राकृतिक सम्पदा, वन्यजन्तु र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका हुन् ।
गत आर्थिक वर्षमा चार सय ४४ पर्यटक भित्रिएका निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये चार जना सार्क मुलुक र १० जना विदेशी पर्यटक छन् । आर्थिक वर्ष २०७९÷८० मा तीन सय १७ पर्यटक आएका जनाउँदै अघिल्लो आवको तुलनामा गत आवमा एक सय २७ बढी पर्यटक भित्रिएका शाहले बताउनुभयो ।
पर्यटक प्रवेश शुल्कबाट निकुञ्जले गत आवमा एक लाख ८३ हजार तीन सय ३३ राजस्व सङ्कलन गरेको छ । निकुञ्जमा जङ्गल वाक, जिप सफारी, हात्ती सफारी, चरा अवलोकन, क्याम्पिङ, हाइकिङका लागि पर्यटक आउने गरेका संरक्षण अधिकृत शाहले जानकारी दिनुभयो । “बाँके राष्ट्रिय निकुञ्जमा स्थापना भएपछि हालसम्म दुई हजार ५२ पर्यटक भित्रिएका छन् । जसमध्ये सार्क मुलुकका १७ र ३८ जना अन्य विदेशी पर्यटक छन् । निकुञ्जमा सबैभन्दा धेरै गत आवमा पर्यटक भित्रिएका हुन्”, संरक्षण अधिकृत शाहले भन्नुभयो ।
बाँके, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेश बिन्दुका रुपमा रहेकाले पर्यटकलाई पूर्व-पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्न, निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको उहाँको भनाइ छ । वि.सं.२०६७ मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज मूलतः पाटेबाघको बासस्थानका रुपमा चिनिन्छ । हाल निकुञ्जमा २१ वटा बाघ छन् । नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा निकुञ्ज छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ ।
स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका प्रमुख वरिष्ठ संरक्षण अधिकृत शाहले बताउनुभयो । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेको उहाँको बुझाइ छ । यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गर्न सकिने भएकाले पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’ का रुपमा विकास गर्न थालिएको होटल व्यवसायी महासङ्घ लुम्बिनीका संस्थापक अध्यक्ष भाष्कर काफ्लेले बताउनुभयो ।
“कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउने भएकाले यो निकुञ्ज पर्यटकको ट्रान्जिट प्वाइन्ट हुँदैछ”, उहाँले भन्नुभयो, “पछिल्लो समय बाघको सङ्ख्या बढ्दै गएकाले पर्यटकको चहलपहल पनि बढेको छ ।” मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेञ्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।
आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्व बढ्दै गएको उहाँको अनुभव छ । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँ गाउँ होमस्टे सञ्चालित छन् ।
काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ विभाग प्रमुख तोकेको छ।
साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागहरू, जनवर्गीय संगठनहरू गठन/पुनर्गठन गरेको हो।
संगठन विभाग प्रमुखको जिम्मेवारी सोनामसिं स्याङ्तान, प्रशिक्षण विभाग प्रमुख महेन्द्र श्रेष्ठ, अन्तर्राष्ट्रिय विभाग दुर्गा सोब, आर्थिक व्यवस्थापन विभाग प्रमुखमा हिसिला यमी, उत्पादन तथा स्वरोजगार विभाग प्रमुखको भक्तबहादुर शाहलाई दिइएको छ।
साथै प्रचारप्रसार तथा सूचना प्रविधि विभाग प्रमुख मानुषी यमी भट्टराई, केन्द्रीय कार्यालय व्यवस्थापन विभाथ प्रमुखमा रोशन पोखरेल र व्यवस्थापिका तथा राज्य व्यवस्था विभाग प्रमुखको जिम्मेवारी फणिन्द्र देवकोटालाई दिइएको नेसपाले जनाएको छ।
केन्द्रीय विज्ञ परिषदमा ललितपुरका पी श्रेष्ठ, काठमाडौंका कपिल काफ्ले, गोरखाका शारदाप्रसाद धिताल, हङकङमा रहेका श्याम ईधामको नाम थप गरिएको पार्टीले जनाएको छ।
निर्वाचन आयोग प्रमुखमा रामकुमार पुरी, अनुशासन आयोग प्रमुखमा रामबहादुर बोहोरालगायत मनोनीत गरिएको प्रवक्ता कृष्ण शर्माले जारी गरेको विज्ञपतिमा उल्लेख छ।





नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । शाहले आज प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गरेका छन् ।
५२ सदस्यीय सुदूरपश्चिममा कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन् ।
काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यलाई हटाइएको छ । कपील आचार्य र भक्तबहादुर पुनलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको हो ।
डेडिकेटेड र ट्रंक लाइनको विद्युत् सुविधा प्रयोग गरेर बक्यौता नतिर्ने उद्योगको लाइन काटिएको थियो । बक्यौता नतिरेसम्म लाइन जोड्न हुने भन्दै अडान लिएका आचार्य र पुनलाई साउन स्पष्टीकरण माग गरिएको थियो । १५ मा लिखित स्पष्टीकरण माग गरिएका उनीहरूलाई अहिले हटाइएको हो ।
स्पष्टीकरण चित्त नबुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै उनीहरूलाई सोही दिन हटाउने ऊर्जामन्त्री दीपक खड्काले निर्णय लिएका थिए ।
प्राधिकरण सञ्चालक समितिले यही साउन ७ मा उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको थियो ।
तर, आचार्य र पुनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
सरकारले गत पुस २४ मा डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल विवाद समाधानका लागि न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयअनुसार विद्युत् प्राधिकरणको सञ्चालक समितिले असार पहिलो साता ६१ उद्योगीहरूलाई १५ दिनभित्र बक्यौता बुझाउन पत्र पठाएको थियो ।
तर, बक्यौता नबुझाएपछि असार २५ यता ६ उद्योगको बिजुली काटिएको थियो । प्राधिकरणले रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो । तर, नयाँ गठन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा बिजुली जोड्न निर्देशन दिएका थिए ।
प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जामन्त्री दीपक खड्का छन् । सदस्यहरूमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडी, राजस्व सचिव रामप्रसाद घिमिरे, भक्तबहादुर पुन, कपिल आचार्य, भरतराज आचार्य, रतनबहादुर ऐर र सदस्यसचिवमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छन् ।
सरकारले आफूहरूलाई चार वर्षको नियुक्ति दिएको र राज्यको पक्षमा उभिँदा राज्यले नै अनावश्यक आरोप लगाएर हटाएपछि आफूहरू न्यायका लागि अदालत जाने बताएका छन् । ‘चार वर्षका लागि नियुक्ति दिइएको हो । तीन वर्ष भएको छ । यो बेला हामीले राज्यको पक्षमा बोल्दा हटाउने काम भयो’, आचार्यले भने, ‘अब न्यायको ढोका ढकढक्याउन बाध्य भएका छौँ ।’
उनले पत्र भर्खर प्राप्त भएको भन्दै कानुनी परामर्शपछि अदालत जाने बताए ।
बारा प्रहरीले साढे आठ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छिन् । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
आज बिहान बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्युँमा कालो झोला बोकी सडक छेउमा उभिरहेकी श्रेष्ठमाथि शङ्का लागेर प्रहरीले जाँच गरेको थियो । जाँचका क्रममा उनले बोकेको झोलाबाट साढे आठ किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
सर्लाही । बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा पाँचजना घाइते भएका छन् ।
मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा आज ज२त ३२७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बोलबम यात्री घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइते हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका–५, का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षकी छोरी सुस्मिता, ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी ११ वर्षकी छोरी अंशुकुमारी रहेका छन् ।
तीब्र गतिमा रहेको टयाक्टर अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना लगतै टयाक्टर चालक चक्रघट्ट गाउँपालिका–८, औरहीका ३० वर्षीय राम बालक राय फरार रहेका छन् । भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।
काठमाडौं । कर्णालीमा नेपाली कांग्रेस सरकारमा सामेल भएको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीहरुले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन्।
जसमा राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्। स्रोतका अनुसार शपथ ग्रहण गरेका नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्ने भएका छन्।





