
काठमाडौँ । सत्तारुढ नेकपा एमालेका नव नियुक्त उपाध्यक्ष गुरू बरालसहित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । एमालेको गत शुक्रबार बसेरा होटलमा बसेको सचिवालयको ३४ औं बैठकले उपाध्यक्ष बराल र १७ जना केन्द्रीय सदस्यहरूलाई मनोनीत गरेको थियो ।
सुवास कर्माचार्य (सिन्धुपाल्चोक), जितेन्द्र देव (सप्तरी), रामप्रीत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमल तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देले (तनहुँ), मनोहर पौडेल विक (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही) ले शपथ लिएका हुन् ।
त्यस्तै इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुषाल (अर्घाखाँची), प्रभा कोइराला (कास्की), मञ्जु शर्मा चालिसे (बाागलुङ), आशा जवेगु (पाँचथर) ले पनि शपथ लिएका थिए । त्यस्तै, अनुशासन आयोगको सदस्यमा लमजुङमा मायानाथ अधिकारीलाई मनोनय गरिएको थियो । उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
काठमाडौं । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ।
महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताए। थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ।
काठमाडौं महानगरपालिका- १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिए। स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ।
गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ।
ढाका । बङ्गलादेशमा फेरि तनाव बढ्न थालेको छ । प्रधानमन्त्री शेख हसिनाको वार्ताको निम्तो अस्वीकार गर्दै विद्यार्थी नेताहरूले उनको राजीनामा मागिरहेका छन् ।
शनिबार प्रदर्शनकारीहरूले राजधानीको मुख्य सडकमा घेरा हालेका थिए । सरकारी जागिरमा स्वतन्त्र सेनानीका सन्तानलाई आरक्षणको विषयमा देशभरमा दुई सय जनाभन्दा धेरैको मृत्यु भएकै समयमा यो विरोध प्रदर्शन भइरहेको छ ।
सन् १९७१ मा बङ्गलादेश स्वतन्त्रता सङ्ग्राममा संलग्न भएका पूर्व सैनिकका आफन्तहरूलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षण दिएपछि केही अघि बङ्गलादेशमा प्रहरी र प्रदर्शनरत विद्यार्थीहरूबिच हिंसक झडप भएको थियो । प्रदर्शनकारीहरूले ढाकाको प्रमुख सडकलाई अवरुद्ध गर्दा ट्राफिक जाम भएको थियो ।
भारतीय टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका छन्। करिब २ वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय टेलिभिजन नेटवर्कहरूले आफ्ना च्यानलको प्रसारण बिहीबारदेखि रोकेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो। ‘१५ चैत २०७९ देखि नै उनीहरूको विदेशी मुद्रा सिफारिस हुनसकेको छैन,’ उनले भने।
च्यानलको प्रसारण रोकेरै सरकारलाई गलाउन खोजिरहेका भन्दै ऐन, कानुनअनुसार आए विदेशी मुद्रा सिफारिस दिन कुनै समस्या नरहेको सहसचिव ठाकुरले बताए।
१ साउन २०८० देखि यो प्रणाली लागू भएपछि भने त्यस्ता च्यानलहरूको प्रसारण नै रोकिएको थियो तर सरकार पछि हट्ने सङ्केत नपाएपछि भारतीय च्यानलहरू आलाकार्टा मूल्य प्रणालीमा जान तयार भएका थिए।
सुरुआती समयदेखि नै भारतीय टेलिभिजन च्यानलहरूले आलाकार्टा प्रणाली पालना गर्न आनाकानी गर्दै आइरहेका छन्। उनीहरू प्रत्येक च्यानलको छुट्टाछुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने भन्दै विरोधमा छन् । मन्त्रालयकानुसार हाल सबै विदेशी च्यानल प्रदायकको करिब एक अर्ब विदेशी मुद्रा सिफारिस हुनसकेको छैन।
भारत र श्रीलङ्का बीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ।
श्रीलङ्काको आर.प्रेमदासा स्टेडियममा हुने आजको खेल दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ।रोहित शर्माको कप्तानीमा रहेको भारतीय टीम र चरित असलङ्काको कप्तानीमा रहेको श्रीलङ्कन टीमले आफ्नो पहिलो खेल बराबरीमा टुङ्ग्याएका थिए। त्यसकारण आजको खेलमा दुबै टोलीलाई जित्नै पर्ने दबाब रहन्छ।
आजको खेलमा जसले जितेपनि सिरिजमाथि कसले जित हात पार्छ त्यो भने अन्तिम खेलले तय गर्छ।३ खेलको एकदिवसीयमा भारतीय टीमले भने आजको खेलमा आफ्ना खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना देखिन्छ।भारत र श्रीलङ्का बीच यसअघि भएको ३ खेलको टी–२० सिरिजमा भारतले सूर्य कुमार कप्तानीमा क्लिन स्वीप गरेको थियो।
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एकदिवसीय बुधवार हुनेछ।
बागलुङ । निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो ।
विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् ।
पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए । यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताए। गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेका उनले बताए ।
अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिङ्गो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउछन्। खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उनि बताउछन्। तीन वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले सुनाए । उहाँका अनुसार अहिले अर्नाकोटमा करिब एक सय ५० बोटमा स्याउ फलेका छन् ।
स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएको सुनाउँदै अहिले बिरुवा बढाउँदै गएको बताए। वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उहाँ पछिल्लो समय स्याउखेतीलाई नै बढी जोड दिएको बताए । “यहाँको हावापानी स्याउखेतीका लागि उपयुक्त रहेछ, पोहोर लगाएका बिरुवाले फल दिएका छन्, यसले हामीलाई हर्षित बनाएको छ”, ओलीले भने, “खानेपानी नभएको ठाउँमा स्याउ लगायौँ, सिँचाइको व्यवस्था हुने हो भने व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ ।”
निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताए । गाउँपालिकाले रु चार लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका हो । यहाँका किसानले करिब ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएका उनले बताए ।
दैलेख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार विश्वासको मत लिने भएका छन् । कँडेलले विश्वासको मत लिनको लागि शनिवार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराईसकेको सचिवालयले जनाएको छ ।
संविधानको धारा १८८ को उपधारा (२) बमोजिम कँडेलले विश्वासको मत लिने छन् । विश्वासको मत लिन लागेको उनको यो दोस्रो पटक हो । गत वैशाख १३ गते पहिलो पटक विश्वासको मत पाएका थिए ।
केन्द्रमा सत्ता समीकरण बदलिए सँगै कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको कारणले उनले दोस्रो पटक विश्वासको मत लिनु परेको हो । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् । शुक्रबार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि कँडेलले शपथ गराएका छैनन । आइतबार चार जना मन्त्रीको सपथ ग्रहणपछि सोमबार विश्वासको मत लिने तयारी कँडेलको छ ।
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक–एक र स्वतन्त्र एक सांसद छन् ।
काठमाडौँ । काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ । त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।
आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो । नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ ।
हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो । काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । अन्तिम हुने टोली बाहिरिनेछ ।
काठमाडौ । रामेछाप जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ(कान्छाराम) नेपाल सरकारको उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रवार रास्ट्रपति रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस रामेछापको जिल्ला सभापति समेत रहेका तामाङ सहित अरुण कुमार चौधरी र रुपा विकलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।
तामाङ र विक नेपाली काङ्ग्रेसबाट हुन् भने चौधरी नागरिक उन्मुक्ति पार्टी(नाउपा) बाट हुन् । आज तीन राज्यमन्त्री नियुक्ति भएसंगै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रीपरिषद्ले पुर्णता पाएको छ ।
तामाङ देशभरबाट सर्वाधिक भोट ल्याएर जित्नेमा चौथो सांसद हुन् । उनले रामेछापबाट ४७ हजार ९९ मत ल्याएर विजयी भएका थिए ।
सफल निर्माण व्यवसायी हुँदै राजनीतिमा आएका तामाङले जिल्लाका धेरै स्थानमा आफ्नै व्यक्तिगत सहयोगमा विकास निर्माणका कामहरू गरेका छन् ।
हेटौडा । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज पदभार ग्रहण गरेका छन् ।
गत श्रावण १४ गते बसेको मन्त्रिपरिषद् बैठकले यादवचन्द्र शर्मालाई हटाएर देवकोटालाई प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रदेश प्रमुख देवकोटाले आज प्रदेश प्रमुखको कार्यालयमा पदबहाली गरेका हुन् ।
प्रदेश प्रमुखको स्वागतमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामङ, प्रदेशका मन्त्रीहरु, प्रदेश सरकारका सचिव, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो । देवकोटा बागमतीका चौंथो प्रदेश प्रमुख हुनु ।
आजै निवर्तमान प्रदेश प्रमुख यादव चन्द्र शर्माको बिदाई गरिएको छ । नवनियुक्त्त प्रदेश प्रमुख देवकोटाले माला र खादा लगाएर बिदाई गरेका हुन् ।





