
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अंक अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को विन्दु कायम भएको हो ।
आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता सेयर एक लाख ७१ हजार तीन सय ८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौ सय ९५ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक पाँच दशमलव ०६ र जीवन बिमा समूहको उपसूचक चार दशमलव ४५ प्रतिशतले बढेको छ । छ वटा कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र साहस ऊर्जा लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सबैभन्दा धेरै सेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ । गणपतिको सेयर मूल्य पाँच दशमलव ८३ प्रतिशतले घटेको हो । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २४ करोड ६९ लाख २३ हजार सात सय ९२ बराबरको सेयर किनबेच भएको छ ।
कारोबार भएका सेयर संख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–२ को १६ लाख दुई हजार आठ सय ३५ बराबरको कारोबार भएको छ ।
काठमाडौँ । भारतको वित्त वर्ष २०२४/२५ को बजेट आज सार्वजनिक गरिएको छ। वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गरेकी हुन् ।
भारतको बजेटमा नेपालले पाउने अनुदान बढाएर ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) पुर्याइएको छ। वित्त वर्ष २०२३/२४ मा भारतीय सरकारले भारु ६ अर्ब ५० करोड अनुदान दिएको थियो ।
त्यसअघि वित्त वर्ष २०२२/२३ मा भारतले भारु ४ अर्ब ३४ करोड अनुदान नेपाललाई दिएको थियो।
भारतले वित्त वर्ष २०२४/२५ मा सबैभन्दा बढी अनुदान भुटानलाई दिने भएको छ। यो वर्ष भुटानले भारु १० अर्ब ७८ करोड अनुदान र भारु ९ अर्ब ८९ करोड ऋण गरी भारु २० अर्ब ६८ करोड भारु पाउने भएको छ ।
मकवानपुर । काठमाडौंबाट हेटौँडा जोड्ने कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।
राती नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ । ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा–काठमाडौंतर्फको यातायात अवरुद्ध भएको थियो ।
कान्तिलोकपथ अन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–७ न्यासुरमा राति गएको पहिरो हटाई आज बिहान साढे ६ बजेदेखि यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।
यसैबीच, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र फाखेल, सिस्नेरी मातातीर्थ हुँदै काठमाडौंतर्फ जोड्ने सडक पनि आज बिहानदेखि यातायात सेवा सञ्चालन भएको प्रहरी निरीक्षक शाहले बताए ।
हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आज मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्ने भएका छ्न् । कांग्रेस एमालेको गठबन्धले मन्त्रालयको भागबन्डामा सहमति जुटाएसँगै लामाले आज मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका हुन ।
१३ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने गरि सहमति भएको छ । यहाँ नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, युवा खेलकुद मन्त्रालय, सामजिक विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय , संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिने भएको छ ।
एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको काङ्ग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले बताए ।
काठमाडौँ । गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ता लाभग्राहीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको प्रस्ट पारेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७५३ वटै स्थानीय तहलाई पत्र लेख्दै यसअघि जेठ २४ मा सरकारले गरेको निर्णय बदल्दै हाललाई सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जनाएको हो ।

‘नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८१ जेठ २४ मा सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र ९एनआइडी० अनिवार्य गर्ने निर्णय भई २०८१ साल असार १० गतेको राजपत्रमा सूचना प्रकाशन भएकोमा देशभर निरन्तर परेको वर्षाका कारण ठाँउठाँउमा बाढी, पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकाले उक्त प्रयोजनका लागि हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयलाई निर्देशन दिने’, पञ्जिकरण विभागले जारी गरेको सर्कुलरमा भनिएको छ ।
आबु धाबी । संयुक्त अरब इमिरेट्स ९यूएई०को एक अदालतले ५७ जना बङ्गलादेशीलाई जेल हालेको छ । आफ्नै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको भन्दै उनीहरूलाई जेल सजाय सुनाइएको हो । शुक्रबार यूएईभरका कयौं सडकमा दङ्गा भड्काएको भन्दै तीन जनालाई आजीवन कारावासको सजाय सुनाइएको सरकारी समाचार संस्था वामले एक समाचारमा भनेको छ ।
५३ जनालाई भने १० वर्षको जेल सजाय तोकिएको छ । अर्को एक जनालाई ११ वर्षको जेल सजाय दिइएको छ । अदालतले नियुक्त गरेको प्रतिवादीका वकिलले भने आरोपीहरू भेला हुनुको पछाडि कुनै आपराधिक इरादा नरहेको र उनीहरूमाथि लगाइएको आरोपको प्रमाण पर्याप्त नभएको भनेका थिए ।
वामका अनुसार उनीहरूमाथि बङ्गलादेशी सरकारले गरेको निर्णयको विरोधमा युएईका विभिन्न सडकमा बृहत् स्तरमा प्रदर्शन गरेको आरोप थियो । यसका कारण दङ्गा भएको, सार्वजनिक सुरक्षामा खलल उत्पन्न भएको, कानुनको पालनामा अवरोध उत्पन्न भएको र सार्वजनिक र निजी सम्पत्तिमा खतरा उत्पन्न भएको अदालतले भनेको छ ।
प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर हुन आदेश दिएको भएपनि तर उनीहरूले नमानेको बताइएको छ । जेल सजाय पूरा भएपछि उनीहरूलाई स्वदेश फिर्ता पठाउन आदेश दिइएको छ । बङ्गलादेश सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर दुबईमा रहेको कन्सुलेटले भने सामाजिक सञ्जालको एक पोस्टमा आफ्ना नागरिकहरूलाई आइतबार स्थानीय कानुनको सम्मान गर्न आग्रह गरेको थियो ।
यो कदमको एम्नेस्टी इन्टरनेशनले आलोचना गरेको छ । युएईमा विरोध प्रदर्शन पूर्णतः गैरकानूनी छ । त्यहाँको ९० प्रतिशत जनसङ्ख्या विदेशी हुन् । बङ्गलादेशीहरू त्यहाँको तेस्रो ठुलो आप्रवासी समूह हुन् । सरकारी जागिरमा आरक्षणको विरोधमा देशभरमा भइरहेको हिंसात्मक विरोध प्रदर्शनमा बङ्गलादेशमा अहिलेसम्म १५० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् । ५०० जना पक्राउ परेका छन् ।
सोमबार प्रदर्शनरत विद्यार्थी समूहका नेताहरूले सरकारलाई देशव्यापी कर्फ्यू हटाउन र इन्टरनेट सेवा सुचारु गर्न ४८ घन्टे अल्टिमेटम दिएका थिए । उनीहरूले प्रदर्शनकारीविरुद्ध हिंसा प्रयोग गरेको आरोप लागेका अधिकारीहरूको राजीनामा पनि मागेका छन् । विद्यार्थीहरूको विरोध प्रदर्शन विगत १५ वर्षयता सत्तामा रहेकी प्रधानमन्त्री शेख हसिनाले सामना गरेको यो अहिलेसम्मको सबैभन्दा गम्भीर चुनौतीमध्ये एक हो ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर राजदूत सङले गृहमन्त्री लेखकलाई बधाई दिए ।
भेटमा गृहमन्त्री लेखकले दुई देशबिच सधैँ सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । यस्तै उहाँले नेपालको पूर्वाधार विकासलगायत क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्याएको सहयोगका लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिए । साथै गृहमन्त्री लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयले जनाएको छ ।
राजदूत सङले पनि नेपाल र चीनबिचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे । नेपाल र चीनबिच सांस्कृतिकलगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने उनले विश्वास व्यक्त गरे ।
यसैगरी राजदूत सङले सीमा व्यवस्थापन, सीमापार हुने अपराध नियन्त्रण र दुवै मुलुकका नागरिकहरूको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने भेटवार्तामा स्पष्ट परेका थिए । साथै अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुने उनको भनाइ थियो ।
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद श्रेष्ठलाई सोमबार राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समितिमा सांसद श्रेष्ठको मनोनयनलाई सहमति जनाएका थिए ।
आजको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा सांसदहरूले उठाएका विषयको राष्ट्रियसभा नियमावली २०७५ मा तोकिएको समयावधिभित्र सभामा आएर पूर्वनिर्धारित तालिका अनुसार जवाफ दिन सम्बन्धित मन्त्रीहरूलाई ध्यानाकर्षण गराएका थिए ।
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो ।
आज तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० बराबरको कारोबार भएको छ । बैङ्किङ एक दशमलव २३, विकास बैङ्क शून्य दशमलव ६३, होटल तथा पर्यटन शून्य दशमलव २१, लगानी शून्य दशमलव ४७, लघुवित्त शून्य दशमलव ५३ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।
अरु समूहको उपसूचक बढेको छ । आज वित्त समूह शून्य दशमलव ७१, जलविद्युत् एक दशमलव ७४, जीवन बीमा शून्य दशमलव ०१, उत्पादन तथा प्रशोधन दुई दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव ७८, व्यापार एक दशमलव ८६ र अन्य समूहको उपसूचक एक दशमलव ४३ प्रतिशतले बढेको छ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ३६ करोड ९३ लाख ४८ हजार सात सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १५ लाख ५६ हजार नौ सय ९५ कित्ता शेयर किनबेच भएको छ ।
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यले दाबी पेस गरेका छन् ।
एमालेका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले र कांग्रेसले बहुमत सांसदहरूको हस्ताक्षर जुटाएका छन् ।
प्रदेशसभाका ५६ सांसदहरूको हस्ताक्षरसहित आचार्यले प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गरेका हुन् ।
एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुखमा पुगेको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।





