
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबबाट खेल्ने भएकी छन् ।
साम्बाले अस्ट्रेलियाको प्रिमियर वुमन लिग निन्जा ए लिग खेल्न वेलिंगटन फिनिक्स फुटबल क्लबसँग दुई बर्षको सम्झौता गरेकी हुन् । क्लबले साम्बालाई दुई बर्षका लागि अनुबन्ध गरेको जानकारी दिएको छ ।
साम्बालाई अनुबन्ध गरेपछि फिनिक्सका अन्तरिम मुख्य प्रशिक्षक एमी शेफर्डले असाधारण क्षमताको प्रमाणित गोल स्कोररलाई अनुबन्ध गरेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्- ‘हामी साबित्रालाई फिनिक्स ह्वानाउमा स्वागत गर्न पाउँदा गर्व गर्छौं र उनले मैदान भित्र र बाहिर दुवैमा पार्ने प्रभावको लागि तत्पर छौं ।’
गत सिजनमा वेलिंगटन फिनिक्स लिगमा नवौं स्थानमा रहेको थियो । फिनिक्सले पछिल्लो चार सिजन देखि अस्ट्रेलियाको प्रिमियर वुमन लिग खेलिरहेको छ ।
यसअघि साम्बाले दुई सिजन फ्रान्सको ए डिभिजन वुमन लिगमा इए गुइङ्ग्याम्पबाट खेलेकी थिइन् । साम्बाले गुइङ्ग्याम्पबाट अलग भएकोप्रति भनेकी छन्- हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद । हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ । हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहनेछु । जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ ।
साम्बाले गुइङ्ग्याम्पमा दुई सिजनमा २९ खेलमा ७ गोल गरेकी थिइन् ।
डोल्पा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ४० वर्षीय यादव विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
यादवले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय करबगार्डबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काभ्रेपलाञ्चोक । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभन्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ ।
कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभन्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुुभयो ।
उहाँका अनुसार मनसुनजन्य विपदबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि विपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म करिब दस घण्टा १५ दिन तथा थप असार मसान्तसम्म सोही समयमा सडक सञ्चालनमा रोक लगाइएको थियो । यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चाेककाे काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो ।
बितेका एक हप्ताको समयमा बाढीपहिरोले करिब चार पटक उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा सडक अबरुद्ध भइसकेको छ । गतसाल असोजको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एक्तर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ ।
बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ ।
काठमाडौँ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। संघीय सरकारको निर्णयअनुसार अबदेखि दुबै कार्यालय एकीकृत रुपमा एउटै कार्यालयबाट सेवा प्रवाह गर्ने व्यवस्था लागू गरिएको हो।
यसअघि सुक्खा बन्दरगाह भन्सार कार्यालय र वीरगञ्ज भन्सार कार्यालय पृथक रूपमा सञ्चालनमा थिए। वीरगञ्ज भन्सार मातहतको एकीकृत जाँचचौकी (ICD) मार्फत मालवाहक सवारीबाट वैदेशिक व्यापार सम्बन्धी आयात–निर्यात भइरहँदै आएको थियो। यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयले रेलमार्गमार्फत सामानको आवत–जावत नियमन गर्ने कार्य गर्दै आएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले संघीय सरकारको निर्णयबमोजिम आजदेखि नयाँ व्यवस्था लागू गरिएको जानकारी दिनुभयो।
भन्सार एकीकरणसँगै अबदेखि सेवा लिने पक्षलाई सुविधा, सहजता र प्रक्रियागत स्पष्टता हुने अपेक्षा गरिएको छ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको थियो। अब यो सङ्कलन वीरगञ्ज भन्सारकै वार्षिक आयत–निर्यात विवरणमा समावेश गरिनेछ।
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ आज साउन १ गतेदेखि औपचारिक रुपमा सुरु भएको छ। वि.सं. २०१८ सालदेखि हरेक वर्ष साउन महिनाबाट सुरु भई असारमा समाप्त हुने आर्थिक वर्षको परम्परा निरन्तर रहँदै आएको हो।
नयाँ आर्थिक वर्ष सुरु भएपछि विशेषगरी सरकारी कारोबार, राजस्व, शुल्क, जरिवाना लगायतका नीति तथा कानुनी व्यवस्थाहरू कार्यान्वयनमा आउने छन्। यसले राजस्व सङ्कलनदेखि बजेट खर्चसम्मको प्रक्रिया गतिशील बनाउनेछ।
तीन तहका सरकारले सुरु गरे बजेट कार्यान्वयन
संघ, प्रदेश र स्थानीय तह सबैले सार्वजनिक गरिसकेको बजेटको कार्यान्वयन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ। यद्यपि, संघीय सरकारले जेठ १६ गतेदेखि नै बजेट कार्यान्वयन गर्नसक्ने व्यवस्था विनियोजन ऐनमार्फत गरिसकेको भए पनि त्यसबेला आवश्यक खर्च प्रक्रिया शुरु हुन सकेको थिएन।
कर र शुल्कमा सामान्य परिवर्तन
नयाँ आर्थिक वर्षसँगै केही कर तथा शुल्कमा परिवर्तन लागु भएका छन्। विशेष गरी विलासिता कर, केही छुट र कर छुट सम्बन्धी प्रावधानहरू आजदेखि कार्यान्वयनमा आएका छन्। यद्यपि, आयकर स्ल्याब भने यथावत राखिएको छ, जसअनुसार प्राकृतिक व्यक्तिले १ देखि ३९ प्रतिशतसम्म आयकर तिर्नुपर्नेछ।
व्यवसायहरूका लागि नयाँ बिलिङ्ग प्रणाली
नयाँ आर्थिक वर्षसँगै व्यवसायिक संस्थाहरूले नयाँ बिलबिजक प्रणाली लागू गर्नुपर्नेछ। सरकारको नीति तथा कर दरका नयाँ व्यवस्था लागू भएपछि समग्र अर्थतन्त्रमा असर पर्ने भएकाले आर्थिक वर्षको सुरुवातले विशेष महत्व राख्ने विश्लेषकहरू बताउँछन्।
यसरी, नयाँ आर्थिक वर्षले नीति, योजना र कार्यान्वयनका पक्षमा नवीनतम दृष्टिकोण प्रस्तुत गर्दै राष्ट्रिय अर्थतन्त्रको दिशानिर्देश तय गर्ने महत्त्वपूर्ण मोडको प्रतिनिधित्व गर्दछ।
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस मागेको अडियो सार्वजनिक भएपछि नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफ माग गरेको छ।
बुधबारको संसद् बैठकमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सार्वजनिक भएको अडियोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
“मन्त्रीहरूको बारेमा आएका कुरा के हुन्? जनताले थाहा पाउने गरी सम्माननीय प्रधानमन्त्रीले जवाफ दिन माग गर्दछु,” सांसद पौडेलले भने।
साथै, माओवादी केन्द्रका सचिवसमेत रहेका पौडेलले सरकारको भ्रष्टाचारविरुद्धको नीति प्रश्नास्पद भएको बताए। “भ्रष्टाचारमा शून्य सहनशीलता कहाँ छ? नैतिक मूल्यमान्यताको प्रतीक कहाँ छ?” भन्ने प्रश्न गर्दै उनले प्रधानमन्त्रीको जवाफ माग गरे।
प्राप्त जानकारीअनुसार, मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ घुस मागेको भनिएको अडियो सार्वजनिक भएको छ। उक्त अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक समिति गठन नगरिएको भन्दै बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएपछि रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसक्रममा सभामुखले रास्वपा सांसद अशोक चौधरीलाई बोल्न समय दिए। सांसद चौधरीले आफूहरूले माग गरेअनुसार छानबिन समिति गठन नभएकाले संसद् बैठकमा सहभागी नहुने बताएका थिए।
त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए। अध्यक्ष लिङ्देनले पनि भिजिट भिसा प्रकरणमा पटक–पटक उठाइएको मागको बेवास्ता गरिएको भन्दै विरोध जारी रहने बताएका थिए।
दुवै दलका नेताहरूको अभिव्यक्तिपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्।
काठमाडौं – देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प्रतिशतले रोपाइँमा कमि आएको हो ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब एक लाख ६४ हजार हेक्टरमा रोपाइँ भएको छ । उक्त प्रदेशमा ९३ प्रतिशत रोपाइँ भएको जनाइएको छ ।
कर्णाली प्रदेशमा ६४ हजार हेक्टरमा रोपाइँ सकिएको छ । यहाँ ८३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा दुई लाख २३ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने प्रतिशतका हिसाबले ७३ प्रतिशत रोपाइँ भएको हो ।
गत वर्ष सोही अवधिमा करिब ६७ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयले आइतबारसम्म संकलन गरेको तथ्यांकअनुसार देशका केही भागमा रोपाइँ जारी छ । आगामी साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र राम्रो मानिन्छ । त्यस क्षेत्रबाट धानको उत्पादकत्वसमेतमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ ।
गत आर्थिक वर्ष २०८०(८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो । मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ ।
मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने गर्दछ । पछिल्लोपटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ ।
धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने जनाइएको छ । यसवर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने मन्त्रालयको भनाइ छ ।
काठमाडौं – द्वन्द्व मैत्री समाज नेपालको आयोजनामा सम्पन्न डन्डीवियो प्रतियोगिता २०८२ का विजेता टोलीहरूलाई आज एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।
मिति २०८२ साल वैशाख १३ गते शनिवारका दिन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित शहीद स्मृति पार्कमा सम्पन्न खुला डन्डीवियो प्रतियोगिता २०८२ मा विजेता बनेका टोलीहरूलाई आज आयोजित कार्यक्रममा पुर्व बागमती प्रदेश सभा सदस्य माननीय हिमाली गोलेको प्रमुख अतिथियतामा पुरस्कृत गरिएको हो ।
आज काठमाडौं महानगरपालिका वडा नं. ३२, कोटेश्वरमा आयोजित कार्यक्रममार्फत प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने चनखु ग्लोबल टिम र तृतीय स्थान हासिल गर्ने दोरम्बा सम्पर्क टिमलाई पुरस्कार वितरण गरिएको संस्थाका महासचिव डम्बर थामी ले जानकारी दिए ।





यस कार्यक्रममा सहिद परिवार कपिल राज गिरि, सामाजिक व्यक्तित्व नोएल बुढाथोकी, दिलिप राज गिरि र अधिवक्ता रमेश श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्ने भटौली टिम भने विशेष कारणबस कार्यक्रममा उपस्थित हुन नसकेकोले सो टोलीलाई पछि भेटघाट गरी पुरस्कार हस्तान्तरण गरिने आयोजक संस्थाले जनाएको छ र डन्डीवियो प्रतियोगिता २०८२ को प्रायोजक राष्ट्रिय खेलकुद परिषद रहेकोले पुरस्कार वितरणमा केही ढिलाइ भएको थियो। सो विषयमा द्वन्द मैत्री समाज नेपालले आफ्नो तर्फबाट माफी माग्दै आज आयोजित कार्यक्रममा बिजेता टिमलाई पुरस्कार प्रदान गरेको छ।
काठमाडौं । जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठनका प्रतिनिधिहरूले आज सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) का अध्यक्ष महेश थापासँग भेटघाट तथा छलफल गरेका छन् ।
काठमाडौंको हाँडीगाउँस्थित आयोगको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संगठनका केन्द्रीय उपाध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा महासचिव भक्तराज थापा, सचिव शंकर बोहरा, अपाङ्ग योद्धा चम्पा कार्की लगायतको उपस्थिति रहेको थियो ।
भेटघाटका क्रममा संगठनले सशस्त्र द्वन्द्वको समयमा घाइते भएका योद्धाहरूको वर्तमान अवस्था, उनीहरूले भोगेका पीडा, न्यायको अभाव, पुनःस्थापना र सम्मानका विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आयोगको ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी, संक्रमणकालीन न्याय प्रक्रिया लम्बिँदै जानु र अहिलेसम्म ठोस निष्कर्षमा नपुगेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उक्त प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्याउन आयोगले स्पष्ट रणनीति तय गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
अध्यक्ष महेश थापाले आयोग पीडितप्रति संवेदनशील रहेको भन्दै संक्रमणकालीन न्याय सम्पादनमा निष्पक्ष र प्रभावकारी पहल भइरहेको जानकारी गराएका थिए। उनले पीडितको आवाज र सुझावलाई प्राथमिकताका साथ समेटिने र प्रक्रिया पारदर्शी बनाइने आश्वासन पनि दिएका थिए ।











