
काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।
नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा असार २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको हो ।
बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका छन् ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘ नेपाल प्रहरी ऐन २०१२’ सम्बन्धी संशोधनको प्रस्ताव एक महिनाभित्र संसद्मा पुर्याउने बताएका छन् ।
मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरी सम्बन्धी कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताएका हुन् ।
‘केही कानुन नयाँ बनाउनुपर्ने छ । केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ । २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौं । बिचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन् । अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्ने छ,’ उनले भने ।
प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउनका लागि प्रहरी ऐनमा संशोधन आवश्यक रहेको गृहमन्त्री लेखकको भनाइ छ ।
‘प्रहरी समायोजन ऐन २०७६ छ । संघ र प्रदेशको प्रहरीबिच समायोजन गर्ने उद्देश्य लिएर २०७६ मा ऐन बनायौँ । त्यो ऐन अनुसार प्रहरी समायोजन हुन सकेको छैन,’ उनले भने, ‘त्यसमा पनि केही परिमार्जनको आवश्यकता छ भन्ने विज्ञ साथीहरूको कुरा उठेको छ । नेपाली प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयको विषयमा पनि केही पुनरावलोकनको आवश्यकता देखिन्छ ।’
तनहुँ । जिल्लाको व्यास नगरपालिका-१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास-१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो ।
असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो । “संस्थाका चार र बाहिरबाट नौ जना मिलेर पाइन मर्मतसम्भारको काम गर्दै आइरहेका छन् । कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्”, व्यवस्थापक श्रेष्ठले भन्नुभयो, “सम्भव भएसम्म पुरिएका पाइप खोजी पुनः प्रयोग गर्ने र क्षति भएका पाइपमा नयाँ जडान गर्ने काम भइरहेको छ ।”
डाँडा माथिबाट खसेको पहिरोले कतिपय पाइप सेतीनदी किनारसम्म बगाएको बताउँदै श्रेष्ठले जिआई र एचडिपी गरी करिब ५० मिटर पाइपमा क्षति पुगेको जानकारी दिनुभयो । नियमित पानी आपूर्ति गर्न मर्मत गर्नाका साथै कतिपय स्थानमा नयाँ पाइप जडान भइरहेको उहाँले बताउनुभयो । लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसमलगायत कारणले काम गर्न कठिनाइ हुँदा केही समय लागेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।
सानाठूला गरी चार आयोजनाबाट पानी सङ्कलन गरी व्यास-१ र १२ का दुई हजार छ सय ८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो । खरखाँदी मुहानको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर रहेकामा पहिरोले अवरुद्ध भएपछि पानी वितरणमा समस्या भइरहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । “छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानका पानी प्रयोग गर्दा प्रतिसेकेन्ड १५ लिटर सङ्कलन हुँदै आएको थियो । अहिले पानी सङ्कलनमा समस्या भएपछि वितरण बन्द भएको हो”, उहाँले भन्नुभयो ।
यसअघि बिहान र बेलुका दुई-दुई घण्टा पानी वितरण हुँदै आएकोमा पानीको स्रोत घटेकाले समय पनि घटाइएको अध्यक्ष दरैले बताउनुभयो । “खिरखाँदी मुहानको पानी नियमित सङ्कलन नहुँदासम्म आपूर्तिमा सहज हुने देखिएको छैन”, उहाँले भन्नुभयो । उक्त मुहानको पानी पूर्णरुपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएकाले फारो गरेर पानी प्रयोग गर्न खानेपानी उपभोक्ता समितिले सबैलाई अनुरोध गरेको छ ।
बागलुङ । बागलुङको बडिगाड गाउँपालिका-५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी बुर्तिबाङ सवस्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रशारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन नसकेको हो ।
गत असार पहिलो साता नै सञ्चालनमा ल्याउने गरी आयोजना कार्यालयले काम गरेको थियो । पाँच वर्ष अगाडि निर्माण सुरु भएको बुर्तिबाङ सवस्टेशन हालसम्म ९२ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । बडिगाडका स्थानीयले टावर निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि आयोजनाको काम रोकिएको थियो ।
गत असार ९ गते सर्वोच्चले रिटनै खारेज गरिदिएपछि पुनः काम सुरु गर्ने आयोजना प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो । कपिलवस्तुको मोतिपुरदेखि सुुरु भएर अर्घाखाँचीको सन्धिखर्क गुल्मीको तम्घास, पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सवस्टेशन वि.सं.२०७८ सालदेखि निर्माण सुरु भएको थियो । ढोरपाटन नगरपालिका-२ खल्टुबोटमा सवस्टेशनको निर्माण भएको छ । वि.सं.२०७६ मा ठेक्का प्रक्रिया अगाडि बढाए पनि दुईपछि मात्रै काम सुरु भएको थियो ।
मोतिपुरदेखि सन्धिखर्कसम्मको लाइन वि.सं.२०७८ चैत १२ गते परीक्षण गरी सुचारु गरिएको भन्दै गुल्मीको तम्घासको सवस्टेशन असार ७ गतेदेखि सञ्चालनमा आएको प्रमुख चौधरीले जानकारी दिनुभयो । सर्वोच्चले रिट खारेजपछि अब काम तीव्र गतिमा हुने उहाँको भनाइ छ । गुल्मीको पौँदीअमराई र बागलुङको बुर्तिबाङक सवस्टेशन एकै पटक सञ्चालन गरिने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पौँदीअमराईदेखि बुर्तिबाङसम्मको १४ किलोमिटरको दूरीमा ४१ वटा टावर निर्माण गर्नुपर्ने भन्दै हालसम्म २६ वटा निर्माण भइसकेको र अझै १५ वटा निर्माण गर्ने बाँकी रहेका छन् ।
पन्ध्र वटा टावरसँगै लाइनसमेत तान्न बाँकी रहेको आयोजना प्रमुख चौधरीको भनाइ छ । “काममा कुनै बाधा नभएको हुन्थ्यो भने यति बेला १३२ केभी बुर्तिबाङ सवस्टेशन सञ्चालनमा आउने थियो, हाम्रो लक्ष्य असारमै सक्नुपर्ने थियो, तर विभिन्न बाध्यात्मक परिस्थितिले गर्दा ढिला भयो” उहाँले भन्नुभयो, “अब छिट्टै कामलाई गति दिएर सक्छौँ, स्थानीयलाई मुअब्जा दिने काम पनि भइरहेको छ, विद्युत प्राधिकरण केन्द्रबाटै छिटो काम सक्नका लागि प्रेसर छ, छिट्टैनै काम सक्छौँ र सञ्चालनमा ल्याउँछौँ ।”
सवस्टेशन निर्माणका लागि पाँच वर्ष अगाडि ठेक्का प्रक्रिया गरी ४० करोडमा निर्माण जिम्मा लिएको थियो भने लाइन विस्तारका लागि करिब ८३ करोडको लागतमा निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । कपिलवस्तुदेखि बुर्तिबाङ ८६ किलोमिटर दरुरी रहेको छ । यहाँ डबल सर्किटको तार विस्तार हुने छ । बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले आयोजना सम्पन्न गर्नका लागि आफूहरुले सहज वातावरण तयार गर्नका लागि भूमिका खेलेको बताउनुभयो ।
आयोजनाले टावर निर्माण गर्दा प्रयोग हुने जग्गाको धनीलाई उचित मुअब्जा दिनका लागि आग्रह गरेको उहाँको भनाइ छ । सदरमुकाम बागलुङ बजारका आसपासमा केही वर्ष अगाडिनै केन्द्रीय प्रशारण लाइनले जोडिए पनि पश्चिम बागलुङ भने जोडिन सकेको थिएन । अघिल्लो तीन वर्ष अगाडिदेखि विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले पश्चिम क्षेत्रलाई प्राथमिकता दिएर लाइन विस्तार गर्दै आएको छ । अहिलेसम्म निसीखोला र तमानखोला केन्द्रीय लाइनले जोडिन सकेका छैनन् । यद्यपि प्राधिकरणले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको गाउँ-गाउँसम्म अहिले विद्युतीय पोल गाड्ने र तार तान्ने काम भने गरिरहेको छ ।
पाल्पा । ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मिस्दी गाउँपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय सन्त बहादुर बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई सन्त बहादुरले गत असार ३१ गते बिहान उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रूक्सेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डीन आर थोमसनले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत थोमसन प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् ।
भेटबारे जानकारी दिँदै राजदूत थोमसनले नवनियुक्त प्रधानमन्त्री ओलीसँग सुमधुर छलफल भएको बताएका छन् । ‘हामीले दुई देशबिचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा गर्यौँ । अमेरिका उहाँको सरकारसँग मिलेर काम गर्न र नेपाल र अमेरिकाबिचको सहकार्य सशक्त बनाउँदै लैजान चाहन्छ ।’
वाशिङटन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याका लागि इरानको षडयन्त्र भइरहेको चाल पाएर केही हप्ताअघि नै उनको प्रतिरक्षा बलियो बनाइएको अमेरिकाका एक राष्ट्रिय सुरक्षा अधिकारीले बताएका छन् ।
ती अधिकारीले गएको शनिबार पेन्सिलभानियामा भएको हत्या प्रयास र इरानको सो षडयन्त्रको भने कुनै सम्बन्ध नभएको जनाएका छन् ।
उनको सुरक्षा व्यवस्था कडा पारिएको भए पनि २० वर्षिय युवक थोमस माथ्यु क्रुक्स कसरी कार्यक्रम भएको स्थान अगाडिको भवनमा हतियारसहित गएर गोली प्रहार गरे भन्ने प्रश्न उब्जिएको थियो । अमेरिकी सेक्रेट सर्भिस र ट्रम्पको चुनावी क्याम्पेनलाई इरानको षडयन्त्रको बारेमा पहिल्यै सूचित गरिएको जनाइएको छ । सेक्रेट सर्भिसलाई इरानी ‘थ्रेट’बारे गएको जुनमै जानकारी दिइएको थियो ।
सन् २०२०मा इराकमा इरानको क्यूद फोर्सका कमाण्डर क्वासिम सुलेमानी अमेरिकी कारवाहीमा मारिएपछि ट्रम्प र उनका तत्कालीन विदेशमन्त्री माइक पोम्पेओलाई इरानका तर्फबाट ‘थ्रेट’ रहेको जनाइएको बीबीसीले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघहरुले घरेलु जुनियर प्रतियोगितामा विशेष ध्यान दिनु पर्ने बताएका छन् । भारतको जयपुरमा भएको आईएचएफ ट्रफीमा कांस्य पदक जित्न सफल यु–१८ टोलीलाई बधाइका साथै सोही प्रतियोगितामा सहभागी यु–२० ह्यान्डबल टोलीको स्वागत गर्न मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले सो कुरा बताएका हुन् ।
खेलकुद मन्त्रीलाई राखेप कर्मचारी संघको बधाइ
‘हरेक खेल संघले घरेलु जुनियर प्रतियोगिता आयोजनामा जोड दिनु पर्छ । जुनियर प्रतियोगितालाई ध्यान नदिने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा सम्भव हुँदैन ।’ सदस्य–सचिव घिसिङले भने– ‘राष्ट्रिय टिम बलियो बनाउन पनि जुनियर प्रतियोगितामा जोड दिनै पर्छ ।’
सदस्य–सचिव घिसिङले पुराना पदाधिकारीसहित राष्ट्रिय खेल संघमा युवा नेतृत्व पनि आउनु पर्ने धारणा व्यक्त गरे । ‘खेल संघमा युवाहरु पनि नेतृत्वमा आउन जरुरी छ । पूर्व खेलाडी, प्रशिक्षक, रेफ्री संघको पदाधिकारीका रुपमा आउनु पर्छ । पुराना पदाधिकारी पनि चाहिन्छ । मिलाएर एउटा टिम बनाउनु पर्छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘पुराना साथीहरुले पनि म भए सबै ठीक, अरु भए बेठीक भन्ने सोच त्याग्नु पर्छ ।’
सदस्य–सचिव घिसिङले पदक विजेता टोलीका साथै सहभागी टोलीका खेलाडीलाई सीमित श्रोत र साधानका बावजुद उच्च प्रदर्शन गरेकोमा प्रशंसा गरे । उनले खेलाडी, प्रशिक्षक र व्यवस्थापकसंग प्रतियोगितामा सहभागी हुँदाको अनुभव, खेलाडीको प्रदर्शन तथा घाइते खेलाडी बारे चासो व्यक्त गर्दै खेलाडीको उपचारमा विशेष ध्यान दिन संघलाई निर्देशन दिए ।
जुलाई १० देखि १४ तारिखसम्म भएको प्रतियोगितामा यु–१८ तर्फ तेश्रो स्थानका लागि भएको खेलमा नेपालले माल्दिभ्सलाई ३०–२८ ले पराजित गरेको थियो । यु–२० मा भने तेश्रो स्थानका लागि नै भएको खेलमा माल्दिभ्सले नेपाललाई हराएको थियो । दुवै उमेरसमूहमा नेपालबाट पुरुष टोलीले सहभागिता जनाएको थियो । टोली मंगलबारै स्वदेश फर्किएको हो ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई बधाइ दिएको छ । कर्मचारी संघका अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेत लगायतका पदाधिकारीले सिंहदरबारस्थित कार्यकक्षमा खेलकुद मन्त्री चौधरीलाई भेट गरी बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका हुन् ।

उक्त कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङको पनि उपस्थिति रहेको थियो । मन्त्री चौधरीले खेलकुदको विकास लागि सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिदै यस विषयमा सरोकारवाल सबैसंग छलफल गर्ने बताए ।
अध्यक्ष केसी र महासचिव बस्नेतले पूर्व खेलकुद मन्त्री डिगबहादुर लिम्बू र सदस्य–सचिव घिसिङको अथक प्रयासबाट लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा सम्भव भएको जानकारी गराउदै कर्मचारी विनियमावली, आर्थिक विनियमावली र कर्मचारी संगठन, संरचना तथा व्यवस्थापन (ओ एन्ड एम सर्भे) तत्काल स्वीकृतिका लागि प्रकृया अगाडि बढाउन अनुरोध गरेका थिए ।
राखेपका सदस्य सचिव घिसिङ भन्छन् – ‘जुनियर प्रतियोगिताको खाँचो छ’
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफुलाई पक्राउ गर्न चुनौति दिएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले ओलीकाल राणाकाल भन्दा खतरा भएको भन्दै दुर्गा प्रसाईलाई छोएर देखाउन चेतावनी दिए ।
‘पानीको लौरो टेकेर दुर्गा प्रसाईंलाई तर्साउनले ? खबरदार हजुरबा दुर्गा प्रसाईंलाई पक्रेर देखाउनु’, प्रसाईंले भने, ‘पक्रने त के छुने आँट गर पहिला ।’ उनले आफूले कसैलाई बलात्कार नगरेको र राज्यको ढुकुटी नलुटेको भन्दै तिर्नुपर्ने राजश्व तिरेको बताए ।





