२०८३ मंसिर ९
२०८३ मंसिर ९

सिन्धुपाल्चोक । लगातारको वर्षासँगै आएको भीषण पहिरोका कारण भोटेकोसी गाउँपालिका–२ अन्तर्गत अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। बुधबार बिहान खसेको ठूलो पहिरोले तातोपानी नाका जोड्ने मुख्य सडक मार्ग ठप्प बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

बाह्रबिसे–कोदारी सडकखण्ड अन्तर्गत पहिरोले सडक माथिबाट बगाएको छ भने तलतर्फ भोटेकोशी नदीको कटानले सडक भासिएको छ। यसले गर्दा मालबाहक कन्टेनर, यात्रुबाहक बस, साना ठूला सवारीसाधन तथा एम्बुलेन्सहरु समेत रोकिएका छन्। विशेष गरी बिरामी र यात्रुहरूलाई ठूलो समस्या परेको छ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठका अनुसार पहिरोले अवरुद्ध सडक खुलाउन डोजरसहितको टोली खटाइएको छ। भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नृर्पु शेर्पाले सडक खुलाउने कार्यमा आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको जानकारी दिनुभयो।

सडक अवरुद्ध हुँदा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीको आवागमन ठप्प बनेको छ। प्रशासनले जनतालाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

काठमाडौँ । आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता सुशीला अर्यालले जानकारी दिइन् ।

उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि सिर्जित दायित्वको बजेट रकम निकासा गर्ने आज अन्तिम दिन हो । आज रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखाप्रणाली (सिगास) एक साताका लागि बन्द हुनेछन् ।

अघिल्ला वर्षमा मलेनिकाले सबै प्रलेनिका र कोलेनिकालाई असार अन्तिम साता बजेट निकासा रोक्न परिपत्र गर्ने गरेकामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र कार्यविधिमा भएको बाध्यकारी व्यवस्थाका कारण यस वर्ष परिपत्र नगरिएको अर्यालले बताइन् ।

‘आर्थिक वर्ष सकिनु एक साताअगावै सरकारी खाता रोक्का गर्नुपर्ने भनेर कानुनमा उल्लेख छ । आज रातिदेखि अत्यावश्यक प्रयोजनबाहेक कुनै पनि खर्चको भुक्तानी हुँदैन । यो कानुनमा राखिएको विषय भएकाले प्रलेनिका र कोलेनिकालाई खाता रोक्काका लागि परिपत्र गरिएको छैन,’ उनले भनिन् ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकको बाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन । अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि मलेनिकाको सहमति लिएर मात्रै भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा रहेको प्रवक्ता अर्यालले जानकारी दिइन् ।

चालु आवको बजेट भुक्तानी गर्ने अन्तिम दिनको अघिल्लो दिन अर्थात् मङ्गलबारसम्म सरकारी खर्च करिब ७९ प्रतिशत हाराहारी छ । यो अवधिसम्ममा चालु शीर्षकतर्फ ८४, पुँजीगततर्फ ५३ र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण करिब २३० मेगावाट क्षमताका जलविद्युत् आयोजना ठप्प भएका छन् । बाढीले रसुवागढी, त्रिशूली–३ ए, त्रिशूली, चिलिमे र बेनीघाट जलविद्युत् आयोजना प्रभावित बनाएको छ ।

भोटेकोसी नदीमा आज बिहान आएको बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । सम्पूर्ण विद्युत् उत्पादन बन्द भइसकेको नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

त्यस्तै, ६० मेगावाटको त्रिशूली–३ ए, २२ मेगावाटको चिलिमे, २१ मेगावाटको त्रिशूली र १५ मेगावाटको बेनीघाट जलविद्युत् आयोजना पनि बाढीका कारण प्रभावित भएका छन् । साथै, ती आयोजना संलग्न २३० मेगावाट क्षमताको प्रसारण लाइनसमेत अवरुद्ध भएको छ ।

प्रवन्ध निर्देशक शाक्यका अनुसार रसुवागढी आयोजनाको हेडबक्सको गेट बगाएको छ भने आयोजनाको पुल चर्किएको छ, जसका कारण आवतजावत पूर्णरूपमा बन्द भएको छ । तर, पावरहाउस भने सुरक्षित रहेको उनले जानकारी दिए ।

शाक्यका अनुसार, “अहिले त्रिशूली नदीमा रहेका सबै जलविद्युत् आयोजनाहरूको उत्पादन रोकिएको छ । देवीघाटस्थित त्रिशूली आयोजना र चिलिमे छिट्टै सञ्चालनमा आउन सक्ने देखिन्छ, तर रसुवागढी र त्रिशूली–३ ए लाई केही दिन लाग्नेछ ।”

त्रिशूली–३ ए को भवनमा बाढी पस्नुका साथै एउटा गेट पनि बगाएको छ । चिलिमे पावरहाउसमा टेलरेसबाट लेदो पसे पनि संरचनामा गम्भीर क्षति नभएको प्राधिकरणले जनाएको छ ।

बाढीको बहाव कम भएपछि मात्र हेडरेस गेटको क्षतिको मूल्यांकन र पुनः सञ्चालनको समय निर्धारण हुने शाक्यले स्पष्ट पारे ।

काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुुहुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

यसैगरी, अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

काठमाडौं । कलाकार बाबा पाख्रिन लगायत १५० जना भन्दा बढी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन ।

आज नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कार्यलयमा पर्सा-काठमाडौं सम्पर्क समन्वय समितिले अयोजना गरेको कार्यक्रममा कलाकार बाबु पाख्रिन सहित १५० भन्दा बढी प्रवेश गरेको पर्सा-काठमाडौं सम्पर्क समन्वय समितिले जानकारी दिएको छ ।

कर्णाली ।  तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरी रहेका १३ भेडा पुरिएका छन् ।

सोमबार दिउँसो ४ः०० बजेको समयमा पाटनमा चरीरहेका भेडालाई पहिरोले पुरेको हो । वर्षात्का कारण आएको पहिरोले पुरिएर १३ भेडा र एक घोडा मरेको भेटिएको ताम्ती टोप्लाका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार गणेशबहादुर बलायरले जानकारी दिनुभयो । उहाँका अनुसार कुहिरोले ढाकिएकोले कति भेडा तथा घोडा मरेको भन्ने यकिन हुन सकेको छैन । कृषकहरूले भने आआफ्ना भेडा जम्मा गरिरहेका छन् । घटनास्थल करिब ८ घण्टा पैदल यात्रा हिड्नुपर्दछ । 

इन्चार्ज बलायरको नेतृत्वमा स्थानीयसहित सुरक्षा टोली घटनास्थलमा पुगिसकेको छ । तातोपानी गाउँपालिका वडा नं ७ जुम्लाका स्थानीय भेडापालक कृषक टेकराज रावतले आफूसहित आठ जना कृषकका भेडाहरू चरीरहेको अवस्थामा माथिबाट ठूलो पहिरो खसेर पुरेको बताउनुभयो । उक्त गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तिलक रावतले पहिरोले धेरै भेडा मरेको भन्ने खबर आए पनि क्षतिको यकिन विवरण आउन समय लाग्ने बताउनुभयो ।

काठमाडौं । सशस्त्र जनयुद्धको क्रममा घाइते तथा बेपत्ता भएका योद्धाहरूको संगठन जनक्रान्ति घाइते तथा बेपत्ता योद्धा संगठनले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ।

संगठनका अध्यक्ष जीवन बुढा मगरको नेतृत्वमा आयोग कार्यालय पुगेको टोलीले आयोगका सदस्य टिका प्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्ग व्यक्तिहरूको स्वास्थ्य उपचार, सेवा–सुविधा, र प्रतिनिधित्वसम्बन्धी मागहरू राखिएका छन्।

ज्ञापनपत्रका मुख्य ५ बुँदाहरू यसप्रकार छन्:

  1. घाइते तथा अपाङ्ग व्यक्तिको निशुल्क उपचारको व्यवस्था गर्न:
    आयोगले सिफारिस गरी डेलिकेट अस्पताल तोकी घाइतेको सर्जरी तथा उपचारको पूर्ण व्यवस्था निशुल्क रूपमा गर्नुपर्ने माग गरिएको छ।
  2. नियमित औषधिको पहुँच र उपलब्धता सुनिश्चित गर्न:
    दीर्घकालीन रूपमा औषधि सेवन गरिरहेका घाइते तथा अपाङ्ग व्यक्तिहरूका लागि निशुल्क औषधिको सहज पहुँच कायम गर्न आग्रह गरिएको छ।
  3. अपाङ्गता मान्यता र सेवासुविधा सिफारिस गर्न:
    शान्ति तथा पुनर्निर्माण मन्त्रालयले सङ्कलन गरेको सूचीका आधारमा आयोगले अपाङ्गता प्रमाणिकरण गरी सम्बन्धित सेवा–सुविधा सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ।
  4. नीति निर्माण प्रक्रियामा पीडितहरूको सहभागिता अनिवार्य गर्न:
    आयोगद्वारा तयार गरिने नियमावली, कार्यविधि तथा निर्देशिकामा घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने भनिएको छ।
  5. आयोग मातहत गठन हुने समितिहरूमा प्रतिनिधित्व सुनिश्चित गर्न:
    आयोग अन्तर्गत गठन हुने नीतिगत, कार्यगत तथा सहजीकरण समितिहरूमा सशस्त्र द्वन्द्वका पीडितहरूको संगठनको प्रतिनिधित्व गरिनुपर्ने माग गरिएको छ।

अध्यक्ष मगरले आयोगले यथाशीघ्र घाइते तथा अपाङ्ग योद्धाहरूको अवस्था बुझी व्यवहारिक कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

काठमाडौँ । देशभर निरन्तर वर्षासँगै आज सोमबार देशका ३९ जिल्लामा बाढीको जोखिम बढेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले जनाएको अनुसार कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, बैतडी लगायतका सुदूरपश्चिम तथा मध्यपश्चिमका जिल्लामा बहने स–साना नदीहरूमा अकस्मात बाढी आउने सम्भावना रहेको छ। यी क्षेत्रमा नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै कास्की, लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व/पश्चिम, चितवन, बाग्लुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रुकुम पश्चिम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, जाजरकोट, कालीकोट, मुगु, दैलेख, अछाम, बझाङ र दार्चुला जिल्लाका साना/मझौला नदीहरूमा पनि बाढी आउन सक्ने सम्भावना रहेको छ।

त्यस्तै संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ लगायतका पूर्वी पहाडी जिल्लामा पनि साना नदीहरूको बहाव आज उल्लेखनीय रूपमा बढ्ने देखिएकाले नदी किनारमा रहने बासिन्दाहरूलाई सजग रहन भनिएको छ।

हालैको २४ घण्टामा कञ्चनपुरको बेलौरीमा मात्र २०१ मिमि वर्षा मापन भएको छ, जुन अत्यधिक हो। कैलाली र कञ्चनपुरमा रातिदेखि लगातार वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र तिनीका सहायक नदीहरूजस्तै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको जलस्तर अहिले सतर्कता तह तल भए पनि जलस्तर बढ्ने सम्भावना प्रवल भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन भनिएको छ।

महाशाखाको भनाइमा, आज मधेशबाहेक अरु सबै प्रदेशका केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय विस्तारका लागि ललितपुर सानेपास्थित कार्यालय परिसरसँगै जोडिएको १९ आना जग्गा खरिद गरेको छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यालय अगाडि रहेको एक रोपनी तीन आना तीन पैसा क्षेत्रफलको जग्गा र सोही जग्गामा रहेको तीन तले घर पार्टीले १३ करोड रुपैयाँमा खरिद गर्न लागेको हो।

ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको उक्त सम्पत्ति खरिदका लागि आज कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा ५० लाख रुपैयाँको बैनासहित सम्झौता गरिएको पौडेलले जानकारी दिए। सम्झौताअनुसार उक्त सम्पत्ति एक वर्षभित्र नामसारी गरिनेछ।

मुख्यसचिव पौडेलका अनुसार १३ करोड रुपैयाँ पार्टीका विभिन्न तहमा उठाइएका लेवि तथा शुभेच्छुकहरूको सहयोगबाट संकलन गरी चुक्ता गरिनेछ। पार्टीको केन्द्रीय कार्यालयलाई थप फराकिलो, व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले उक्त निर्णय लिइएको उनले बताए।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले डेमो नतिजा परीक्षण गर्ने, बोर्ड बैठक डाक्ने लगायतका प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज बस्ने बैठकले नतिजा कहिले र कसरी सार्वजनिक गर्ने भन्ने निर्णय लिनेछ।

बोर्डले शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा केही ढिलाइ भए पनि निर्धारित समयमै नतिजा प्रकाशन गर्न सबै तयारी गरिएको बताएको छ। साथै, त्रुटीरहित नतिजा सुनिश्चित गर्न प्राविधिक पक्षमा विशेष ध्यान दिइएको जनाएको छ। प्राविधिक समस्या नआए आजै साँझभित्र नतिजा सार्वजनिक हुने बोर्डको भनाइ छ।

बोर्डले यसपटक २० वटा माध्यमबाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ। तीमध्ये ५ वटा एसएमएस र आइभीआर (IVR) प्रणालीमार्फत र बाँकी १५ वटा विभिन्न वेबसाइट तथा अनलाइन प्लेटफर्ममार्फत नतिजा हेर्न सकिनेछ।

यसरी हेर्न सकिन्छ नतिजा:

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।