
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५६ दिनका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ र बहुब्याजदरमा समेत आवेदन दिन सकिनेछ । ब्याजदर उल्लेख गर्दा दशमलव पछिको चार अंकसम्म लेख्न सकिनेछ ।
निक्षेप संकलनको अवधि साउन १३ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रोराटा आधारमा बाँडफाँड गरिनेछ ।
बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।
यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मासहित न्यायाधीशहरू हरिप्रसाद फुयाल,डा.नहकुल सुवेदी,विनोद शर्मा र महेश शर्मा पौडेलसाहितको संवैधानिक इजलास सुनुवाइका लागि आज पेशी तोकिएको छ ।
यसअघि जेठ १३ गते सुनुवाइका लागि सोही इजलासमा पेशी तोकिएपनि पछि हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।
प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश मेघराज पोखरेलको इजलासले संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट दर्ता गर्ने वा नगर्ने विषय संवैधानिक इजलासबाट टुंगो लगाउन आदेश दिएको थियो ।
अधिवक्ता गीता थापाले अध्यादेश बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् । तर,सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरेको थियो । त्यसपछि दरपिठविरुद्ध थापाले रिट दायर गरेकी हुन् । अब उक्त रिट दर्ता हुने वा नहुने भन्ने विषयमा संवैधानिक इजलासले निर्णय गर्नेछ ।
निवेदनमा संवैधानिक परिषद काम,कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश २०८३ संसद छल्ने उद्धेश्यले ल्याएको तथा उक्त अध्यादेश संविधानविपरीत रहेको जिकिर गरिएको छ ।
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले काठमाडौँमा आवश्यक पर्दा कम्तीमा ५ हजार जनालाई तत्काल परिचालन गर्न सक्ने सङ्गठनात्मक आधार तयार गर्न जनसङ्गठनका इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मङ्गलवार आयोजित जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन तथा सङ्गठनलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिए।
महासचिव पोखरेलले सङ्कटका बेला कार्यकर्तासँग निरन्तर सम्पर्क कायम राख्नु नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै हतारमा गरिने निर्णयले दुर्घटनातर्फ लैजान सक्ने भएकाले धैर्यता, एकता र विवेकपूर्ण निर्णय आवश्यक रहेको बताए।
उनले पार्टीभित्र समस्या छन् भन्दै निराशा फैलाउने प्रवृत्तिभन्दा समाधान खोज्ने संस्कृतिको विकास गर्नुपर्ने धारणा राखे। साथै, पार्टीमाथिको जनविश्वास र जनतासँगको सम्बन्धको समग्र समीक्षा गर्दै त्यसलाई थप बलियो बनाउन नसके सङ्गठनात्मक चुनौतीहरू जटिल बन्न सक्ने चेतावनी दिए।
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा आएर माफी माग्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत भएकोले माफी माग्नुपर्ने बताए ।
भारतलाई रिजाउने हिसाबले बोलेको हो की भन्ने शंका उत्पन्न भएको उनको भनाइ छ । प्रधानमन्त्री शाहको ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता, सुरक्षामाथि नै खतरा हुने देखिएको उनको भनाइ छ ।
प्रधानमन्त्रीले नेपालले भारतको कहाँ, कति भूमि मिचेको हो भन्ने जानकारी दिनुपर्ने उनले बताए ।
यस्तो छ हर्क साम्पाङको भनाइ :
उहाँ (प्रधानमन्त्री) ले बोल्नुभएको सरासर गलत छ, कार्यकारी प्रमुखले त्यो तरिकाले बोल्न हुन्न । उहाँले जे बोल्नुभएको छ, त्यसले हाम्रो देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, सुरक्षामाथि नै खतरा हुने देखिन्छ । त्यो बोलिसकेपछि विभिन्न ठाउँहरूमा भारतीय सेनाहरू हातहतियार लिएर प्रवेश गरे, विभिन्न खालको योजनाहरू रोकिए, भन्ने कुराहरू आइरहेको छ । उहाँले आफ्नो गलत भनाइलाई सच्याउँदै सदनमा माफी माग्नुपर्छ । प्रधानमन्त्रीजस्तो मान्छे कसरी चिप्लिनुभयो होला र ? त्यसरी चिप्लिन पाइन्छ र भन्ने कुरा हो । अर्को कुरा मलाई अचम्म लाग्छ, तालिकामा हाम्रो बैठक थिएन, १७ गते थिएन, आइतबार बिदाको दिन संसद् राख्नुभएछ, उहाँ बोल्नुभएछ । सायद रविजी १८ गते भारत जाँदै गर्ने कारणले पनि आकस्मिक बैठक बोलाउनुपर्ने भयो कि ? त्यो पनि हुनसक्छ ।
काठमाडौं । आज राष्ट्रियसभाको बैठक बस्ने भएको छ । दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने आजको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, मन्त्री वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने तय भएको छ।
बैठकमा सरकारका चालु कामकारबाहीको समीक्षा, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ। साथै विभिन्न मन्त्रालयबाट प्रस्तुत गरिने प्रस्तावहरूमा पनि निर्णय हुन सक्ने जनाइएको छ।
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।
राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो ।
दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैंलाई गोली हानेको भन्ने छानविन प्रतिवेदन सार्वजनिक भए पनि आम रुपमा त्यसलाई विश्वास गरिएको छैन । दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनाको विवरण सार्बजनिक गरेको थियो ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमय नै रहेको छ । देशमा राजतन्त्र हताटाएर गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को घटनाप्रतिको दुख अहिले पनि आम नेपालीहरुमा रहेको देखिन्छ ।
राजा वीरेन्द्रको वंश नाशपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजा भए । उनले प्रत्यक्ष शासन हातमा लिदाको परिणाम २०६२/६३ मा दोस्रो जनआन्दोलनमार्फत देशमा गणतन्त्र आयो र राजसंस्था नै अन्त्य भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए ।
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङ सम्बन्धी सार्वजनिक रूपमा उठेका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय–सुझावसहितको प्रतिवेदन बुझाउने भएको छ।
समितिका सदस्य अच्युतमणि न्यौपानेका अनुसार गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने लगायतका छानबिनका कार्य सम्पन्न भइसकेकाले प्रतिवेदन बुझाउन लागिएको हो।
उनले प्रतिवेदनमा उपलब्ध प्रमाण र तथ्यका आधारमा स्पष्ट निष्कर्षसहित राय–सुझाव समावेश गरिएको जानकारी दिए। दोषी वा निर्दोष भन्ने विषय पनि प्रमाणकै आधारमा उल्लेख गरिएको समितिको भनाइ छ।
मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले अच्युतप्रसाद भण्डारी को अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा शोभाकान्त पौडेल र अच्युतमणि न्यौपाने सदस्य रहेका छन्।
समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका आरोपहरूको सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो।
व्यापारी दीपक भट्ट सँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आइतबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा २० हजार ५०० ले बढेको हो ।
गत शुक्रबार दुई लाख ९० हजार ६०० मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल पाँच हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे सञ्चारकर्मीसँग अन्तरक्रिया गर्न आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार जेठ १७ गते आइतबार दिउँसो ३ बजे अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनमा अर्थमन्त्री वाग्लेले हालै संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, कार्यान्वयन रणनीति तथा बजेटसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराउनेछन्। साथै, सञ्चारकर्मीहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ पनि दिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुंगानाका अनुसार कार्यक्रममा सहभागी हुन सबै सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई आमन्त्रण गरिएको छ।
सरकारले सार्वजनिक गरेको बजेटबारे विभिन्न क्षेत्रबाट प्रतिक्रिया आइरहेका बेला आयोजना हुन लागेको यस पत्रकार सम्मेलनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।





