
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने महोत्तरी सम्सी गाउँपालिका-१ घर भएका ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ घर भएका काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने ४१ वर्षीय ठमराज नेपाली परियार र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३९ वर्षीय राम कुमार राई रहेका छन् ।
पक्राउ मध्ये जटाधरले बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ८० लाख रूपैयाँ तथा ठमराज र रामकुमारले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जटाधरलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट, ठमराजलाई काठमाडौं महानगरपालिका-१२ बाट र रामकुमारलाई ललितपुर महालक्ष्मी नगरपालिका-३ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ ।
हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ ।
आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो ।
“औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ”, उहाँले भन्नुभयो, “पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।”
सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिइएको जानकारी दिनुभयो ।विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ( देखि ५) एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेंलो सङ्केत) मानिन्छ ।
त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ।१५१ देखि २०० एक्यूआई सबैका लागि अस्वस्थ, २०१ देखि तीन सय एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई तीन सय भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ ।
यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ ।
राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ ।
साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने उल्लेख गरिएको छ ।
काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियानकर्मी दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको छ। निर्वाचनसम्बन्धी विद्युतीय माध्यममार्फत व्यक्त गरेका अभिव्यक्तिले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा साइबर ब्युरोले उनीमाथि अनुसन्धान सुरु गरेको हो।
निर्वाचन आयोगको पत्रका आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइने साइबर ब्युरोले जनाएको छ। पक्राउअघि प्रसाईंले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको खुलेको छ।
त्यसपछि वीरगन्जमा कार्यक्रम आयोजना गरी निर्वाचन बिथोल्ने अभियान सुरु गर्ने तयारीबारे सूचना प्राप्त भएपछि सुरक्षा निकायले उनलाई नियन्त्रणमा लिएको बताइएको छ। यसअघि पनि विभिन्न अभिव्यक्तिका कारण प्रसाईं पटक–पटक प्रहरी अनुसन्धानमा परेका थिए।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका प्रयास प्रारम्भ गर्नुभएको छ ।
यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई रु १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।
काठमाडौं । निरन्तर हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। बुधबार दिनभरि परेको हिमपातका कारण सडकमा जमेको हिउँ पन्छ्याउन कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशङ्कर प्रसाद यादवका अनुसार बिहीबार बिहानैदेखि सडकमा जमेको हिउँ पन्छ्याउने काम पुनः सुरु गरिएको छ।
उनका अनुसार रुकुम पूर्वतर्फको करिब तीन किलोमिटर सडक खण्डमा जमेको हिउँ हटाउने काम भइरहेको छ। बागलुङतर्फको सडक खण्डमा परेको हिउँ पनि पूर्ण रूपमा पन्छाएपछि मात्र लोकमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने उनले बताए।
हिमपातका कारण काठमाडौंबाट रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पातर्फ गएका यात्रुबाहक बसहरू पातिहाल्नामा फसेका थिए। त्यहाँ फसेका यात्रुलाई बुधबार उद्धार गरी केहीलाई रुकुम पूर्व ल्याइएको थियो भने केहीलाई बागलुङको बुर्तिबाङतर्फ लगिएको प्रहरीले जनाएको छ।
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको थियो ।
यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौँ । काठमाडौंको जमलमा आज दिउँसो चार वटा सवारीसाधन एकआपसमा ठोक्किँदा ठूलो आगलागी भएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका सवारी ठोक्किएलगत्तै एउटा गाडीमा लागेको आगो अन्य दुई गाडीमा समेत फैलिएको थियो।
दरबारमार्ग प्रहरीले घटनाको पुष्टि गर्दै अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाएको छ। ‘चार वटा गाडी आपसमा ठोक्किएका हुन्। केही व्यक्ति घाइते भएका छन्,’ दरबारमार्ग ट्राफिक प्रहरी स्रोतले जनाएको छ।
सडकको बीचमै सवारीसाधनमा आगलागी भएपछि जमल र दरबारमार्ग क्षेत्रको ट्राफिक व्यवस्था पूर्ण रूपमा प्रभावित भएको छ। सूचना पाएलगत्तै दमकल र प्रहरी टोलीले आगो नियन्त्रणमा लिएका छन्।
हालसम्म मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक नभए पनि सवारीसाधनमा ठूलो क्षति पुगेको जनाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ।
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका भट्टराईले आज मनोनयन फिर्ता लिने निर्णय गरेका हुन्।
भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार बनेका थिए।
गोरखा–२ मा नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कवीन्द्र बुर्लाकोटी र नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार छन्।
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु. नौ हजार २०० र चाँदी रु. ३२० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु. छ हजार १९० कायम भएको छ । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु. दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु. पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु. दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु. पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु. दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु. पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु. दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु. पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडाैँ । माघ ९ गते (शुक्रबार) देखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । विभागको मौसम पूर्वानुमान शाखाले शुक्रवार रातिदेखि शनिबार बेलुकासम्म मुलुकको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको हो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै शाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले वर्षासँगै उच्च हिमाली भूभागहरुमा मध्यम हितपात हुने सम्भावना रहेको समेत बताए । उनले वर्षा मध्यम खालको हुने र त्यो शनिबार बेलुकासम्म मात्रै रहने पनि स्पष्ट पारे ।
वरिष्ठ मौसमविद् पौडेलेले भने, ‘शुक्रबार रातिदेखि शनिबार बिहानसम्म विशेष गरेर पश्चिमतिरबाट पानी पर्ने प्रणाली, हिमपार्ने वर्ष भित्रिँदैछ । तर त्यस्तो ठूलो खालको झरी पार्ने पानी चाहीँ होइन । तर पहिलो हिउँदे वर्षाको रुपमा शुुक्रबार रातिदेखि बिहानसम्म विशेष गरेर सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहन्छ ।’
उनले थप भने, ‘उच्च हिमाली भूभागहरुमा मध्यम हितपातको सम्भावना पनि देखिन्छ । साथसाथै काठमाडौँसम्म आइपुग्दा केही हल्का वर्षा बदलीको सम्भावना रहन्छ । तर पूर्वतिर वर्षा हुँदैन । किनभने यो पश्चिमबाट आएको प्रणाली हो । उपल्लो वायु मण्डलबाट आउँछ । त्यसले गर्दा त्यसरी रहन्छ । विस्तारै फेरि शनिबार दिउँसो बेलुकातिरबाट खुल्दै जान्छ ।’
शाखाकाअनुसार माघ १३ गते मंगलबार रातिदेखि फेरि हल्का वर्षको सम्भावना रहेको छ । मंगलबार रातिदेखि बुधवारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भूभागमा मध्यमखालको हिमपातको पनि सम्भावना रहेको वरिष्ठ मौसमविद् पौडेलले बताए ।
उनले भने,‘सोमबार, मंगलबार फेरि केही ग्याप हुन्छ । फेरि मंगलबार रातिदेखि बुधवार फेरि अर्को प्रणाली पनि आउँदैछ । त्यसले पनि उच्च हिमाली भू-भागमा हिमपात हुने देखिन्छ । त्यसपछि मौसम सफा नै रहने देखिन्छ । तर त्यस्तो ठूलो खालको झरी गराउने अवस्था छैन ।’
यसअघि गत साता पूर्वी नेपालका ताप्लेजुङलगायतका जिल्लाहरुका हल्का वर्षा भएको र उच्च हिमाली भूभागहरुमा मध्यम खालको हिमपात नभएको थियो । हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिनसक्ने विज्ञहरूको भनाइ छ ।
यस वर्षको हिउँदमा सामान्यभन्दा कम वर्षा भएको र तापक्रम औसतभन्दा माथि रहेको अवस्थामा यो वर्षाले कृषि, वायु प्रदुषण नियन्त्रण र जलस्रोतमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।





