
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य मंगलबार तोलामा २६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले भन्सार दर घटाएपछि सोमबार १५ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट आएको हो ।
चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) परियोजना अन्तर्गत ऋण लिनै नहुने सत्तारुढ काँग्रेसको अडानप्रति आपत्ति जनाएका छन्।
सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
सम्मानित नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजनाअन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताए ।
उनले भने, ‘अब यो बीआरआईको जुन कुरा छ। यो अहिले भन्दा १० वर्ष पहिले चीनले सुरुवात गरेको अवधारणा हो। अहिले विश्वका १५३ मुलुकहरुसँग सहमती भएको छ। ३ हजार करिव सम्झौताहरु बनिसकेका छन्। र यो बीआरआई र ती मुलुकहरुको बीचमा लगानी मात्रै हेर्दा १.४ ट्रिलियन डलर लगानी भएको देखिन्छ। दुई तिहाई भन्दा बढि मुलुकका लागि बीआरआई आवश्यक रहेछ। फाईदाजनक रहेछ, लाभकारी रहेछ। त्यसो हुनाले बीआरआई लिनु हुँदैन भन्ने होइन। नेपालले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीहरुसँग, विदेशहरुसँग सम्बन्ध राख्नुपर्छ। र बीआरआईबाट हामीले लोन चाही लिनै हुँदैन भन्ने खालको जुन कुराहरु आएको छ। यो पूर्वागहपूर्ण कुराहरु मात्रै हो।’
काठमाडौ । नेकपा एमालेको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेस र देशभरका जिल्लाका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउन पूर्वतयारी गर्न ध्यानाकर्षणपत्र गराएको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले जाडेको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेस देशभरका विपन्न वस्ती र परिवारलाई बढी पीडा दिने गरेको सन्दर्भमा पूर्वतयारी गर्न आग्रह गरेको हो।
ध्यानार्कषणपत्रमा गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका साथै सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा, सिन्धुलीलगायतका जिल्लामा धेरै बस्तीहरु डुबान र पहिरोमा परेकाले प्राकृतिक प्रकोपबाट उठीबास भएकाहरुलाई जाडो समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्थाहरु लाग्नुपर्ने उल्लेख छ।
प्रधानमन्त्री ओलीले उक्त ध्यानाकर्षणपत्रलाई गृह मन्त्रालयमार्फत् सम्बन्धित निकायका सम्बोधनका लागि तत्काल पठाइने बताउँदै विपद्को पूर्व तयारी र विपद्पछिको खोज, उद्धारमा लाग्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली साहित्यमा अहिले मुक्तकको लोकप्रियता निकैे छ । छोटो, मिठो र चोटिलो विधा मुक्तकमा सबैको आकर्षण बढ्दो छ । मुक्तककार मीना चौलागाईंले मङ्सिर ८ गते शनिबार काठमाडौंमा आफ्नो दोस्रो मुक्तक कृति मनोकाङ्क्षा ल्याउनु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलगायतका अतिथिहरूले सो कृतिको पारिजातकक्षमा लोकार्पण गर्नु भयो ।

प्रमुख अतिथि कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्नुपर्ने बताउनु भयो । मुक्तक दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्ने उहाँको भनाई थियो । मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न सक्षम रहेको राईले बताउनु भयो ।
प्राज्ञ डा. कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित ‘मनोकाङ्क्षा’ को समीक्षा गर्दै मुक्तक सङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताउनु भयो । कृतिकारले मुक्तकमा सुखदुःखका कुरा, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण गर्न सक्षम भएको दाबी गर्नुभयो ।
समारोहमा वरिष्ठ मुक्तककार ज्ञानुवकर पौडेल, नियात्राकार प्रतीक ढकाल, कवि- कलाकार रमेश पौडेल, मुक्तककार सुनिल अधिकारी, कृतिकारकी गुरु कोमल ढुङ्गेल कृतिकारकी सुपुत्री आयुश्री चौलागाईंले कृति र कृतिकारको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गुर्न भएको थियो ।
लोकार्पित मुक्तकसङ्ग्रहबाट पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन/तीनवटा मुक्तक वाचन गरेर सुनाउनु भएको थियो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्घोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीको स्वागत मन्तव्य दिनु भएको थियो । कृतिकार चौलागाईंले आफू पहिलेदेखि नै मुक्तक विधामा प्रतिबद्ध भएर लागेको र यो दोस्रो कृतिबाट थप जिम्मेवारी महसुस भएको जाकारी दिनुभयो । मनोकाङ्क्षामा विभिन्न भाव र विषयका ३१२ वटा मुक्तक समेटिएका छन् ।
काठमाडौँ । गणतन्त्र सेनानी कोषले पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख अतिथियतामा बागमती प्रदेशका १५ जना गणतन्त्र सेनानीलाई सम्मान गर्ने भएको छ ।
बागमती प्रदेशका जिल्ला १५ जना जनमुक्ति सेनाका घाइते योद्धा लाइ ताम्रपत्र सहित सम्मान गर्ने गणतन्त्र सेनानी कोषका अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।
गणतन्त्र सेनानी सम्मान कार्याक्रम २०८१ साल मंसिर ९ गते सास्कृतिक प्रतिष्ठान, नाचघर जमलमा दिउसो १२ बजे हुने अध्यक्ष पौडेलले बताए ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ ।
जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।
एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदै छ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै तोलाको १ लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको १ लाख ६४ हजारमा नै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।
“गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ”, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भन्नुभयो ।
इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा रु. १३ करोड लगानी भएको उहाँले बताउनुभयो ।
संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको जानकारी उहाँले दिनुभयो ।
बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् । उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेका छन् ।
– डम्बर थामी ‘अनुपम’
क्रान्तिमा
बुद्धि-विवेकको
उच्चातिउच्च संयोजन हुन्छ
आवेगीय गगनभेदी गर्जन हुन्छ
प्रत्येक अक्षर र शब्दहरुबाट
भोका नाङ्गाहरुको
शोषित पीडितहरुको
रगतका थोपाहरु चुहिन्छ
त्यसले विशालाकाशको
नीलिमालाई पनि
क्षणभरमै रातो पारीदिन्छ
क्रान्तिलो रङ्ग कहिल्यै बदलिंदैन
सम्भ्रान्तहरुलाई क्रान्ति चाहिँदैन
१ अगस्ट २०२३, पराईभूमी !
किएभ (युक्रेन), मङ्सिर ४ गते । सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताउनुभएको छ । सुमी रूसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र हो जहाँ युक्रेनी सेनाले गत अगस्टमा आक्रमण गरी धेरै भूभाग कब्जा गरेको थियो ।
सोमबार राति, ड्रोनले प्रहार गरी एक स्थानीय शैक्षिक संस्थाको छात्रावास ध्वस्त पारेको उल्लेख गर्दै आक्रमणमा हालसम्म एक बालकसहित सात जनाको मृत्यु भएको जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जनाउनुभएको हो ।
उहाँले घटनास्थलबाट पोस्ट गरेको भिडियोमा उद्धारकर्मीहरूले भग्नावशेषको छानबिन गदै गरेको तथा आक्रमणमा मृत्यु भएकाहरुलाई निकालिरहेको देखाइएको थियो ।
उहाँले आक्रमणमा “दुई बालकसहित दश जनाभन्दा बढी घाइते भएको र अझै पनि भग्नावशेषमुनि मानिसहरू फसेका हुनसक्ने बताउनु भएको छ ।
सुमीमा रूसी क्षेप्यास्त्र हमलाबाट एक बालकसहित आठ जनाको मृत्यु भएको दुई दिनपछि यो आक्रमण भएको हो । रूसको निरन्तरको आक्रमणले सीमानजिकैका सम्पूर्ण जिल्लाहरूलाई अति प्रभावित बनाउनुका साथै युक्रेनमा ऊर्जा सुविधाहरू ध्वस्त पारेको छ ।





