२०८३ मंसिर १०
२०८३ मंसिर १०

नवलपुर । नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। गैँडाको आक्रमणबाट कावासोती नगरपालिका वडा नं. ७ बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहले जानकारी दिए ।

मङ्गलबार दिउँसो पौने एक बजेको समयमा कावासोती ७ कै कृष्णसार सामुदायिक वनमा गाईगोरु चराउन गएको बेला गैँडाले बोटेलाई आक्रमण गरेर घाइते बनाएको शाहले जानकारी दिए ।

गैँडाको आक्रमणबाट छातीमा चोट लागि गम्भीर घाइते भएका बोटेलाई उपचारका लागि कालिगण्डकी अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा मंगलबार पोखरामा भएको प्रदर्शनका क्रममा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पोखरास्थित जिरो किलोमा भएको प्रदर्शनका क्रममा प्रहरीले महिला प्रदर्शनकारीलाई पक्राउ गरेको हो । उनको नाम खुलेको छैन ।

सभापति लामिछानेलाई म्याद थपका लागि उपस्थित गराइने भएपछि पार्टीका कार्यकर्ता र समर्थकले आज पोखरामा प्रदर्शन गरिरहेका छन् ।

लुम्बिनी । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उनको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए। मुख्यमन्त्री आचार्यका साथ आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत प्रदेश सरकारका उच्च अधिकारी सहभागी हुनेछन् ।

लुम्बिनी प्रदेश सरकार र सिछुआन प्रान्तबीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने उद्देश्यले २०७६ सालमा भगिनी सम्बन्ध कायम भएको हो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई कार्यान्वयन तथा दुई पक्षीय सहयोग र सहकार्य विस्तारका दिशामा उच्चस्तरीय वार्ता हुने प्रवक्ता पन्तले बताए।

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र घाइतेको सङ्ख्या १८ पुगेको छ।

भुमिकास्थान नगरपालिका–५ र ६ को सिमाना जयठाटीमा सोमबार बेलुका ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसको ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका समूहलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घटनास्थलमै एक जना महिलाको ज्यान गएको हो भने उपचारको क्रममा २२ वर्षीय तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले आज दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जानकारी दिनुभयो ।

वर्षा नरोकिएको, रात परिसकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरेर मङ्गलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख केसीले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै घुम्न आएका पर्यटकहरू बिचबाटमै रोकिएका छन् । मुस्ताङतर्फ जाने सवारी साधनहरू बेनी र म्याग्दीतर्फ आउने सवारी साधनहरू भुरुङ्ग–तातोपानीतर्फ फर्किएका छन् ।

काठमाडौं । रोशी खोलामा आएको बाढीको कारण डाईभर्सन बगाउदा अवरुद्ध भएको बीपी राजमार्ग साँझबाट सञ्चालनमा आएको छ ।

आज दिउसो रोशी गाउँपालिकाको माम्तीमा डाईभर्सन बगाउदा बीपी राजमार्ग अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भक्तपुर र अन्य मेसिन प्रयोग गरेर पुनः डाईभर्सन निर्माण गरेर सडक सुचारु गरिएको छ ।

ईलाका प्रहरी कार्यालय मंगलटारका इनेस्पेक्टर कृष्ण गिरीले दिएको जानकारी अनुसार अहिले माम्तीमा डाइर्भसन बनाएर यातायात सेवा सुरु भएको छ ।

काठमाडौँ । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।

आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

रुकुम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन हुनभएको एक वर्ष भयो । एक हिउँद र एक बर्खा टिनको टहरामा कटाउनुभएका उहाँलाई यो वर्षको चिसो पनि टिनकै टहरामा बित्ने हो की भन्ने डर छ । गतवर्षको कात्तिक १७ गते रातिको भूकम्पले घर भत्काइदिएपछि केही दिन त्रिपालमुनि रहेको उहाँको परिवार हाल टिनको टहरामा छ ।

“हामीले एक वर्ष कष्टकर बितायौंँ । अब फेरि चिसो बढ्न थालेको छ, यो वर्षको चिसो कसरी कटाउने भन्ने पिर छ”, पुनले भन्नुभयो ।

भूकम्प गएको केही महिना त्रिपालमुनि र त्यसयता टहरामा बसिरहेका भूकम्प प्रभावित परिवार सुरक्षित आवासको आशामा छन् । कठ्याङ्ग्रिदो चिसोमा त्रिपाल, गर्मीमा टिनको टहरामा बस्न बाध्य यहाँका भूकम्पपीडितले अझै सुरक्षित आवास पाउन सकेका छैनन् ।

“हामीले सरकारबाट समयमै घर निर्माणका लागि सहयोग पाउन सकेनौँ । हाम्रा बालबालिका र बुढापाकालाई कसरी बचाउने भन्ने पिर छ । गतवर्षझैँ यो वर्ष पनि कतिले चिसोको कारण ज्यान गुमाउने हुन्”, सानीभेरी गाउँपालिका–४ का हीरालाल परियारले भन्नुभयो ।

एक वर्षमा पनि सरकारले पुनःनिर्माण कार्यविधि ल्याउन सकेको छैन । भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० तयार गरेर टहरा निर्माणका लागि तत्कालै प्रतिपरिवार ५० हजार अनुदान व्यवस्था गर्ने जनाएको थियो । तर, उक्त रकम पूरा नदिएको भूकम्पपीडितको गुनासो छ ।

तत्काल त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रबन्ध भएपनि पुनःनिर्माण हुन नसकेको सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीले बताउनुभयो । सङ्घीय सरकारले पुनःनिर्माणका लागि कार्यविधि ल्याउन नसकेकाले भूकम्पपीडितको आवास निर्माण ढिलाइ भएको उहाँको भनाइ छ ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो । समितिको अध्ययन प्रतिवेदनमा भूकम्प प्रभावितको पुनःनिर्माण र पुनःस्थापना यथाशक्य चाँडो पूरा गर्न सरकारलाई सुझाव दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङक अनुसार जिल्लाभर ३४ हजार नौ सय ८९ लाभग्राही छन् भने ३२ हजार नौ सय ९६ घरधुरीले अस्थायी टहरा निर्माणको पहिलो किस्ता प्राप्त गरेका छन् । दुई हजार दुई जनाले पहिलो किस्ताकै रकम पाएका छैनन् । १६ हजार परिवारका लागि दोस्रो किस्ता निकासा भइसकेको छ । रासस

जलेश्वर। महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि छठपर्वका लागि कुटान पिसान सुरु भएको छ । छठपर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान पकाउनका लागि मिथिलानीहरू आजदेखि कुटान पिसान सुरु गरेका छन् ।

तराई मधेसमा गोधन पर्व सम्पन्न भइसकेपछि छठ पूजाका लागि कुटान पिसान सुरु गर्ने परम्परा रहेका कारण हिजो (आइतबार) तराई मधेसमा गोधन पर्व सम्पन्न गर्दै आजदेखि छठपर्वको कुटान पिसान सुरु गरिएको जलेश्वर नगरपालिका–८ की बर्तालु महिला राजवती देवीले बताउनुभयो ।

छठपर्वका लागि मिथिलाका घरघरमा आज बिहान अरबा चामल र चुनिएको गहुँ धोइपखाली सुकाएर आजैदेखि चामल र गहुँ कुटान पिसान गरी आँटा तयार गरिने जलेश्वर–८ का अर्का बर्तालु महिला सुमित्रा देवीले बताउनुभयो ।

निकै चोखो र शुद्धताको पर्व मानिएको छठ व्रतका लागि कुटान पिसान गरिने चामल र गहुँ मिथिलानीहरूको घर, आँगन वा टोल छिमेकमा रहेको ढिकी र जाँतोमा गर्ने परम्परा छ । तर अहिले ढिकी र जाँतो अभाव हुन थालेपछि कतैकतै मिलमा पनि कुटान पिसान गरिन थालेको जलेश्वर–६ की बर्तालु महिला विनिता देवीले बताउनुभयो ।

आजका दिन एकाबिहानै मिथिलानीहरू आ–आफ्ना घरआँगन वा टोल छिमेकमा भएका ढिकी र जाँतोलाई शुद्ध र सफा पानीले धोएर पवित्र बनाएपछि गहुँ र चामल कुट्ने र पछि पुनः गहुँ र चामललाई धोएर सुकाएर पिध्ने गर्दछन् । यसरी कुटान पिसानबाट तयार भएको पिठोले नै छठपर्वमा भगवान् सूर्य र माता छठदेवीको अघ्र्यका लागि ठेकुवा, भुस्वा, खजुरिया, पेरुकियालगायत पकवान तयार गरिने जलेश्वर–२ की बर्तालु महिला कोसिला देवीले बताउनुभयो ।

छठपर्वमा चामल र गहुँकै पिठोबाटै तयार भएको ठेकुवा र भुस्वा नै प्रमुख प्रसाद रहने गरेका कारण यसलाई निकै शुद्धता र पवित्रताका साथ कुटान पिसान गरी पकवान तयारीसम्मको काम गरिन्छ । आजदेखि सुरु भएको कुटान पिसानका कारण छठबर्ती निकै उत्साहित र व्यस्त देखिएका छन्भने आजैबाट मिथिलाको घरआँगनमा छठपर्वको चहलपहल पनि बढेको छ ।

काठमाडौं । तिहारका लागि बिदा दिइएका सरकारी कार्यालयहरु भोलि मंगलबारदेखि खुल्दैछन् । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदी बहिनीको हातबाट भाइटीका लगाएसँगै तिहार सकिन्छ ।

आइतबार तिहार सकिए पनि सरकारी कार्यालयहरु भाइटीकाको भोलिपल्टसमेत बिदा दिइएको छ । सरकारले आज पनि तिहारकै बिदा दिएको हो । यस वर्ष १५ गते कुकुर तिहार र लक्ष्मीपूजाको दिनबाट ५ दिन सरकारी कार्यालयहरुमा बिदा दिइएको हो ।

टीका लगाउने टाढाटाढा गएकाहरू फर्किने क्रममा रहेकाले भाइटीकाको भोलिपल्ट आज पनि बिदा दिइएको हो ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।