
काभ्रे । अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्न्तीकार्यलाई तीब्रता दिइएको छ ।
गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष थपिएपछि स्तरोन्नतीकार्यलाई तीव्रता दिइएको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालीले रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो ।
उक्त अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । सम्झौताअनुसार म्याद सकिँदा ४० प्रतिशत विस्तारकार्य अधुरो अवस्थामा रहेको हो ।
कन्स्ट्रक्सनका मेनेजर रवीन्द्र श्रेष्ठका अनुसार साँगा–धुलिखेल खण्डमा समग्रमा ६० प्रतिशत तथा पीचबाहेक भौतिक प्रगति ९० प्रतिशत सम्पन्न भएको छ । हालसम्म धुलिखेल क्षेत्रमा करिब एक किमी र पुल बजार–जनागाल क्षेत्रमा करिब एक किमी सडक कालोपत्र गरिएको छ, भने पीचकार्यलाई तीव्रता दिइएको हो । यसअघि गत मङ्सिर तेस्रो साता डेढवर्षदेखि रोकिएको सूर्यबिनायक–धुलिखेल सडकखण्डको पलुबजार क्षेत्रमा स्तरोन्नतीकार्य सुरु गरिएको थियो । पुल बजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले विवाद गरेपछि डेढ वर्षदेखि अवरुद्ध करिब तीन सय मिटर सडकको स्तरोन्नतीकार्यलाई केही विषयमा सम्झौता गरेपछि पुन: निरन्तरता दिने सहमति भएको थियो ।
सूर्यविनायक धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख विजयकुमार महतोले साँगा–धुलिखेल पहिलो खण्डमा ६० प्रतिशत र दोस्रो सूर्यविनायक–साँगा खण्डमा भने ४५ प्रतिशत काम सकिएको बताउनुभयो । उहाँका अनुसार सूर्यविनायक–साँगा खण्डमा केही स्थानका र भत्काउने प्रक्रिया भइरहेको छ । आयोजनाका इञ्जीनीयर विष्णुप्रसाद खनालका अनुसार जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी, बनेपा बजारलगायतका क्षेत्रमा हाल कामलाई तीव्रता दिइएको छ । उहाँका अनुसार पुलबजार–जनागाल क्षेत्रको बनेपातर्फ दायाँतर्फ लम्बाइ आठ सय मिटर र चौडाइ १० मिटर कालोपत्र सम्पन्न भइसकेको छ बनेपाबाट साँगातर्फ बाँया लेनको कालोपत्रको तयारी भइरहेको छ ।
यस्तै हाल बाँसघारी–बुडोल क्षेत्रमा मेन लेनमा कट्टिङ र सर्भिस लेनमा ग्राभेल राख्ने काम भइरहेको छ । बनेपाको चाँदनी चोकमा कल्र्भट राख्ने तयारी भइरहेको छ भने बनेपाको चण्डेश्वरी खोला क्षेत्रमा अहिले पर्खाल लगाउने, फिलिङ गर्ने काम भइरहेको खनालको भनाइ छ । साँगा–भैँसेपाटी क्षेत्रको ढुङ्गेधारामा अहिले कटिङको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
सूर्यविनायक–धुलिखेल सडक विस्तारकार्य अन्तर्गत दोस्रो खण्ड सूर्यविनायक–साँगा– ७ दशमलव ५ किलोमिटर विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि आउँदो पुस १८ गते म्याद सकिँदैछ छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि छ लेनमा विस्तार थालिएको हो ।
ताप्लेजुङ । बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो ।
स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । रासस
भक्तपुर । पूर्व जनमुक्ति सेना राजु खाति सहदेवकी श्रीमती तथा पूर्व जनमुक्ति सेनाकी सदस्य सुन्तली रोका दुवै मृगौलामा गम्भीर समस्या देखापरेपछि हाल शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत हुनुहुन्छ। चिकित्सकको सल्लाहअनुसार उहाँलाई दैनिक डायलोसिस गर्नुपर्ने अवस्था रहेकाले उपचार खर्च धान्न परिवारलाई अत्यन्तै कठिनाइ भइरहेको छ।
उहाँको जन्मस्थान हेटौंडा–६, मकवानपुर हो भने हाल त्रिपुरासुन्दरी गाउँपालिका–३, साउनेपानीमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएको छ। चिकित्सकका अनुसार उहाँ SLE (लुपस) नामक गम्भीर रोगबाट पीडित हुनुहुन्छ, जसले मृगौलामा गहिरो असर पुर्याएको छ।
परिवारका अनुसार मिति कार्तिक २४ गते सिभिल अस्पतालमा उहाँले सामान्य सुत्केरी भई शिशु जन्माउनुभएको थियो। सुत्केरीपश्चात स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि पुनःजाँच गर्दा लुपस (SLE) रोग लागेको पुष्टि भएको थियो। थप उपचारका लागि उहाँलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा भर्ना गरी नियमित डायलोसिस गराइँदै आएको छ।
नवजात शिशुको आमाको अवस्था हाल जीवन–मरणको दोसाँधमा रहेकाले उपचारमा ठूलो आर्थिक भार परेको परिवारले जनाएको छ। कमजोर आर्थिक अवस्थाका कारण उपचारलाई निरन्तरता दिन कठिन भइरहेको भन्दै परिवारले सामाजिक संघ–संस्था, दातृ निकाय, पूर्व जनमुक्ति सेनाका सहयोद्धा तथा सर्वसाधारणलाई मानवीय आधारमा सहयोग गरिदिन हार्दिक अपिल गरेको छ।
परिवारले हजुरहरूको सानो सहयोगले पनि एक आमाको जीवन जोगाउन र नवजात शिशुको भविष्य सुरक्षित गर्न ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
सहयोग गर्न सकिने बैंक विवरण
बिरामीको श्रीमान
Name : Raju Khati Sahadev
Bank Account No : 023011060005193
Bank Name : Sanima Bank
Contact Number : 9860533963

अथवा
संस्थागत सहयोग गर्न चाहानेले
Name : SHANKAR/GOPAL/URMILA
Account No : 11501000000228701672
Bank : Prime Bank

काठमाडौँ — नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस अन्तिम सातामा गर्ने निर्णय गरेको छ। सोमबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
बैठकले नयाँ क्रियाशील सदस्य वितरण प्रक्रिया मंसिर २० गतेसम्म सीमित गर्ने निर्णय गरेको छ। मंसिर २४ गतेभित्र वडासम्म फाराम वितरण गर्नुपर्ने र पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यता सम्बन्धी सम्पूर्ण काम सकाउनु पर्ने बैठकले निर्धारण गरेको महतले बताए।
उजुरी आह्वान तथा छानबिन गरी नयाँसहितको अन्तिम सदस्य सूची पुस १४ गतेभित्र सभापतिलाई बुझाइनेछ। नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता, नयाँ पुस्ताको सहभागिता तथा अन्य पार्टीबाट भएका प्रवेशलाई प्राथमिकता दिने निर्णय बैठकले गरेको छ।
त्यस्तै विभिन्न तहका अधिवेशन मिति पनि तोकिएको छ। वडा, गाउँ तथा नगर अधिवेशन पुस १६ र १७ गते; प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते; एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा पुस २२ गते र एकभन्दा बढी क्षेत्रमा पुस २२ कै दिन अधिवेशन हुने महतले बताए। प्रदेश अधिवेशन भने पुस २३ र २४ गते गरिनेछ।
जेरुसेलम । भ्रष्टाचारको अभियोगको सामना गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो समयदेखि चलिरहेको र देशलाई विभाजित गरिरहेको मुद्दाका कारण आफूले राष्ट्रपति समक्ष माफीको औपचारिक अनुरोध पेस गरेको घोषणा गर्नु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनामा इजरायली राष्ट्रपति आइज्याक हर्जोगलाई पत्र पठाई नेतान्याहुलाई क्षमा गर्न आग्रह गरिसक्नु भएको थियो । नेतान्याहुले आफूले कुनै पनि गैरकानूनी कार्य नगरेको दाबी दोहोर्याउँदै छ वर्षदेखि मुद्दा निरन्तर रहँदा देशभित्र गम्भीर विभाजन बढेको बताउनुभयो ।
प्रधानमन्त्रीका अनुसार उहाँ निर्दोष प्रमाणित नभएसम्म मुद्दा लडे पनि ठीक हुने थियो, तर राष्ट्रिय सुरक्षात्मक र राजनीतिक परिस्थितिले मुद्दाको निरन्तरताले राष्ट्रलाई भित्रैबाट विभाजित गरिरहेको देखाएपछि माफीको अनुरोध गर्नु अपरिहार्य भएको उहाँको भनाइ छ ।
समर्थकले मुद्दालाई राजनीतिकरूपमा प्रेरित आरोप भन्दै अस्वीकार गर्दै आए पनि नेतान्याहुमाथि अर्बपतिबाट राजनीतिक फाइदाका सन्दर्भमा सिगार, गहना र श्याम्पेनसहित करिब दुई लाख ६० हजार डलर मूल्यका सामान लिएको, साथै दुई ठुला मिडियाबाट अनुकूल कभरेजका लागि वार्ता गरेको आरोप छ ।
उहाँले हप्तामा तीन पटक अदालतमा उपस्थित हुनुपर्ने मागलाई ‘असम्भव माग’ भन्दै मुद्दा जित्ने आफ्नो दृढता कायम रहे पनि यसको तत्काल अन्त्यले देशमा आवश्यक राष्ट्रिय मेलमिलापलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो । यही बयानसँगै राष्ट्रपति हर्जोगलाई पेश गरिएको १११ पृष्ठ लामो पत्रमा समेत दोषी स्वीकार गरिएको छैन ।
राष्ट्रपति कार्यालयले यो असाधारण र गहन प्रभाव पार्ने अनुरोध भएको बताउँदै सबै पक्षको राय लिँदै निर्णय हुने जानकारी दिएको छ । सेप्टेम्बरमै हर्जोगले मुद्दाले ‘इजरायली समाजमा भारी बोझ’ पारेको सङ्केत गर्नुभएको थियो । ७६ वर्षीय नेतान्याहु इजरायलको सबैभन्दा दीर्घकालीन प्रधानमन्त्री हुनुहुन्छ ।
वर्तमान कार्यकालमा उहाँले अघि सारेका न्यायिक सुधारका प्रस्तावलाई आलोचकले न्यायालयलाई कमजोर पार्ने योजना भनेका थिए, जसले देशव्यापी विरोध प्रदर्शन जन्माएको थियो । हाल उहाँले सन् २०२६ को अन्त्यअघि हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । कानुनी विज्ञले नेतान्याहुको अनुरोधलाई ट्रम्पको पत्रपछि आएको सुनियोजित कदमका रूपमा व्याख्या गरेका छन् ।
इजरायली कानुनअनुसार माफी केवल दोषी ठहर भइसकेका व्यक्तिलाई मात्र दिन सकिन्छ । यदि माफी अस्वीकार भएमा, अभियोक्तासँग सम्झौता गर्ने विकल्प नै प्रधान हुने अनुमान विज्ञले गरेका छन् । सोही विकल्प जसलाई नेतान्याहुले अहिलेसम्म नकार्दै आउनुभएको छ ।
विपक्षी नेता यायर लापिदले नेतान्याहुले अपराध स्वीकार, पश्चात्ताप र तत्काल राजनीतिक जीवनबाट फिर्ता हुनु माफीको आधार हुनुपर्ने बताउनुभएको छ । अर्का विपक्षी नेता यायर गोलानले ‘दोषीले मात्र माफी माग्छन्’ भन्दै कडा प्रतिक्रिया जनाउनुभयो । यता सरकारका शीर्ष मन्त्रीले भने नेतान्याहुको अनुरोधलाई समर्थन गरेका छन् ।
रक्षामन्त्री इजरायल काट्जले माफीले दशकदेखि बढ्दै आएको सामाजिक दरार मेट्न सक्ने दाबी गर्नुभयो । अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रधानमन्त्रीले ‘राजनीतिक उद्देश्यले बनाइएका मुद्दाले वर्षौदेखि यातना भोगिरहेको’ टिप्पणी गर्नुभयो ।
नेतान्याहु भ्रष्टाचार मुद्दा सामना गर्ने पहिलो कार्यरत इजरायली प्रधानमन्त्री हुनुहुन्छ । यसअघि पूर्व प्रधानमन्त्री एहुद ओल्मर्टले सन् २००९ मा राजीनामा दिएर धोखाधडी मुद्दामा जेल सजाय पाइसक्नु भएको थियो । यता तेल अभिवमा हर्जोगको निजी आवासअगाडि प्रदर्शनकारीले माफी नदिन आग्रह गर्दै प्रदर्शन गरेका छन् ।
कार्यकर्ता सिकमा ब्रेसलरले देशको लोकतान्त्रिक भविष्य जोखिममा परेको बताउँदै नेतान्याहुले न्यायिक प्रणाली कमजोर पार्ने प्रयासलाई रोक्नुपर्ने दाबी गर्नुभयो । प्रदर्शनकारी मोशे राडम्यान र अमी ड्रोरले पनि माफीले कानुनको शासन कमजोर पार्न सक्ने तथा इजरायली लोकतन्त्र नै समाप्त हुन सक्ने चेतावनी दिनुभएको छ । रासस/एएफपी
काठमाडौँ — नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन र नगदसहित एक युवा पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१३ बाफल क्षेत्रमा लागूऔषध बिक्री तथा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार लाखेको साथबाट ५.८२ ग्राम खैरो हिरोइन र नगद ५४ हजार ६०० रुपैयाँ बरामद गरिएको छ। साथै एक थान मोबाइल फोन पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका लाखेलाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।
काठमाडौं — नेपाल पौडी संघले आयोजना गर्दै आएको एनएसए कप पौडी प्रतियोगिताको १३ औं संस्करण आगामी मंसिर २० र २१ गते ललितपुरस्थित सातदोबाटो हिटिङ पौडी पोखरीमा हुने भएको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमार्फत प्रतियोगिताका सबै तयारी पूरा भएको जानकारी दिएको छ।
यस वर्षको प्रतियोगितामा ३१ विभिन्न स्पर्धा समावेश गरिएको छ। कुल १८२ खेलाडीमध्ये १०५ पुरुष र ७७ महिला सहभागी हुनेछन्। देशभरका विद्यालय, स्वीमिङ क्लब तथा तीन विभागीय टिमले प्रतिस्पर्धामा सहभागिता जनाउनेछन्।
नेपालमा पौडी खेलको स्तर अभिवृद्धिमा योगदान दिँदै आएको एनएसए कपले खेलाडीहरूलाई क्षमताप्रदर्शन तथा प्रतिस्पर्धात्मक भावना बढाउने अवसर प्रदान गर्दै आएको आयोजकले उल्लेख गरेको छ।

यो वर्षको प्रतियोगिता विद्युतिय गाडी कम्पनी विवाइडी (BYD) को प्रमुख प्रायोजनमा सञ्चालन हुनेछ। काष्ठमण्डप टिभी गोल्ड तथा नेपाल पौडी संघको फेसबुक पेजमार्फत कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरिनेछ।
प्रतियोगिताका संयोजक उमेश प्रधानका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको र प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनेमा संघ विश्वस्त रहेको छ।
काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन विजय लामामाथि कारबाही गर्दै उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ। उडान सञ्चालनसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको ठहरसहित प्राधिकरणले यस्तो कदम चालेको हो।
क्यानका अनुसार लामाले उडानको क्रममा फोटो तथा भिडियो खिचेर भ्लग तयार पारेको पाइएको छ, जसले उडान सुरक्षा मापदण्ड र नियमनको स्पष्ट उल्लङ्घन गरेको मानिएको छ। उडानको वातावरणमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा भ्लग बनाउने गतिविधि सुरक्षा जोखिममा पर्ने कारण क्यानले कडा निर्णय लिएको बताइएको छ।
प्राधिकरणले नेपाल वायुसेवा निगमको अपरेसन विभागलाई पत्र पठाउँदै अर्को सूचना नआउँदासम्म रोस्टरबाट हटाई जहाज उडाउन नदिन निर्देशन दिएको छ। यस विषयमा निगम र प्राधिकरणबीच थप समन्वय भइरहेकाे जनाइएको छ।
वीरगन्ज — वीरगन्ज भन्सार क्षेत्रबाट स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति भारत बिहार राज्य, मोतिहारी जिल्ला रक्सौलका ५३ वर्षीय सुरेन्द्र साह रहेका छन्।
सीमापारी रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको साहले चलाएको मधेस प्रदेश–०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई वीरगन्ज महानगरपालिका–१६, रजत जयन्ति चोकमा प्रहरीले रोक्दै चेकजाँच गरेको थियो।
प्रहरी चेकजाँचको क्रममा मोटरसाइकलको एयर फिल्टरभित्र लुकाइ राखिएको १ हजार दरका ७ सय नोट र ५ सय दरका ६ सय नोट गरी कुल १० लाख रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरीले पक्राउ परेका साहलाई हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा थप अनुसन्धान अघि बढाएको छ।
काठमाडौं । पूर्व जनमुक्ति सेना नेपाल र जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठनद्वारा दीप प्रज्वलन गरी पूर्व जनमुक्ति सेना नेपालको २५ औँ दिवस आज काठमाडौंको पेरिसडाँडामा सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट आएका पूर्व लडाकू, कमान्डर, नेतृत्व तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजक समितिले जनाएको छ।
कार्यक्रमको संचालन शंकर बोहोराले गरेका थिए भने सुरेशले अध्यक्षता गरेका थिए। कार्यक्रममा पूर्व जनमुक्ति सेना नेपालका कमान्डर सरल सहयात्री पौडेल, युवराज दुलाल लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय प्रमुख सचिव तथा पूर्व डिभिजन कमाण्डर गणेश मान पुन हुनुहुन्थ्यो।
१० वर्षे जनयुद्धमा बलिदान तथा योगदान पुर्याएका शहीद, घाइते र बेपत्ता योद्धाहरूको सम्मानमा दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलन कार्यक्रम जनमुक्ति सेनाको त्याग, समर्पण र बलिदानको प्रतीकात्मक स्मरण रहेको आयोजकले जनाएको छ।
कार्यक्रमकै अवसरमा घाइते तथा अपाङ्ग पूर्व जनमुक्ति सेनाका लागि ‘अक्षयकोष’ (Permanent Support Fund) औपचारिक रूपमा स्थापना गरिएको घोषणा गरिएको छ। कोषको उद्देश्य उपचार, दीर्घ स्वास्थ्य व्यवस्थापन,पुनर्स्थापना, तथा दैनिक जीवनयापनमा सहयोग पुर्याउनु रहेको बताइएको छ।
अक्षयकोषलाई सुदृढ बनाउन सहयोग संकलन अभियान पनि कार्यक्रममै सुरु गरिएको थियो। उपस्थित पूर्व कमान्डर, योद्धा तथा समर्थकहरूबाट रकम र प्रतिवद्धता दुवै संकलन गरिएको आयोजकहरूले जनाएका छन्।
पुनले जनयुद्ध र राजनीतिक रूपान्तरणमा पूर्व जनमुक्ति सेनाको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै घाइते तथा अपाङ्ग पूर्व लडाकूहरूको अवस्था सुधारका लागि राज्य, जिम्मेवार निकाय र समग्र समाजले जिम्मेवारी लिनुपर्नेमा जोड दिए।
त्यस्तै, २५ औँ दिवसले संगठनात्मक एकता,ऐतिहासिक अभिलेखन,सामाजिक न्याय,र पुनर्स्थापना प्रक्रियालाई अझ मजबुत बनाउने साझा प्रतिवद्धता व्यक्त गरेको प्रमुख अतिथि गणेश मान पुनले बताउनुभयो।











