
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ । चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति व्यक्ति नभएर संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।
उनले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाए । आफूहरू सभापतिका लागि एक ठाउँमा रहेको उनको भनाइ छ ।
ूनौ दिनको हाम्रो भ्रमण छोट्याएर पाँचौँ दिनमा यहाँ आएका छौँ । आज आठ जना आएका छौँ । भोलि ६ जना आउनुहुन्छ । घटनाक्रमबारे हामी अवगत नै थियौँ । १४ जना नै बसेर त्यहाँ छलफल गरेका थियौँ । र, यो एक स्वरले यो अप्ठेरो घडीमा पार्टीको सभापति व्यक्ति रवि लामिछाने मात्रै होइन, त्यो संस्था हो । त्यो माथि इगोका कारण प्रहार भएको छ भने हामी एकजुट भएर यसको सामना गर्नुपर्छ,ू उनले भने ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।
बिहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटीसी सिमुलेटर तथा आधारभूत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटनमा पाण्डेले शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा लगाउन नहुने बताए ।
“नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा २०७६ सालमा सरकारले नै फिर्ता लिएको रहेछ । शैक्षिक प्रतिष्ठानको जग्गा कसैले खोस्न मिल्दैन । प्रधानमन्त्री स्वदेश फर्किएपछि उहाँलाई भेटेर फिर्ता ल्याउने प्रक्रियाको बारेमा कुरा गर्छु” उनले भने ।
मन्त्री पाण्डेले प्रतिष्ठानबाट उत्पादित जनशक्तिले नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । “नागरिक उड्डयन क्षेत्र कमजोर भयो भने धेरै कुरा देखाउन सक्दैनौँ । हामीसँग नेपालको आकाश सुरक्षित भन्ने सन्देश प्रवाह हुने गरी काम गर्न जरूरी छ । नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश संसारभर फैलाउन जरूरी छ । असुरक्षित छ भन्ने गलत भाष्य र प्रवृत्ति रोक्नुपर्छ” उनले भने ।
काठमाडौं । उपत्यकामा नदी किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
खोला,नदीको मापदण्ड खारेज गर्नुपर्ने भन्दै गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको हो ।
उनीहरूले खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
संघर्ष समितिका संयोजक सुमन सायमीले खोलारनदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए ।
मापदण्ड कायम गर्ने सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारले पुनरवलोकन निवेदन दिएको छ ।
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव नरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर नै सरकार अघि बढिरहेको बताएका हुन् ।
उनले सरकारले निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न चाहेको बताए । उनले निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतिको सामना गर्न सरकार लागिपरेको दाबी गरे । उनले कसैलाई गाली गरेर मात्रै समस्याको समाधान नहुने भन्दै अहिले काम गर्ने बेला भएको बतएका छन् । उनले आन्तरिक वा वाह्य लगानीको सुरक्षा सरकारले लिने प्रतिवद्धता जनाउँदै निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व भएको बताए ।
उनले भने, ‘अहिले पनि सरकार त्यही भनाइमा अडिग छ । निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर, निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ सरकार निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छ । निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतिहरु आउनुस्, बसौँ, छलफल गरौँ । समाधान हामीले खोज्ने हो, कोही आएर खोज्दैन । समाधानतर्फ लागौँ । यहाँ कसैले कसैलाई गाली गरेर हुँदैन । अब काम गर्ने बेला हो । यो मौका पनि छ । भाग्यवश भन्नुपर्छ, छिमेकी हुनुका नाताले हामीले विद्युतको सम्झौता मात्रै गरेको होइन, म त संखुवासभाबाट प्रतिनिधित्व गर्ने मान्छे । अरुण तेस्रो अब एक वर्षमा सम्पन्न हुँदैछ, ९ सय मेगावाटको । अरु दुई वटा आयोजनाहरु त्यही कम्पनीले लिइसकेको छ । अन्य क्षेत्रमा पनि लगानी गर्न चाहनुहुन्छ । यस्तो लगानीको आन्तरिक वा वाह्य लगानीको यि सबै लगानीको सुरक्षा सरकारले लिन सक्नुपर्छ र लिन्छ । सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको छ, लगानीको सुरक्षा गर्ने र व्यवसायीहरुले बढी भन्दा बढी नाफा कमाउन् भन्ने नै हो । जति बढी निजी क्षेत्रले नाफा कमाउनु हुन्छ, त्यति नै बढी राजश्व तिर्ने हो । त्यहाँबाट मात्रै मुलुकलाई सहयोग पुग्ने हो । निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व हो । सरकार त्यसमा पछि पर्दैन ।’
काठमाडौं : ठगी सम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी तथा जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्चात इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो । यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते कबिर बुढाथोकी र २०८१ असार १२ गते रोमन कार्की विरुद्द रेड नोटिस जारी भएको थियो ।
भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
काठमाडौं । एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा दशरथ रंगशालामा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा सहभागी हुने १७ राष्ट्रको घोषणा भएको छ । सहभागी राष्ट्रमा पुरुष तर्फ १४ र महिला तर्फ ८ टोली रहने छन् । प्रतियोगिताका लागि ४ सय ५० भन्दा धेरै खेलाडी र अफिसियल नेपाल आउने भएका छन् ।
प्रतियोगितामा नेपाल सहित फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ, श्रीलंका, गुआम, इन्डोनेसिया र इरान रहेका छन् ।
पुरूषतर्फ फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, नेपाल, साउदी अरबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ र श्रीलंकाको सहभागिता रहने छ ।
महिलातर्फ नेपाल, फिलिपिन्स, भारत, गुआम, श्रीलंका, इरान, उज्बेकिस्तान र इन्डोनेसिया बिच प्रतिस्पर्धा हुनेछ ।
नेपालमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीलाई इमिरेट्सले मुख्य प्रायोजन गरेको छ ।
एसियाली रग्बीको यस वर्षको सबैभन्दा ठूलो यस प्रतियोगितासँग इमिरेट्सले मुख्य प्रायोजकमा सम्झौता गरेको हो । नेपालमा पहिलो पटक सिनियरतर्फ रग्बीको राष्ट्रिय टोलीको प्रतिस्पर्धा हुन लागेको हो ।
प्रतियोगिता लिग कम नकआउट प्रणालीमा खेलाइने छ । यसअघि सन् २०२२ मा अन्डर १८ र सन् २०२३ मा अन्डर २० रग्बी दशरथ रंगशालामा नै आयोजना गरिएको थियो ।
काठमाडौें । द एक्सेल्सियर स्कुल र एनबीएफएले दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् ।
एक्सेल्सियरले एनसीसीएसलाई २५–२२ तथा एनबीएफएले अध्ययन स्कुललाई २०–१६ ले पराजित गरे । सिनियर ब्वाइजमै विल्सन एकेडेमीले आयोजक काष्ठमण्डप विद्यालय ‘बी’ लाई २३–१९ तथा क्याम्पियनले काष्ठमण्डप ‘ए’ लाई ३५–२७ ले पाखा लगाए ।
बास्केटबलकै सिनियर गल्र्समा एनसीसीएसले काष्ठमण्डप ‘बी’ लाई १९–११, बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले जोन डेवीलाई २७–१० र द चाँदबाग स्कुलले एक्सेल्सियरलाई १४–७ ले पन्छाए ।
फुटसलको सिनियर ब्वाइजमा विल्सनले एनसीसीएसलाई ५–२, एक्सेल्सियरले बीआईएसलाई १–० र चेल्सी एकेडेमीले बीआईएसलाई ४–० गोलले पराजित गरे । जुनियर ब्वाइजमा चाँदबागले एक्सेल्सियरलाई २–० तथा एक्सेल्सियरले लिटिल वन्डरलाई ७–० गोलले हराए । विल्सन र मिस्बेरीबीचको खेल १–१ गोलको बराबरीमा सकियो ।
सिनियर गल्र्समा जोन डेवीले काष्ठमण्डप ‘बी’ लाई ७–०, जोन डेवीले एलआरआईलाई ३–०, काठमाडौं वल्र्ड स्कुलले एलआरआईलाई २–०, क्याम्पियनले अध्ययनलाई २–१ र काष्ठमण्डप ‘ए’ ले क्याम्पियनलाई ४–० गोलले पाखा लगाए ।
रसुवा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत्मार्फत गरिब र विपन्न वर्गलाई धनी बनाउन सरकार लागिरहेको बताएका छन् ।
रसुवा जिल्लामा निर्माणाधीन र निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाको निरीक्षणका क्रममा बुधवार स्याफ्रुबेँसीमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिसँगको भेटमा उहाँले गरिब र विपन्न वर्गलाई जलविद्युत्को शेयर सुनिश्चित गर्न सरकार लागिरहेको बताए ।
“स्थानीयवासीका लागि १० प्रतिशत शेयर भनिएको छ, उक्त शेयरमा गरिब तथा विपन्न वर्गको पहुँच अहिलेसम्म पुग्न सकेको छैन, उनीहरूलाई शेयरमा पहुँच पुर्याएर जीवनस्तर उकास्नका लागि सरकारले काम गर्छ,” उनले भने ।
रसुवा जिल्लामा मङ्गलबार र बुधबार भएको स्थलगत निरीक्षणका क्रममा मन्त्री खड्काले चालु रहेको ६० मेगावाट माथिल्लो त्रिशूली वान, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र तथा निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनको अभावमा संरचना तयार भई उत्पादन बाँकी रहेको एक सय ११ मेगावाट रसुवागढी र ४२ दशमलव पाँच मेगावाट साञ्जेन जलविद्युत् आयोजना तथा निर्माणाधीन २१६ मेगावाट अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका थिए ।
उदयपुर, कटारी नगरपालिका-७ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका-१ बस्ने ३० वर्षीय सरोज राई र २८ वर्षीय दल बहादुर राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार २ सय ट्याब्लेट सहित बारा फेटा गाउँपालिका-४ बस्ने २१ वर्षीय सुनिल कुमार मुखियालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बारा कलैयादेखि काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३-००१ ख ८१०९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-६ शरणमतीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-५ पन्थपाडा बस्ने ४२ वर्षीय तेहेरुदिन शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-११ शिवजी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने ३७ वर्षीय बादल गुरुङ र सोही उपमहानगरपालिका-१६ बस्ने ३१ वर्षीय रोहित बिष्ट रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका-११ सितापुर टोल बस्ने ४३ वर्षीय संजय यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरिया जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ झलारी गाउँ बस्ने २१ वर्षीय सुदिप चौधरी र २२ वर्षीय कमलेश राना रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेट सहित नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका-१५ बस्ने २२ वर्षीय सन्दिप श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले सुनौलीबाट बाग्लुङतर्फ जाँदै गरेको लु.१ ख ८९८४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं: निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको समस्यालाई तत्काल सम्बोधन गर्दै उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको छ ।
हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरू तथा प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिनुभएको हो ।
निमित्त प्रहरी महानिरीक्षक राईले आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । नागरिकको भरोसा जित्ने गरी कार्य गर्नुपर्ने बताउँदै निष्ठावान, इमानदार एवम् सिर्जनशील भई काम गर्न उहाँले निर्देशन दिनुभयो ।
यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी र नेपाल प्रहरी केन्द्रीय प्रहरी सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।





