
काठमाडौँ — बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले (ICT‑BD) पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराध (crimes against humanity) मा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।
अदालतको तीन सदस्यीय इजलासले सोमबार निर्णय सुनाएको हो। हसिनासँगै बंगलादेशका पूर्व गृहमन्त्री असदुज्जमान खान कमाल लाई पनि मृत्युदण्डको सजाय दिइएको छ भने पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल‑ममुनलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ।
अदालतले शेख हसिना र कमालको सम्पूर्ण सम्पत्ति जफत गर्न आदेश दिएको छ। यो फैसला जुलाई–अगस्ट २०२४ मा भएको छात्र आन्दोलन दमनसँग सम्बन्धित घटनाहरूमा आधारित छ। अदालतका अनुसार, हसिनाले आन्दोलन दबाउन आदेश दिँदा हजारौँ प्रदर्शनकारी मरेका वा घाइते भएका थिए।
शेख हसिना यस समयमा भारतमा निर्वासनमा छन्, र अदालतले उनको अनुपस्थितिमा मुद्दा चलाएको हो। अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूले यस फैसलबारे विभिन्न प्रतिक्रिया व्यक्त गरिरहेका छन्।
अदालतले फैसला सुनाउँदा उच्च सुरक्षा व्यवस्था कायम गरिएको थियो। यससँगै बंगलादेशको राजनीतिक र सामाजिक वातावरणमा यसको असर के हुनेछ भन्ने विषयमा विश्लेषकहरूले चासो देखाएका छन्।
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यस वर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीलाई बिदा नदिई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने कोषले जनाएको छ ।
बाला चतुर्दशी मेलालाई थप भन्दा व्यवस्थित बनाउन यहाँका कर्मचारीलाई कम्तीमा १८ घण्टा पशुपति क्षेत्रमा खटाउने निर्णय भएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले राससलाई जानकारी दिनुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बाला चतुर्दशी मेला पर्व तयारी बैठकले उक्त निर्णय गरेको हो । यही मङ्सिर २ गते मङ्गलबार बिहानदेखि मङ्सिर ३ गते बुधबार शतबीज छरेर मेला सम्पन्न नभएसम्म कर्मचारीलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा मेला व्यवस्थित बनाउन खटाउन लागिएको उहाँले बताउनुभयो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहिद भएकाको नाममा कोषले पशुपति क्षेत्रमा बत्ती बाल्ने पनि बैठकले निर्णय गरेको सदस्यसचिव जोशीले उल्लेख गर्नुभयो । बत्ती बाल्न जेनजी सहिदको न्वारानको नाम र गोत्र उपलब्ध गराउन पनि कोषले सबैमा अनुरोध गरेको छ । उहाँका अनुसार जेनजी सहिद परिवार आफैँ रातभर बसेर बत्ती बाल्न चाहेमा रुद्रगारेश्वर क्षेत्रमा विशेष व्यवस्था गरिएको छ ।
पशुपतिनाथ मन्दिर प्राङ्गण परिसरमा बत्ती बालेर रात बस्न नदिने निर्णय पनि भएको सदस्यसचिव जोशीले बताउनुभयो । पशुपतिनाथको मूल मन्दिर परिसरभित्र भक्तजनको घुइँचो हुने भएकाले कुनै पनि किसिमका निःशुल्क सामग्री वितरण गर्नेलाई स्थान दिइने छैन ।
बत्ती बाली बस्ने भक्तजनका लागि कोर क्षेत्र, कैलाश, भकुण्टोल, वनकाली, हंसमण्डप, चारशिवालय, अन्य खाली स्थानहरूमा पाल, सायर टाँग्ने व्यवस्थाका लागि नेपाली सेनालाई अनुरोध गरिएको कोषले जनाएको छ । नपुग भएका अन्य स्थानमा कोषले पाल, सायरको व्यवस्था गर्नेछ ।
पशुपति क्षेत्रको कोर क्षेत्रस्थित वत्सलेश्वरी डबलीमा शथ्या, चिकित्सक, एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी सेवा प्रदान गर्न नेपाली सेनालाई अनुरोध गरिएको छ । अन्य संस्थाले स्वास्थ्य शिविर राख्न स्थान माग गरेमा कोर क्षेत्र बाहिर राख्न दिने निर्णय भएको निमित्त सदस्यसचिव जोशीले बताउनुभयो ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।
सत्ययुगमा वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती यो पर्वसँग जोडिएको छ ।
यस्तो महत्त्व बोकेको मेलाका लागि कोषले पशुपति क्षेत्रमा पर्याप्त मात्रामा धारा र शौचालयको व्यवस्था गर्नेछ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरिएको जनाइएको छ ।
बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । यस्ता पदार्थ बिक्री वितरण गरे कानुनी कारबाही गरिने निर्णय पनि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले गरेको छ ।
दिवङ्गत पितृका नाममा बत्ती बाल्न आउनेका लागि मङ्गलबार दिउँसो २ः०० बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नामदर्ता गरेर बत्ती बाल्नका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ । मङ्गलबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आ–आफ्ना बालबच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।
बाला चतुर्दशीका अवसरमा पशुपतिमा लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पशुपतिनाथको मेलाका लागि काठमाडौँ महानगरपालिकाले निःशुल्क शौचालयको व्यववस्था गर्ने भएको छ । कैलाश चौरमा महिला र पुरुषका छुट्टाछुट्टै निःशुल्क शौचालयको व्यवस्था गर्न लागिएको छ । मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई अनुरोध गरिएको छ ।
मेला अवधिभर गौशालाबाट भुवनेश्वरी मन्दिरअघिसम्म मात्र पसल राख्न दिइने निर्णय भएको सदस्यसचिव जोशीको भनाइ छ । सुरक्षा निकायको सहयोग लिई कोषले पसलको व्यवस्थापन गर्नेछ । कैलाश चौरमा पसल राख्न नदिने, पाल टाँगेर बत्ती बाल्नका लागि ठाउँ उपलब्ध गराइने छ । कैलाश चौरका कुनाकुनामा भने निःशुल्क शौचालयको व्यवस्था गर्न लागिएको कोषले जनाएको छ ।
मेलाका लागि सुरक्षा व्यवस्था, सवारीसाधन व्यवस्थापन, पाल सायर व्यवस्थापन, सरसफाइको व्यवस्थाका लागि पनि तयारी भइरहेको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिनुभयो । मेलामा सूचना प्रवाह, स्वास्थ्य सेवा, पानी व्यवस्थापन, बिजुली बत्ती व्यवस्थापन, मेला क्षेत्रमा राखिने पसलको व्यवस्थापन, स्वयंसेवी परिचालनलगायत तयारी पनि अन्तिम चरणमा पुगेको कोषले जनाएको छ ।
मङ्सिर ३ गते बुधबार शतबीज छर्ने दिन पशुपतिनाथ र वासुकीनाथ मन्दिरमा विशेष पूजा नहुने भएको छ । शतबीज छर्ने भक्तजनको घुइँचो हुने भएकाले यस्तो निर्णय गराएको जानकारी पनि उहाँले दिनुभयो । बाला चतुर्दशी पर्वमा स्वयंसेवा गर्न चाहने संस्थालाई कोषको निर्देशनअनुसार मात्र गर्न दिइने छ । रासस
काठमाडौं । त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न नेपाल प्रहरीले आग्रह गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरले शुक्रबार सूचना जारी गर्दै आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेलको सुरक्षालाई ध्यानमा राखी भीड नियन्त्रणमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो।
प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार आजको खेलका सम्पूर्ण टिकट बिक्री भइसकेको जानकारी क्यानबाट प्राप्त भएकाले टिकट बिना मैदान परिसरतर्फ जानु नपरोस् भन्ने आग्रह गरिएको हो।
‘आजको सम्पूर्ण टिकटहरू Sold Out भइसकेको भएकाले टिकट नभएकाहरूले टीयू मैदान वरपर भीड नगर्नुहोला,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘सुरक्षा व्यवस्थापनमा प्रहरीलाई सहयोग गर्न र खेल सभ्य, मर्यादित तवरले हेर्न सबैमा अनुरोध गर्दछौं।’
प्रहरीले खेलप्रेमीलाई आफूलाई अनुकूल स्थानबाट—टीभी वा डिजिटल प्लेटफर्ममार्फत—खेल हेरेर सहयोग गर्न पनि आग्रह गरेको छ।
यसअघि क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि भीडभाड बढ्न नदिन घरमै बसेर खेल हेर्न आग्रह गरेका थिए।
‘सबै टिकट बिक्री भइसकेको तथा पहिलो दिन सधैं चाप बढी हुने भएकाले, टिकट नपाउनुभएकाले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहोला,’ उनले भनेका थिए।
क्यानका अन्य खेलाडी तथा अधिकारीहरूले पनि पास वा विशेष अनुमतिका लागि अनावश्यक अनुरोध नगर्न आग्रह गरेका छन्।
मेक्सिको सिटी । राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन राजधानीमा हिंसात्मक रूप लिँदा शनिबार कम्तीमा १२० जना घाइते भएको एएफपीले जनाएको छ । घाइते हुनेमा धेरैजसो प्रहरी अधिकारीहरू छन् ।
लागुऔषध हिंसा तथा सेनबामको सुरक्षा नीतिविरुद्धको प्रदर्शन ‘जेनेरेसन जेड’ का प्रतिनिधिहरूद्वारा सामाजिक सञ्जालमार्फत आह्वान गरिएको थियो । यद्यपि घटनास्थलमा विभिन्न उमेरका प्रदर्शनकारीहरूको उपस्थिति देखिएको थियो ।
सन् २०२४ अक्टोबरदेखि सत्तामा रहनुभएकी राष्ट्रपति सेनबामले आफ्नै कार्यकालको पहिलो वर्षमा ७० प्रतिशतभन्दा माथिको जनसमर्थन कायम राख्नुभएको छ । तथापि, हालैका धेरै चर्चित हत्याकाण्डपछि उहाँको सुरक्षा नीतिमाथि निरन्तर आलोचना हुँदै आएको छ ।
मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाजक्वेजले पत्रकारहरूसँग कुरा गर्दै प्रदर्शन धेरै घण्टासम्म शान्तिपूर्ण रूपमा अघि बढेको तर हुड लगाएका केही व्यक्तिले हिंसात्मक गतिविधि सुरु गरेपछि झडप सुरु भएको जानकारी दिनुभयो ।
भाजक्वेजका अनुसार १०० जना प्रहरी अधिकारी घाइते भएका छन् । तीमध्ये ४० जनालाई प्राथमिक उपचारपछि अस्पताल सार्न आवश्यक परेको थियो । साथै २० जना प्रदर्शनकारी पनि घाइते भएको पुष्टि गरिएको छ । अधिकारीहरूले डकैती, आक्रमण तथा एक पत्रकारमाथिको कथित आक्रमणसमेत विभिन्न आरोपमा २० जनालाई पक्राउ गरेको बताइएको छ ।
धेरै प्रदर्शनकारीहरूले ब्यानरहरू बोकेका थिए र मिचोआकान राज्यको उरुपानका दिवङ्गत मेयर कार्लोस मन्जोप्रति ऐक्यबद्धता जनाउँदै उहाँको तस्वीरसहितको टोपी लगाएका थिए । मन्जो लागुऔषध तस्करी गर्ने समूहविरुद्ध कडा अभियान चलाउने नेताका रुपमा चर्चित हुनुहुन्थ्यो । यद्यपि, हत्या भएका मेयरकी विधवाले भने आफ्ना दिवङ्गत पति नेतृत्व गरेको आन्दोलनलाई शनिबारको विरोध प्रदर्शनसँग जोडिन नदिने स्पष्ट पार्नुभएको थियो ।
मार्चमा सहभागी युवाहरूको ठूलो समूहले जापानी मङ्गा ‘वन पिस’ को समुद्री डाकू झण्डा पनि प्रदर्शन गरेको थियो, जुन हाल विश्वभरि युवा प्रतिरोधको प्रतीकका रूपमा फैलिएको छ ।
यसैबिच, राष्ट्रपति सेनबामले केही दिनअघि आफ्नो नियमित पत्रकार सम्मेलनमा प्रदर्शनको उद्देश्य र प्रेरणामाथि प्रश्न उठाउँदै यसलाई ‘अकार्बनिक’ र ‘भुक्तान गरिएको’ गतिविधि भएको टिप्पणी गर्नुभएको थियो । उहाँले ‘यो सरकारविरुद्ध विदेशबाट प्रेरित गरिएको आन्दोलन हो’ भन्ने दाबी पनि गर्नुभएको थियो ।
प्रदर्शनकारीहरू राष्ट्रपतिको निवास र कार्यस्थल रहेको राष्ट्रिय दरबार अगाडि जम्मा भएका थिए र त्यहाँ रहेको धातुको सुरक्षातारलाई भत्काएका थिए । सुरक्षाकर्मीहरूले भवन जोगाउन प्रदर्शनकारीहरूलाई रोक्न अश्रुग्यास तथा आगो निभाउने उपकरण प्रयोग गरेका थिए । केही प्रदर्शनकारीले ‘तपाईंहरूले कार्लोस मन्जोलाई यसरी नै जोगाउनुपर्ने थियो’ भन्दै सुरक्षाकर्मीमाथि चर्को नाराबाजी गरेका थिए ।
सयौँ युवाले प्रहरीतर्फ ढुङ्गा, काठ तथा अन्य वस्तु फ्याँकेका थिए । त्यसको जवाफमा प्रहरीले ढाल प्रयोग गर्दै वस्तु नै फ्याँकेर भीडलाई पछाडि धकेल्ने प्रयास गरेको थियो । रासस/एएफपी
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ता गर्ने समय पाँच दिन थप्ने तयारी गरेको छ। कात्तिक मसान्तभित्र कार्यतालिका संशोधन गरी दर्ता अवधि थप गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको आयोग स्रोतले जनाएको छ।
राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाइनमार्फत दर्ता गर्ने सुविधा दिएको आयोगले हाल सर्भरमा अत्यधिक चाप परेको कारण प्रणाली सुस्त बनेको जानकारी दिएको छ। अनलाइन प्रणालीमार्फत अहिलेसम्म ३७ हजार नागरिकले नामावली दर्ता गरिसकेका छन्।
यस विषयमा अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले कात्तिक २८ गते कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग भेट गरी म्याद थपका लागि आग्रह गरेकी थिइन्। भण्डारीले आवश्यक समायोजन गरी पाँच दिन दर्ता अवधि थप्न सकिने बताएको कार्कीकी प्रेस संयोजक राम रावलले जानकारी दिए।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गर्नुभएको छ ।
संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।
सचिवालयले भनेको छ, “निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको थियो, कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भई हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पुर्याइएको हो, यो कुनै अलग संरचना होइन, विधानबमोजिम संरचना बनाउन बाँकी छ ।”
पार्टी संयोजक र सह–संयोजकबाहेक सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुने संयोजक दाहालको भनाइ छ । त्यसका लागि गृहकार्य भइरहेको र एकीकृत पार्टीको केन्द्रीय समितिसहित सबै संरचनासमेत यही प्रक्रियाअनुसार टुङ्गो लाग्ने सचिवालयले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा बढी वाम विचारधाराका समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढेको छ । यसै क्रममा सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचन प्रयोजनार्थ यही ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्ने निर्वाचन आयोगको समयसीमा छ ।
काठमाडौँ । वीर अस्पतालमा श्वासप्रश्वास सम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ ।
अस्पतालको मेडिकल जेनेटिक्स (अनुवाङ्शिक) प्रयोगशालामा श्वासप्रश्वास सम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै पटक एकै समयमा परीक्षण सुरु गरिएको अस्पतालका मेडिकल अनुवाङ्शिक विभागका प्रमुख डा निलम ठाकुरले जानकारी दिनुभयो ।
उहाँले बिरामीको एउटा रोगको भाइरसको फरक–फरक परीक्षण गर्दा रोग पत्ता लगाउन समस्या भएकाले एकै पटक १० वटा रोगका भाइरसको परीक्षण गर्न थालिएको बताउनुभयो । “पहिले ति १० वटा रोगका भाइरसको फरक–फरक समयमा परीक्षण गर्ने गरेका थियौं, तर अहिले एकै पटक एकै समयमा परीक्षण गर्दा खर्च पनि कम लाग्दछ”, उहाँले भन्नुभयो, “कुन भाइरसका कारणले कुन रोग लागेको हो भन्ने कुरा पनि पत्ता लाग्दछ, धेरै पटक परीक्षण आवश्यक पर्दैन ।”
उहाँले भाइरसले रोग पत्ता लगाएपछि अस्पतालमा नै उपचार गरिने बताउनुभयो । यस्तै प्रयोगशालामा मस्तिष्क सङ्क्रमण सम्बन्धी छ वटा भाइरसको पनि एकै पटक परीक्षण सुरु गरिएको विभागका प्रमुख डा ठाकुरले जानकारी दिनुभयो । प्रयोगशालामा फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोगको पनि परीक्षण गरिन्छ ।
विसं २०७३ मा अनुवाङ्शिक (जेनेटिक) रोगको पहिचान र उपचार गर्न स्थापना गरिएको प्रयोगशालामा जनशक्ति तथा उपकरण अभावले रोगको परीक्षण नियमित हुन सकेको छैन । जिन ९वङ्श०मा भएको अवस्थाले जन्मिने रोगलाई अनुवांशिक रोग भनिन्छ ।
“सरकारी रुपमा अनुवाङ्शिक रोगको पत्ता लगाउने यही नै प्रयोगशाला रहेको छ”, उहाँले भन्नुभयो, “तर, हामीसँग तीन जना मात्र जनशक्ति भएको र उपकरण पनि प्रयाप्त मात्रामा नभएका कारणले दैनिक रोगको परीक्षण गर्न सकिरहेका छैनौं ।”
उहाँका अनुसार एक दिन बिराएर पालोअनुसार रोगहरुको परीक्षण गर्ने गरिएको छ । अहिले प्रयोगशालामा २५ वटा अनुवाङ्शिक रोगका भाइरसको नियमति परीक्षण गर्ने गरिएको छ ।
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बीच दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी अवकाशमा गएपछि कार्कीले बिहीबारदेखि नै प्रहरी संगठनको कमाण्ड सम्हालेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई ३३औं प्रहरी महानिरीक्षकका रूपमा नियुक्त गरेको थियो।
कार्कीले २०५४ साल चैत १८ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी ऐन र नियमावलीमा कुनै फेरबदल नभएमा उनी २०८४ साल चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन्।
पर्वत । मोदी गाउँपालिका–६ दराक कागारबाट छुटेकै दिन एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मोदी–६ दराकका ५१ वर्षीय जीतबहादुर विकले ५२ वर्षीया श्रीमती सीतालाई गए राति कुटपिट गरी हत्या गरेका हुन् ।
कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेलगत्तै पुगेको देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिनुभयो । उनलाई स्थानीयले नियन्त्रणमा लिई थुनेर राखेका थिए ।
अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणी अभियोगमा कैद भुक्तान गरी सोमबार नै धरौटीमा छुटेका थिए । श्रीमतीले नै धरौटी तिरेर उनलाई छुटाएकी थिइन् । घर पुगेकै दिन साँझ खाना खाइसकेपछि श्रीमतीमाथि जाइलागेको प्रहरीले जानकारी दिएको छ । उहाँका तीन छोरा रोजगारीका लागि विदेशमा छन भने घरमा बुहारीसहित चार जना बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्नुभएको हो ।

मङ्गलबारदेखि लागू हुने गरी प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरिएको हो ।





