
काठमाडौं । नेपाली काँग्रेस रामेछापको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति लेख बहादुर कार्कीले पाएका छन् । नेपाल सरकारको उर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री समेत रहेका जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले आज कार्यवाहक सभापतिको जिम्मेवारी कार्कीलाई दिएका हुन् ।
त्यस्तै पूर्व पार्टी कोषाध्यक्ष समेत रहेका जिल्ला कार्यसमिति सदस्य कुमार श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका छन् ।
राज्य मन्त्री बनेपछि आफू जिल्लामा आएर पार्टीको काम गर्न नसक्ने बताउँदै पार्टीलाई बलियो र चलायमान बनाउनको लागि कार्यवाहक सभापतिको जिम्मेवारी दिएको सभापति तामाङले बताएका छन् ।
कान्छाराम १११ औँ बिपी जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न रामेछाप पुगेका थिए । उनले आफ्नै निवास मन्थलीमा पार्टीका प्रमुख सल्लाहकार कृष्ण महत, जिल्ला समन्वय प्रमुख एवं जिल्ला कार्यसमिति सदस्य चिना खड्का, जिल्ला कार्यसमिति सदस्य दीपेन्द्र खड्का, नेता ध्रुव लामा, रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की लगाायतको उपस्थितिमा कार्यवाहक सभापति र प्रवकताको जिम्मेवारी दिएका हुन् ।
काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलनमार्फत २१औं संस्करणको अवार्डको चार विधाका मनोनयन सार्वजनिक गरेको हो । चार विधामा उत्कृष्ट ५÷५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् । उक्त अवार्डका लागि पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् । महिलातर्प करातेकी एरिका गुरुङ, फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी मनोनयनमा परे ।
२०८० सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधार मनोनयनमा समावेश गरिएको हो । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो । यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन् ।
अवार्ड आगामी भदौ २८ गते कमलदीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदै छ । छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिए । मनोनयन सार्वजनिक कार्यक्रममा एआइपिएसका केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु धेरै राम्रो पक्ष रहेको उल्लेख गर्दै शुभकामना दिए । यसपालि मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दै छ । एनएसजेएफए आइपिएस एसियाको सदस्य हो ।
यसअघि अवार्डको पिपल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन् । यसको विजेता घोषणा इसेवाको भोटिङ, २९ वटा खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइक आधार गरिनेछ । इसेवाको मत भदौ २७ गते राती १२ बजेसम्म खुला रहनेछ । अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भदौ २८ गते कार्यक्रमकै दिन गर्दै आएको छ ।
यसपल्ट वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटर बाइक प्रदान गरिनेछ । पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । सदाझै यस वर्ष पनि पल्सर स्पोटर््स अवार्डको मुख्य प्रायोजक गोल्छा गु्रपको पल्सर मोटरसाइकल हो । गोल्छा गु्रपको नाम यसअघि हंशराज हुलास चन्द एन्ड कम्पनी रहेको थियो । मञ्च र गोल्छा गु्रपबीच अवार्डकै लागि सहकार्य भएको यो १६औं वर्ष हो । सह–प्रायोजक र सहयोगीमा सूर्य नेपाल प्रालि, ई–सेवा, केल्मी नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, इमेजिङ, न्यु होराइजन कार्पेट, हिमालय होटल, चन्द्रागिरी हिल्स, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटी (एनओसी), होटल संघ नेपाललगायत छन् ।
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि सहकारी ठगी गरेको आरोप लागेको छ ।
गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै सीआईबीमा उजुरी परेको छ ।
मितेरी बचत तथा सहकारी संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र धनराजविरुद्ध सहकारीका अध्यक्ष कुम्भराज गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएका हुन् ।
धनराज र ज्योति श्रीमान्–श्रीमती हुन् । उनीहरूमाथि करिब १५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।
धनराज र ज्योतिले केही समय अघि सम्बन्धविच्छेद गरेका छन् । भने यही विषय मिलाउन दुवैले सम्बन्ध विच्छेद गरेको हुनसक्ने अनुमान गरिएको छ ।
काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।
यो बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण, सरकारको समीक्षा लगायतबारे छलफल हुने बताइएको छ ।
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने बताए ।
अध्यक्ष नेपालले जनताको समस्या नेताहरुको समस्या भएको समेत बताए । उनले आफूहरुले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताए ।
‘अहिले तपाईं हामी जुन पीरमर्कामा छौँ, त्यो पीरमर्कापटी हाम्रो पार्टी संवेदनशिल छ । जनताको समस्या हाम्रो पनि समस्या हो । जनताका आँखामा आँशु बहेको हामी देख्न सक्दैनौँ । जनताको अनुहारमा हामी मुस्कान हेर्न चाहन्छौँ । उज्यालो अनुहार हेर्न चाहन्छौँ । एउटा परिवारलाई पनि पीडा हुन्छ भने त्यसले हामीलाई पोल्छ । पोल्नु पर्दछ । तब नै हामी जनताका सेवक हुन सक्दछौँ । जनताको हितैसी हुनसक्छौँ । जनताको सेवामा समर्पित छौँ भनेर भन्नसक्छौँ । आजसम्म जनताले हामीलाई पत्याएको कारण पनि त्यही हो । अब सवाल के छ भने अरुले गरेर हुँदैन, जसको हातमा कलम छ, उसैले गर्नुपर्छ । जसको हातमा अधिकार छ, उसैले गर्नुपर्छ । म प्रधानमन्त्री भएको बेलामा अरुले गरिदेओस् भनेर हुने बेला थिएन । बरु गर्दिन भनेका थिए मलाई । तपाईं नगर्नुस्, म गर्दिन्छु । कतिपय नेताहरुको खुट्टा काँप्न थालेको थियो । मैले खुट्टा काम्नेहरु कामिरहुन् । अघि बढिन्छ भनेर ठूला निर्णय गरेको थिएँ । चाहे त्यो विदेशी संस्थाहरुलाई नेपालबाट विदा गर्नेकुरा होस्, कतिपय मुलुकको बिरुद्धमा लागेका नेताहरुलाई थान्को लगाउने कुरामा होस्, दृढताका साथ गरेको थिएँ । हामीले आवाज उठाउनसक्छौँ, निर्णय गर्न सक्दैनौँ । न्यायपालिकाको काम हामीले गर्नु हुँदैन ,’ उनले भने ।
काठमाडौँ । परराष्ट्र मन्त्री आरजु देउवा राणाले सरकारले राजदूत नियुक्ति गर्दा सकेसम्म समावेशी बनाउने प्रयास गरेको बताएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै मन्त्री देउवाले राजदूत नियुक्ति र सिफारिस गर्दा सरकारले सकभर समावेशी नै बनाउने प्रयास गरेको बताएकी हुन् ।
यद्यपि उनले राजदूतबारे केही प्रश्न उठेको स्विकार्दै संसदीय सुनुवाइ समितिको सुझावलाई सरकारले सुन्ने र कार्यान्वयन गर्ने बताइन् । ‘अब हुने राजदूतको नियुक्ति समावेशी नै हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु’, मन्त्री राणाको भनाइ छ ।
उनले भनिन्– ‘मलाई पनि लागेको छ की जति समावेशी हुनुपर्दथ्यो, समानुपातिक हुनुपर्दथ्यो त्यो हुन सकेको छैन । मन्त्री र समितिहरु भनेको एक दोस्रोको पूरक हुन् । हामीले केही कुरा गर्दा समितिले सुझाव दिनुपर्छ । यो कुराहरु मन्त्रीपरिषद्मा म अघि बढाउनेछु । दलित र मुस्लिम राजदुतका लागि खोजेको हो । यसलाई आगामी दिनमा कसरी परिमार्जन गरेर जाने ? र महिलाको सवालमा पनि कुनैपनि ठाउँमा निर्णायक पदमा महिला राख्न यत्ति हुनैपर्छ भनेर नराखिकन हाम्रो देशमा हुँदैन । यो अहिले मन्त्री पनि दुई महिलाहरु बल्ल बल्ल भएका छौँ । तर यति प्रतिशत नै हुनुपर्छ नभनिकन हामी आउन गाह्रो छ । यहाँ पनि १७ जनामा दुई जना देखापर्नु भएको छ । अरु पनि सिफारिसको क्रममा हुनुहुन्छ । हामी यस्ता कुरालाई मध्यनजर राखेर सकेसम्म सेन्सेटिभ भएका हौँ । तर यो हुनुपर्ने जस्तो भएको छैन । अब आउने दिनमा समावेशी र समानुपातिक कुराहरु छन् । यसलाई हामीले कसरी हेर्ने ? यो चुनौति सरकारलाई मात्रै होइन, हामी सबैलाई हो । हरेक सरकारी डेलिगेसनहरुमा एक भन्दा धेरै हुने बित्तिकै एक जना महिला हाल्नैपर्ने अहिलेको प्रधानमन्त्रीज्युले भनेर हामीले क्याबिनेटबाट निर्णय पनि गरेका छौँ । यो अनुसार भइरहेको पनि छ ।’
काठमाडौं– डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने ३३ वर्षीय प्रकाश भन्ने बिकाश श्रेष्ठ, रामेछाप लिखु तामाकोशी गाउँपालिका-२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २८ वर्षीय गुन्दाश भन्ने मनोज भुजेल र बाजुरा त्रिवेणी नगरपालिका-७ घर भई काठमाडौं बालाजु बस्ने ३२ वर्षीय डम्मलाल पाध्याय रहेका छन् ।
ललितपुर महानगरपालिका-१४ सातदोबाटो कृषि अनुसन्धान केन्द्र नजिकको एकान्त स्थानबाट साउन २९ गते दिउँसो मोबाइल ४ थान, ल्यापटप १ थान, गेम बक्स १ थान, २ तोला बराबरको सुनको सिक्री २ थान डाँका चोरी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.६९ प २८४७ नम्बर र बा.७५ प ६३१९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
प्रहरीले उक्त घटनामा संलग्न हाल फरार १ जनाको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
इटहरी । नेपाल पौडी संघको आयोजनामा लाईफ गार्ड तालिम शूरु भएको छ ।
नेपाल पौडी संघले गर्याे पलेशा गोबर्धनलाई २५ हजार नगदसहित सम्मान
इटहरीमा कोशी प्रदेश पौडी संघको ब्यवस्थापनमा तालिम सोमबार देखि शूरुभएको हो । आज कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बर तामाङले एक कार्यक्रमको उद्घाटन गर्दै सुनसरी जिल्लाको इटहरीमा ओसिएन पार्क तथा रिसोर्टको पौडी पोखरीमा तालिम संचालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तामाङले लाईफ गार्ड तालिमले कोशी प्रदेशमा पौडी खेलको विकासमा टेवा पुग्ने र पौडी पोखरीहरुमा हुने मानवीय दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
तालिममा १५ जना प्रशिक्षार्थी सहभागी रहेको नेपाल पौडी संघका सदस्य गोपाल पाण्डेले जानकारी दिए । यो तालिम भाद्र २६ गते सम्म सञ्चालन हुने संघले जनाएको छ ।
पौडी संघमा नँया कार्यसमिति निर्वाचित भएर आएपछी देशका विभिन्न प्रदेशहरुमा जीवन रक्षक, पौडी प्रशिक्षक तथा पौडी अफिसियल तालिमहरु संचालन गर्दै आइरहेको छ ।
काठमाडौँ । सत्तारुढ दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।
आज बस्न लागेको बैठकमा सरकारको कामको मूल्यांकन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
आइतबार साँझ प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो।
छलफलमा न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको छ।
त्यसलाई अन्तिम रूप दिन र सरकारको नीति कार्यक्रम र बजेटसमेत आइसकेको अवस्थामा न्यूनतम साझा कार्यक्रम कसरी तय गर्ने र सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा सत्ता साझेदार दलहरूबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो। त्यसैमा टेकेर ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन्।
छत्तीसगढ । भारतको छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ लागेर सात जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले सो घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्।
मुख्यमन्त्रीले बालोदबजार जिल्लाको मोहत्रा गाउँमा चट्याङ लागेर ७ गाउँलेको मृत्यु भएको र कैयौँ घाइते भएको दुःखद जानकारी प्राप्त भएको बताएका छन् । जिल्ला प्रशासनले घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याएको उनले लेखेका छन् ।
प्रशासनलाई राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिइएको छ । मुख्यमन्त्रीले भनेका छन्, ‘मृतकका परिवारप्रति मेरो समवेदना छ । म दिवङ्गत आत्माको चीर शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’





