
काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।
संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दैै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको बताएका छन् । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेका छन् ।
सङ्घले अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रमअवधि साताको ४० घण्टा तोकेपनि ७२ घण्टासम्म लगातार काम गर्नुपरेको भन्दै त्यसको तुलनामा सुविधा र दरबन्दी अत्यन्त कम भएको बताएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्ने बताएका छन् ।
मंगलवार काठमाडौंमा लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार अन्तर्राष्ट्रिय प्रतिवद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिवद्ध रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको गरिबी उन्मुलन गर्ने, समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने र मुलुकको विकासका काम गर्ने प्रतिवद्धता जनाए । उनले शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभुति गर्नेगरी सरकारले काम ग्रिरहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको बताउँदै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक सहजीकरण भइरहेको उल्लेख गरे ।
उनले भने– ‘हामीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णत कार्यान्वयन गर्नेछौँ । अन्तर्राष्ट्रिय प्रतिबद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध छौँ । नेपालको गरिबी उन्मुलन गर्नेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नेछौँ । मुलुकको विकासका लागि समृद्धिले मात्रै काम गर्दैन । शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभूति गर्नुपर्छ । त्यसका लागि सरकारले काम गरिरहेको छ ।’
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही गाउँपालिका-६ मैनापोखर बस्ने २८ वर्षीय योगेन्द्र सिलाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१७ स्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ किलो ८ सय ४१ मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार घर भएका ४० वर्षीय सन्तोष कुमार ठाकुर र ३० वर्षीय सुजित कुमार राय रहेका छन् । प्रहरी चौकी इनरूवा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट भारत रक्सौलतर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय बिकास चौधरी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फेसबुकबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहित पोष्ट गरिएको स्टाटस हटाइएको छ ।
मेयर शाहको सचिवालयले धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले आफै पेजको स्टाटस हटाएको बताएको छ।
हटेको उक्त स्टाटस रिकभर गर्ने प्रयास पनि भइरहेको उनको सचिवालयले जनाएको छ।
एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।
मेयर बालेनले उक्त स्ट्याटस माइक्रो ब्लगिङ साइट एक्समा पनि राखेका थिए।
उनले लेखेकाे स्टाटसकाे केही अश-
‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ’ उनले लेखेका छन्,’काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनी सकेको छ ।’
‘सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??’
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा लगानी भएकोबारे आफूलाई केही थाहा नभएको बताएका छन् ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा नाम मुछिएपछि लामिछानेसँग कास्की प्रहरीले काठमाडौँमा बयान लिएको थियो ।
अनुसन्धानका लागि गोर्खा मिडिया कम्पनीमा छापा हान्न गएको प्रहरीको टोलीले लामिछानेसँग प्रारम्भिक बयान लिएको हो । भदौ १० गते उनीसँग बयान लिइएको कास्की प्रहरीले जनाएको छ ।
‘कम्पनीसँग उहाँको आवद्धता देखिन्छ । पोखरा महानगरको विज्ञ टोलीले अध्ययन गर्दा पनि उहाँको नाम उल्लेख छ,’ अनुसन्धानमै सहभागी एक प्रहरीले भने, ‘बयानको क्रम सकिएको छैन । अनुसन्धानले जे भन्छ, सोही अनुसार प्रक्रिया अघि बढ्छ ।’
छानबिन र अनुसन्धानका क्रममा सूर्यदर्शन सहकारीको साढे ५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगानी भएको पत्ता लागेको छ । सहकारीका पीडित बचतकर्ताले २०८० साउन २२ गते प्रहरीमा जाहेरी दिएका थिए ।
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् ।
एञ्जिलालाई ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउले नयाँ सिजनका लागि अनुबन्ध गरेको हो । उनलाई क्लबले २०२४(२५ को सिजनका लागि सम्झौता गरेको हो ।
एन्जिलाले पहिलो पटक युरोपियन लिग खेल्न लागेकी हुन् । उनले यसअघि नेपालबाहेक भारत र पाकिस्तानमा फुटबल खेलेकी थिइन् ।
एन्जिला युरोपमा लिग खेल्ने सावित्रा भण्डारीपछि दोस्रो खेलाडी हुनेछिन् ।
सावित्रा भण्डारीले इजरायली क्लबबाट युरोपियन फुटबलमा इन्ट्री मारेकी थिइन् भने हाल फ्रान्सेली शीर्ष डिभिजनको क्लब गुइग्याम्पमा खेलिरहेकी छन् ।
काठमाडौं । नेपाली पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारालिम्पिक– २०२४ को एस– ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सोमबार १९ औं स्थान हासिल गरेका छन् । उनको स्पर्धामा १९ खेलाडी सहभागी थिए ।
पेरिस ला डिफेन्स एरिनामा हिट नम्बर १ मा प्रतिस्पर्धा गरेका भीमले निर्धारित दूरी ३५.०८ सेकेन्डमा पूरा गरेको नेपाली टोलीका सेफ दि मिसन समेत रहेका राष्ट्रिय पारा पौडी संघ, नेपालका अध्यक्ष सरोज श्रेष्ठले जनाएका छन् । ५० मिटरमा भीमको व्यक्तिगत उत्कृष्ट समय ३५.८४ सेकेन्ड हो । यो समय उनले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा कायम गरेका थिए ।
भीमको प्रतिस्पर्धा संगै पेरिस पारालिम्पिकमा नेपालको प्रतिस्पर्धा सकिएको छ । पेरिस पारालिम्पिकमा नेपालबाट २ खेलमा ३ खेलाडी सहभागी थिए । तेक्वान्दोकी पलेशा गोवर्धनले के– ४४ महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य जितिन् । तेक्वान्दोकै अर्का खेलाडी भरतसिंह महता के– ४४ क्याटगोरी पुरुष ५८ केजीमुनि पहिलो चरणबाटै बाहिरिए । तेक्वान्दो टोली बुधबार स्वदेश फर्किदै छ ।
काठमाडौं । जेभियर इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा जेभियरले ब्लु बर्डलाई २८–२३ ले पराजित गरेकाे हाे । जेभियरकी पेमा डोमा शेर्पाले १३ अंक जोडिन् ।
सुरुका तीन क्वाटरमा अग्रता लिएको जेभियरले क्रमशः ८–२, ८–६ र १२–७ को अंक जोड्यो । चौथो तथा अन्तिम क्वाटरमा ब्लु बर्डले ८–० को अग्रता बनाएपनि जितका लागि पर्याप्त भएन ।
प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।
गोल्डेनगेटले कान्जिरोवालाई ३८–१३ ले हरायो । गोल्डेनगेटकी सन्ध्या डंगोलले १५ स्कोर गरिन् । पहिलो क्वाटरमा १६–५ को अग्रता लिएको गोल्डेनगेटले अन्तिमसम्म त्यसलाई कायम राख्दै ६–४, ७–२ र ९–२ को प्रदर्शन गरेकाे थियो ।
ल्यान्डमार्कले ट्रिटन इन्टरनेसनल कलेजलाई ३०–१० ले पाखा लगायो । विजयी टिमका लागि साजन खत्रीले १६ अंक जोडिन् ।
पहिलो र दोश्रो क्वाटरमा क्रमशः १४–२ र ८–० ले अगाडि रहेको ल्यान्डमार्क तेश्रोमा ०–६ ले पछि प¥यो । चौथो क्वाटर ल्यान्डमार्कले ८–२ ले आफ्नो पक्षमा पा¥यो ।
प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल भदौ २२ गते हुनेछ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई पत्राचार गरेको छ ।
सोमबार मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ ।
७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

काठमाडौँ । सीई कन्स्ट्रक्सन प्रा.लि. ले कर्पोरेट क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण “सीई कर्पोरेट टि-१० प्रतियोगिता” आयोजना गर्ने भएको छ।
प्रतियोगिता असोज ३ र ४ गते काठमाडौँ चुनिखेलको नवनिर्मित रोयल्स स्पोर्ट्स पार्कको ओभल साइजको इन्डोर क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १२ देखि १६ टिमको सहभागिता रहने अपेक्षा गरिएको छ।
गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणमा ११ वटा टिम सहभागी थिए, जसमा सलीको इन्सुरेन्स विजेता तथा सीई कन्स्ट्रक्सन उप-विजेता बनेको थियो।
“हाम्रो उद्देश्य दैनिक गरिरहेको कामले दिक्क भएर कर्पोरेटका कर्मचारीहरूलाई क्रिकेटको माध्यमले जोड्ने, लुकेको प्रतिभा बाहिर ल्याउने, रमाउने माहोल बनाउने र ताजगी प्रदान गर्नु हो।” आयोजक टिमका एक सदस्य अमित पौडेलले बताए। उनले प्रतियोगिता कर्पोरेट र क्रिकेट क्षेत्र जोड्ने पुल समेत बन्ने विश्वास उनले गरेका छन्। साथै प्रतियोगितामार्फत च्यारिटी समेत गरिने उनले बताए।
यस वर्षको प्रतियोगितामा स्तरीय प्रत्यक्ष प्रसारणको व्यवस्था अनलाइन र टेलिभिजनमा गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको पनि व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुनको लागि ६० हजार रुपैयाँ इन्ट्री फि राखिएको छ। प्रतियोगितामा सहभागी हुन भदौ २० गते सम्म इन्ट्री खुला राखिएको छ।
प्रतियोगिताको फर्म्याट लिग कम नकआउट रहनेछ र खेल १० ओभरको हुनेछ। प्रत्येक टिममा १० जना खेलाडी रहनेछन्, जसमा ८ जना खेलाडी प्लेयिंग सेटमा रहनेछन्। यस प्रतियोगितामा नेपाल क्रिकेट संघको मान्यता प्राप्त राष्ट्रिय अम्पायर रहनेछन्।
सीई कन्स्ट्रक्सन प्रा.लि. नेपालमा ३२ वर्षदेखि हाइड्रोपावर, अपार्टमेन्ट, र अन्य विकासका क्षेत्रमा योगदान दिँदै आएको छ। कम्पनीले निर्माण, सम्पत्ति विकास, शिक्षा, वित्त र स्वास्थ्यजस्ता विविध क्षेत्रमा पनि काम गरिरहेको छ।
सीई कन्स्ट्रक्सन प्रा.लि.अध्यक्ष विजय राज भण्डारीले यस प्रतियोगिताको आयोजनाले कर्पोरेट जीवनलाई थप रोमाञ्चक बनाउने विश्वास व्यक्त गरेका छन्। “क्रिकेटको माध्यमबाट कर्मचारीहरूले आपसमा रमाइलो गर्न पाउनेछन्, जहाँ कुनै ‘बोस’ हुने छैन, मात्र क्रिकेट खेल्ने सहकर्मीहरू हुनेछन्।” उनले टिमहरुलाई सहभागिताको लागि आह्वान समेत गरे- “हामी गर्वका साथ तपाईंलाई सीई कर्पोरेट टी-१० प्रतियोगितामा निमन्त्रणा गर्दैछौँ। यो वर्ष हामीले प्रतियोगिता अर्को स्तरमा पुर्याउने योजना बनाएका छौँ। हाम्रो उद्देश्य विभिन्न कर्पोरेट हाउसहरूलाई एकै स्थानमा ल्याएर सौहार्दपूर्ण बढाउनु हो।”
प्रतियोगिता आयोजनाले कर्पोरेट जगतलाई क्रिकेटको यस पर्वका सहभागी हुन आह्वान गरेको छ, जहाँ खेलाडीहरूले आफ्नो प्रतिभा क्रिकेटको माध्यमबाट प्रस्तुत गर्न सक्नेछन्।





