
विगतमा नेपालीहरुले धेरै युद्ध लडेका थिए । पहिलो र दोश्रो विश्वयुद्धमा उनीहरुले जुन बीरता देखाएका थिए, जुन बलिदान गरेका थिए, त्यसको लागि विश्वमा उनीहरुले ‘बीर नेपाली’ को उपाधि पाएका थिए । तर त्यो बीरता, त्यो बलिदान आफ्नो लागि थिएन, अरुकै लागि थियो । त्यसैकारण प्रसिद्ध कवि भूपि शेरचनले लेखेका थिए–‘हामी नेपाली बीर छौं तर बुद्धू छौं । हामी बुद्धू छौं र त बीर छौं !’ हो, विगतमा हामीले देखाएको बीरता बुद्धू हुुनुको परिणाम थियो । तर अब बुद्धिमान भएर बीरता देखाउने बेला आएको छ । अर्थात् हामीले आफ्नो बीरता सही ठाउँमा प्रयोग गर्ने बेला आएको छ ।
विदेशी भूमिमा मात्र होइन, आफ्नो देशभित्र पनि नेपाली जनताले धेरै लडाइँ लडेका छन् । २००७ सालमा प्रजातन्त्रको लागि २०४६ सालमा बहुदलको लागि, २०५२ देखिको १० बर्षीय जनयुद्ध तथा २०६२–६३ को जनान्दोलनले गणतन्त्रका लागि लडेका छन् । तर परिणाम अर्कैको हातमा गएको छ । महिलाहरुले लडाइँ लडे, तर परिणाम पुरुषको हातमा गयो । दलितहरुले लडाइँँ लडे, तर परिणाम कथित उच्च जातिहरुको हातमा गयो । किसानहरुले लडाइँ लडे, तर परिणाम जमिनदारहरुको हातमा गयो । मजदुरहरुले लडाइँ लडे, तर परिणाम पुँजीपतिहरुको हातमा गयो । उत्पीडित वर्गले लडाइँ लडे, तर परिणाम उत्पीडक वर्गको हातमा गयो । उत्पीडित जातिहरुले लडाइँ लडे, तर परिणाम शासक जातिको हातमा गयो । गाउँहरुले लडाइँ लडे, तर परिणाम शहरको हातमा गयो । मोफसलले लडाइँ लडे, तर परिणाम सिंहदरवारको हातमा गयो । त्यसकारण अब परिणाम आफ्नै हातमा आउने लडाइँ लड्ने समय आएको छ । त्यो लडाइँ हो– पहिचानसहितको समाजवादको लडाइँ ।
१. नेपाली क्रान्तिको कार्यक्रम
विश्वमा क्रान्तिका तीन विकल्पहरु छन्– पुँजीवादी क्रान्ति, नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्ति । जुन समाजमा सामन्ती व्यवस्थाको उच्च विकास भएको हुन्छ, त्यहाँ पुँजीवादी क्रान्ति हुन्छ । पुँजीवादी क्रान्तिले सामन्तवादको अन्त्य र पुँजीवादको स्थापना गर्दछ । सन् १६८८ मा वेलायतमा भएको क्रान्ति र सन् १७८९ मा फ्रान्समा भएको क्रान्ति पुँजीवादी क्रान्तिका उदाहरण थिए । जुन समाजमा पुँजीवादको चरम विकास भएको छ, त्यहाँ समाजवादी क्रान्ति हुन्छ । समाजवादी क्रान्तिले पुँजीवादको अन्त्य र समाजवादको स्थापना गर्दछ । सन् १८७१ मा फ्रान्सको पेरिसमा भएको क्रान्ति र सन १९१७ को अक्टोबर २४ मा रुसमा भएको क्रान्ति समाजवादी क्रान्तिका उदाहरण थिए । त्यसैगरी जुन समाज अर्धसामन्ती र अर्धउपनिवेशी अवस्थामा छ, त्यहाँ नयाँ जनवादी क्रान्ति हुन्छ । नयाँ जनवादी क्रान्तिले अर्थसामन्ती र अर्धउपनिवेशी अवस्थाको अन्त्य र नयाँ जनवादको स्थापना गर्दछ । सन् १९४९ मा चीनमा भएको क्रान्ति यसको उदाहरण थियो ।
नेपालमा यी तीन विकल्पहरुमध्य दुई विकल्पहरुको अभ्यास भइसकेको छ । वि.सं. २००७, २०४६ र २०६३ सालमा भएका क्रान्तिहरु पुँजीवादी क्रान्तिका उदाहरण थिए । तर तिनीहरुबाट नेपालमा पुँजीवादको स्थापना पूर्णरुपमा भएन । ती क्रान्तिहरुमा आंशिक सफलता मात्र हासिल भयो ।
नयाँ जनवादी क्रान्तिका लागि नेपालमा २००६ सालमा पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । त्यसपछि यहाँ विभिन्न कम्युनिस्ट पार्टीहरु खुले र तिनीहरुले नयाँ जनवादी क्रान्तिका लागि प्रयत्नहरु गरे । तिनीहरुमध्य २०२८ सालमा नेकपा मालेको नेतृत्वमा भएको झापा विद्रोह र नेकपा माओवादीको नेतृत्वमा २०५२ सालबाट सुरु भएको १० वर्षे जनयुद्ध प्रमुख थिए । तर नयाँ जनवादी क्रान्तिका लागि भएका ती सबै प्रयत्नहरुबाट क्रान्ति सम्पन्न भएन । तिनीहरुबाट पनि आंशिक सफलता मात्र हासिल भएको छ ।
नेपालमा पूँजीवादी क्रान्ति नहुनुको कारण नेपाली समाज अर्धसामन्ती र अर्धउपनिवेशी हुनु हो । अर्धसामन्ती र अर्धउपनिवेशी समाजमा पूँजीवादी क्रान्ति हुँदैन र नेपाली समाज यही वर्गमा पर्ने हुदा यहाँ पूँजीवादी क्रान्ति हुँदैन भन्ने निष्कर्ष पुष्पलालले २००६ सालमै निकालेका थिए । यही निष्कर्षको आधारमा उनले नेपाली क्रान्तिको कार्यक्रमको रुपमा नयाँ जनवादी क्रान्तिलाई अगाडि सारेर कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।
त्यसैगरी नेपालमा नयाँ जनवादी क्रान्ति नहुनुको कारण विश्वमा एकाधिकारी पूँजीवाद एकीकृत पूँजीवादमा रुपान्तरण हुनु हो, अर्थात् साम्राज्यवाद भूमण्डलीकृत पूँजीवादमा रुपान्तरण हुनु हो । एकाधिकारी पूँजीवादको युगमा, अर्थात् साम्राज्यवादको युगमा साम्राज्यवाद र राष्टिय पूँजीपति वर्गको बीचमा अन्तर्विरोध हुन्थ्यो । त्यसबेला राष्टिय पूँजीपति वर्ग साम्राज्यवादबाट उत्पीडित हुन्थ्यो । त्यसकारण साम्राज्यवादको उत्पीडनबाट राष्टिय पूँजीपति वर्गलाई मुक्त गर्न र राष्टिय पूँजीवादको विकास गर्नको लागि नयाँ जनवादी क्रान्तिको आवश्यकता पर्दथ्यो । तर वर्तमान एकीकृत अर्थात् भूमण्डलीकृत पूँजीवादको युगमा सवै पूँजीपति वर्गहरु एकीकृत भएका छन् र राष्टिय पुँजीपति वर्ग दलाल पुँजीपति वर्गमा बदलिएको छ । त्यसकारण अब नयाँ जनवादी क्रान्ति हुनसक्दैन, जुन साम्राज्यवादको उत्पीडनबाट राष्ट्रिय पूँजीपति वर्गलाई मुक्त गरेर सर्वहारा वर्गको नेतृत्वमा राष्टिय पूँजीवादको विकास गर्ने क्रान्ति हो ।
यसबाट के पुष्टि हुन्छ भने नेपालमा पूँजीवादी क्रान्ति पनि हुनसक्दैन र नयाँ जनवादी क्रान्ति पनि हुनसक्दैन । त्यसकारण अब तेश्रो विकल्पमा जानुपर्दछ । त्यो हो– समाजवादी क्रान्ति ।
२. समाजवादको स्वरुप
वर्तमान नेपाली समाजमा व्याप्त समस्याहरुको समाधान समाजवादबिना सम्भव छैन । किनभने समाजवादले सवै वर्गहरु र समुदायहरुलाई स्वतन्त्रता र समानताको आधारमा एकताबद्ध गर्दछ । यस्तो एकीकृत शक्तिले मात्र भूमण्डलीकृत पूँजीवादको उत्पीडनबाट देशलाई मुक्त गर्नसक्दछ । त्यसैगरी समाजवादबिना वर्तमान भूमण्डलीकृत पूँजीवादको मुकाबिला गर्न र त्यसलाई परास्त गर्न सम्भव हुदैन
। तर यो कार्यभार पुरानो मोडेलको समाजवादले पूरा गर्न सक्दैन । किनभने त्यसका केही निश्चित सीमाहरु थिए । यसको लागि नयाँ समाजवादको आवश्यकता पर्दछ ।
हरेक सामाजिक व्यवस्था आफ्नो युगको वस्तुगत परिवेशमा आधारित हुन्छ । त्यसकारण नयाँ समाजवाद पनि वर्तमान युगको वस्तुगत परिवेशमा आधारित हुन्छ । त्यसको आधारमा यो नयाँ समाजवादलाई यसरी परिभाषित गर्नसकिन्छ– क) विज्ञान–प्रविधिमा आधारित समाजवाद, ख) सामाजिक स्वामित्वमा आधारित समाजवाद र ग) प्रत्यक्ष प्रजातन्त्रमा आधारित समाजवाद ।
क) विज्ञान–प्रविधिमा आधारित समाजवाद
हरेक सामाजिक व्यवस्थाको स्वरुप उत्पादक शक्तिको स्वरुपबाट निर्धारित हुन्छ । वर्तमान युगको उत्पादक शक्ति विज्ञान–प्रविधि हो । त्यसकारण अब बन्ने समाजवाद विज्ञान–प्रविधिमा आधारित हुनेछ । विगतमा समाजवाद मानवश्रममा आधारित थियो । अहिले मानवश्रम विज्ञान–प्रविधिद्वारा विस्थापित भएको छ ।
ख) सामाजिक स्वामित्वमा आधारित समाजवाद
समाजवादको लक्ष्य उत्पादनका साधनहरुमाथि निजी स्वामित्वलाई अन्त्य गरी सम्पूर्ण समाजको स्वामित्व स्थापित गनु हो । विगतको समाजवादमा राष्ट्रियकरणद्वारा यो लक्ष्य हासिल गर्ने प्रयास गरिएको थियो । तर त्यसबाट राज्यको स्वामित्व स्थापित भयो, समाजको स्वामित्व स्थापित भएन । त्यसकारण अब सामाजिक स्वामित्व स्थापित गर्ने सही विधि सामुदायिक स्वामित्व स्थापित गर्नु हो । यसबाट राज्यको स्वामित्वको स्थानमा समाजको स्वामित्व स्थापित हुन्छ, जुन समाजवादको लक्ष्य हो ।
ग) प्रत्यक्ष प्रजातन्त्रमा आधारित समाजवाद
विगतमा समाजवाद राज्यनियन्त्रित थियो । किनभने त्यो प्रतिनिधिमूलक प्रजातन्त्र (representative democracy) मा आधारित थियो । समाजवाद समाजनियन्त्रित व्यवस्था हो । यसको लागि प्रत्यक्ष प्रजातन्त्र (direct democracy) हुनुपर्दछ । नयाँ समाजवाद प्रत्यक्ष प्रजातन्त्रमा आधारित हुने हँदा यसमा राज्यको भूमिका समन्वयात्मक मात्र हुन्छ । सम्पूर्ण निर्णय अधिकार जनतामा हुन्छ । परिणामस्वरुप समाजवाद जनताको नियन्त्रणमा हुन्छ ।
३. नेपालको समाजवाद
एक्काइसौं शताब्दी समाजवादको युग हुँदै छ । त्यसकारण समाजवाद एउटा सार्वभौमिक व्यवस्था हो । तर यसको कार्यान्वयन अलग–अलग देशमा अलग–अलग ढंगबाट हुनसक्दछ । अतः नेपालको समाजवाद नेपाली विशेषतामा आधारित हुन्छ, जुन ‘पहिचानसहितको समाजवाद’ हो ।
नेपालमा समाजवाद स्थापित गर्नको लागि पहिचान एउटा महत्वपूर्ण आधार बन्दछ भने अर्को महत्वपूर्ण आधार संघीयता बन्दछ । नेपालको समाजवादमा विज्ञान–प्रविधिले उत्पादक शक्तिको काम गर्दछ र पहिचानमा आधारित सामाजिक व्यवस्थाले उत्पादन सम्बन्धको काम गर्दछ । अर्थात् यहाँ विज्ञान–प्रविधि आधार संरचना (Base structure) हो र पहिचानमा आधारित सामाजिक व्यवस्था आधेय संरचना (Super Structure) हो ।
पहिचान कुनै पनि समुदायको निश्चित विशेषता हो, जसले एउटा समुदायलाई अर्को समुदायबाट अलग गर्दछ (उदाहरणको लागि जाति, भाषा, धर्म, परम्परा, संस्कृति, आदि) । यसको आधारमा एउटा समुदायको सभ्यता विकसित हुन्छ । त्यसकारण पहिचान सम्बन्धित समुदायको अस्तित्वको आधार हो । अतः कुनै पनि समुदायको पहिचान त्यसको अधिकार बन्नुपर्दछ, त्यसको राजनीतिक सत्ता बन्नुपर्दछ ।
नयाँ समाजवादको प्रमुख विशेषताको रुपमा आउने सामाजिक स्वामित्वलाई नेपालमा पहिचानको आधारमा स्थापित गर्नसकिन्छ । किनभने हरेक पहिचानले समुदायको प्रतिनिधित्व गर्दछ । त्यसकारण पहिचानको आधारमा स्वामित्व स्थापित गर्दा सामुदायिक स्वामित्व स्थापित हुन्छ । पुरानो समाजवादमा राज्यको स्वामित्व हुन्थ्यो, पूँजीवादमा निजी स्वामित्व हुन्छ र नयाँ समाजवादमा सामुदायिक स्वामित्वको आधारमा सामाजिक स्वामित्व हुन्छ ।
त्यसैगरी नयाँ समाजवादको अर्को विशेषता प्रत्यक्ष प्रजातन्त्र हो । नेपालमा यसको कार्यान्वयन पनि पहिचानकै आधारमा हुनसक्दछ । जब पहिचानमा आधारित समुदायलाई स्वायत्त सत्ता मानिन्छ र राजनीतिक अधिकार सुम्पिइन्छ, तब जनता आफ्नो शासक आफै बन्दछन् । जनताले निर्णय गर्ने र जनप्रतिनिधिहरु (राज्य) ले त्यसको कार्यान्वयन गर्ने शासन प्रणाली नै प्रत्यक्ष प्रजातन्त्र हो । नेपालमा जनताले निर्णय गर्ने निकाय पहिचानमा आधारित समुदायहरु हुनसक्दछन् । (प्रत्यक्ष प्रजातन्त्रको आधारमा मात्र पहिचानको अधिकार स्थापित हुनसक्दछ । जनताले आफ्नो सार्वभौमसत्ताको प्रयोग पहिचानको अधिकार अभ्यास गर्नको लागि गर्दछन् । प्रत्यक्ष प्रजातन्त्रले पहिचानको अधिकार अभ्यास गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।)
नेपालमा समाजवाद स्थापित गर्ने अर्को आधार संघीयता हो । संघीयताको उद्देश्य शक्ति–विकेन्द्रीकरण हो । यसको स्वरुप देशअनुसार फरक हुनसक्दछ । नेपाल बहु-जातीय, बहु-भाषिक, बहु-धार्मिक र बहु-सांस्कृतिक देश हो । त्यसकारण यहाँको संघीयता पनि यिनै विशेषताहरुमा आधारित हुनुपर्दछ । अर्थात् नेपालको संघीयता पहिचानमा आधारित हुनुपर्दछ ।
अहिले एक नम्बर प्रदेशमा पहिचानको एजेण्डा लिएर जनआन्दोलन शुरु भएको छ । तर यो पहिचानको एजेण्डा एक नम्बरको मात्र एजेण्डा होइन, यो त सातै प्रदेशहरुको साझा एजेण्डा हो । किनभने अब संघीयताको संरचना पहिचानको आधारमा हुनुपर्दछ र पहिचानको आधारमा बनेको संघीयता नै वास्तविक संघीयता हुन्छ । त्यसकारण यो एजेण्डालाई लिएर सातै प्रदेशहरुमा जनआन्दोलन शुरु हुनुपर्दछ । तब मात्र पहिचानसहितको समाजवाद स्थापित हुनेछ, जहाँ सवैले आफ्नो उन्नति–प्रगति गर्ने समान अवसर पाउनेछन् ।
अन्तिम निष्कर्षमा के भन्न सकिन्छ भने अब पूर्वबाट नयाँ युगको सूर्य उदाउन थालिसकेको छ । जसरी बिहान पूर्वबाट सूर्य उदाएपछि नयाँ दिनको शुरुवात हुन्छ, त्यसैगरी यो नयाँ युगको सूर्योदयबाट नयाँ युगको शुरुवात हुनेछ । ज-जसले यसको स्वागत गर्दछन्, सम्मान गर्दछन्, स्वीकार गर्दछन उनीहरु नयाँ युगका सौभाग्यशाली पात्र, सम्मानित नागरिक बन्नेछन् । तर ज-जसले यसलाई हत्केलाले छेक्ने दुस्साहस गर्दछन्, उनीहरु यसको ज्वालामा जलेर खरानी हुनेछन् । अहिलेको वास्तविकता यही हो ।
२० कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् ।
नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको हो ।
बोर्डको छनोट उपसमितिले शुक्रबार (कात्तिक २०) सार्वजनिक गरेको सूचनाअनुसार संक्षिप्त सूचीमा पर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमअनुसार राखिएको छ ।





