
इन्दिरा रानामगरको जोड : ‘इगोको राजनीति होइन, देशलाई सिस्टममा लैजाऔँ’
२१ कार्तिक २०८३, काठमाडौं । समाजमा निःस्वार्थ सेवा, समर्पण र सकारात्मक योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गर्दै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित ‘गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम–२०८३’ काठमाडौंको नयाँ बानेश्वरमा सम्पन्न भएको छ।
गुराँस फाउन्डेसनको आयोजनामा सम्पन्न कार्यक्रममा समाजसेवा, शिक्षा, बुद्धिजीवी, व्यवसाय, कला तथा सञ्चार क्षेत्रमार्फत समाजमा उल्लेखनीय योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व उपसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि व्यक्तिगत अहंकारभन्दा सामूहिक जिम्मेवारी र प्रणालीगत सुधारलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरिन्। उनले भनिन्, ‘इगोको राजनीति नगरौँ, देशलाई सिस्टममा लैजाऔँ।’ निर्वाचनमा सबै जातजाति तथा समुदायको समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले विविधतायुक्त नेपाली समाजको वास्तविक प्रतिबिम्ब राज्यका हरेक निकायमा देखिनुपर्ने बताइन्।
कार्यक्रमका सभापति एवं गुराँस फाउन्डेसनका अध्यक्ष पाल्देन लामाले विगत दुई दशकदेखि दुःखी, असहाय तथा समस्यामा परेका नागरिकहरूको पीडामा साथ दिँदै आएका छन्। उनी सामाजिक सेवामार्फत पीडितहरूको जीवनमा आशा जगाउने र मानवीय संवेदनालाई व्यवहारमा उतार्ने अभियानमा निरन्तर सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा परिचित छन्। उनको अगुवाइमा अघि बढेको सामाजिक सेवाको यात्राले सम्मान केवल व्यक्तिको उपलब्धिको कदर मात्र नभई समाजमा सेवाभाव र परोपकारको संस्कार स्थापित गर्ने माध्यमसमेत भएको सन्देश दिएको छ।
कार्यक्रममा समाजसेवी, शिक्षक, बुद्धिजीवी, व्यवसायी, कलाकार तथा सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका योगदानकर्ताहरूलाई सम्मान गरिएको थियो। समाजमा सकारात्मक परिवर्तनका लागि आ–आफ्नो क्षेत्रबाट क्रियाशील व्यक्तित्वहरूको योगदानको कदर गर्दै उनीहरूलाई थप सामाजिक जिम्मेवारी निर्वाह गर्न प्रेरित गर्नु कार्यक्रमको मूल उद्देश्य रहेको थियो।
गुराँस फाउन्डेसनका अध्यक्ष पाल्देन लामाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रुपा घिसिङले गरेकी थिइन् भने मिलन लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा रुद्रसिंह तामाङ, इन्द्रराज भट्टराई, नेत्रप्रसाद गौतम, कमानसिंह मोक्तान, टीका माल्बुके, देवकुमार मगर, लालबहादुर मगर, राम मोक्तान, आशिष नगरकोटी, दानबहादुर रानामगर, खड्गबहादुर श्रेष्ठ, लालबहादुर थापामगरलगायत शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।
समग्रमा, गुराँस आदर्श व्यक्तित्व सम्मान कार्यक्रम व्यक्तिको प्रशंसा र सम्मानमा मात्र सीमित रहेन। यसले समाजमा निःस्वार्थ सेवा गर्ने हातहरूको पहिचान, सकारात्मक कर्मको प्रोत्साहन र समावेशी तथा सभ्य समाज निर्माणको आवश्यकतालाई पुनः उजागर गरेको छ।
किनकि समाज परिवर्तनका ठूला भाषणभन्दा पीडामा परेकालाई दिइएको सानो साथ पनि कहिलेकाहीँ धेरै अर्थपूर्ण हुन्छ। सम्मान त्यही कर्मको हो, जसले अरूको जीवनमा आशाको उज्यालो छर्छ।
६ भाद्र, २०८३ काठमाडौ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–७, दनुवार टोलका ६९ वर्षीय बालकृष्ण दनुवार यतिबेला वीर अस्पतालको न्यूरो विभागमा उपचाररत छन्। आर्थिक अवस्था कमजोर रहेकाले परिवारले उपचारमा सहयोग गरिदिन सबै सहयोगी मनहरूसँग अपिल गरेको छ।
जनमुक्ति सेनाका चर्चित कमान्डर तथा लामो समयदेखि क्रान्तिकारी आन्दोलनमा योगदान पुर्याउँदै आएका बालकृष्ण दनुवार यतिबेला जीवनकै कठिन मोडमा छन्। विगतमा मैनापोखरी मोर्चामा गम्भीर घाइते भएका दनुवार अहिले अचानक आएको स्वास्थ्य समस्याका कारण वीर अस्पतालमा उपचाररत छन्।
केही समयअघि ब्लड प्रेसरका कारण घरमै अचानक ढलेका दनुवारको अहिले शरीरको अधिकांश भाग नचल्ने अवस्था रहेको परिवारले जनाएको छ। हाल उनको वीर अस्पतालको न्यूरो विभाग, बेड नं. २१३ मा उपचार भइरहेको छ।
६९ वर्षको उमेरमा गम्भीर स्वास्थ्य संकटसँग जुधिरहेका दनुवारको उपचारका लागि निरन्तर आर्थिक खर्च आवश्यक परिरहेको छ। तर परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचार खर्च जुटाउन कठिन भइरहेको बताइएको छ।
दनुवारले आफ्नो जीवनको महत्वपूर्ण समय सामाजिक तथा राजनीतिक परिवर्तनको अभियानमा समर्पित गरेका थिए। संघर्षका क्रममा मैनापोखरी मोर्चामा गम्भीर घाइतेसमेत भएका उनी अहिले भने आफ्नै जीवन बचाउन अस्पतालको शय्यामा संघर्ष गरिरहेका छन्।
‘परिवर्तनका लागि जीवनको जोखिम मोलेका एक योद्धालाई आज जीवन जोगाउन हाम्रो साथ आवश्यक छ’ भन्ने भावनासहित परिवार तथा शुभेच्छुकहरूले देश–विदेशमा रहेका सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेका छन्।
सहयोग गर्न चाहने महानुभावहरूले उनका छोरा सरोजराज दनुवारको नाममा रहेको एनआईएमबी बैंकको खाता नं. 18305080026697 मा रकम जम्मा गर्न सक्नेछन्। साथै, संलग्न QR मार्फत पनि सहयोग गर्न सकिनेछ।
सानो सहयोगले पनि उपचाररत बालकृष्ण दनुवारको जीवनरक्षामा ठूलो अर्थ राख्न सक्छ। त्यसैले मानवीय संवेदना र सहकार्यका साथ आफूले सक्ने सहयोग गरिदिन परिवारले सबै सहयोगी मनहरूसँग हार्दिक अनुरोध गरेको छ।
सहयोगका लागि:
नाम: बालकृष्ण दनुवार
उमेर: ६९ वर्ष
स्थायी ठेगाना: पाँचपोखरी थाङ्पाल गाउँपालिका–७, दनुवार टोल
हाल उपचार: वीर अस्पताल, न्यूरो विभाग, बेड नं. २१३
सहयोग प्राप्त गर्ने: सरोजराज दनुवार
एनएमबी बैंक खाता नं.: 18305080026697
QR: संलग्न
काभ्रे । पनौती नगरपालिका–७, काभ्रेमा हाल बसोबास गर्दै आएकी ३३ वर्षीया मिना कुमारी थामी ‘प्रतिमा’ २०८३ साल साउन २७ गतेदेखि सम्पर्कविहीन भएकी छन्।
सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर स्थायी घर भएकी मिना कुमारी साउन २७ गते बिहान करिब ९:३० बजे पनौतीबाट काठमाडौंको रत्नपार्क पुगेकी थिइन्। उनीसँग उनका ६ वर्षीय छोरा सुशान्त थामी पनि रहेको बताइएको छ। रत्नपार्क पुगेपछि उनी कहाँ गइन् भन्नेबारे परिवारले जानकारी पाउन सकेको छैन।
परिवारका अनुसार उनीसँग मोबाइल फोनसमेत नभएकाले सम्पर्क तथा लोकेशन ट्र्याक गर्न कठिनाइ भएको छ। उनको खोजीका लागि परिवारजनले आफन्त, परिचित तथा विभिन्न स्थानमा जानकारी गराउँदै सहयोगको अपिल गरेका छन्।
हराएकी महिलाको हुलिया
नाम: मिना कुमारी थामी ‘प्रतिमा’
उमेर: ३३ वर्ष
उचाइ: करिब ५ फिट २ इन्च
तौल: करिब ५२ केजी
पहिरन: हरियो कुर्ता–सुरुवाल
पहिचान चिन्ह: गालामा सानो खत
सँगै रहेको: ६ वर्षीय छोरा सुशान्त थामी
श्रीमान्: लिलु थामी रोईमी
बुबा: टिकानारायण थामी
भाइ: मिनराज थामी
मिना कुमारी थामीबारे कुनै जानकारी प्राप्त भएमा वा देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा परिवारका निम्न सम्पर्क नम्बरमा तत्काल खबर गरिदिन परिवारले अनुरोध गरेको छ।
📞 श्रीमान् लिलु थामी रोईमी: ९७६८५४३५६२
📞 बुबा टिकानारायण थामी: ९७६२८८७८१८
📞 भाइ मिनराज थामी: ९७६३७०९६८५
आज पनि साउन १८ आउँदा मन अनायासै २०५९ सालको त्यो मिरमिरे बिहानतिर फर्किन्छ । भुकुईरोले ढाकेको त्यो बिहानले कति परिवारको खुसी खोस्यो। कति आमाको काख रित्यायो । कति सन्तानलाई टुहुरो बनायो । कति सपनाहरूलाई अधुरै छाडिदियो। समयले २४ वर्षको दूरी तय गरिसकेको छ, तर त्यो दिनका घाउहरू अझै सम्झनाको गहिराइमा बिझिरहेकै छन् ।
त्यही दिन दोलखा र सिन्धुपाल्चोकका १५ जना परिवर्तनका योद्धाहरूले सहादत प्राप्त गर्नुभयो। तीमध्ये दोलखाका ७ जना र सिन्धुपाल्चोकका ८ जना हुनुहुन्थ्यो ।
सहादत प्राप्त गर्नेहरू:
तिर्थमाया वाइबा (क. चेतना), टोपनाथ सापकोटा (क. ज्वाला), बेदप्रसाद शर्मा (क. योद्धा), लक्ष्मी पराजुली (क. निरज्वाला), दलबहादुर तामाङ (क. शैलुङ), दीपक थामी (क. निपेश), गोविन्द आचार्य (क. सन्दीप), सुन्दरी चापागाईं (क.सन्जिता), रणबहादुर थामी (क.हरि), कल्पना थामी (क.प्रतिमा), कविता थामी (क.अनिशा), गायत्री श्रेष्ठ (क.चुनौती), ठक कुमारी तामाङ (क.रेणुका), सुकमान तामाङ (क. किरण) र मीना सापकोटा (क.सान्त्वना) ।
त्यस दिनको विभत्सता शब्दमा बयान गर्न सकिँदैन । घटनापछि महिला र पुरुषका शवलाई छुट्टाछुट्टै खाल्डोमा गाडिएको र स्थानीय नागरिकलाई जबर्जस्ती शव गाड्न लगाइएको भन्ने खबर आज पनि हृदय चिरिदिने पीडाका रूपमा स्मरण गरिन्छन् ।
इतिहास साक्षी छ । नेपालको लोकतान्त्रिक गणतन्त्र कुनै शासकको दया, कृपा वा उपहारबाट प्राप्त भएको व्यवस्था होइन । परिवर्तनका लागि हजारौँ नेपालीले आफ्नो जीवन बलिदान गरे । हजारौँ घाइते र अपाङ्ग भए । असंख्य परिवारले असह्य पीडा भोगे। ती ज्ञात–अज्ञात सहिदहरूको रगत, त्याग र अटल सङ्कल्पकै जगमा आजको व्यवस्था स्थापित भएको हो ।
त्यसैले परिवर्तनको उपलब्धिबाट लाभ उठाउँदै परिवर्तनका लागि आफ्नो सर्वस्व अर्पण गर्ने सहिदहरू, घाइते–अपाङ्ग योद्धाहरू तथा संघर्षमा योगदान पुर्याएका मानिसहरूको इतिहासलाई अपमान गर्ने, उनीहरूको बलिदानलाई अस्वीकार गर्ने वा एकपक्षीय रूपमा व्याख्या गर्ने नैतिक अधिकार कसैलाई छैन । इतिहासलाई सम्पूर्ण सन्दर्भमा बुझ्नुपर्छ, किनकि द्वन्द्वका सबै पक्षले पीडा भोगेका छन्।
सहिदहरू केवल इतिहासका पात्र होइनन्; उनीहरू न्याय, समानता र परिवर्तनका निम्ति आफ्नो वर्तमान समर्पण गर्ने अमर प्रेरणा हुन् । उनीहरूको बलिदानलाई सम्झनु भनेको केवल फूल चढाउनु होइन, उनीहरूले देखेको न्यायपूर्ण, समतामूलक र सम्मानपूर्ण नेपालको सपनालाई जीवित राख्नु पनि हो ।
साउन १८ का सम्पूर्ण अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली । उहाँहरूको त्याग, बलिदान र आदर्श नेपाली जनताको स्मृति र इतिहासमा सधैँ अमर रहनेछ ।
मजदुर, किसान र सुकुम्बासीका निम्ति किन अभिशाप बन्दैछ रास्वपा सरकार ?
“जनताले सरकार रोज्छन्, सरकार जनताको सेवक बन्नका लागि; तर जब जनताले आफ्नै सरकारबाट अन्याय, उपेक्षा र असुरक्षाको अनुभूति गर्न थाल्छन्, तब लोकतन्त्रको आधार नै कमजोर बन्छ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले सत्ता सम्हालेको छोटो समयमै प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति, “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने सनसनीपूर्ण भनाइ तथा आफ्ना अभिव्यक्तिलाई नियन्त्रण गर्न नसकेको विषयलाई लिएर रास्वपा सरकारको कार्यशैलीबारे व्यापक बहस र आलोचना सुरु भएको छ। जनताले ठूलो आशा र विश्वासका साथ दिएको जनादेश केही दिनमै निराशामा बदलिन थालेको अनुभूति धेरै नागरिकले व्यक्त गरिरहेका छन्। “पुरानाले ३५ वर्ष केही गरेनन्” भन्ने भाष्य निर्माण गर्न खोजिरहेका छन्, तर नयाँको कार्यशैली देख्दा खासै छाँट नदेखिएको कुरा पनि व्यक्त गरिरहेका छन्।
सरकारका केही मन्त्री तथा जनप्रतिनिधिका सार्वजनिक अभिव्यक्तिहरू, संसद् र सार्वजनिक कार्यक्रममा देखिएको व्यवहार, बजेट कार्यान्वयनका प्राथमिकता तथा सुकुम्बासी व्यवस्थापनको शैलीबारे गम्भीर प्रश्न उठिरहेका छन्। केही सम्मानित नागरिकले यो सरकार गरिबमारा सरकारको रूपमा अघि बढ्दै गएको टिप्पणी गरेका छन्। समर्थकहरूले यी विषयलाई परिवर्तनको सुरुवात मानेका छन् भने आलोचकहरूले यसलाई लोकतान्त्रिक संस्कारविपरीतको कार्यशैलीका रूपमा चित्रण गरिरहेका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा करको दायरा विस्तार, यातायात क्षेत्रमा जरिवाना कडा बनाउनेलगायतका विषयले आम नागरिक, व्यवसायी तथा श्रमिक वर्गमा थप आर्थिक भार पर्ने चिन्ता व्यक्त गरिएको छ। महँगी, बेरोजगारी र घट्दो क्रयशक्तिबाट पीडित जनताले राहतको अपेक्षा गरेका थिए, तर त्यसअनुसारको अनुभूति हुन नसकेको टिप्पणी भइरहेको छ।
सबैभन्दा धेरै आलोचना सुकुम्बासी बस्ती हटाउने अभियानलाई लिएर भएको छ। वर्षायामको संवेदनशील समयमा डोजर प्रयोग गरी बस्ती हटाउने कार्यले हजारौँ परिवारको बासस्थान, बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्य जोखिममा परेको भन्दै मानवअधिकारकर्मी, अभियन्ता, राजनीतिक दल तथा सचेत नागरिकले चिन्ता व्यक्त गरेका छन्। “होल्डिङ सेन्टर” बनाउने विषयले कन्टेनरको बिचल्ली र सरकारको चैनको निद्राले तत्कालको समस्या समाधान नगरी झन् असुरक्षा बढाउँदै राज्य जनता प्रति निरिह बनेको तर्क पनि गरिएको छ। विकास आवश्यक भए पनि विकासका नाममा गरिब, मजदुर र सुकुम्बासीमाथि अन्याय हुनु हुँदैन भन्ने आवाज हामी सचेत नागरिक उठाउँदै आएका छौँ।
हालैका केही घटनाले नागरिकको मानसिक अवस्था पनि गम्भीर बनेको देखिन्छ। आर्थिक, सामाजिक र मानसिक दबाबका कारण आत्मदाह वा आत्महत्याजस्ता दुःखद घटनाहरू सार्वजनिक भएका छन्। गणेश नेपाली, विवेक मण्डल र अस्मिता राईले आत्मदाह गरिसकेका छन्। यस्ता घटनालाई कुनै एक कारणमा सीमित गर्न नमिल्ने भए पनि सरकारप्रति बढ्दो असन्तुष्टि, बेरोजगारी, महँगी र भविष्यप्रतिको निराशा विशेष कारण हुन सक्ने विषय सार्वजनिक बहसका विषय बनेका छन्।
युवाहरू देशमै भविष्य नदेखेर विदेशिन बाध्य भइरहेका छन्। दक्ष जनशक्ति पलायन भइरहेका बेला सरकारले रोजगारी, उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने अपेक्षा थियो। तर जनताले अपेक्षा गरेअनुसार परिणाम नदेखिँदा निराशा बढेको अनुभूति भइरहेको छ।
यसबीच सत्तापक्षका केही सांसद तथा नेताहरूका सार्वजनिक अभिव्यक्तिहरू पनि विवादित बनेका छन्। यस्ता विषयले जनविश्वास खस्किएको छ। सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा व्यक्त गरिएका केही भनाइहरूले सरकारको छवि सुधार्नुको सट्टा झन् विवाद बढाएको आलोचकहरूको भनाइ छ। यस्ता अभिव्यक्तिले सरकारप्रतिको विश्वास कमजोर बनाउने काम गरेको टिप्पणी पनि भइरहेको छ। रास्वपाबाट परिचालित केही व्यक्तिहरूले अनधिकृत पार्किङ गरेर सरकारको धज्जी उडाएका छन्। अन्य रास्वपा समर्थकले देखाएको व्यवहारलाई लिएर केही राजनीतिक दल तथा सचेत नागरिकहरूले सडक प्रदर्शन गरेका छन्। केही समूहका गतिविधिलाई लिएर पनि सरकारको कार्यक्षमतामाथि प्रश्न उठाइएका छन्। यद्यपि यस्ता घटनामा सम्बन्धित निकायको आधिकारिक अनुसन्धान र निष्कर्षलाई नै अन्तिम आधार मान्नुपर्छ।
आजको मुख्य प्रश्न यही हो—झण्डै दुई तिहाइ जनसमर्थन र ठूलो जनविश्वास प्राप्त गरेको सरकारले किन आफ्नै जनताको विश्वास गुमाउँदै गएको अनुभूति भइरहेको छ? सत्ता भनेको दम्भ प्रदर्शन गर्ने स्थान होइन, जनताको सेवा गर्ने जिम्मेवारी हो। लोकतन्त्रमा सरकारको शक्ति जनताबाट आउँछ र जनताप्रतिको उत्तरदायित्वबाट नै त्यसको वैधता कायम रहन्छ।
सरकार परिवर्तन हुनु मात्र परिवर्तन होइन। जनताको जीवनमा सकारात्मक परिवर्तन आउनु नै वास्तविक परिवर्तन हो। मजदुरले सम्मानजनक श्रम गर्न पाउनुपर्छ, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनुपर्छ, सुकुम्बासीले सुरक्षित आवास पाउनुपर्छ, युवाले आफ्नै देशमा भविष्य देख्न पाउनुपर्छ। यदि यी आधारभूत अपेक्षा पूरा हुन सकेनन् भने जनताको असन्तुष्टि झन् गहिरिँदै जानेछ।
लोकतन्त्रमा आलोचना शत्रुता होइन; सुधारको अवसर हो। सरकार जनताको हो भने जनताको आवाज पनि सुन्नुपर्छ। अन्यथा इतिहासले पटक–पटक देखाएको छ—जब राज्यले जनताको पीडा सुन्न छाड्छ, तब सडक बोल्न थाल्छ। र भन्ने छ, बोल्न दे सरकार। हामीलाई तिम्रा फलामे जन्जिर नियमहरू मन्जुर छैनन्। सरकार, हामीलाई बाँच्न दे सरकार!
काठमाडौं, २९ असार २०८३। आदिवासी जनजातिको अधिकारलाई संविधानमै प्रभावकारी रूपमा सुनिश्चित गर्न संविधान संशोधन अपरिहार्य रहेको निष्कर्षसहित राजधानीमा छलफल तथा सुझाव कार्यक्रम सम्पन्न भएको छ।
सोह्रखुट्टेस्थित नेपा वैंक्वेटमा आदिवासी जनजाति राजनीतिक अभियानको आयोजनामा “आदिवासी अधिकार र संविधान संशोधन” विषयक कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि व्यापक छलफल गर्दै सहभागीहरूले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पहिचान र आत्मनिर्णयको अधिकारसहितको संघीय व्यवस्था, विशेष तथा संरक्षित क्षेत्रको व्यवस्था, र दलविहीन स्थानीय निर्वाचन प्रणाली जस्ता विषयहरूलाई संविधान संशोधनको प्रमुख एजेन्डाका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
छलफलबाट आदिवासी जनजातिहरूको संवैधानिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न संगठित र सशक्त रूपमा संघर्षलाई अघि बढाउनुपर्ने साझा निष्कर्षसमेत निकालिएको थियो।
कार्यक्रमका सभापति नागेन्द्र किराँतीले आदिवासी समुदायका मुद्दालाई नीतिगत तहमा स्थापित गर्न सबै पक्षबीच एकता र साझा अभियान आवश्यक रहेको बताए।
रविन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा ईन्द्र बहादुर गुरुङ, सिताराम तामाङ, डा. केशवमान शाक्य, राजेन्द्र श्रेष्ठलगायत आदिवासी जनजाति अभियन्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कुमार योन्जनले कार्यपत्र प्रस्तुत गरेका थिए भने विभिन्न क्षेत्रका आदिवासी जनजाति अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
भक्तपुर, २७ असार २०८३।
जीवन र मृत्युको संघर्षबीच उपचाररत मृगौला पीडित मिलन थामीलाई संकलित आर्थिक सहयोग शनिबार भक्तपुरको सूर्यविनायक नगरपालिका–४, गाम्चा वडा कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ।
दोरम्बा शैलुङ गाउँपालिका–१, रामेछाप स्थायी घर भई हाल भक्तपुर बसोबास गर्दै आएका ३५ वर्षीय मिलन थामी विगतमा काठमाडौंमा सवारी चालकका रूपमा कार्यरत थिए। एक्कासि उच्च रक्तचाप र मधुमेह (सुगर) को समस्या बढेपछि उनको दुवै मृगौलामा गम्भीर समस्या देखिएको थियो। विगत करिब छ महिनादेखि निरन्तर उपचार गराउँदै आएका थामीको उपचारमै करिब ८ लाख रुपैयाँ खर्च भइसके पनि आर्थिक अवस्था अत्यन्त कमजोर बनेपछि परिवारले सहयोगको याचना गरेको थियो।
मिलन थामी बचाउ अभियानका संयोजक तथा जनप्रतिनिधि मंगले थामीको नेतृत्वमा २०८३ असार ६ गतेदेखि सहयोग अभियान सञ्चालन गरिएको थियो। अभियानमा देश तथा विदेशमा रहेका सहयोगी मनहरूबाट उल्लेखनीय साथ प्राप्त भएको थियो।
अभियानमार्फत ८ लाख ७२ हजार ३४० रुपैयाँ संकलन भएको जानकारी दिइएको छ। उक्त रकम अभियानका संयोजक मंगले थामी, मबिनी श्रेष्ठ र वाङ्छु शेर्पाले संयुक्त रूपमा मृगौला पीडित मिलन थामीलाई हस्तान्तरण गरेका हुन्।
मिलन थामीका बुबा चन्द्रबहादुर थामी, आमा मिश्री थामी, श्रीमती मनिला थामी तथा एक छोरा र एक छोरी रहेका छन्। उपचारका क्रममा परिवार आर्थिक संकटमा परेकाले सहयोग अभियानले उपचारलाई निरन्तरता दिन महत्वपूर्ण आधार प्रदान गरेको आयोजकहरूको भनाइ छ।
कार्यक्रममा सहभागीहरूले मानवीय संवेदनाको उदाहरण बनेको यस अभियानमा साथ दिने देश–विदेशका सम्पूर्ण सहयोगदाताप्रति आभार व्यक्त गर्दै, अझै उपचार प्रक्रिया जारी रहेकाले आवश्यक सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरेका थिए।
रामेछाप। सुनापती दलित एकता समाजको दोस्रो साधारण सभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। कार्यक्रममा दलित समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक सशक्तीकरणलाई थप प्रभावकारी बनाउँदै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
समाजका अध्यक्ष सूर्य विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा जे. बी. विश्वकर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा मीनकुमार खाती, लीलाराम लामिछाने, दिनेश नेपाली, मैना विश्वकर्मा, कुमार खाती तथा लालबहादुर विश्वकर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन देवराज विश्वकर्माले गरेका थिए।
अधिवेशनले राजकुमार खातीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा देवराज विश्वकर्मा, सचिवमा तेज दर्नाल, सहसचिवमा प्रकाश विश्वकर्मा र कोषाध्यक्षमा सहदेव विश्वकर्मा चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा मानबहादुर विश्वकर्मा, सोममाया विश्वकर्मा, कबिन्द्र नेपाली, सुनिल धमला, सरस्वती नेपाली, दिपा विश्वकर्मा, कल्याण विश्वकर्मा र निर्मला नेपाली निर्वाचित भएका छन्।
कार्यक्रममा दलित समुदायको हक, अधिकार तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेहरूमा कार्यपालिका सदस्य मीनकुमार खाती र रिता कामी धमला, गाउँसभा सदस्य कमला विश्वकर्मा, मैयाँ विश्वकर्मा, कमला जैरु र कुमारी विश्वकर्मा रहेका छन्। साथै दलित सामाजिक अभियन्ता जे. बी. विश्वकर्मालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष राजकुमार खातीले दलित समुदायको अधिकार, शिक्षा, रोजगारी तथा सामाजिक न्यायका मुद्दालाई प्राथमिकतामा राखी समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ, असार १९, राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको तीनदिने फोटोपत्रकारिता तालिम सुरु भएको छ ।
असार १९ देखि २१ गतेसम्म काठमाडौँस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिने भएको छ । तालिममा देशका विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटोपत्रकार, पत्रकार तथा फोटोग्राफी क्षेत्रमा रुचि भएका ६० जनाको सहभागिता रहेको आयोजक सस्थाका संयोजक तथा समूहका महासचिव घनश्याम श्रेष्ठले बताए ।
तालिमको उद्देश्य फोटोपत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नु, समाचार फोटोको गुणस्तर सुधार गर्नु, फोटो क्याप्सन लेखन, फोटो सम्पादन तथा दृश्य कथनसम्बन्धी ज्ञान र सीप विकास गर्नुका साथै फोटोपत्रकारिताको नैतिकता, उत्तरदायित्व र आधुनिक डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी गराउनु रहेको छ ।
तालिममा फोटोपत्रकारिताको परिचय र विकास, समाचार मूल्य र फोटो छनोट, फोटो क्याप्सन लेखन, दृश्य कथन, फोटो सम्पादन, प्रकाश व्यवस्थापन, क्यामरा सेटिङ, ब्रेकिङ न्युज कभरेज, फोटोपत्रकारिताको आचारसंहिता तथा नैतिकता, फिल्ड अभ्यास र फोटो समीक्षालगायत विषयमा प्रशिक्षण प्रदान गरिने छ ।
कार्यक्रममा वरिष्ठ फोटोपत्रकार तथा प्रशिक्षक सुनील सी. वज्राचार्य, राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्त तथा संस्थाका अन्य पदाधिकारीहरूले सहजीकरण गरेका छन् ।
सहभागीहरूले सैद्धान्तिक कक्षासँगै व्यावहारिक अभ्यास, समूह छलफल तथा फिल्ड फोटोग्राफी अभ्यासमा सक्रिय सहभागिता जनाएका छन । तालिमको अन्तिम दिन सहभागीहरूले खिचेका तस्बिरहरूको समीक्षा तथा मूल्याङ्कनसमेत गरिने छ ।
राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले नेपाली फोटोपत्रकारिताको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने बताए ।
आयोजक सस्थाका कार्यक्रम निर्देशक लेखबहादुर श्रेष्ठ सागरका अनुसार तालिमले सहभागीहरूको ज्ञान, सीप तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । संस्थाले आगामी दिनमा अझ व्यापक सहभागितासहित यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
तालिम सम्पन्न गराउन सहयोग पु¥याएकोमा सूचना तथा सञ्चार मन्त्रालय, द ब्रिटिस कलेज, प्रशिक्षक, अतिथि, सहभागी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आयोजक सस्थाले आभार व्यक्त गरेको छ ।
टोखा, भूतखेल | १३ असार २०८३
थामी समुदायको कला, संस्कृति, पहिचान र आपसी सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यसहित राष्ट्रिय थामी कलाकारको आयोजनामा सम्पन्न वृहत् साँस्कृतिक तथा वनभोज कार्यक्रम उत्साहपूर्ण सहभागिता र सांस्कृतिक रौनकतासहित भव्य रूपमा सम्पन्न भएको छ।
टोखा–भूतखेलमा आयोजित कार्यक्रममा थामी समुदायका कलाकार, साहित्यकार, सामाजिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा रमण थामीको सभापतित्व तथा जानकी थामीको सञ्चालन रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ ले संस्कृति समुदायको पहिचान र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले भाषा, कला र पुस्तान्तरणको प्रक्रियालाई जीवन्त बनाउने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी विशिष्ट अतिथि भरत के.सी. ले सांस्कृतिक विविधता नेपालको शक्ति भएको बताउँदै थामी समुदायले आफ्नो मौलिकतालाई संरक्षण र प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
कार्यक्रममा अतिथिका रूपमा कैलाश थामी, नरेन्द्र थामी, किरण थामी, याम थामी, रणबहादुर थामी, होम थामी, गोपाल श्रेष्ठ तथा मातृभाषी लेखक डम्बर थामी ‘अनुपम’ लगायतको उपस्थिति रहेको थियो।
साँस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा विशेष आकर्षण थपेका थिए। रमण थामी, एसास थामी, रामसुन्दर थामी, विवश शक्ति थामी, कमला थामी, बिमला थामी, संगीत थामी, अनिश च्याङ्बा योन्जन, चन्द्र थामी, तिर्थराज थामी, रामकुमार थामी लगायतका कलाकारहरूले गीत, संगीत तथा सांस्कृतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन मात्र नभई समुदायको मौलिक पहिचानसँग जोड्ने प्रयास गरेका थिए।
कार्यक्रम केवल वनभोज वा मनोरञ्जनमा सीमित नभई थामी समुदायको सामाजिक एकता, सांस्कृतिक निरन्तरता र नयाँ पुस्तालाई आफ्नो मौलिक विरासतप्रति जोड्ने साझा अभियानका रूपमा समेत स्थापित भएको सहभागीहरूले बताएका थिए।
कार्यक्रमको समापनसँगै आगामी दिनमा यस्ता सांस्कृतिक जमघटलाई अझ व्यापक र निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।





