
काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका १० चनखुमा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्म जयन्ती उत्साहको साथ मनाएको छ ।

ह्याङ्ला ह्युल सामुदायिक संस्थाको आयोजनामा शान्तिको कामना र आराधना गर्दै बुद्धको जन्म जयन्ती मनाइएको संस्थाको सचीव रमेश योन्जनले जानकारी दिए ।

बुद्धको विभिन्न नारा लगाउँदै पुरै गाउँ परिक्रमा गरेर चनखुमा बुद्ध जयन्ती मनाइएको हो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्याएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइन्छ । कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनी हालको रुपन्देहीको लुम्बिनीमा जन्मिएका थिए।
राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कए। तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उनले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्याए ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
उनको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहकका रुमपा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिएको थियो ।
लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा पनि विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइएको छ ।
इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो ।
इसापूर्व ५२८को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रुख ९बोधिवृक्ष० मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएका ज्ञान हो ।
सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।
यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन ९धर्मदेशना०का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।
विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ । यसप्रति अध्ययन, अनुसन्धान गर्नेको सङ्ख्या पनि बढ्ढो छ ।










काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता र प्रेस स्वतन्त्रता अलग विषय भएको बताएका छन् ।
बिहीबार मोरङमा पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले नागरिकता छानबिन गर्दा प्रेस स्वतन्त्रता हनन नहुने बताएका हुन् ।
कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहिया पक्राउबारे पत्रकारहरूको प्रश्नमा उनले भने, ‘तपाईंरूलाई कस्तो लाग्छ । तपाईंले नक्कली नागरिकता बनाउनु भयो, भएन बेग्लै कुरा होला । तर त्यसबारे छानबिन गर्दा कसरी प्रेस स्वतन्त्रता हनन भयो ? कहाँबाट हनन भयो ? प्रेससँग यसको के सम्बन्ध छ ?’
ओलीले अगाडि भने, ‘कांग्रेसका नेताहरूले प्रेस स्वतन्त्रता हनन भयो, प्रजातन्त्र सिद्धिन लाग्यो, सरकार अधिनायकवादतर्फ गयो भनिरहनु भएको छ । कठैबरा ।’
काठमाडौं : नाबालिकालाई यौन क्रियाकलापमा लगाएको अभियोगमा नुवाकोट ककनी गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१६ बसन्तनगर बस्ने २९ वर्षीया रश्मी लामालाई प्रहरीले पक्राउ गरेको छ ।
लामाले प्रलोभन देखाई विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । साथै प्रहरीले पीडितलाई उद्दार समेत गरेको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताएका छन् ।
बिहीवार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने उनको भनाइ छ ।
ओलीले कांग्रेसले संसद्मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरूद्ध गरिरहेको र एउटा पात्रका विरूद्ध खनिएको भन्दै आपत्ति जनाए ।
कांग्रेस जस्तो पार्टी रवि लामिछानेको विरूद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गरे ।
उनले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको बताए ।
कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रस्ताव गर्ने र पस्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अर्घर्ल्याईं गरेको आरोप लगाए ।
वासिङटन । अमेरिकाको रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उमेदवारको प्रतिस्पर्धामा रहेर पछि बाहिरिएकी निकी हेलीले सन् २०२४ को चुनावमा आफूले डोनाल्ड ट्रम्पलाई मत दिने बताएकी छन् ।
उनी ट्रम्प प्रशासनको पालामा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि रहिसकेकी छन् । उनी पछिल्लोपटक आन्तरिक प्रतिस्पर्धाबाट बाहिरिएपछि ट्रम्पको समर्थन गरेकी थिइनन् । सुरुमा निकीले ट्रम्पलाई अप्ठ्यारो पार्न सक्ने अनुमान गरिएको थियो ।
बुधबार निकीले ट्रम्प राष्ट्रपतिका रूपमा पूर्ण नभए पनि अहिलेका जो बाइडेन विनाशकारी भएको बताएकी छन् ।
बाइडेनले निकी समर्थितलाई आफ्नो साथमा लिने प्रयास गरेका थिए । उनका समर्थक उदारवादी र स्वतन्त्र मतदाता छन् । त्यो भनेको त्यस्तो वर्ग हो, जसले डेमोक्रेटिक पार्टीमा निर्णायक कदम चाल्न सक्छ । बीबीसीबाट
काठमाडौं । सहकारीको रकम अपचलनबारे गठन हुने संसदीय छानबिन समितिको बैठक आज बस्दै छ । बैठकमा कार्यादेश (टीओआर) टुंगो लगाउने तयारी गरिएको गठित समितिका सदस्य जीवन परियारले जानकारी दिए ।
उनका अनुसार दिउँसो बैठक ३ बजे बस्नेछ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई आग्रह गरेको छ ।
सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ । कांग्रेस लामिछानेको नामै तोकेर छानबिन हुनुपर्ने बताउँदै आएको छ ।
दुवै पक्षको अडानका कारण पछिल्लो समय निरन्तर संसद् अवरुद्ध हुँदै आएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिका लागि बोलाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ शान्तिका अग्रदूत गौतम बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन् ।
२५६८ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री प्रचण्डले बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
‘नेपालको पवित्र भूमि लुम्बिनीमा जन्मिएका शान्तिका अग्रदूत गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ। बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्दछ। साथै, सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न आम नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्।
नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसंग प्रेरक र महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ।
‘बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन्। मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उहाँले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय हुन्। आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ,’ सन्देशमा भनेका छन्।
काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रम बिच दुई दिवसीय बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ ।
नेपाल सरकार गृहमन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा मंगलबार उक्त गोष्ठी शुरू भएको थियो ।
गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सबै सुरक्षा निकायहरूले आम नागरिकको सुरक्षा संवेदनशीलता, सामिप्यतालाई प्रभावकारी हुने किसिमको कामहरू गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा राखिएका विषयवस्तु एवम् छलफलहरू लाभदायी भएको चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘गोष्ठीलाई गृह मन्त्रालय र प्रदेश सरकार बिच पुलको रूपमा व्याख्या गर्न चाहन्छु ।’
गृहमन्त्री लामिछानेले निमार्ण भएका वा हुने अल्पकालीन एवं दीर्घकालीन योजनाहरूमा छलफल हुनुपर्ने र सेवा प्रदायक अंगहरूले आम नागरिक एवम् पहुँच नपुगेका समुदायलाई भरोसा दिलाउने किसिमका कार्यहरू गर्नुपर्ने उल्लेख गर्दै विद्यमान केही ऐन कानूनहरू संशोधन तथा थप निर्माण गर्नुपर्नेमा गृह मन्त्रालय संवेदनशील रहेको बताउनुभयो । कार्यसम्पादन सूचकको आधारमा मूल्याङ्कन हुने उल्लेख गर्दै उहाँले अपराध न्यूनीकरणमा प्रहरी साझेदारी एवम् सूचनामूलक कार्यक्रमहरूबाट थप प्रभावकारी बनाउँदै सर्वसाधरण जनताले महशुस हुने गरी चुस्त दुरूस्त एवम् पारदर्शी रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ र बागमती प्रदेशका का.मु. प्रमुख सचिव गोविन्द बहादुर कार्कीले गोष्ठीको महत्व एवम् आवश्यकताबारे आ-आफ्नो विचार व्यक्त गर्दै प्रहरी समायोजन हुनुपर्ने धारणा राख्नुभएको थियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदेशको समग्र हित, दिगो विकास र शान्तिका लागि सम्पूर्ण सरोकारवालाहरू बिचको प्रतिवद्धता प्रवर्द्धन तथा साझेदारहरू बिचको सहकार्य अभिवृद्धिमा गोष्ठी साझा प्लेटफर्मको रूपमा साबित हुने विश्वास व्यक्त गर्नुभयो । शान्ति सुरक्षा राज्यको उच्च प्राथमिकताको क्षेत्र रहेको र यसको अभावमा राज्यको सुशासन एवम् समृद्धितर्फको गति समेत प्रभावित हुने भएकोले यसतर्फ गम्भीर र संवेदनशील रही निर्दिष्ट जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले शान्ति सुरक्षा तथा अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी अझ व्यावसायिक र लगनशील भई थप उर्जाका साथ जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम र योजनाबद्ध प्रहरी परिचालन मार्फत समग्र प्रदेशमा शान्ति सुव्यवस्था बहाल राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले हरदम प्रयासरत रहँदै स्पष्ट जिम्मेवारी बोध र निर्भिकतापूर्वक कानूनको कार्यान्वयन गर्न गराउन प्रदेश तथा मातहत जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।
गोष्ठीमा नेपाली सेनाका रथी अशोकराज सिग्देल, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सह-सचिवहरू नारायण प्रसाद भट्टराई, थानेश्वर गौतम र स्किम श्रेष्ठ तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । साथै बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा बागमती प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल समेत भएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्यसहित गोष्ठी समापन गर्नुभयो । गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, बागमती प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।





