
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेशसभामा विश्वासको मत पाएका छन् । मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।
मतसम्बन्धी प्रस्तावमा भएको मत विभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो । उनको विपक्षीमा ३५ मत खसेको थियो । यस्तै तीन सांसद तटस्थ बसेका थिए ।
बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएको भन्दै घोषणा गरेका थिए । उनी गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
टोकियो । जापानको बेरोजगारी दर पछिल्लो महिनाको २.६ प्रतिशतबाट सामान्य सुधार भई जुन महिनामा २.५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ ।
एक वर्ष अघिको तुलनामा तीन लाख ७० हजारले वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८.२२ मिलियन पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ ।
मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जून महिनामा ३.३ प्रतिशतले घटेर मौसमी वेरोजगारीमा समायोजित हुदाँ १.७६ मिलियनमा पुगेको हो ।
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार मे महिनामा १.२४ रहेको जापानको रोजगार–आवेदक अनुपात जूनमा घटेर १.२३ पुगेर लगातार तेस्रो महिनासम्म भएको यो गिरावटले प्रत्येक सय जना रोजगारी खोज्नेहरूको लागि १ सय २३ रोजगारी उपलब्ध भएको सङ्केत गरेको छ ।
बेल्जियम । कम्तिमा २०६ जनाको ज्यान जाने गरी भएको हिंसापछि युरोपेली सङ्घ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गलबार बङ्गलादेशमा प्रदर्शनकारीहरू विरुद्ध “अत्यधिक’’ बल प्रयोगको निन्दा गर्नुभएको छ ।
यस महिना सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा भएको विद्यार्थीहरूको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । प्रहरी र अस्पतालको तथ्याङ्क अनुसार घटनामा प्रहरी अधिकारीहरूको पनि ज्यान गएकाे थियाे ।
बोरेलले बङ्गलादेशको हिंसाले निम्त्याएको मृत्यु, यातना, सामूहिक गिरफ्तारी र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले अनुसन्धान गर्न र जिम्मेवारलाई न्यायको कठघरामा ल्याउन आह्वान गर्नुभएको छ ।
“कानुन प्रवर्तन अधिकारीहरू प्रदर्शनकारी र अन्य विरुद्ध अत्यधिक र घातक बल प्रयोग गरेको थुप्रै उदाहरणका लागि पूर्ण जवाफदेही हुनुपर्छ”, उहाँले एक विज्ञप्तिमार्फत भन्नुभयो । “हामी यस सङ्कटको समयमा जिम्मेवार अधिकारीको कार्यहरू नजिकबाट पछ्याइरहेका छौँ । ईयू–बङ्गलादेश सम्बन्धको आधारभूत कुरालाई ध्यानमा राख्दै सबै मानव अधिकारको पूर्ण सम्मान हुने अपेक्षा गर्दछौं”, उहाँले बताउनुभयो ।
प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको कार्यकालमा भएको यो सबैभन्दा घातक झडप हो तर उहाँको सरकारले व्यापक विरोधविरुद्ध गिरफ्तारी, सेना परिचालन र राष्ट्रव्यापी इन्टरनेट कटौतीजस्ता विभिन्न तरिका अपनाएर व्यवस्था पुनर्स्थापित गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साता अघि राजीनामा दिने बताएका छन् । उनले सहमति अनुसार दुई वर्ष पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रसकार बनेर स्थिरताको सन्देश दिने बताएका हन् ।
ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने पनि बताए ।
नेपालका सरकारका सचिवहरुलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिरहेको स्मरण गराए ।
“यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,” उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, “असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन । भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन । हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ । अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो । यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ ।”
धनगढी । अस्पताल खोल्ने अनुमति लिएर बनाइएको एउटा दुईतले भवनमा डोज चलाइएको छ । धनगढी उप-महानगरपालिका-७ मनेहरामा लेट मेइन धनगढी प्रालिले घर नक्सा पासविपरीत संरचना बनाएर चर्च चलाएपछि डोजर लगाएर भत्काइएको हो ।
नेपाल लाइफ वर्ल्ड मिसनका नाम अस्पताल खोल्ने भनी चर्च चलाइएको स्थानमा घर नक्सा पासविपरीत निर्माण भएका अवैध संरचना धनगढी उप-महानगरपालिकाले भत्काइदिएको हो।
लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेको भवनका अवैध संरचनाहरू मंगलबार नगरप्रहरी र डोजर परिचालन गरेर तोडिएको हो। घर नक्सा पासविपरीतका संरचना बनाएको पाइएपछि भत्काइएको उमपहानगरपालिकाका मेयर गोपाल हमालले बताएका छन् ।
यसअघि उपमहानगरको वडा नम्बर ७ कार्यालयले सोमबार मात्रै ७ लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेज गरेको थियो।
लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजनसहित व्यवसाय दर्ता गराएको थियो।
नेपाल लाइफ वर्ड मिसनले २०८१ वैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो।
तर ती कम्पनीले लिएको जग्गामा अस्पताल बनाउने भन्दै चर्च चलाइएको थियो । दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हमालले बताए । यसअघि उक्त कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने बताएका छन् ।
प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले वामपन्थीहरूको बीचमा एकता अब एकादेशको कथा भैसकेकोले पुरानै बाटोबाट अघि बढ्न नसक्ने समेत उल्लेख गरे ।
“साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने गरेका छन् । मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएकोले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक छ,” उनले भने ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभाले शैक्षिक सत्र २०८१/८२ को लागि २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ ।
मंगलबारको सभामा त्रिवि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाखको बजेट पेस गरेका हुन् ।
त्रिविले नियमित कार्यक्रमतर्फ चालु र पुँजीगत गरी १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार खर्च हुने जनाएको छ ।
आन्तरिकतर्फ चालु तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा १ अर्ब खर्च हुने जनाएको छ ।
सभाले नियमित कार्यक्रममा हुने कुल खर्चमध्ये आन्तरिक आम्दानीबाट १ अर्ब ५७ करोड ६१ लाख ७० हजार बेहोर्ने र बाँकी १२ अर्ब १४ करोड ३६ लाख विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारसँग अनुदान माग गर्ने जनाएको छ ।
काठमाडौँ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ स्थित चुनदेवीबाट जुवा खेलिरहेको र खेलाएको आरोपमा ९ जना पक्राउ परेका छन् ।
यमकुमारी आलेको घरमा ओखर (जुवा) खेलेको र खेलाएको आरोपमा उनीहरूलाई काठमाडौं प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।
घटनास्थलबाट १० लाख ११ हजार रुपैयाँ नगद र १३ ओटा ओखर बरामद गरिएको प्रहरीले जनाएको छ ।
यीहुन् पक्राउ परेका व्यक्तिहरू ;
१.सिन्धुपाल्चोक घर भई हाल काठमाडौं-०६ जोरपाटी बस्ने ४६ वर्षीय अशोक लामा ।
२. ताप्लेजुङ घर भई हाल टोखा-०५ बस्ने ३८ वर्षीय नारायण लाबुङ ।
३. काठमाडौंको बूढानीलकण्ठ- ०५ देउला टोल घर भएका २१ वर्षीय कविर देउला ।
४. काठमाडौं-१९ बसन्तपुर घर भएका २१ वर्षीय निलेश महर्जन ।
५. काठमाडौं-१९ इनाटोल घर भएका ४५ वर्षीय राजेश श्रेष्ठ |
६. बूढानीलकण्ठ- ०५ देउला टोल घर भएका ३३ वर्षीया सरिता देउला ।
७. काठमाडौं- १५ डल्लु घर भएका ४८ वर्षीय दीपक महर्जन ।
८. काठमाडौं-१३ कालिमाटी घर भएका ४८ वर्षीय विवेक महर्जन ।
९. काठमाडौं-१५ डल्लु घर भएका ५२ वर्षीय प्रकाश शाही ।
नवलपरासी पूर्व : देवचुली नगरपालिका-२ हमालचोकबाट अवैध लागूऔषध गाँजा ७ सय ६९ किलो ३१ ग्राम सहित एनएल ०१ ५५४४ नम्बरको कन्टेनरका चालक चितवन राप्ती नगरपालिका-२ बस्ने २३ वर्षीय मदन लामालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले एनएल ०१ ५५४४ नम्बरको कन्टेनर र सोही कन्टेनरलाई स्कट गर्दै आइरहेको बाग्मती प्रदेश ०१-०२६-च ५१५९ नम्बरको कारलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा सोमबार दिउँसो ट्रकको सामान राख्ने स्थान र क्याबिनको बिच भागमा फल्सबटन बनाई कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई काटी हेर्दा प्लाष्टिकले बेरी राखेको २४ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी कन्टेनरका चालक लामालाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बागलुङ । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि अवलम्बन गरी आलुखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । वर्षौँदेखि परम्परागत रूपमा आलुखेती गर्दै आएका किसानले अहिले नयाँ प्रविधिको प्रयोगबाट उत्पादन गर्न थालेका छन् । ज्ञान केन्द्रले किसानलाई आयआर्जनसँग जोड्न आलुखेतीतर्फ आकिर्षत गर्न थालेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा मात्रै एक सय ३६ हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको छ । ज्ञान केन्द्रले एक सय ५० हेक्टर क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको थियो । बर्खे र हिउँदे गरी दुई याममा आलु उत्पादन हुने जिल्लामा बर्सेनि करोडौँ भित्रिने गरेको छ । ज्ञान केन्द्रले नयाँ क्षेत्र विस्तारका लागि रु दुई करोड ६० लाख लगानी गरेको छ । गण्डकी प्रदेश सरकारले खायन आलुखेतीका लागि रु तीन करोड ६० लाख विनियोजन गरेको थियो । कृषि ज्ञान केन्द्रले ६८ कृषि समूह तथा कृषि सहकारीमार्फत एक सय ५० हेक्टर नयाँ क्षेत्रमा आलुखेती विस्तार गरेको हो ।
जिल्लाको निसीखोला, ढोरपाटन, तमानखाला, ताराखोला, काठेखोलालगायत क्षेत्रमा बढी आलु उत्पादन हुने गरेकामा पछिल्लो समय तल्लो क्षेत्रका किसानले पनि आलुखेतीतर्फ चासो दिन थालेका छन् । आलुखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादन पनि बढेको हो । अघिल्लो वर्ष रु एक अर्ब ३४ करोड बराबारको आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष तीन हजार छ सय ५५ हेक्टर क्षेत्रमा आलुखेती भएकामा यस वर्ष बढेर तीन हजार सात सय ८० हेक्टर पुगेको छ ।
जिल्लामा प्रतिहेक्टर १६ दशमलव पाँच टन आलु उत्पादन हुने उहाँले बताउनुभयो । गत वर्ष ५९ हजार छ सय ५० टन उत्पादन भएको थियो । उहाँका अनुसार हिउँदे आलु प्रतिकिलो रु ४० र बर्खे आलु प्रतिकिलो रु ५० मा बिक्री हुने गरेको छ । यस वर्ष बर्खे आलु खन्ने याममा सुरु हुन थालेको प्रमुख सिलवालले बताउनुभयो । आलु फाइदाजनक बाली भएको हुँदा यसबाट किसानले राम्रो आम्दानी गर्न सक्ने भएपछि धेरैको आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।
“आलुबाट राम्रो आम्दानी हुन्छ, पहिले परम्परागत रूपमा आलुखेती गर्दै आउनुभएका किसान अहिले प्रविधिसँग जोडिन थाल्नुभएको छ, उन्नत जातका आलु लगाउन थाल्नुभएको छ, आलुको बजार समस्या छैन, बागलुङमा उत्पादन हुने आलु, पोखरा, बुटवललगायत ठाउँमा पुग्ने गरेका छन्” प्रमुख सिलवालले भन्नुभयो, “यहाँको भूगोल बर्खे आलु उत्पादन हुने ठाउँ हो, हिउँदे आलु पनि राम्रो उत्पादन हुने गरेको छ, यस वर्ष पनि उत्पादन बढ्ने देखिन्छ ।”
काठेखोला गाउँपालिका–३ का किसान ज्ञानबहादुरर छन्त्यालले वर्षौँदेखि परम्परागत आलुखेती गर्दै आएकामा अहिले नयाँ तरिकाबाट खेती गर्न थालेको बताउनुभयो । कृषि ज्ञान केन्द्र बागलुङले आलुखेतीका लागि उन्नत जातको बीउसमेत अनुदानमा दिएको जनाउँदै गाउँमा आलुखेती राम्रो भएको उहाँले बताउनुभयो । अघिल्ला वर्षहरूमा भन्दा यस वर्ष धेरै किसान आलुखेती गर्नतर्फ लागेका छन् ।





