
काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले कार्यदलस्तरको प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।
कार्यदल सदस्य एवं माओवादी केन्द्र उप महासचिव जनार्दन शर्मा अनुसार तयार भएको प्रतिवेदन बुधबार शीर्ष तीन नेतालाई बुझाइने छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बिहान ११ बजे बुझाउने तय भएको छ ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहान ११ बजे तीन नेताले कार्यदलको प्रतिवेदन बुझ्ने तय भएको छ ।
१३ असारमा गठन भएको कार्यदलमा एमालेबाट बर्तौला, कांग्रेसबाट रमेश लेखक र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–६ का ३२ वर्षीय गुनेश कुमार ठाकुर छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।
बसुन्धारामा रहेको ओम इन्टरनेशनल प्रालिबाट दुबई, कतार, साउदी, मलेसिया र कुवेत पठाउने भन्दै ८५ जनाबाट १ करोड ९७ लाख १७ हजार रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
ठाकुर र रविन्द्र सापकोटा साझेदारी भएर उक्त मेनपावरमार्फत ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका ठाकुरलाई वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।
सुर्खेत । जाजरकोटमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर छ।
खलंगादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा आज दिउँसो साढे २ बजे दुर्घटना भएकाे हो।
दुर्घटनामा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए।
घाइतेहरूकाे जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।
काठमाडौं । तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरुको बाँकी बक्यौता असुल गर्ने सम्बन्धमा विकसित घट्नाक्रमबारे आफ्नो संगठनको ध्यानाकर्षण भएको भन्दै मोर्चाले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
मोर्चाका केन्द्रीय अध्यक्ष डिल्लीमान तामाङ र महासचिव लिलाकुमार घलानद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विद्युत प्राधिकरणको उठ्न बाँकी रकम असुल उपर गर्न पहलकदमी लिइरहेका कार्यकारी निर्देशक घिसिङलाई प्रतिशोधपूर्ण ढंगले कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाएको खण्डा हाम्रो मोर्चा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छ ।’
कार्यकारी निर्देशक घिसिङले मुलुकलाई लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गर्दै विद्युत निर्यातबाट वैदेशिक मुद्रा आर्जन, विद्युत महशुल नतिर्ने उद्योगको झण्डै २२ अर्ब वक्यौता रकम असुलीको लागि चट्टानझैँ उभिएको स्मरण गर्दै मोर्चाले भनेको छ, ‘कार्यकारी निर्देशक घिसिङको ऐतिहासिक योगदालाई अवमूल्यन हुनेगरी कुनै पनि निर्णय नगर्नका लागि हाम्रो मोर्चा सरकारको ध्यानकर्षण गराउन चाहन्छ ।’
साथै मोर्चाले प्राधिकरणको तिर्न बाँकी बक्यौता उद्योगीहरुले नतिरेसम्म विद्युत उपभोग गरिरहेका आम नागरिकले समेत कुनै पनि बक्यौता नतिरीकन आफूहरुको आन्दोलनमा ऐक्वेबद्धता जनाइदिनका लागि अपिल समेत गरेको छ ।

काठमाडौँ । निरन्तरको वर्षाले देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १ धनसारे अन्तर्गत पर्ने चतरा बराह क्षेत्र भित्री सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
त्यस्तै म्याग्दीकाे बेनी नगरपालिका वडा नम्बर ४ घुमाउनेभीर अन्तर्गत बेनी दरबाङ, रघुगङ्गा गाउँपालिका वडा नम्बर २ उपल्लो बैशरी अन्तर्गत बेनी जोमसोम र बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर १० डब्ल्याड अन्तर्गत कालीगण्डकी सडक खण्ड पनि पहिरोले पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौको कीर्तिपुरमा पहिरो जाँदा हेटौँडा–चोभार सडक खण्ड अवरुद्ध भएको छ । कान्ति लोकपथ सडक पनि अवरुद्ध छ । बाढी पहिरो र अरू विभिन्न कारण ३ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध छन् भने १ सय ९४ वटा एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।
मनसुनको बेला अन्य ठाउँमा पनि राजमार्ग अवरुद्ध हुने भएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
काठमाडौँ । गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ ।
सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छभने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ । रामशाहपथस्थित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राही प्रवेश गर्न नमिल्नेगरी पानी जमेको छ । पानी जमेपछि कार्यालयले पानी तान्ने मोटर प्रयोग गरी धमाधम निकास सहज बनाइरहेको छ । अविरल वर्षाले कामकाजी कर्मचारी र सर्वसाधारण बढी मर्कामा परेका हुन् ।
वर्षाले उपत्यकाको ‘ट्राफिक’ पनि अस्तव्यस्त बनेको थियो । कार्यालय समयमा सवारीसाधन एक घण्टासम्म लामो जाममा परेका थिए । लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौँका अधिकांश सडकमा ट्राफिक जाम भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
उनका अनुसार अहिले वर्षा रोकिएसँगै जनजीवन सामान्य बन्दै गएको छ । सवारीसाधनको जाम पनि हटेको छ । विशेषगरी करिडोरका सडकमा पानी जमेको, भद्रकाली, पुतलीसडक, पद्मोदय, माइतीघर र कुपण्डोल क्षेत्रको सडकमा पानी जमेकाले सवारी आवागमनमा अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
लगातारको झरीले काठमाडौँका विभिन्न स्थानका सडक जलमग्न भए पनि सर्वसाधरण र सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको थियो । विशेषगरी काठमाडौँको कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँ वानेश्वर, तीनकुने कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ ।
वर्षाले सडक र चोकमा सर्वसाधारणको भीड देखिन्थ्यो भने दुईपाङ्ग्रे सवारीसाधनका यात्रु बढी मर्कामा परेका छन् । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेकाले आज र भोलि मनसुन सक्रिय भई भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशााले जनाएको छ ।
अहिले देशभर साधारणतया बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मौसम बुलेटिनमा उल्लेख गरेको छ ।
इरान । इरानले तेहरानमा हमास नेता इस्माइल हनियाहको हत्यामा संलग्न आक्रमणकारीविरुद्ध निर्णायक कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार इजरायलले कायरपूर्ण आक्रमण गरेको आरोप लगाउँदै इरानले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानीले राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहणका लागि इरानमा रहेका हानियाहको हत्या अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताउनुभयो ।
इरानले आफ्नो अन्तर्निहित अधिकार र अन्तर्राष्ट्रिय कानुन सिद्धान्तहरूमा आधारित आक्रमणकारीलाई सजाय दिन शक्ति र निर्णायकसँग गम्भीर र प्रतिरोधात्मक कदम चाल्ने बताएको छ ।
हत्याले यस क्षेत्रमा तनाव बढाएको छ । इरानले आफूले द्वन्द्व नचाहेको जिद्दी गरे पनि आफ्नो क्षेत्र वा नागरिकमाथि हुने आक्रमणलाई नसहने स्पष्ट पारेको छ ।
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्तिलोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ ।
भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ । बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एकजना मोटरसाइकल चालक घाइते भएका छन् ।
बागलुङ । बडिगाड गाउँपालिका- ९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एक जनाको मृत्यु भएको छ।
भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।
बडिगाड गाउँपालिका- १० दर्लिङमा तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।
ती घरमा मानिस भए नभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्णबहादुर केसीले बताए ।
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा २ हजार ३ सय रुपैयाँले घटेको जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ७ सय र तेजाबी सुन १ लाख ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपियाँले घटेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





