
काठमाडौँ । सांसदहरूले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्नुहुँदै सांसदहरूले यस्तो बताएका हुन् ।
बैठकमा रणकुमारी बलामपाखी मगरले विद्यालयस्तरमा मातृ भाषा अध्ययनको लागि छुट्टै शिक्षकको व्यवस्था गर्ने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिइन्। विद्यालयमा अध्यापन गराउने शिक्षक राजनीतिमा संलग्न हुन नपाउने तर आस्था भने राख्न पाउने उनको भनाइ छ । सांसद मनिष झाले विद्यालयमा प्राध्यापक, उपप्राध्यापक नियुक्ति, सञ्चालक समिति वा अन्य कुनै पनि नियुक्तिमा राजनीतिकरण गर्न नहुने भन्दै संशोधन प्रस्तुत गरिन ।
सांसद सुनिता बरालले विद्यालय सञ्चालक समिति समावेशी बनाउनुपर्ने धारणा राखिन । संशोधनकर्ता सांसदहरूले विद्यालयको भौतिक संरचना र पाठ्यक्रम अपाङ्गतामैत्री हुनुपर्ने विषयलाई ऐनमै समावेश गर्नुपर्ने, विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग अनावश्यक शुल्क उठाइरहेका र तोकिएकै स्थानमा आवश्यक सामाग्री किन्न बाध्य पर्ने गरिएकाले विद्यालय पोसाक, पुस्तक र कपी अभिभावक आफैँले खरिद गर्न पाउनुपर्ने व्यवस्थालाई विधेयकमै उल्लेख गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
यसैगरी विद्यालयको स्थापना र सञ्चालन, पाठ्यक्रम तथा पाठ्यसामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारी नियुक्ति, पदीय आचरण, सरुवा, कारबाही तथा अवकाशका विषयमा एकरूपता ल्याउनका लागि पनि विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षा परीक्षा प्रणाली, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को पाठ्यक्रम र समग्र संरचनालाई परिमार्जन तथा पुनः संरचना गर्ने तयारी भइरहेको जानकारी दिइन् । उहाँले बङ्गलादेशमा अध्ययनको सिलसिलामा रहेका करिब १४ सय ७८ जना विद्यार्थी सुरक्षित रहेको समिति समक्ष जानकारी दिइन् ।
काठमाडौं । नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतसँग पराजित भएको छ ।
फाइनलमा नेपाललाई नेपाललाई ३–२ सेटले पराजित गर्दै भारत काभा महिला भलिबल नेसन्स लिगको च्याम्पियन बन्यो । रोमाञ्चक भएको खेल पाँचौँ सेटमा पुगेको थियो । पाँचौँ सेटमा नेपालले कमजोर प्रदर्शन गर्दा भारतले त्यसको फाइदा उठाउँदै घरेलु मैदानमा नेपालाई स्तब्ध बनायो ।
नेपालले पहिलो सेट २५–२३ जितेको थियो । पहिलो सेटमा नेपालले २०–२३ ले पछि परेको अवस्था उल्टाउँदै लगातार पाँच अंक ल्याएको जितेको थियो ।
दोस्रो सेटमा नेपाल २५–१४ ले पराजित हुँदा खेल १–१ को अवस्थामा आयो । तेस्रो खेलमा नेपाल खेलमा फर्कियो । नेपालले २५–२२ ले जितेर २–१ को अग्रता लियो ।
तर चौथो खेलमा भारतले पुनरागमन ग¥यो । २५–२१ ले भारतले सेट जितेपछि खेल पाँचौ सेटमा पुग्यो । पाँचौं सेटमा नेपाल १५–५ ले हार्यो ।
काठमाडौँ । मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को बिन्दुमा कायम भएको हो ।
आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय ३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर दुई लाख १२ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड नौ लाख १८ हजार छ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै अन्य समूहको उपसूचक सात दशमलव ८९ प्रतिशतले बढेको छ । बैंकिङ दुई दशमलव ३२, विकास बैंक चार दशमलव ५१, वित्त सात दशमलव ६३, होटल तथा पर्यटन पाँच दशमलव १३, जलविद्युत् पाँच दशमलव ७२, लगानी तीन दशमलव ८९ र जीवन बीमा तीन दशमलव ९७ प्रतिशतले बढेको छ ।
त्यस्तै उत्पादन तथा प्रशोधन तीन दशमलव ५३, लघुवित्त दुई दशमलव १७, म्युचुअल फन्ड एक दशमलव ०१, निर्जीवन बीमा तीन दशमलव ०८ र व्यापार समूह पाँच दशमलव ५३ प्रतिशतले बढेको छ । आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दुई सय ३९ कम्पनीको शेयर मूल्य बढ्दा तीन वटा कम्पनीको मात्रै घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स्याेरेन्स लिमिटेडको एक अर्ब ५३ करोड ५३ लाख ६० हजार चार सय ७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ ।
काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।
बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु दुःखद् भएको बताए ।
काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले विस्तृत शान्ति सम्झौताको मर्म, सर्वाेच्च अदालतका आदेश, अन्तर्राष्ट्रिय अभ्यास र पीडितका विषयलाई केन्द्रमा राखेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढ्ने प्रक्रियामा रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल र युनियनबीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्ष प्रवेशको स्मरण गर्दै नेपाल सन् २०२६ सम्ममा विकासशील र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले यसमा विकास साझेदारको सहयोग अपेक्षित भएको बताए । लोकतन्त्र र मानव अधिकारको प्रत्याभूतिका प्रति नेपाल पूर्ण प्रतिबद्ध रही गरिबी निवारण र आर्थिक सामाजिक विकासमा क्रियाशील रहने ओलीले बताए । राजदूत लोरेञ्जोले सरकारका प्राथमिकता र लक्ष्य सफलतामा पुगोस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरिन ।
काठमाडौं। वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी ८५ जना पीडितहरूबाट १ करोड ९७ लाख १७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने सिराहा कर्जन्हा नगरपालिका-६ बस्ने ३२ वर्षीय गुनेश कुमार ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
गुनेशले काठमाडौं बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशहरूमा पठाइदिन्छु भनी पीडितहरूबाट उक्त रकम लिई सम्पर्क विहीन भएको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर इमाडोलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
ढाका । बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विद्यार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गर्नुभएको छ ।
एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोष जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उहाँहरू जिम्मेवार रहेको र उहाँहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा जोड दिनुभयो ।
बङ्गलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गर्नुभएको छ भने आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीको रिहाइको माग गर्नुभएको छ ।
बङ्गलादेशमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दैै विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको विरोध प्रदर्शन निवर्तमान सरकारको अतिवादी रबैयाका कारण अन्ततः सरकारविरोधी प्रदर्शनको रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टरमा चढी भारततर्फ जान बाध्य बन्नुभएको थियो ।
यसैबीच राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि संसद् विघटन गरी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न निर्देशन दिनुभएको छ । रासस/एएनआई
चितवन । पहिरोले पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–मलेखु-काठमाडौं सडकखण्ड पहिरो हटाएपछि खुलेको छ।
बुधबार बिहान झरेको पहिरोले अवरुद्ध सडक करिब ५ घण्टा लगाएर पहिरो पन्छाइसकेपछि खुलेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
उक्त पहिरो सडक विभागको डोजर र लोडरको प्रयोग गरेर पन्छाउन ५ घण्टासम्म लागेको हो । त्यसक्रममा दुवैतर्फ कयौँ किलोमिटरसम्म सवारीको जाम भएको थियो ।
पहिरो खसेको झण्डै ५ घण्टापछि डोजरले हटाएर मुग्लिङ-काठमाडौं सडक एकतर्फी खुले पनि जाम अझै कम भएको छैन । नारायणगढ–मुग्लिन तथा मुग्लिङ–पोखरा सडक नियमित रूपमा सञ्चालनमा छ ।
काठमाडौं । न्यूरोडबाट चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जनकपुर घर भएका ३८ वर्षीय दीपक खड्का र मकवानपुर घर भएका २७ वर्षीय निरज बिक छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त मालिगाउँको टोलीले उनीहरुलाई न्यूरोडबाट मंगलार दिउँसो पक्राउ गरेको हो ।
उनीहरुले सोमबार दिउँसो साढे ३ बजेतिर गुल्मीको रेसुङ्गा नगरपालिका–१० घर भइ काठमाडौं–१ ज्ञानेश्वर भैरवमार्ग बस्ने राजु नेपालीको डेरा कोठाको ताला फुटाई गरगहना तथा नगद चोरी गरेको आरोप छ ।
उनीहरुबाट सुनका औठी ३ थान, सिक्रि १ थान, टप, ब्रासलेट, तिलहरी, पाउजुलगायतका गरगहना बरामद भएको प्रहरीले जनाएको छ । चोरी गर्दा लगाएको कपडा, जुत्ता पनि बरामद हुनुका साथै स्कुटर पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।





