
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत आदेश दिएको हो ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई सदस्यहरू कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर उनीहरूको स्थानमा महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्त गरेको थियो । मन्त्रालयले साउन १८ गते उनीहरूलाई पदबाट हटाएको थियो ।
सरकारले प्राधिकरणको सञ्चालक समितिबाट हटाइएपछि आचार्य र पुन सर्वोच्च पुगेका थिए ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका ६ तीनचुली बौद्धबाट मोटरसाइकल चोरीमा संलग्न एकजनालाई विहिबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
जोरपाटी बस्ने ओखलढुङ्गाको सुनकोशी गाउँपालिका ४ डाँडाजेरुका २२ वर्षीय आकाश राईलाई बागमती प्रदेशप्रदेश-०२-०३० प ८२ ७३ नम्बरको मोटरसाइकल
सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौंको धुम्बाराही स्थित जोरकुवाबाट बागमती प्रदेश ०२-०२९ प ९०२१ नम्बरको मोटरसाइकल हराएको भनी कपन बस्ने सिन्धुपाल्चोकका अनिल
दङ्गालले खोजतलासका लागि २०७९ सालको साउन १९ गते निवेदनका दिएका थिए । सोही आधारमा खोजतलास गर्ने क्रममा राईलाई उक्त
मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
मोरङ : उपचारको क्रममा अस्पतालबाट फरार भएका कैदी बिराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय मोहमद अहमदलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई जहदा गाउँपालिका-१ तारेगाबाट पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई अहमद जिल्ला कार्यागार मोरङमा २०७९ फागुन २९ गतेबाट कैद भुक्तान गरिरहेका थिए । पेट दुख्ने बिरामी भई गत साउन १५ गतेबाट कोशी अस्पताल बिराटनगरमा उपचार गराई रहेका उनी साउन १७ गते बिहान शौचालय जाने क्रममा भागी फरार भएका थिए ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६८ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा २ सय १ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १० जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५० जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६९ वटा घर, १ सय २ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ६४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ९२ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।
काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास गरेको छ ।

समितिको बिहिबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो । बैठकमा सहमति जुट्न नसकेको विषयमा तीन दलीय कार्यदलले जुटाएको सहमतिअनुसार कानुन समितिले प्रस्ताव पेश गरेको थियो ।
प्रस्तावमाथि छलफपछि सभापति विमला सुवेदीले विधेयक सर्वसम्मत पास भएको घोषणा गरिन् । साथै उनले प्रतिनिधि सभाको अब बस्ने बैठकमा प्रतिवेदन पेश गर्ने वातावरण बनाउन सभामुखलाई पत्र लेखेर आग्रह गरिने जानकारी दिइन् ।
संसदको बैठक २९ साउनलाई तोकिएको छ ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताए ।
उनले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गरे । यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लामा भएको हेलिकप्टर दुर्घनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।
शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एयर डाइनेष्टि हेली सर्भिस प्रालिको ९एन–एजेडी कल साइन रहेको हेलिकप्टर दुर्घटना भएको थियो । सो दुर्घनाको जाँच गरी काम सुरु गरेको मितिले ३० दिनभित्र सिफारिससहितको प्रतिवेदन पेस गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवाष थापाको संयोजकत्वमा तीन सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय रहेको प्रवक्ता गुरुङले बताए । यसरी पटकपटक हवाई दुर्घटना हुनु भनेको हाम्रो आकाश सुरक्षित छैन भन्ने सङ्केत गरेको उनको भनाइ छ ।
हेलिकप्टर दुर्घटनामा परेका नेपालीसहित चिनियाँ नागरिकप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले समवेदना प्रकट गरे । “अहिलेसम्म दुर्घटना हुने छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भयो”, उनले भने, “अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको छ ।” सरकारको नीति वा व्यवस्थापन वा प्रविधि वा आकाश केमा समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उनले जानकारी दिए ।
ढाका – बंगलादेशमा अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुस कार्यभार सम्हाल्न बिहीबार ढाका पुगेका छन् ।
उनी ढाका एयरपोर्टमा जहाजबाट उत्रिएका छन् । बंगलादेश पुग्नेबित्तिकै उनले अब देशमा कयौँ काम गर्नुपर्ने बताएका छन् । उनले बीबीसीसँगको कुराकानीका क्रममा बंगलादेशका जनता उत्साहित रहेको पनि बताए ।
प्राध्यापक युनुसलाई अन्तरिम सरकारको मुख्य सल्लाहकारका रुपमा सम्बोधित गरिने छ । उनलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिन, सैन्य अधिकारी र विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व सुम्पिने निर्णय गरेका हुन्।
बंगलादेशी विद्यार्थीहरूले सैन्य नेतृत्वको सरकार नस्वीकार्ने बताएका थिए। तर विद्यार्थीहरूले युनुसको नेतृत्वमा बन्ने सरकार स्वीकार्ने बताएका थिए । मोहम्मद युनुसले पत्रकारसँगको कुराकानीका क्रममा आफूलाई बंगलादेशले दोस्रो पटक स्वतन्त्रता पाए जस्तै महसुस भएको बताए ।
मोहम्मद युनुसले बंगलादेशमा कानुन व्यवस्था बहाली गर्न अपील पनि गरेका छन् । उनले पछिल्ला केही दिनयता देशमा उथल-पुथलको माहोल देखिएको भन्दै अब सम्हाल्ने बेला आएको बताए ।
गत जुनदेखि सुरू भएको आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म करिब साढे ३ सय जना मारिएका छन् । अर्कातिर बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पनि राजीनामा दिएर देशबाट भाग्नुपरेको छ । अहिले उनी भारतको शरणमा छिन् ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल पदमा कार्यरत सुधिर कुमार चतुर्वेदीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २०६६ कात्तिक ९ गतेदेखि लागू हुने गरी क्लर्क (लेखा), तह–३ मा स्थायी नियुक्ति लिइ सहायक लेखापाल, तह–४ मा बढुवा भएका थिए ।
निजले बिहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाइस्कुल) तहको द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धाङ्क पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा. सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (बिहार) बाट जारी आचरण प्रमाण–पत्र र विद्यालय परित्याग समेतको झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरेको आयोगको विज्ञप्त्मिा उल्लेख छ ।
आयोगका अनुसार सो प्रमाणपत्रहरु पेश गरी सो ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निज चतुर्वेदीविरुद्ध भ्रष्टाचारनिवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा बिहीबार आरोपपत्र दायर भएको छ ।
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अङ्कले उकालो लागेर चार सय ८३ दशमलव ६८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।
नेप्सेका अनुसार, पाँच करोड नौ लाख ४६ हजार आठ सय ३२ कित्ता शेयर २० अर्ब सात करोड चार लाख ३४ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सका अनुसार विभिन्न छ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर,सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन् ।
यस्तै, एनआरएन इन्फास्ट्रक्चर आठ दशमलव शून्य चार,सानिमा बैंकको ऋणपत्र सात दशमलव ६९, आरम्भ चौतारी लघुवित्त चार दशमलव ९३, रुरु जलविद्युत् परियोजना चार दशमलव ८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले चार दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।
काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो । हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ । चिनियाँ नागरिकको शव परीक्षणका लागि यहाँस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको व्यवस्थापक पण्डितले जानकारी दिनुभयो ।





