
नवलपुर । पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. ३ मानचोकका सुरज विकका छोरा १३ वर्षीय शिशिरको साथीहरूसँग पौडी खेल्ने क्रममा स्थानीय हसौरा खोलामा डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कावासोतीस्थित चिलाहा पुच्छरमा रहेको हसौरा खोलामा अन्य दुई जना साथीसहित पौडी खेल्न गएका थिए । खोलामा डुबेर बेपत्ता भएका उनलाई प्रहरीले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय वनलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
तनहुँ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रमा करिब आठ करोड विद्युत बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा केन्द्रमा सात करोड ९७ लाख ७६ हजार एक सय एक बक्यौता रहेको हो । सबैभन्दा बढी अन्य, कालोसूचीतर्फका ग्राहकबाट तीन करोड ९७ लाख ६६ हजार छ सय ६० बक्यौता उठाउन बाँकी रहेको केन्द्रका प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गार्हस्थ्यतर्फ एक करोड ६७ लाख ८३ हजार नौ सय ५९, गैरव्यापारिकतर्फ ४० लाख ८४ हजार नौ सय, औद्योगिकतर्फ एक करोड २४ लाख ४४ हजार दुई सय ४२, सडक बत्तीतर्फ एक करोड १४ लाख ६७ हजार तीन सय १७, खानेपानीतर्फ ८९ हजार पाँच सय ९२, चार्जिङ स्टेसनतर्फ ४५ हजार दुई सय चार सय ९९, सिचाइँतर्फ ३६ हजार सात सय चार, मन्दिरतर्फ ४१ हजार पाँच सय ९२ बक्यौता बाँकी छ ।
आर्थिक वर्ष २०७९/८० मा आठ करोड ५५ लाख ६० हजार चार सय बक्यौता बाँकी थियो । त्यसमध्ये ५७ लाख ८४ हजार दुई सय ९८ बक्यौता उठेको रेग्मीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा विद्युतका ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । आर्थिक वर्ष २०७९/८० सम्म ५० हजार तीन सय ७२ ग्राहक रहेकामा गत आवमा एक हजार तीन सय ४५ ग्राहक थपिएका हुन् ।
केन्द्रका प्रमुख रेग्मीका अनुसार गार्हस्थ्यतर्फ एक हजार दुई सय २५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ दुई, सिचाइँतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ २४, मन्दिरतर्फ आठ र अन्यतर्फ १२ ग्राहक थपिएका छन् । हाल गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ पाँच सय ४६, व्यापारिकतर्फ तीन सय ४०, औद्योगिकतर्फ सात सय ७६, सिचाइँतर्फ तीन सय ५६, खानेपानीतर्फ एक सय ८८, चार्जिङ स्टेसनतर्फ दुई, सडकबत्तीतर्फ एक सय ६९, मन्दिरतर्फ दुई सय तीन र अन्यतर्फ एक सय सात ग्राहक रहेका केन्द्रले जनाएको छ ।
केन्द्रले गत आवमा पाँच करोड ४० लाख ५९ हजार दुई सय १२ युनिट विद्युत् बिक्री गरेको छ । आव २०७९/८० मा पाँच करोड दश लाख ३२ हजार चार सय ८९ युनिट विद्युत बिक्री भएको थियो । ग्राहक सङ्ख्या बढेसँगै विद्युत बिक्री बढेको रेग्मीको भनाइ छ ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्कीपक्स सङ्क्रमणको जोखिममा नेपाल रहेको जनाएको छ ।
मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा द्रुत रूपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । “नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मङ्कीपक्स सङ्क्रमण देखिएकाले पनि नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिम नरहेको भन्न सकिँदैन”, उनले भने ।
उहाँले मङ्कीपक्सको पूर्वतयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको बताए । मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए।
उनका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ । केही दिनयता अफ्रिकी मुलुक कङ्गोमा मङ्कीपक्स भाइरसका घातक प्रजाति ‘क्लेड १ बि’ फैलिरहेको छ । मन्त्रालयका अनुसार जनवरी यता मात्र उक्त भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि मङ्कीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपत्कालिक घोषणा गरेको छ ।
सर्ने तरिका
मङ्कीपक्स सङ्क्रमित भएको व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा, मानिसको घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरमा निस्किएको तरल पदार्थ थुक, र्यालको सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा लोखर्केलगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ ।
लक्षण
मङ्कीपक्स सङ्क्रमण भएमा ज्वरो आउने, सामान्यतया ज्वरो आएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतलामा डाबर देखापर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थिहरू बढ्ने गर्दछन् । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्यु हुन सक्दछ ।
मन्त्रालयको पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भएता पनि नागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मङ्कीपक्स सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न सम्भव हुने जनाइएको छ ।
काठमाडौँ । समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्ने सचिवालय सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए ।
मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिने श्रेष्ठले बताए । यसअघि आइतबार बस्ने भनिएको बैठक संयोजक खड्गबहादुर विश्वकर्मा बिरामी भएकाले स्थगित भएको थियो ।
साउन १ गते बसेको मोर्चाको बैठकले १५ दिनमा राजनीतिक दस्तावेज बुझाउन निर्देशन दिएको थियो । तर एक महिना पुरा भइसक्दा समेत दस्तावेजले पूर्णता पाएको छैन ।
काठमाडौं । भारतको पाँचदिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले सोमबार त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्दै छिन् । परराष्ट्रमन्त्री राणा आइतबार (हिजो) नयाँ दिल्ली पुगेकी हुन् ।
आइतबार साँझ उनी नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर त्यहाँको जानकारी लिएकी थिइन् ।
परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गर्दै छिन् । राणा र जयशंकरबीच हुने द्विपक्षीय भेटवार्तामा नेपाल–भारत सम्बन्धका सबै आयाममाथि छलफल हुने नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।





