
काठमाडौं । ज्ञानोदय बाल वाटिका माविको आयोजनामा ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोयगितामा ब्वाइजतर्फ १७ तथा गल्र्समा १५ गरी ३२ टिमको सहभागिता रहने कार्यक्रम संयोजक भानु एले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
ज्ञानोदयको स्वर्ण महोत्सवका अवसरमा विशेष संस्करणका रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले बताइन् ।
उद्घाटनका अवसरमा ज्ञानोदयका पूर्व खेलाडी तथा बास्केटबलमा नेतृत्व गर्दै महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान पनि गरिने छ । १२ दिने प्रतियोगिताका खेलहरु ललितपुरको खोकनास्थित आयोजकको इन्डोर हलमा हुनेछ । सन् १९९४ देखि सुरु भएको ज्ञान कार्निभल बास्केटबल विद्यालय बास्केटबलको पुरानो प्रतियोगिता मध्येको एक हो ।
काठमाडौं । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । आगामी भदौ २८ गते हुने अवार्डका लागि क्रिकेटका गुल्सन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमति बिष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठ पिपल्स च्वाइसको मनोनयनमा परेका हुन् । खेलक्षेत्रमा पाएको सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गर्ने गरिन्छ । शुक्रबार पत्रकार सम्मेलनमा प्रीति र गुल्सन भने उपस्थित थिएनन् ।
प्रीति एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको प्रतिस्पर्धाका लागि उनको क्लब एपिएफसँग मलेसिया पुगेकी छन् । गुल्सन भने भारतमा नेपाली क्रिकेट टोलीको प्रशिक्षणमा छन् । पत्रकार सम्मेलनमा पाँच खेलाडीमध्ये तीनले यो अवार्डको मनोनयनमा पर्नु नै गौरवको क्षण रहेको प्रतिक्रिया दिँदै आ–आफ्ना खेल संघ र टिमको साथले यहाँ आइपुगेको धारणा राखे । रग्बी खेलाडीका श्रीरामले १० वर्ष राष्ट्रिय टोलीबाट खेलेपछि यो सफलता पाएको उल्लेख गर्दै मनोनयनमा आफू एक्लै नभइ नेपालको रग्बी खेल परेको धारणा राखे ।
पिपल्स च्वाइसको विजेता चयन खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाकोे भोटिङबाट हुनेछ । ५० प्रतिशत मतभार रहने ईसेवाको भोटिङ शुक्रबारदेखि नै सुरु भैसकेको छ । सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमा रहेको खेलाडीका फोटोमा लाइक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेफ सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ ।
शुक्रबार नै मनोनयन सार्वजनिक हुनुअघि मञ्च र भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी ई–सेवासँग सम्झौता नवीकरण भएको थियो । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र ई–सेवाका प्रमुख बजार व्यवस्थापक आशिष गौतमबीच सम्झौता भएको हो । सो अवसरमा गौतमले विगत ६ वर्षदेखि भैरहेको यो सहकार्यप्रति सदैव गौरवपूर्ण रूपमा लिने बताए । ‘हामीले पिपल्स च्वाइस आफ्नो क्यालेन्डरमा नै समावेश गर्न थालिसकेका छौं । राष्ट्रले गर्नुपर्ने काम पत्रकार मञ्चले गर्दै आइरहेको र यसमा हामी पनि सहभागी हुन पाउँदा धेरै खुसी छौं,’उनले भने ।
यस मनोनयनमा पर्ने पाँचै खेलाडीले इसेवा केयर प्रडक्ट पनि पाउने ई–सेवाका प्रमुख बजार व्यवस्थापक गौतमले जानकारी दिए । कमलादास्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने पल्सर स्पोर्ट्स अवार्ड २०८० मा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर गरी कुल ९ विधामा अवार्ड प्रदान गरिँदै छ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुप हो ।
यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई पाँच थान बजाज पल्सर मोटरसाइकल प्रदान गरिँदैछ । पिपल्स च्वाइस अवार्डका विजेताले पल्सरको एनएस ४०० सिरिज प्राप्त गर्नेछन् । यो बजाजको नयाँ बाइक हो । अन्य चार विधाका विजेताले एनएस २०० पाउनेछन् । अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, केल्मी नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) रहेका छन् ।
मनोनयनमा रहेका खेलाडीको सफलता
गुलशन झा (क्रिकेट)
– राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य । देव्रेहाते ब्याटर एवं दाहिने हाते बलर
– नेपाललाई पहिलो पटक एसिया कप क्रिकेटमा पु¥याउँदा यूएईविरुद्ध प्रिमियर कपको फाइनलमा अविजित ६७ रन बनाउनुका साथै १ विकेट लिन सफल
– आईसीसी एसिया ट्वान्टी–२) विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध नेपालबाट सर्वाधिक रन बनाउनेक्रममा २५ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५४ रन बनाउन सफल ।
– १६ वर्षको कलिलो उमेरमै सिनियर राष्ट्रिय टोलीबाट डेब्यू ।
– सर्लाही मलंगवामा जन्मिएका गुलशन नेपाल पुलिस क्लबसँग आवद्ध ।
– ३२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय र २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको ।
– दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा खेल्दाका महत्वपूर्ण सदस्य ।
कविता भट्ट (भलिबल)
– राष्ट्रिय महिला भलिबल टोलीकी नियमित सदस्य
– काभा महिला नेसन्स लिग २०२४, उपविजेता, काभा महिला भलिबल च्यालेन्ज कप २०२३, तेस्रो
– १९ औं एसियाली खेलकुदमा सहभागी
– डडेलधुरामा जन्मेकी कविता नेपाल एपीएफ क्लबस“ग आवद्ध
– एपीएफलाई १६ औं ढोरपाटन डबल लिग भलिबल, २०८० विजेता बनाउन महत्वपूर्ण भूमिका
– चौथो टाइगर कप २०८० विजेता (एपीएफ)
– आठौं आरबीबी–एनभीए कप २०८० उपविजेता (एपीएफ), वेस्ट ब्लकर
– सातौं केएनपी राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता (एपीएफ) वेस्ट सर्भर
मानमति विष्ट (कबड्डी)
– १९औं एसियाली खेलकुदको कांस्य पदक विजेता (रेड र डिफेन्स दुवैमा उत्कृष्ट खेलाडी )
– १३ औं सागमा कबड्डीबाट रजत पदक ।
– १२ औं सागमा एथलेटिक्समा सहभागी ।
– एथलेटिक्सकी पूर्व खेलाडी । छैटौं राष्ट्रिय खेलकुदमा ४०० हर्डल्समा स्वर्ण र ८०० मिटर दौडमामा स्वर्ण, ४ गुणा १०० मिटर रिले र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण ।
– भीमदत्त नगरपालिका–३ कञ्चनपुरमा जन्मेकी मानमति नेपाल पुलिस क्लबसँग आबद्ध
– काठमाडौंमा भएको महिला तथा पुरुष कबड्डी सुपर लिगमा पुलिस क्लब टिम प्रथम । मानमति बेस्ट प्लेयर ।
– राष्ट्रिय महिला कबड्डी प्रतियोगिता राजविराजमा उनको टिम पुलिस च्याम्पियन । मानमति बेस्ट प्लेयर
– एथलेटिक्सकी पूर्व खेलाडी । छैटौं राष्ट्रिय खेलकुदमा ४०० हर्डल्समा स्वर्ण र ८०० मिटर दौडमामा स्वर्ण, ४ गुणा १०० मिटर रिले र ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण ।
प्रीति राई (फुटबल)
– महिला राष्ट्रिय फुटबल टोलीकी महत्वपूर्ण सदस्य । १६ वर्षको उमेरमै राष्ट्रिय टोलीबाट डेब्यु गरेकी खेलाडी ।
– मिडफिल्डमा छिटो छरितो खेल ।
– साउदी अरेबियामा भएको आठौं वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता, प्रीतिको उत्कृष्ट प्रदर्शन ।
– लेवनानविरुद्धको सेमिफाइनलमा निर्णायक गोल ।
– एएफसी वुमन्स च्याम्पियनसिप, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा गोल गर्न सफल खेलाडी
– राष्ट्रिय महिला लिगमा सात गोल गर्न सफल
– यु–१५, यु–१८, यु–२० मा नेपाली टोलीकी कप्तान ।
– सोलुखुम्बुमा जन्मेकी प्रीति एपीएफ क्लबबाट घरेलु फुटबल
श्रीराम श्रेष्ठ (रग्बी)
– नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दाका खेलाडी,
– काभ्रेको बनेपा नालामा जन्मेका श्रीराम राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशलाई च्याम्पियन बनाउँदाका कप्तान
– १९ औं हाङझाउ एसियाली खेलकुद खेल्दाका टिमका मुख्य खेलाडी,
– भारतको चेन्नईमा सन् २०१५ मा भएको ओलम्पिक छनोटमा सहभागी,
– २०१६ मा चेन्नईमा भएको एसियन रग्बी सेभेन्स, २०१७ मा कतारमा भएको एसियन रग्बी सेभेन्स र २०१८ मा सिंगापुरमा भएको एसियन रग्बी सेभेन्सका प्रतिस्पर्धी
– २०२१ मा नेपालले खेलेको पहिलो आधिकारिक रग्बी फिप्टिन्स प्रतियोगिता बंगबन्धु सिरिजका खेलाडी ।
–सन् २०२२ मा भारतमा भएको वल्र्ड रग्वी फिप्टिन्स डिभिजन ३ का कप्तान । नेपालको डिभिजन ३ मा पहिलो पटक प्रवेश गरेको खेल ।
काठमाडौं: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा प्युठान गौमुखी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका-९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ मण्डिखाटार बस्ने ३० वर्षीय ईश्वर प्रसाद ढकाल रहेका छन् ।
पक्राउ पर्नेमध्ये लाल बहादुरले १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र ईश्वर प्रसादले १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लाल बहादुरलाई काठमाडौं नयाँबसपार्कबाट र ईश्वर प्रसादलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादबारे निर्णयमा पुग्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ ।
समिति सचिवालयका अनुसार आगामी आइतबार दिउँसो एक बजे बैठक बोलाइएको छ । उक्त बैठकबाट निर्णय लिन यसअघि समिति सभापति ऋषिकेश पोखरेलसहित समितिका सदस्यहरूले अनौपचारिक छलफल गरेका छन् ।
छलफलका आधारमा ‘विद्युत प्रशारणसँग सम्बन्धित विद्युतको पूर्वाधार लगायतका विषयमा उठेका प्रश्नहरुबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने र यो विषयमा जिम्मेवार अधिकारीलाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिने’ तय भएको छ ।
‘विद्युत महसुल उठाउन बाँकी उद्योगहरुसँग प्रमाणका आधारमा अगाडि बढ्न समेत सरकारलाई सुझाव दिने’ समितिको तयारी छ । प्रारम्भिक विषयहरु तय गरिएको भएता पनि समितिको बैठक बसेरै ठोस निर्णय पुगिने समिति सदस्यहरुले बताएका छन् ।
यसअघि समितिले नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरु र उद्योगीहरुसँग समेत छलफल गरेको थियो । छलफलपछि गत साउन १८ गते सार्वजनिक लेखा समितिले विद्युत प्राधिकरणसँग डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरुमा आपूर्ति गरेको बिजुलीको टीओडी मिटरको डाटा माग गरेको थियो ।
पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा गम्भीर घाइते बनेका १६ उपचारका लागि काठमाडौं पुर्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत दुई पटक गरेर १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।
गा्रैतमका अनुसार दुर्घटनामा चालकसहित ४३ जना परेको र सबैको उद्धार भइसकेको छ । दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने बाँकीको अवस्था पनि अचेतावस्थामा रहेको गौतमको भनाइ छ ।
‘काठमाडौं उपचारका लागि लगिएका विरामीबाहेक १४ जना मृत घोषणा भइसकेको छ भने बाँकी १३ जनाको अवस्था पनि चिन्ताजनक छ,’ सिडिओ गौतमले भने ।
पहिलो पटक १२ र पछिल्लो पटक ४ जना गरी १६ जनालाई थप उपचारका लागि काठमाडौं शिक्षण अस्प्ताल पठाइएको उनले जानकारी दिए ।
गोरखपुरबाट केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोट्र्स होटलमा बसेर काठमाडौं हिँडेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
पर्यटकलाई भैरहवाबाट पोखरा पुर्याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मस्र्याङ्दी नदी किनारमा खसेको हो । यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थाननजिकै मस्र्याङ्दी नदीमा खसेको थियो ।
काठमाडौं: अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ९५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९५ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ४७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १ जना गरी जम्मा २ सय १० जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ४२ वटा घर, १ सय २१ वटा गोठ, ५१ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ९ सय ९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ५ हजार ८ सय ८३ घर परिवार विस्थापित भएका छन् ।





