
काठमाडौँ । नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
आइतबार भएकाे खेलमा नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो । पेनाल्टी सुट आउटमा नेपालका गोलकिपर जियाराथ सेखले दुई पेनाल्टी बचाएका थिए ।
यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।
अब नेपालले फाइनलमा भारत र बंगलादेशको विजेतासँग खेल्ने छ । भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल सोमबार हुँदैछ ।
काठमाडौ । ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आउने भएका छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।
नेपाल भ्रमणमा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालमा रहँदा ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
ओमानका विदेशमन्त्रीले मंगलबार नेपालबाट फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय समिति बैठक मंगलबार बिहान ११ बजे बस्ने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टी कार्यालय चःमतिमा बस्ने बैठकमा समसामयिक पार्टी गतिविधि, राष्ट्रिय भेलाको तयारीबारे छलफल हुनेछ। रास्वपाले असोजको १ र २ गते राष्ट्रिय भेला राख्ने निर्णय गरेको छ। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबारे निर्णय गरेको थियो।
यस्तै बैठकमा अनुशासनात्मक कारबाहीबारे पनि छलफल हुनेछ।
रास्वपाले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई कारबाहीको तयारी गरेको छ। यसअघि उनलाई महामन्त्री र केन्द्रीय सदस्यबाट निलम्बन गरिएकामा अब साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न लागिएको हो। यसअघि बसेको केन्द्रीय समिति बैठकले उनलाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ढकालले त्यसको जवाफ दिइसकेका छन्।
यस्तै मंगलबार बस्ने केन्द्रीय समिति बैठकले स्थानीय छाँया सरकार कार्यविधि तय गर्ने पनि कार्यवाहक प्रवक्ता झाले बताए। बैठकमा विविध प्रस्तावमाथि पनि छलफल हुनेछ।
काठमाडौँ । आइतबार सेयर बजारमा पहिराे गएकाे छ । आज नेप्से परिसूचक ७९.८८ अंक घटेर २८९४ अंकमा झरेको छ ।
आज १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् ।
माइक्रोफाइनान्स १.०८ प्रतिशत बढेको छ भने बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५० प्रतिशतले घटेका छन् ।
यस्तै होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १.७६ प्रतिशत घटे।
आज अपि पावर कम्पनीको कुल ८४ करोडको सेयर किनबेच हुँदा हिमालय रिको ७३ करोड, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५१ करोड, अरुणभ्याली हाइड्रोपावरको ३७ करोड र शिवम् सिमेन्टको ३२ करोडको सर्वाधिक कारोबार भएको छ।
काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रवार अन्तरिम आदेश जारी गरेको हो । यो मुद्दाको किनारा नलाग्दासम्म सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने विषय कार्यान्वयन नगर्न आदेश दिइएको हो ।
यसअघि असार ३० गते न्यायाधीश विनोद शर्माको इजलासले यसबारे कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । असार २८ गते अधिवक्ता रामबहादुर राउतसहित दुई जनाले सर्वोच्चमा रिट दर्ता गरेका थिए । सरकारले सामाजिक सुरक्षा भत्ता लिनलगायत अन्य सेवामा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालयहरूमा भीड लागेको थियो ।
सरकारले साउन १ गतेदेखि लागू हुने गरी पहिलो चरणमा २८ वटा जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र चाहिने निर्णय गरेको थियो । जेठ २५ गतेको याे निर्णय कार्यान्वयन गर्न राष्ट्रिय पञ्जीकरण विभागले सूचना जारी गरेको थियो ।





