
बागमती । वर्षासँगै खसेको पहिराका कारण सोमबार दिउँसोदेखि हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाडाैँ सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
कान्तिलोकपथस्थित मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्डमा पनि वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले चुनाव गरेर पदाधिकारी चयन गर्ने भएको छ। पदाधिकारीको चुनावका लागि एकीकृत समाजवादीले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ।
कार्यतालिकाअनुसार मंगलबार दिँउसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ ।
गत असारमा भएको एकीकृत समाजवादीको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो। तर अझै पनि अन्य पदाधिकारी चयन हुन सकेका छैनन्।
यस्तो छ निर्वाचन कार्यतालिकाः

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी/कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ ।
हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिएका छन् । यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बनेका छन् ।
महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त भएका छन् भने प्रकाश अधिकारी उपमहासचिवमा चुनियाका छन् । मनिषकुमार सुमन पार्टीको प्रवक्ताको जिम्मेवारी पाएको जसपा पार्टी कार्यालयले जनाएको छ । त्यसैगरी, दीपक कार्की र रेखा यादव पनि उपमहासचिव नियुक्त भएका छन् ।
जसपा नेपालको सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा सुरिताकुमारी साह चुनिएका छन् ।
टोकियो । जापानमा यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।
आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रति घण्टाको हुनेछ । जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भारी बर्षाले प्रशान्त तटमा क्षति पुर्याएको छ ।
यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
ललितपुर । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित तिमल्सिना चोकबाट लागु औषध ट्रामाडोल सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी–६ स्थित सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, २९ वर्षीय समित राजबंशी, गोदावरी नगरपालिका–७ बस्ने ३५ वर्षीय पदम लामा र महालक्ष्मी नगरपालिका–९ बस्ने २९ वर्षीय अमुल पोखरेल छन् ।
आइतबार साँझ उनिहरुलाई तिमल्सिना चोक स्थित चियाचु क्याफेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट लागु औषध ट्रामाडोल ७० पत्ता र खुकुरी एक थान बरामद गरेको छ ।





