
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दा विचार नपुर्याए देश सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्ने बताएका छन् ।
संविधान निगरानी समूह र इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्चले सोमबार आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको बताए ।
‘संविधान संशोधन निकै संवेदनशील गम्भीर विषय हो । यो संविधान लामो संघर्ष र ठूलो बलिदानपछि संविधान सभाबाट बनेको हो, जसमा अधिकतम राजनीतिक सहमति बनेको संविधान हो, यसमाथि हामीले अलिकति पनि छेडखान गर्ने ढंगले गयौं भने पान्डोराको बाकस खोलेको जस्तो हुने र देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ’, उनले भने ।
संविधान संशोधनबाट महिला, आदिवासी जनजाति, दलितलगायत पछाडि पारिएका समुदायको अधिकार खोस्न खोजेमा ठूलो राजनीतिक द्वन्द्व हुन सक्ने उनले बताए । ‘यस्तो भयो भने नेपालमा सम्हाल्न सक्ने हुन्छ भन्ने लाग्दैन’, प्रचण्डले भने ।
उनले जिम्मेवारीसाथ संविधान कार्यान्वयन गर्ने र कार्यान्वयनका क्रममा प्रयोगमा नआएका कुरालाई संशोधन गर्न सकिने बताए ।
काठमाडौं : फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चीनको तिब्बतस्थित आम्दो घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्ध फुलबारी बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, भारत बिहार प्रदेश बेङलोरू घर भई हाल काठमाडौं बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, चीनको तिब्बतस्थित ल्हासा घर भई हाल काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने ३० वर्षीय नोर्बु साम्देन, चीनको तिब्बतस्थित सिगाचे घर भई हाल काठमाडौं बौद्ध टुसाल बस्ने २७ वर्षीय दासाङ, चीन Sichuan Province, Shiniu Town घर भई हाल काठमाडौं महानगरपालिका-२७ बस्ने ४५ वर्षीय चिनियाँ नागरिक Wei Chunlin, काठमाडौं महानगरपालिका-६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-४ घर भई हाल काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने ३५ वर्षीय लोप्साङ लामा रहेका छन् ।
काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली फुलबारी मार्गस्थित घरमा सोनम तामाङ समेतले संचालन गरेको गेम जोन लेखिएको सटरमा फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने/ खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेलाउने उपकरण सहित पक्राउ गरेको हो । उनीहरूको साथबाट फिस सुट गेम खेलाउने उपकरण १ थान, नेपाली नगद १२ लाख १ हजार रूपैयाँ, चाइनिज युआन ३ हजार १ सय, अमेरिकन डलर २ हजार र विभिन्न कम्पनीको मोबाइल ७ थान प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
बुटवल । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नागरिक बचाउ अभियान लुम्बिनी प्रदेशले गरेको विरोध प्रदर्शनमा बुटवलको मिलनचोकबाट ७ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डितले बताए ।
प्रदर्शनकारीहरूले राजमार्ग चौराहाबाट मिलनचोक आएर चक्काजाम गर्ने तयारी गरेका थिए । प्रहरीले चक्काजाम गर्नुभन्दा अगाडि नै नियन्त्रण लिएको हो । उनीहरू सबैलाई अहिले इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
प्रसाइलाई आइतबार पक्राउ गरेर हिरासतमा राखेको छ ।
काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ ।
मित्रराष्ट्र ग्रीसको एथेन्समा U.S Drug Enforcement Administration को आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं International Drug Enforcement Conference मा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी हुनु हुनेछ ।
उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ । राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताउनु भयो ।
डेक्सको उद्घाटन गर्नु हुदै सदस्य–सचिव घिसिङले विदेशी खेलाडीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने जानकारी दिनुभयो । क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहजिकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको जानकारी दिनुभयो ।
क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपीएल सञ्चालन गर्दै छ । एनपीएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाईज लिग सन्चालन तथा आयोजना सम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको हो ।
डेक्स उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारश खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेक्समार्फत लिग सम्पन्न गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरि प्रशासकिय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेक्स स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिनुभयो ।
काठमाडौँ । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त शर्माको इजलासले आज जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सहकारी बचत रकम अपचलन प्रकरणमा हिजो काठमाण्डौबाट पक्राउ परेका जोशीलाई लगत्तै कास्की लगिएको थियो । जोशीलाई कास्की प्रहरीको पत्रका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शङ्खमूलबाट पक्राउ गरेको थियो ।
सहकारीको रकम दुरुपयोगसम्बन्धी गठित विशेष संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएसँगै जोशी पक्राउ परेका हुन् ।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै नेता–कार्यकर्ताले पोखराको शहीद चोकमा विरोध प्रदर्शन गरेका छन् ।
लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेका छन् ।
सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो । समिमितले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो ।
सो प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयपछि आइतबार गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक एवम् पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका थिए । उनलाई काठमाडौंमा पक्राउ गरेर आइतबार बेलुकी कास्की पुर्याइएको थियो । जोशीलाई आज अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
जोशी पक्राउ परेपछि अब रवि पनि पक्राउ पर्ने अनुमान रास्वपाका नेता कार्यकर्ताहरुले गरेका छन् ।
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले गए राती ती वटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका छन् ।
प्रसाईंका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेका हुन् ।
४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका थिए । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।
यसैगरि, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टी–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले ट्रकमा आगजनी गरेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
त्यसै गरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अोलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदी बिच यहाँको टोते न्युयोर्क प्यालेसमा भएको साइडलाइन वार्तामा सो आग्रह गरिएको हो ।
सो आग्रहपछि प्रधानमन्त्री मोदीले आफू नेपालको भ्रमण चाँडै गर्ने मनस्थितिमा रहेको धारणा राखेको भेटवार्तामा सहभागी एक अधिकारीले बताए । भेटपछि अमेरिकामा नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा।आरजु राणाले भारतका प्रधानमन्त्री मोदी नेपालको भ्रमण चाँडै गर्ने कुराकानी भएको जानकारी दिइन् ।
प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाट राम्रो भएको बताउँदै नेपाल–भारतको मित्रता धेरै बलियो र त्यसलाई अझै गति दिन चाहेको उल्लेख गरेका छन् । भेटपछि आफ्नो एक्समा प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीसँग ऊर्जा, प्रविधि र व्यापार जस्ता विषयमा केन्द्रित रहेर कुराकानी भएको बताएका छन् ।
तर अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले उठाएका ईपीजी तथा सीमा समस्याका बारेमा त्यहाँ कुनै कुरा राखेनन् । बैठकमा सहभागी एक अधिकारीले भने, ‘यूएनको महासभामा आएका मौकामा भएको साइडलाइन वार्तामा यस्ता इस्युमा कुरा हुँदैन, यी विषयमा कसैले कुरा राखेन । दुई देशको सम्बन्ध, व्यापार तथा कनेक्टिभिटीको बारेमा कुराकानी भएको हो, दुई देशका बिचमा रहेको विभिन्न संयन्त्रणहरुलाई सक्रिय बनाएर अगाडि बढ्ने कुराकानी भएको छ ।’
पाँचौँ पटक प्रधानमन्त्री बनेका ओलीको प्रधानमन्त्री मोदीसँग यो तेस्रो भेटघाट हो । यसअघि दुई पटक प्रधानमन्त्री भएकै बेला भारत भ्रमण गरेर भेटघाट गरेको थियो ।
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय ट्रेल रेसका पदक विजेता मनकुमार रोका मगरलाई आइतबार भेट गरी बधाइ दिएका छन् । त्रिपुरेश्वरस्थित आफ्नै कार्य कक्षमा भेटी सदस्य–सचिव घिसिङले मनलाई सफलताका लागि बधाइ दिदै आगामी यात्राका लागि शुभकामना दिएका हुन् ।
मनले जुलाइ ७ देखि सेप्टेम्बर २१ तारिखको अवधिमा भएको विभिन्न ७ अन्तर्राष्ट्रिय ट्रेल रेसमा सहभागिता जनाउने क्रममा १ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेका थिए । सबै प्रतियोगिता स्विट्जरल्यान्डमा भएको थियो । उनले ६.३ किलोमिटर दूरीको ग्रिम्पेटे डेस बेद्ज्युस अपहिल रेसमा स्वर्ण, १० किलोमिटर दूरीको ओभरनाज कबेन राम्वर्टमा रजत तथा २८ किलोमिटर दूरीको एन्जेरे टुर डेस अल्पेज्स भलेसमा कांस्य जितेका थिए ।
रोल्पाको थवाङ निवासी २१ वर्षीय उनले विभिन्न २२ घरेलु ट्रेल रेसमा सहभागी भइसकेका छन् । त्यसमा उनले मन्जुश्री ट्रेल रेससहित ८ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जितेका छन् ।
दक्षिण कोरियामा हुने ट्रेल रेसमा सहभागिता जनाउने तयारी गरिरहेका मनले आफ्नो गतिमा सुधार गर्न सके ट्रेलबाट रोड रेसमा ध्यान दिने योजना रहेको बताए ।





