
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल क्रिकेट संघ (क्यान) लाई घरेलु प्रतियोगिताका संरचनालाई बलियो बनाउनु पर्ने सुझाव दिएका छन् । क्यानको शुक्रबारदेखि पोखरामा सुरु भएको साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘युवा तथा उमेर समुहका खेलाडीहरुको उत्पादनमा क्यानले विशेष ध्यान दिने छ भन्ने विश्वास छ । उमेरसमूहका कार्यक्रम लक्षित गरी नेपालले १० वर्षको अन्तरालमा होइन, हरेक विश्वकप नेपालको उपस्थिति हुने वातावरण बनाउन आवश्यक छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘यस्ता खेलाडी उत्पादन गर्नुस् जसले अहिलेका स्टार खेलाडीहरुलाई समेत झस्काउन सकुन् । घरेलु क्रिकेटको संरचना उत्कृष्ट खेलाडी उत्पादनमा समेत निर्भर हुने भएकाले यसमा जोड दिनु पर्छ । क्रिकेट खेलको विकासका लागि साधारण सभाले महत्वपूर्ण बाटो तय गर्ने विश्वास छ ।’
सदस्य–सचिव घिसिङले नेपाली क्रिकेटको विकासका लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गरेको स्मरण गर्दै भने – ‘जिल्ला संघ विस्तारमा सघाएका छौं । विश्वकप क्रिकेटको तयारीका लागि बजेट विनियोजन गरेका थियौं । राष्ट्रिय गौरवका रुपमा क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्दै सो कार्यलाई घनीभुत रुपमा अगाडि बढाएका छौं ।’
काठमाडौं । नयाँ बसपार्कमा आज “चाड पर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियान २०८१” को सुरुवात भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले अभियानको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन पश्चात कार्यक्रममा बोल्दै प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गरेर सुरक्षित पर्व मनाउन सकिने कुरामा जोड दिनु भयो ।
अभियान अन्तर्गत यात्रु सहायता कक्ष संचालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दुरीका चालकहरुलाई सम्मान कार्यक्रम र No Voilation No Penalty लेखिएका स्टिकर टासेर कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कानुन विपरीत कार्य गर्ने सबैलाई निर्ममता पुर्वक कारवाही गरिने बताउनु भयो ।
कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई थान
मोटरसाईकल हस्तान्तरण गर्नु भयो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले चाड पर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरीएको र यात्रामा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गर्नु भयो ।
यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले सार्वजनिक यातायात क्षेत्रमा अनुशासनलाई मात्रै ध्यान दिन सके धेरैकुरामा सुधार आउने बताउनु भयो । कार्यक्रमकै अवसरमा ७ जना उत्कृष्ठ चालक र २ जना परिचालक बस होस्टेजहरुलाई समेत सम्मान गरीएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्वराज खड्काले जानकारी दिनु भयो । कार्यक्रममा चालक, यातायात मजदुर, यातायात व्यवसायी,ल्होत्से बहुउदेश्यीय प्रालि र नाडाका प्रमुखहरूले अभियान सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा विभिन्न सरकारी,गैरसरकारी संघ संस्थाका प्रतिनिधीहरू तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको समेत उपस्थिती रहेको थियो ।
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताएकी छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री डा राणाले बिहीबार सम्पन्न एशियाली कोअपरेसन डायलग ९एसिडी० मा संलग्न देशहरूका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उक्त धारणा राखेकी हुन् ।
सो बैठकमा उनले भनिन्, ‘हामीहरू अहिले विश्वमा सबैभन्दा बढी समस्यामा रहेका छौँ । एकातर्फ हाम्रो साझा घर पृथ्वीले जलवायु परिवर्तनको असरका कारण दिनप्रतिदिन नसोचिएको समस्या झेलिरहेको छ । हिमालहरू पग्लिनेक्रम तीव्र बन्दैछ । हिमताल फुटेर कहाँ कतिबेला बाढी आउँछ र मानवीय क्षति गर्छ भन्ने त्रास बढेको छ । मानवनिर्मित विकासका संरचना तथा पूर्वाधारसमेत भत्किँदै छन् । असमयमै बाढीको प्रकोप बढ्दै गएको छ । मानवीय सभ्यताको विनाश सुरु भएको त होइन भन्ने त्रास देखिँदैछ ।’
यस्ता समस्याबाट नेपालजस्ता विकासशील राष्ट्रहरू, भूपरिवेष्टित राष्ट्रहरू तथा विश्वका अतिकम विकसित राष्ट्रहरू बढी मारमा परिरहेका मन्त्री डा राणाको भनाइ थियो । त्यसैले यी देशहरूलाई सहयोगको बढी खाँचो परिरहेकाले ‘क्लाइमेट जस्टिस’ का लागि ‘क्लाइमेट फाइनान्सिङ’ आवश्यक रहेको उनले बताइन् । यस्तो समस्यामा परेका देशहरूलाई दिगो विकासका लागि सहयोग बढाउन मन्त्री डा राणाले आग्रह गरिन् ।
उनले भनिन्, ‘एकातर्फ प्राकृतिक बिपत्तिमा छौँ भने अर्कातर्फ अहिले पनि विश्वका विभिन्न ठाउँमा मानवसिर्जित हिंसा र द्वन्द्वको सिकार बनिरहेका छौँ । विभिन्न नाम र बहानामा बढ्दो हिंसा तथा द्वन्द्वले सिङ्गो मानवतालाई नै क्षति गरिरहेको छ । जसको परिणामस्वरुप देशहरू र मानिसबीचमै आर्थिक, प्राविधिक असमानता तथा ‘डिजिटल डिभाइड’ को अवस्था सिर्जना भइरहेको छ ।’ यस्तो अवस्थामा एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली देश र जनताबीचको सहकार्यको खाँचो अझ बढी महसुस भइरहेको उनले बताइन् ।
मन्त्री डा राणाले एशियाली देशहरूले यस्ता समस्यासँग जुध्न कस्तो रणनीति बनाएर कसरी अगाडि बढ्ने र सबै किसिमका समस्याको सामना गर्ने भन्नेबारेमा सोच्नुपर्नेमा पनि जोड दिइन् । ‘हामी एशियालीहरुको दृष्टिकोण, प्रयास र प्रतिबद्धता एशिया र विश्वका चुनौतीहरूको सामना गर्ने माध्यम बन्न सकोस् । हामी जसरी प्राचीन सभ्यताका धनी छौँ, त्यसैगरी समग्र वैश्विक समस्याको समाधानमा पनि हाम्रो अग्रसरता अर्थपूर्ण बन्न सकोस् ।’ उनले एशिया बहुसंस्कृति, ज्ञान तथा प्राचीन सभ्यताको सम्पन्न भूमि रहेकाले हाल विश्वमा देखापरिरहेको मानवताको सङ्कटको निकासका लागि पनि एशियाले भूमिका निर्वाह गर्नसक्ने बताइन् ।
त्यसैगरी बिहीबार नै परराष्ट्रमन्त्री डा राणाले राष्ट्रसङ्घीय शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई पनि सम्बोधन गरिन् । त्यस क्रममा उनले नेपालले द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको कामलाई निष्कर्षमा पुर्याउने अन्तिम तयारी गरिरहेको जानकारी दिइन् । नेपालको संसद्ले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेको र सो कानुन पीडितमैत्री रहेको जानकारी दिँदै उनले अब नेपालले शान्ति स्थापनाका बाँकी काम पनि छिट्टै सम्पन्न गर्ने बताइन् ।
मन्त्री डा राणाले भनिन्, ‘हुन त वर्तमान विश्वमा शान्ति स्थापनाको काम जटिल बन्दै गएको छ, तर पनि हामीले आन्तरिक रुपमा गरेको शान्ति स्थापनाको काम विश्वका लागि उदाहरण बन्न सक्दछ । किनभने हामीले समयमै यो जटिल कामलाई सम्पन्न गर्न सकेका छौँ ।’ मन्त्री डा राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोसजस्ता निकायसँग साझेदारी गरेर अगाडि बढ्नुपर्ने सुझाव बैठकमा दिइन् ।
नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री डा राणाले सकारात्मक सोच र व्यवहार तथा सांस्कृतिक मूल्यमान्यताहरुको सम्मान र पालनाबाट नै शान्तिपूर्ण र हिंसारहित समाज निर्माण गर्न सकिन्छ भनेर सबै लाग्नुपर्ने बताइन् । बिहीबार नै परराष्ट्रमन्त्री डा राणाले अतिकम विकसित देश ९एलडिसी० का विदेशमन्त्रीहरूको वार्षिक बैठकको अध्यक्षता गरिन् ।
नेपाल हाल एलडिसीको अध्यक्ष छ । न्युयोर्कमा आयोजित सो बैठकलाई सम्बोधन गर्दै उनले एलडिसी देशहरूलाई दिगो विकासका लक्ष्य हासिल गर्ने प्रयोजनार्थ थप र अतिरिक्त सहयोगको खाँचो औँल्याइन् । विश्वका यी देशहरूले पछिल्लो समय धेरै समस्या झेलिरहेका दृष्टान्त मन्त्री डा राणाले पेस गरिन् ।
उनले भनिन्, ‘नेपालसहितका यी देशहरूले महामारी, भू–राजनीतिक तनाव, द्वन्द्व र जलवायु परिवर्तनका कारण बहुआयामिक चुनौतीको सामना गर्नु परिरहेको छ । साथै दिगो विकासको एजेण्डा २०३० का लक्ष्य हासिल गर्न विविध अवरोधको सामना गर्नु परिरहेको छ ।’
बैठकमा मन्त्री डा राणाले ग्लोबल समन्वय ब्युरोको नेतृत्व नेपाललाई दिएकामा विश्व समुदायलाई धन्यवाद दिँदै यी अल्पविकसित देशहरूको उत्पादन र उत्पादकत्व क्षमताको वृद्धि गरी क्षेत्रीय र विश्वबजारमा पहुँचका लागि सहयोग गर्न आग्रह गरिन् । रासस
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरूलाई पदमा बसिरहने छुट नरहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले आफूले पनि काम गर्न नसके एक मिनेट पनि मन्त्री भएर नबस्ने जिकिर गरे । कोही पनि निकायको प्रमुखहरूले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको उनले बताए । उनले जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको बताए ।
मन्त्री पाण्डेले निजी क्षेत्र अघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर गरे । उनले निजी क्षेत्र अघिअघि र मन्त्रालय पछिपछि रहने बताए ।
उनले भने, ‘ हामी जोजो जुन जुन ठाउँमा छौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिन भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन । कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन । त्यसका लागि कानुन हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ । सार्वभौम सत्ता जनताले भन्यो भने म मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने त्यो नैतिक तागत मैले देखाउनु पर्छ । त्यो दिशामा म सबै निकायका प्रमुखहरूलाई र त्यसमा रहनुभएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु ।’
मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१२ बस्ने ३० वर्षीय शंखर दाहाल र २५ वर्षीय नन्दु फुयाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.६ प ९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ शिवगंगा बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ माथिल्लो देउराली बस्ने ३१ वर्षीय पर्वत दर्जी र सोही उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय सनम तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ मझगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-१५ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरीले मझगाउँबाट ऐरीतर्फ जाँदै गरेको म.२ प ४२०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-२ रिमझिम बस्ने २५ वर्षीय सुनिल बुढाक्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राधापुर र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । अफ्रिकी मुलुक युथोपियाको ओर्मिया पर्यटन कमिशनको आयोजनामा आगामी अक्टोबर १ देखी १० सम्म राजधानी आदिशाबाबामा हुने ओर्मिया भ्रमण बर्षमा नेपाली कलाकारहरुको बिशेष प्रस्तुति हुने भएको छ।
धौलागिरी एड्भेन्चर प्रालिको बिशेष पहलमा नेपाली साङ्गेतिक समुहको तय भएको जनाएका छन। धौलागिरी एड्भेन्चर प्रालिका अध्यक्ष आङ कामी शेर्पाको नेतृत्वमा त्यसतर्फ जाने कलाकारहरु अजित घिसिङ तामाङ , सरोज प्रजा,बिना राउत,निमा कुमारी स्याङ्तान,मदन भन्डारीले नेपालको पहिचान हुने साङ्गेतिक प्रस्तुती दिने जनाएको छ।
मुलत:नेपाल र युथोपिया बिच मित्रता र सदभाव कायम गर्ने उध्येस्यका साथ सहभागी हुन लागेको अध्यक्ष शेर्पाले बताए। कार्यक्रममा सहभागी हुने अफिसियल तर्फ गीता कुमारी शाही, स्मारिका शाही,उर्गेन मिगुम तामाङले प्रतिनिधित्व गर्ने भएको छ।
धौलागिरी एडभेन्चरका प्रालीका साझेदार एब गैर आबसिय युथोपियन हाम्जा वारियोको पहलमा सो कार्यक्रममा सहभागी हुनेहरुको तालिका तय भएको हो।कार्यक्रममा सहभागी हुने सम्पुर्ण कलाकार एब पदाधिकारीहरुलाई आयोजकले ब्यबस्थापन गरेको जनाएका छ्न।
आयोजक समितिका संयोजक लेलिसे डुङ्गाले नेपालका कलाकारहरूको एक प्रतिभाशाली समूहलाई आमन्त्रण गर्न पाउदा गौरव महसुस गरेकी छ्न।उनले अगाडी लेखेकी छिन सगरमाथाको घर,विश्वको सबैभन्दा अग्लो शिखरका कलाकार तथा पदाधिकारीलाई ओरोमिया पर्यटन सप्ताहमा आमन्त्रण गराउन पाँउदा खुशी भएको समेत बताए।
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उनले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताएका हुन् ।
सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिए ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भने, “हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ । द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ ।” नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको उनले प्रशंसा गरे ।
प्रधानमन्त्रीले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबीचको विरोधाभासमा रहेको उल्लेख गरे । साथै उनले मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गरे।
“भूराजनीतिक प्रतिस्पर्धाको पुनः उदय भएको, सैन्य खर्च र नियन्त्रणविहीन हतियार दौड बढिरहेको, आणविक युद्धको भय समाप्त भएको छैन”, प्रधानमन्त्री ओलीले भने, “हाम्रो अर्थतन्त्र कमजोर छ, कोभिड–१९ महामारीका दीर्घकालीन प्रभावहरूसँग जुधिरहेको छ, उदारीकरण र विश्वव्यापीकरणले ल्याउनुपर्ने लाभ हामीले प्राप्त गर्नुभन्दा पहिले नै राष्ट्रवाद र संरक्षणवाद पुनः देखापरेको छ ।”
तीन सय वर्षको औद्योगिकीकरण र आधुनिकीकरण यात्रापछि पनि समृद्धि मुख्य रूपमा औद्योगिकीकरणका माध्यमबाट आर्थिक समृद्धि हासिल गरेका राष्ट्रमा नै केन्द्रित रहेको तथा गरिबी र अभाव अतिकम विकसित देशहरूमा व्यापक रहेको उहाँले उल्लेख गरे । यस्तो विभेद हटाउन अर्थपूर्ण सहयोग र सहकार्यलाई बढावा दिनुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री ओलीले भने, “सामूहिक इच्छाशक्ति र एकीकृत कार्यद्वारा मात्र हामी यो प्रवृत्तिलाई उल्टाउन सक्छौँ र सबैका लागि दिगो शान्ति र साझा समृद्धिको युग प्रारम्भ गर्न सक्छौँ ।” यस सन्दर्भमा महासभाको उक्त सत्रको विषयवस्तु ‘कसैलाई पछाडि नछाडिनेः वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानवीय प्रतिष्ठाको उन्नतिका लागि एकजुट भएर काम गरौँ’ भन्ने आदर्श वाक्य समयोचित भएको बताए ।
उनले ‘समिट अफ द फ्युचर’ मार्फत वर्तमान र भावी पुस्ताका लागि सुरक्षित, न्यायपूर्ण र दिगो विश्व व्यवस्था निर्माण गर्ने प्रतिबद्धता पुनःपुष्टि गरेको उल्लेख गरे । वर्तमान र भावी पुस्ताको हितका लागि सम्मेलनले अनुमोदन गरेका तीन दस्तावेज कार्यान्वयन गर्ने दृढ सङ्कल्प सबैले प्रस्तुत गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।
नेपालको सबै क्षेत्रको विकासका निम्ति लामो समयदेखि अघि सारिएको ‘कसैलाई पछाडि नछाडिने’ सिद्धान्त देश विकासको आधारशिला भएको बताउँदै उनले यो नेपालको संविधानमा समाहित रहेको तथा यसले समावेशिता, समानता, न्याय, समानुपातिक प्रतिनिधित्व, मानवअधिकार र समाजको सबैभन्दा कमजोर वर्गका लागि सामाजिक सुरक्षाको प्रत्याभूति गरेर लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राखेको स्पष्ट गरे ।
“म ‘सर्वसमावेशी लोकतन्त्र’मा मेरो दृढविश्वास छ, यसलाई नै मूलमन्त्र मानेर देशको नेतृत्व गर्ने मेरो सङ्कल्प छ । समान अधिकार, अवसरमा समान पहुँच, सामाजिक न्याय सुनिश्चित गर्ने, कमजोर समुदायहरूको संरक्षण, सबैका लागि सुरक्षा र मर्यादा कायम गर्नु लोकतान्त्रिक राज्यको दायित्व हो”, उनले भने, “हाम्रा दुई प्रमुख राजनीतिक दलहरूको सहकार्यबाट गठित वर्तमान सरकार हाम्रा जनताका लागि समावेशी र न्यायपूर्ण समृद्धि र आर्थिक रूपान्तरणलाई गति दिन दृढ छ । हामीले हाम्रो राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई साकार पार्न आफूलाई समर्पित गरेका छौँ ।”
सन् २०२६ मा नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति हुने तयारीमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य हासिल गर्न मेहनत गरिरहेको जानकारी दिए । “सन् २०४३ सम्ममा हाम्रो विकसित देश बन्ने चाहना छ, यद्यपि हामी ठूलो आर्थिक चुनौतीको सामना गरिरहेका छौँ”, उनले भने । दिगो विकासका लक्ष्य हासिल गर्ने बाटोमा समस्या छन् । दिगो विकासका लक्ष्य हासिल गर्न २४ अर्ब अमेरिकी डलरको आवश्यकता रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले गत जुनमा अन्तर्राष्ट्रिय विकास सङ्घ ९आइडीए–२१० सम्मेलन आयोजना गरेको तथा त्यस क्रममा नेपालको चौतर्फी विकासका निम्ति अन्तर्राष्ट्रिय सहयोग वृद्धि गर्न निरन्तर आह्वान गरेको बताए ।
जलवायु परिवर्तनका कारण हामी बसेको पृथ्वी, जनता र समृद्धिमा गम्भीर चुनौती खडा गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “यसबाट नेपाल विशेषगरी प्रभावित छ । हामी जलवायु परिवर्तनका प्रभावबाट सबैभन्दा कमजोर राष्ट्रहरूमध्ये एक हौँ, विश्वका सबैभन्दा प्रभावित २०औँ देशको रूपमा छौँ । प्राचीन हिमालयमा विशाल हिउँको भण्डार हराइरहेको छ, यो सबैभन्दा ठूलो चिन्ताको विषय हो । यो क्षतिले नेपालको सीमाभन्दा बाहिर रहेका अर्बौँ मानिसलाई पानीको उपलब्धतामा जोखिम उत्पन्न भएको छ ।”
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेका छन् ।
बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन् ।
उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग साइडलाइन भेटवार्ताहरु गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा आलीले आजै संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन पनि गरेका छन् । सम्बोधनको क्रममा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।
काठमाडौँ । कानुन विषयमा उच्च शिक्षा हासिल गरिरहेका एक युवक चोरीको आरोपमा पक्राउ परेका छन् । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा शृङ्खलाबद्ध चोरीमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको हो । अब्दुल अलीम नाम गरेका ती युवक कानुन विषय लिएर अध्ययन गर्दै आएका थिए ।
प्रहरीलाई हलीमले दिएको जानकारी अनुसार उनकी प्रेमिका खर्चालु थिइन् । प्रेमिकाकै आवश्यकता पूरा गर्नका लागि आफूले चोरी गरेको उनले प्रहरीसमक्ष बताएका छन् । किनमेलका लागि मलमा जाने, क्लबमा गएर मोजमस्ती गर्ने, आइफोन चाहिने, फिल्म हेर्ने लगायतका खर्चालु माग प्रेमिकाले गरेपछि आफूले चोरी गरेको उनको भनाइ छ ।
एक साता अघि उनले गोमती नगरका तीन घरमा चोरीमा गरेको बताइएको छ । उनको साथबाट प्रहरीले गहना र नगदसमेत बरामद गरेको छ । सीसीटीभी फुटेजका आधारमा प्रहरीले उनलाई पहिचान गरेर गिरफ्तार गरेको जनाइएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार विहान ११ः३० बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।
पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकका छलफलका लागि ६ एजेण्डा रहेको झाले जानकारी गराए । छलफलका एजेण्डामा समसामयिक राजनीतिक गतिविधि, चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन, महाधिवेशन केन्द्रीत गतिविधि र विविधि राखिएको छ ।
रास्वपाले आज अपरान्ह ४ बजे गर्ने भनिएको पत्रकार सम्मेलन दिउँसो २ः३० बजेका लागि सारिएको छ ।





