
धुलिखेल । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र आग्रह पूर्वाग्राहमा बसेर काम नगर्न आग्रह गरेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको बैठकलाई आज सम्बोधन गर्दै मन्त्री लेखकले पीडा कुनै एक पार्टीको मान्छेलाई मात्रै भएको नभई सबैको एउटै समस्या भएकाले विपद्लाई राजनीतिकरण नगर्न आग्रह गरे ।
सबै मिलेर काम गर्नुपर्ने अहिलेको अवस्था भएकाले विपद् र पीडामा परेकालाई राहत दिन सक्नुपर्नेमा जोड दिँदै मन्त्री लेखकले विपद्का बेलामा सबै मिलेर व्यवस्थित ढङ्गले काम गर्ने उनले बताए ।
खोजि र उद्धारको काम निरन्तर चलिरहने बताउँदै उहाँले अहिलेको अवस्था विस्तापित भएका, घर ध्वस्त भएर सुत्ने, खानेपानी, औषधी लुगाफाटोको व्यवस्था हुन नसकेकालाई राहतको व्यवस्था गर्ने चरणमा रहेको बताए ।
‘हामी अहिले अत्यावश्यक मानवीय सेवा सञ्चालन गर्नुपर्ने अवस्थामा छौँ,’ उनले भने, ‘राहत, अवरुद्ध सडक सञ्चालन गर्ने, दूरसञ्चार सेवा, विद्युत्, स्वास्थ्य सेवालगायतका कामलाई प्राथमिकता दिएर काम गर्न जरुरी छ ।’
वितद् व्यवस्थापनका लागि चार वटा तह रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले सङ्घमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सङ्घमा विपद् व्यवस्थापन परिषद् र प्रदेशमा कार्यकारी समिति, जिल्ला विपद् व्यवस्थापन समिति र पालिकास्तरमा स्थानीय विपद् व्यवस्थापन समितिले सबैले आ–आफ्नो तहबाट समन्वयकारी भूमिका निर्वाह गरेर समस्याको समाधान गर्ने काम भइरहेको बताए ।
विपद्मा परेका परिवारलाई दुई लाख राहत दिने भनेर सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि सम्बन्धीत पालिकाले विवरण उपलब्ध गराएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल वितरण गर्ने र घर पूर्णरुपमा क्षति भएर अर्को बस्नयोग्य घर नभएकालाई स्थानीय तहले पहिचान गरेर सिफारिस गरेर पठाएको आधारमा तीन दिनभित्रमा अस्थायी घर निर्माणको लागि पहिलो किस्ता २५ हजार उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै खाद्यन्नको लागि पाँच जनासम्मको परिवार भएकालाई १५ हजार र त्यसभन्दा बढी भएमा ३० हजार रुपैयाँका दरले उपलब्ध हुने मन्त्री लेखकले जानकारी गराए । त्यसका लागि स्थानीय तह, प्रदेश र सङ्घले आ–आफ्नो काम तत्काल गर्न उनले निर्देशन दिए ।
सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने क्रममा काभ्रेपलाञ्चोकका केही पालिकामा मात्रै भएको र अरु पनि पालिका र वडाभित्र मात्रै भएको अवस्थामा त्यसलाई पनि समेट्नु पर्ने माग राखिएकामा मन्त्री लेखकले त्यसलाई प्रमुख जिल्ला अधिकारीबाट सिफारिस गरेर पठाउन आग्रह गरे ।
‘अहिलेसम्म जति घोषणा भएका छन्, त्यसबाहेक थप पालिकालाई पनि विवरण प्राप्त भएपछि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सकिने भनेर निर्णय गरेको हुनाले छुटेकालाई प्रक्रियामार्फत आएको खण्डमा त्यसलाई समावेश गरिनेछ,’ उनले भने । उनले खाद्यन्न पु¥याउन बाटो नभएका पालिकामा पु¥याउनका लागि हेकिप्टरमार्फत व्यवस्थापन हुने जानकारी दिए । त्यससँगै गर्नुपर्ने क्षेत्रगत काम (विद्युत्, सडक, सञ्चार, खानेपानी र स्वास्थ्य)लाई तीव्रता दिन सम्बन्धित निकायलाई उनले निर्देशन दिए ।
बैठकमा सङ्घीय सांसद सूर्यमान दोङले विपद्को बेलामा काम गरिरहेको सुरक्षा निकायलाई आवश्यक व्यवस्थापन गर्न नसकिएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए । उनले व्यवस्थापनको सवालमा कतै बस्ति नै व्यवस्थापन गर्नुपर्ने, सडक सञ्जालको तत्काल व्यवस्था, विद्युत् नभएर सबैजसो पालिका अन्धकारमय भएको सबै काममा सरकार गम्भीर भएर लाग्नुपने बताए ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले सडक, विद्युत्, सञ्चार पूरै बन्द रहेको कारण सबैतवरबाट पालिका खेबरजस्तै भएको बताए ।
सडक सञ्जालको लागि खोपासी–तालढुङ्गा, च्याल्टी–तालढुङ्गा र सुकमफेदी–तालढुङ्गा तीन वटा नै नाका पूर्णरुपमा बन्द रहेकाले समस्याग्रस्त रहेको उनले सुनाए । खुलेखानी ड्यामबाट बगेको पानीले वाग्मती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा वस्ती पूर्णरूपमा बगाएको, बाढीपहिरोबाट ३० वटाभन्दा बढी खानेपानीको संरचना, तीन सय किलोमिटरभन्दा बढी स्थानीय सडक क्षति, सिँचाइका २५ र विद्यालयको पाँच वटा र लघुजलविद्युत्का साट वटा संरचना ध्वस्त भएको पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न आग्रह गरे ।
विपद् क्षेत्रका जनताले दसैँका लागि चामल र चिउराको बन्दोबस्ति गर्न सक्ने अवस्था नरहेको भन्दै अध्यक्ष थिङले स्थिति भयाभह रहेकामा स्थानीय चौकीमा रहेको सुरक्षाकर्मी बाहेक थप सुरक्षा जनशक्ति नपुगेको, जिल्लाका कुनै पनि राजनीतिक नेतृत्व नपुगेको तथा सञ्चार सम्पर्क विहीन भएकाले त्यहाँको तथ्य सूचना अहिलेसम्म आउन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।
नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले बिपी राजमार्ग वैकल्पिक बाटोबाट नार्केसम्म पुगे पनि भरपर्दो नभएको र क्षतिको विवरण ल्याउन वल्लो घरदेखि पल्लो घरसम्म जान नसक्ने स्थिति रहेको बताए । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोक जिल्लालाई पूरै सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।
बैठकमा प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री तीर्थबहादुर लामा, कञ्चनचन्द्र बादे श्रेष्ठ, रुक्कु चौलागाई, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष भोला अर्याल, नेकपा (एमाले)का अध्यक्ष राजन भुर्तेललगायतले विपद्का समयमा सरकारले गम्भीर भएर उद्धार, खोज, राहत, अस्थायी बासस्थान तथा पुनःबासको लागि ध्यान दिन आग्रह गरे ।
काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्लामा भइरहेको विपद् व्यवस्थापनको गतिविधि र गरिरहेको प्रगतीको बारेमा जानकारी दिए ।
सर्लाही । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भइसक्दा पनि सर्लाहीका पालिकाको खाता सञ्चालन नहुँदा तलबभत्ता भुक्तानीमा समस्या भएको छ । दसैँलगायत चाडपर्व आइसक्दासमेत कर्मचारीले तलबभत्ता र सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीले रकम पाउन सकेका छैनन् । जसले गर्दा यसपटकको चाडपर्व खल्लो हुने भन्दै कर्मचारी तथा लाभग्राहीहरू निराश छन् ।
जिल्लाको चन्द्रनगर गाउँपालिका–६ की ५३ वर्षीया रतियादेवी माझीले सरकारले दिने सामाजिक सुरक्षाभत्ताले यसपटकको दसैँ तिहार मनाउने योजना बनाइन् । सोही भत्ता रकमले ६ जनाको परिवारमा खुसी ल्याउने योजना कार्यान्वयन नहुने भएपछि उनी निराश छिन् । “श्रीमानको मृत्युपछि परिवारको लालनपालनको जिम्मा मेरै काँधमा छ । घरमा दिगो आम्दानी गर्ने व्यक्ति नहुँदा ज्याला मजदुरीबाट आएको पैसाले परिवारको दुई छाक टार्नसमेत मुस्किल छ । भवितव्य परिहाले ऋण गर्नुको विकल्प छैन । यसपटक चाडपर्व सोही रकमले धान्ने योजना थियो तर हालसम्म रकम आएको छैन”, उनले भने, “तीन महिना बित्न लाग्यो रकम नपाएको, कार्यालयमा जाँदा आएको छैन भन्छन् सरहरुले । दसैँमा बालबालिकालाई मीठो मसिनो ख्वाउला सोचेको अब नसकिने भो ।”
जिल्लाको गोडैता नगरपालिका–१, पिपरियाका महेन्द्र कुशवाहा पनि भत्ता नआएपछि छटपटीमा छन् । दमको दीर्घरोगी उनलाई चाडबाडसँगै औषधिमूलो किन्नसमेत समस्या भएको छ । “भत्ताकै पैसाले औषधि किनेर खाने गरेको छ । आयआर्जनको अर्को उपाय छैन । नातिनातिना दसैँ आयो भन्दै आउँछन् । मिठाई किनेर दिनेसमेत क्षमता छैन”, उनले गुनासो गरे ।
उनीजस्तै समस्या छ नगरमा काम गर्ने कर्मचारीहरूको पनि । कविलसी नगरपालिका–२, स्थित बालगोविन्द जनता मावि पिपरियाका शिक्षक वीरेन्द्र साहले विभिन्न कारणले पालिकाको खाता सञ्चालन हुन नसक्दा तलबभत्तासमेत नपाएको दुःखेसो पोखे । चाडबाडको समयमा तलब नपाउँदा शिक्षकशिक्षिकालाई घरजानसमेत समस्या भएको उनले बताए । “दसैँ जस्तो चाडबाडको समय छ । घर जाँदा छोराछोरीले मीठोमसिनो, लत्ताकपडा माग्छन्, आफूले पारिश्रमिक पाएको छैन । कसरी घर जाने १”, उनले भने ।
यस पालिकाकामा आन्तरिक विवादका कारण हालसम्म नगरसभाबाट बजेट पारित हुनेसकेको छैन । त्यसैकारण आर्थिक कारोबार ठप्प छ ।
यस्तै, बसवरिया गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेब जयलाल सहनीले तलबभत्ता नपाउँदा ऋण काडेर चाडबाड मनाउन बाध्य भएको बताए । “बच्चाबच्चीले तलब आएको छैन भनेर मान्दैन्न, दसैँको समय छ । सबैले लगाएको खाएको देख्छन् । घरमा आएर झगडा गर्छन् । काम गरेको कार्यालयले तलब दिनसकेको छैन”, उनले गुनासो गरे ।
माथि उल्लिखित सबै प्रतिनिधि पात्रमात्र हुन् । जिल्लाका सातवटा पालिकाले समयमै परिषद् गरेर खाता सञ्चालन नगर्दा सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राही, सयौँ कर्मचारी तथा पालिकाको विभिन्न क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था, कार्यालय तथा कम्पनीहरु प्रभावित बनेका छन् । समग्रमा आठ हजार सामाजिक सुरक्षाभत्ता लाभग्राही, करिब चार सय ५० कर्मचारीले यस्तो समस्या भोगेका छन् । २० पालिका रहेको सर्लाहीमा हालसम्म ईश्वरपुर, गोडैता र कविलासी नगरपालिका तथा पर्सा, बिष्णु, बसवरिया र चन्द्रनगर गाउँपालिकाले परिषद् सम्पन्न गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐनले निर्दिष्ट गरेको नियमानुसार आवश्यक प्रक्रिया नपुर्याएकाले यी पालिकाहरूको खाता सञ्चालनमा नआएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका निमित्त कोष नियन्त्रक रुपेशकुमार तिवारीले जानकारी दिए ।
अन्य आठ नगरपालिका र पाँच गाउँपालिकाले परिषद् सम्पन्न गरी पहिलो चौमासिक रकम निकासा गरेर नियमित तलबभत्ता वितरण गरिरहेका उनले बताए । रासस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । सोमबार राष्ट्रपतिको भवन शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा राष्ट्रपतिलाई प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपालको सहभागिताबारे जानकारी गराएका उनको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत अधिकारी सहभागी थिए ।
प्रधानमन्त्री नेतृत्वको टोली राष्ट्रसंघको महासभामा भाग लिन यही असोज ४ गते अमेरिका गएको थियो । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । उनी असोज १४ गते स्वदेश फर्किएका हुन् ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ
महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरिएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् ।
‘यसपटक मनसुन बाहिरिने समय र दसैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ उनले भनिन्, ‘तसर्थ यो दसैँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’
काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान गरियो । सिद्धिकी सडक दुर्घटना परी घाइते भएका थिए । विपिनको मृगौलामा समस्या छ ।
कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
सो अवसरमा कोषका सदस्य–सचिव एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का उप निर्देशक एवं शारीरिक सुगठनका मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरको उपस्थिति रहेको थियो ।
काठमाडौं । असोज १० देखि १३ गतेसम्मको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका परि हालसम्म २४६ जनाको मृत्यु भएको छ ।
यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी १८ जना बेपत्ता छन् । १७८ जना घाइते भएका प्रहरीले जनाएको छ ।
१७ हजार १७४ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
बाढीपहिरोमा परी वाग्मती प्रदेशमा सबैभन्दा बढी १३९ जनाले ज्यान गुमाए । वाग्मतीमा सातजना बेपत्ता छन् । काठमाडौं उपत्यकामा मात्र ७० जनाको मृत्यु भएको छ । उपत्यकामा पनि सातजना बेपत्ता छन् ।
बाढीपहिरोमा परी कोसी प्रदेशमा २० जनाले ज्यान गुमाए । त्यहाँ २० जना बेपत्ता छन् । मधेस प्रदेशमा नौजनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवास लगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।
काठमाडौं: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सुर्खेत चिङगाड गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१४ कलंकी बस्ने ३६ वर्षीया बिमला जिसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
बिमलाले मौरिसस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।





