
दाङ । लमही नगरपालिका -७ स्थित रहेको सम्राट सिमेन्ट कम्पनीमा डिजेल भण्डारणमा आगलागी भएको छ ।
आइतबार बिहान सवा सात बजेको समयमा एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।
आगलागीबाट तेल भण्डारणमा क्षती पुगेको छ भने आगोलाई लमही नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार २४ हजार लिटर फर्निस आयल नष्ट भएको छ भने दुई वटा ट्यांकीमा पनि क्षति पुगेकाे छ ।
तेलकाे ट्यांकीमार्फत सिधै जेनेरेटरमा जडान गरिएकाले प्राविधिक त्रुटिका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । थाई एयर एसियाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान थालेको छ ।
आइतवार बिहान ६ बजेर ५५ मिनेटमा थाई एयर एशियाको ए–३२० जहाज चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
जहाज ७ बजेर ४० मिनेटमा बैंकक प्रस्थान गरेको थियो । भैरहवा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी र पर्यटन व्यवसायीले विमान र यात्रुलाई स्वागत गरेका थिए । थाई एयर एशियाले भैरहवाबाट हप्ताको दुई दिन उडान गर्नेछ । अब कात्तिक २३ गतेदेखि हप्तामा दुईपटक नियमित उडानको तालिका छ ।
भैरहवाबाट बैंककतर्फ एकतर्फी भाडादर १२ हजार रुपैयाँ छ । थाई एयर एशियाले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने सर्तसहित यसअघि उडान अनुमति फुकुवा गरिएको थियो ।
कात्तिक ११ गते अनुमति बिना काठमाण्डौ आएको थाई एयर एशियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । कम्पनीलाई हप्तामा काठमाडौंबाट चार र भैरहवामा दुई वटा उडान गर्ने गरी अनुमति दिइएको हो । भैरहवाको उडान बन्द गरेमा काठमाडौंको उडान स्वतः रद्द हुने सर्त रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको छ ।
विगतमा पनि उडान भएर रोकिएकाले यहाँका पर्यटन व्यवसायीले नियमित उडान हुनुपर्ने माग राखेका छन् । त्यसका लागि एअरलाइन्स कम्पनीहरुलाई आकर्षित गरेसँगै विमानस्थल प्रयोग गरेर विदेश जानेहरुका लागि विमानस्थलमा स्थापना हुनुपर्ने, सरकारी कार्यालयहरु तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको माग छ ।
तनहुँ । हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारको समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका –१ झापुटारमा निर्माणाधीन एकसय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो ।
आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले आज पनि कामलाई निरन्तरता दिइएको आयोजना कार्यालयले जनाएको छ । दिउँसो र राति गरी दुई ‘सिफ्ट’मा निर्माण भइरहेको छ । चरण–१ मा बाँध निर्माणका लागि जग हाल्ने कार्य धमाधम भइरहेको छ भने चरण–२ मा मुख्य सुरुङको ‘क्रङ्क्रिट लाइनिङ’ र विद्युत्गृहको काम भइरहेको आयोजनाका सञ्चारविज्ञ सचिन गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई चरणमा दुईसय जना जनशक्ति परिचालन गरी काम भइरहेको छ । यसअघि दसैँमा आयोजनाको काम निरन्तर गरिएको थियो । सिफ्टमा आलोपालो मिलाएर तिहारलगत्तै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन बिदा दिइएको बताउँदै अधिकांश कामदारले भने काम गरिरहेका आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
“आयोजनाको तीन चरणमध्ये अहिले दुईवटा चरणमा निरन्तर काम सञ्चालन भइरहेको छ” उहाँले भन्नुभयो, “निर्धारित समयमा निर्माण सम्पन्न गर्न चाडपर्वमा पनि काम रोकेका छैनौँ ” उहाँले भन्नुभयो । चरण–१ अन्तर्गत एकसय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालिले गरिरहेको छ ।
चरण–२ अन्तर्गत पावरहाउसतर्फको काम तीव्र रूपमा भइरहेको प्रमुख भण्डारीले बताउनुभयो । उहाँका अनुसार सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत काम भइरहेका छन् ।
चरण–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत्गृहमा रहने उपकरण जडानलगायत कार्य भइरहेका छन् । आयोजनाको समग्र मूल्याङ्कन गर्दा हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिनुभयो ।
पुँजी संरचना तथा वित्तीय व्यवस्थापनका लागि प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी ५० करोड ५० लाख अमेरिकी डलर रहेको आयोजना कार्यालयले जनाएको छ । एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोेर्नेगरी वित्तीय व्यवस्थापन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो । रासस





