२०८३ मंसिर ७
२०८३ मंसिर ७

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि रु २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

आज अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडिबीले रु १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी डलर) ऋण तथा रु दुई अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ ।

त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि रु एक अर्ब ३५ करोड (१० मिलियन अमेरिकी डलर) ऋण रु दुई अर्ब ९७ करोड (२२ मिलियन अमेरिकी डलर) अनुदान सम्झौता भएको हो । सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।

मधेश प्रदेशको रौतहट र सर्लाही जिल्लामा लागू गरिने यान्त्रिक सिँचाइ परियोजनाअन्तर्गत उन्नत सिँचाइ प्रविधि लागू गरिनेछ । जसमा किसानले ‘प्रिपेड कार्ड’को माध्यमबाट आवश्यकतानुसार पानी उपयोग गर्नसक्ने सुविधा प्रदान गरिनेछ ।

यस परियोजनाबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास लिइएको छ । परियोजनाको मुख्य उद्देश्य कृषिको उत्पादकत्व वृद्धि, वर्षभर सिँचाइ सुनिश्चितता र खाद्य सुरक्षा प्रवर्द्धन गर्नु हो ।

त्यसैगरी जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायलाई जलवायु परिवर्तनका असरहरुप्रति प्रतिरोधी बनाउने उद्देश्यले सञ्चालन हुनेछ ।

यसले खानेपानीको समस्या समाधान गर्न, प्रकृतिमा आधारित जीविकोपार्जन प्रवर्द्धन गर्न र स्थानीय समुदायलाई दिगो जल व्यवस्थापन, कृषि वन र वन व्यवस्थापनका माध्यमबाट सशक्त बनाउन योगदान पु र्‍याउने अपेक्षा गरिएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव घिमिरेले यी परियोजनाको माध्यमबाट उन्नत सिँचाइ प्रविधि र दिगो जल व्यवस्थापनले खाद्य सुरक्षाका साथै जलवायु परिवर्तनको असर सामना गर्न सहयोग पुग्ने बताए ।

एडिबीका देशीय निर्देशक कोश्वाले यी परियोजनाका विशेषता र यसले नेपालको आर्थिक क्षेत्रमा ल्याउने योगदानको चर्चा गर्नुहुँदै जलवायु अनुकूलन, कृषि उत्पादकत्व र जल सुरक्षा क्षेत्रमा एडिबीले नेपाललाई सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।

काठमाडौं । सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ मा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार तेश्रो जित हासिल गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वतरमा बुधबार सम्पन्न भएको खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसीलाई ३-१ ले पराजित गरेको हो ।

पहिलो २५-२२ ले जितेको हेल्प नेपालले दोश्रो सेट भने २४-२६ ले पराजित भयो । त्यसपछिका दुई सेट क्रमशः २५-१९ र २५-२१ ले हेल्प नेपालले एचडीसीलाई हराएको थियो ।

हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकटलाई ३-२ र दोश्रो खेलमा गण्डकीलाई ३-१ को सेटमा हराएको थियो । अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको हेल्प नेपालले ३ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

एचडीसीको चार खेलमा २ अंक रहेको छ । यसअघि आज नै भएको पहिलो खेलमा इरानको यु १८ टोलीले भारतीय च्याम्पियन क्यालिकट हिरोजलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा लगातार तेश्रो जित हासिल गरेको थियो ।

काठमाडौं । नेपाली पौडीवाज डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले जनाएका छन् ।

डुवानाको नाममा १ मिनेट १६.४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उक्त कीर्तिमान डुवानाले थाइल्यान्डमा भएको उमेरसमूहको प्रतियोगितामा बनाएको पौडी संघका सचिव गंगालाल गोलेले जानकारी गराए ।

काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सेयर बजारमा सुधार हुँदै गए पनि सीमित व्यक्तिले फाइदा लिइरहेको बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा उनले सेयर बजारमा चलखेल गर्नेलाई नियामक निकायले कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । 

उनले साधारण लगानीकर्तालाई संरक्षण गर्न अर्थमन्त्रीले नियामकलाई निर्देशन दिनुपर्ने बताए । 

“इनसाइडर ट्रेडिङ गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ,” उनले भने, “बजारको सिस्टम बुझेकाले फाइदा लिने अहिलेको परिपाटीलाई अन्त्य गर्नुपर्छ ।”

काठमाडौं । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर सहायता दिएको छ। उसले जफत गरेको रूसी सम्पत्तिबाट युक्रेनलाई २० अर्ब अमेरिकी डलर ऋण सहायता गरेको हो।

अमेरिकी अर्थमन्त्री जेनेट यलेनले मंगलबार नै २० अर्ब डलर विश्व बैंकको फण्डमा जम्मा गरेको र त्यहाँबाट युक्रेनले पाउने बताएका हुन्।

रूसले युक्रेनमा आक्रमण गरेपछि जी७ र युरोपियन युनियनका राष्ट्रहरूले रूसको केन्द्रीय बैंकले पश्चिमा देशहरूमा राखेको करिब ३२५ अर्ब डलर सम्पत्ति रोकेर राखेका छन्।

पश्चिमा राष्ट्रहरूको समूह जी७ को गत जुनमा इटालीमा भएको शिखर सम्मेलनमा रूसको त्यही पैसा प्रयोग गरी युक्रेनलाई ५० अर्ब डलर सहायता दिने सहमति भएको थियो। त्यसमध्ये अमेरिकाले २० अर्ब डलरको ऋण दिने प्रतिबद्धता व्यक्त गरेको थियो।

अमेरिकाले २०२४ को अन्तिमसम्ममा युक्रेनलाई सहायता रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो। सोही अनुसार उसले मंगलबार २० अर्ब डलर पठाएको हो।

बाँकी ३० मध्ये युरोपियन युनियनले २० अर्ब डलरको बेलायत, जापान र क्यानडाले पनि मिलेर १० अर्ब डलरको ऋण दिनेछन्।

अमेरिकाले गैरसैन्य ऋण वर्ल्ड बैंक ट्रस्ट फन्ड मार्फत दिन्छ। यो ऋण रोकिएर राखिएको रूसी सम्पत्तिबाट हुने आम्दानीबाटै तिरिने छ। युक्रेनले तिर्नुपर्दैन।

युक्रेनले अहिलेसम्म ३०० सय अर्ब डलरभन्दा बढी सैन्य र आर्थिक सहायता पाइसकेको छ। अमेरिकाले धेरै सैन्य सहयोग गरेको छ भने युरोपेली देशले आर्थिक सहायता गरेका छन्।

राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्प भने युक्रेनलाई अमेरिकाले दिने सहायता घटाउने बताउँदै आइरहेका छन्। उनले आफू राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि रूस(युक्रेन युद्ध अन्त्य गर्ने बताउँदै आएका छन्। ट्रम्पले जनवरी २० मा जिम्मेवारी सम्हाल्दैछन्।

काठमाडौं । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो ।

शपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताए ।

उनले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छ्ट्याएर काम गर्नुपर्नेमा जोड दिए । मन्त्रिपरिषद्को यही मंसिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिका आधारमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगका यही मंसिर २३ गतेदेखि अघिल्ला पदाधिकारीको कार्यकाल सकिएको थियो ।

काठमाडौं । इजिप्टको स्वास्थ्य मन्त्रालयकाअनुसार मङ्गलवार कायरोमा रहेको ६ तले आवासीय भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

इजिप्टको राजधानीको अल–वायली जिल्लामा अवस्थित अब्बासियामा उक्त दुर्घटना भएको हो । कायरोका गभर्नर इब्राहिम साबेर खलिलले सावधानीका रूपमा नजिकैका भवनहरू खाली गर्न आदेश दिए । भत्किनुको कारण पत्ता लगाउन इन्जिनियरिङ समिति गठन गरिएको छ ।

साथै सामाजिक ऐक्यबद्धता मन्त्रालयले पीडितलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउनको लागि सूची तयार गरेको छ ।

काठमाडौं । जारी काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज लिग चरणका दुई खेल हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने पहिलो खेलमा भारतको क्यालिकटले इरानको यु-१८ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

इरानको यु-१८ टोली लगातार तेस्रो जित निकाल्ने कोसिसमा छ भने क्यालिकट पहिलो खेलमा नेपालको टिपटप हेल्प नेपालसँग पराजित भएको थियो। दोस्रो खेलमा भने माल्दिभ्सको क्लब एचडिसीलाई ३-० को सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको थियो।

इरानले २ खेल बाट ४ अंक जोडेको छ । क्यालिकटसँग ३ अंक छ। यो खेल आज दिउँसो २:३० बजे सुरु हुनेछ।

आज हुने दोस्रो खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीसँग खेल्नेछ। अपराजित रहेको घरेलु टोली हेल्प नेपाल लगायार तेस्रो जितको लक्ष्यमा रहनेछ। खेल साँझ ५ बजे हुनेछ।

हेल्प नेपालले पहिलो खेलमा भारतको क्यालिकटलाई ३-२ ले हराएको थियो। दोस्रो खेलमा गण्डकीलाई पराजित गरेको थियो। हेल्प‌ नेपाल‌५ अंकका साथ शीर्ष स्थानमा छ।

यता एचडिसीले भने गण्डकीलाई ३-२ ले पराजित गर्दै जितबाट सुरुवात गरेपनि यसपछि लगातार दुई खेलमा हार बेहोरिसकेको छ। इरान यु १८ र क्यालिकटसँग लगातार दुई खेलमा एचडिसीले हार भोगेको छ।

https://www.khabarpetika.com/2024/12/11/9237/

काठमाडौं । आजको ‘हाइपर–कनेक्टेड’ संसारमा हरेक ‘स्वाइप’ र ‘क्लिक’को महत्त्व छ । यी ‘स्वाइप’ र ‘क्लिक’मा एउटा नयाँ परिदृश्य देखा परेको छ– ‘रेज बाइटिङ ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताले जानाजान मान्छेको भावनालाई उत्तेजित पार्न र प्रयोगकर्तालाई आक्रोशित बनाउन प्रयोग गरिने जुक्ति हो, ‘रेज बाइटिङ ।’ 

उदयीमान अभिनेत्री जेउशा क्रिस्टोफरका लागि ‘रेज बाइटिङ’ टाउको दुखाइ बनेको छ । उनी बारम्बार यसको सिकार भएकी छन् । उनी भन्छिन्, “कन्टेन्ट क्रियटरहरूले निरन्तर मेरो बडी सेमिङ गरिरहन्छन् । इन्टरनेट प्रयोगकर्ताहरू हामी अभिनेता पनि मान्छे हौँ भन्ने बिर्सन्छन् ।”

इन्स्टाग्राम ‘इन्फ्ल्युएन्सर’ ताजमोलाका अुनसार, मान्छेहरू अरूको ध्यान आफूतिर तान्न ‘रेज बाइटिङ’को सहारा लिन्छन् । उनी भन्छन, “हामी सबै कुनै न कुनै रूपमा मान्छेहरूको ध्यान आफूतिर तान्न खोजिरहेका छौँ । रेज बाइटिङ त्यसैको एक हिस्सा हो ।”

‘कन्टेन्ट क्रियटर’ काव्य एसका अनुसार, मान्छेहरू ध्यान आकृष्ट गर्न मात्र नभई सामाजिक सञ्जालमा धेरै भ्युज, कमेन्ट र सेयरमार्फत पैसा कमाउन पनि ‘रेज बाइटिङ’को जुक्ति लगाउँछन् ।

अनलाइन व्यवहारमा विशेषज्ञ मनोवैज्ञानिक डा. श्रद्धा मोहितेका अनुसार, मान्छेहरू स्वाभाविकरूपमा क्रोधप्रति छिटो आर्कषित हुन्छन् । आक्रोशपूर्ण विषयले मान्छेको ध्यान छिटो तान्छ । उनी भन्छिन्, “निरन्तर यस्ता रेज बाइटिङ सामग्री हेर्ने र त्यस्ता गतिविधिमा सामेल हुने मान्छेहरूलाई भावनात्मक थकानको समस्या हुन्छ ।”

सामाजिक सञ्जालको ‘एल्गोरिदम’ले पनि ‘रेज बाइटिङ’लाई बढवा दिन्छ । ‘रेज बाइटिङ’ भएका सामग्रीमा प्रयोगकर्ता धेरै झुम्मिन्छन् (इन्गेजमेन्ट) । प्रयोगकर्ता धेरै झुम्मिएपछि सामाजिक सञ्जालको ‘एल्गोरिदिम’ले यस्ता सामग्री धेरैभन्दा धेरै प्रयोगकर्तासम्म पुर्‍याउँछ ।

सामाजिक सञ्जालमा ‘कन्टेन्ट क्रियट’ गरेर गत वर्ष एक लाख ५० हजार अमेरिकी डलर आर्जन गरेकी विन्टा जेसु पनि आफ्ना ‘कन्टेन्ट’मा मान्छेहरूले घृणा फैलाउने कमेन्ट गर्ने गरेको सुनाउँछिन् ।

उनका भिडियोले लाखौँ भ्युज पाउँछन् । ती भ्युज ल्याउने एउटा प्रमुख कारण हो, ‘रेज बाइटिङ’ । २४ वर्षीया विन्टा भन्छिन्, “मेरा हरेक भिडियोले मिलियन भ्युज पाउँछन्, किनभने त्यहाँ घृणात्मक कमेन्ट हुन्छन् ।” 

अनलाइनमा बढ्दै गएको ‘रेज बाइटिङ’को एक हिस्सा हुन्, विन्टा । विन्टाकै उदाहरणबाट थाहा हुन्छ, ‘रेज बाइटिङ’ले ‘इन्गेजमेन्ट’सँगै ‘क्रियटर’ले पाउने पैसा पनि बढाउँछ ।

‘रेज बाइटिङ’ कमेन्टसँगसँगै ‘क्रियटर’हरले पनि प्रयोग गर्छन् । ‘कन्टेन्ट क्रियटर’हरूले मान्छेलाई आक्रोशित बनाउने गरी भिडियो, मिम वा पोस्टहरू गर्ने गर्छन् ।

‘रेज बाइटिङ’ इन्टरनेटको ‘क्लिक बेट’भन्दा फरक शैली हो । ‘क्लिक बेट’मा हेडलाइन वा थम्बनलले पाठक तथा स्रोतालाई आर्कषित गर्न प्रयोग गरिन्छ । तर, ‘रेज बाइटिङ’ भने जानाजान दर्शक/पाठकलाई म्यानिपुलेट गर्न प्रयोग गरिन्छ ।

मार्केटिङ पोडकास्टर आन्द्रेया जोन्स भन्छन्, “सोसियल मिडियामा हामीले बिरालो देख्यौँ भने हामी हो कति राम्रो बिरालो भन्छौँ र स्क्रोल डाउन गर्छौं । तर, कसैले केही अनियमित गरिरहेको देख्यौँ भने हामी रोकिएर कमेन्ट गर्न थाल्छौँ । र, त्यस्तो कमेन्ट अल्गोरिदमले धेरै इगेजमेन्टका रूपमा देखाउँछ ।”

सामाजिक सञ्जालको कुनै सामग्रीमा प्रयोगकर्ताको ‘इन्गेजमेन्ट’ बढेपछि ‘कन्टेन्ट क्रियटर’ले धेरे पैसा कमाउँछन् । यही पैसाका लोभमा धेरैजसो ‘कन्टेन्ट क्रियटर’हरू ‘रेज बाइटिङ’ सामग्री उत्पादन गर्छन् ।

पछिल्लो समय यस्ता सामग्रीहरू राजीतिक विषयमा बढी आउन थालेका छन् । यस्ता सामग्रीले चुनावमा सबैभन्दा धेरै प्रभाव पार्छन् । यस्ता साम‍ग्रीले मान्छेहरूलाई अनलाइनमा मात्र होइन, अफलाइनमा पनि असर पार्छ ।

“सामाजिक सञ्जालको अल्गोरिदमले आक्रोशलाई सामान्यीकरण गरिरहेको छ । मान्छेहरू यसलाई सामान्यरूपमा लिन थालेका छन्,” सामाजिक मनोवैज्ञानिक डा. विलियम ब्राडी भनछन् ।

मिसिगन विश्वविद्यालयमा सञ्चार र मिडिया विभागकी असिस्टेन्ट प्रोफेसर एरियल हेजल भन्छिन्, “यस्ता सामग्रीले मान्छेहरूलाई समाचारबाट विमुख गराउँछ । पछिल्लो समय संसारभर समाचारबाट विमुख हुने प्रचलन बढिरहेको छ ।”

मेटाका कार्यकारी एडम मोसेरीले अक्टोबर २०२४ मा आक्रोशपूर्ण सामग्रीमा बढी रहेको ‘इन्गेजमेन्ट’लाई नियन्त्रण गर्न काम गरिरहेको बताएका थिए ।

बीबीसी र द साउथ पोस्टबाट ।

काठमाडौं।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैंगिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य र समन्वयबाट मात्रै सम्भव हुने विचार व्यक्त गर्नुभएको छ । साथै यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोग प्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । 

हामी सबैको प्रतिबद्धता: लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने राष्ट्रिय नारा र लैंगिक विभेदमा शून्य सहनशीलता, सुरक्षित समाजका लागि ऐक्यबद्धता भन्ने नेपाल प्रहरीको नारा सहित नेपाल प्रहरी प्रधान कार्यालयमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयबाट जारी भएको ‘नेपाल प्रहरी लैंगिक नीति २०८१’ को सार्वजनिकिकरण गर्नुभयो । साथै उहाँले लैंगिक हिंसा न्यूनीकरणमा नेपाल प्रहरीबाट भएका प्रयासहरू बारे तयार पारिएको वृत्तचित्र समेत शुभारम्भ गर्नुभयो । 

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरी संगठनले आफ्नो स्थापनाकाल देखिनै लैंगिक हिंसाजन्य घटना नियन्त्रण तथा न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर संवेदनशीलताका साथ सम्बोधन गर्दै आइरहेको बताउनुभयो । लैंगिक हिंसाबाट पीडित र प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्दार, पुन:स्थापनका साथै लैंगिक हिंसा न्यूनीकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरी प्रधान कार्यालयदेखि इलाका स्तर सम्मका कार्यालयहरूमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना भई सेवा प्रवाह समेत हुँदै आएको उहाँले उल्लेख गर्नुभयो ।   

प्रहरी महानिरीक्षक कुँवरले प्रविधिको विकास र आधुनिक समाजमा देखा परेका लैंगिक हिंसाका स्वरूप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले थप चुनौती थपेको उल्लेख गर्दै यस्ता किसिमका चुनौतीहरूलाई प्रविधिमैत्री तवरबाट समाधान गरी पीडितलाई न्याय प्रदान गर्नका लागि नेपाल प्रहरीका प्रयासहरू केन्द्रीत रहेको बताउनुभयो । लैंगिक हिंसाको न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय, संघसंस्थाहरू र सरोकारवाला संस्थाहरूको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले लैंगिक हिंसा विरूद्ध हुने जुनसुकै अपराधहरूमा शून्य सहनशीलताको नीति अवलम्बन गरी अनुसन्धान लगायतका सम्पूर्ण प्रकृयाहरू पूरा गर्ने उद्देश्यले आज जारी भएको लैंगिक नीति समयसापेक्ष, परिष्कृत र परिमार्जित स्वरूपमा रहेको जानकारी दिनुभयो । यस नीतिबाट नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई महिला बालबालिका तथा जेष्ठ नागरिक विरूद्ध हुने कुनै पनि प्रकारका हिंसा, विभेदप्रति अत्यन्तै संवेदनशील भई कार्यसम्पादन गर्न र सेवा प्रवाहमा उच्च मनोबलका साथ परिचालित हुन प्रेरित गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । साथै आगामी दिनमा लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । 

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्मा, गृहमन्त्रालयका उपसचिव सुरेश राज जोशी, राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव अन्जु ढुंगाना र स्वास्थ्य सेवा विभाग, नर्सिङ सामाजिक सुरक्षा महाशाखाका वरिष्ठ कम्युनिटि नर्सिङ प्रशासन अधिकृत कविता अर्यालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव उपरीक्षक रूपा थापाले लैंगिक हिंसाको वर्तमान अवस्था सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।