
अस्ट्रेलियाको मेलबर्न स्थित होटल म्यार्करीमा जैविक फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा प्रविधिहरूको प्रवर्द्धन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। न्यूजील्याण्डबाट आएका प्रोवार्को लिमिटेडका निर्देशक जेसन डेल फ्रोस्ट र चिरायु एग्रो एन्ड लाइभस्टक प्रोडक्शनका प्रतिनिधि डिन घिसिङले द्विपक्षीय हितमा सम्झौता गरेका छन्। सम्झौताले प्रविधि स्थानान्तरणको उद्देश्य राखेको छ।जसअन्तर्गत नेपालमा जैविक फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा प्रविधिहरूको प्रवर्द्धन गर्न प्रोवार्को लिमिटेड, न्यूजील्याण्डबाट विशेषज्ञता र प्रविधि स्थानान्तरण गरिने जनाएको छ।

नेपालमा फार्म स्तरमा जैविक मल उत्पादन प्रणाली स्थापना गर्ने योजना रहेको डिन घिसिङले बताए ।
पर्यावरणीय सुधारका माध्यमबाट नेपालमा हरितगृह ग्यास उत्सर्जन घटाउन र जैविक फोहोरको अधिकतम प्रयोग गर्न दिगो विकासका लागि काम गर्ने योजना पनि रहेको र यसले आधुनिक कृषि र लाइभस्टक प्रणालीलाई सुदृढ गर्ने उल्लेख गरिने उनले जानकारी दिए।

न्यूजील्याण्ड र नेपाल बीचको घनिष्ठता सम्बन्धलाई जोड्दै प्रोवार्को लिमिटेडका निर्देशक जेसन डेल फ्रोस्टले नेपालमा यस सम्झौतासँग आफ्नो प्राथमिकता रहेको उल्लेख गरे। साथै, न्यूजील्याण्डमा सफलतापूर्वक लागू गरिएका जैविक फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा प्रविधिहरू नेपालमा पनि व्यावहारिक हुने विश्वास व्यक्त गरे।

सोही अवसरमा जेसन डेल फ्रोस्टले आगामी २०२५ को अप्रिल महिनामा नेपालमा आधुनिक कृषि प्रविधिहरू र विशेषज्ञहरूका साथ उच्चस्तरीय बैठक, फिल्ड भ्रमण र कार्यशालामा सहभागी हुने बताउनुभयो।न्यूजील्याण्डबाट माटो विशेषज्ञ माल्कोम डेविट्सन र व्यवसायी राम कार्की समेत सो कार्यक्रममा उपस्थित थिए।

काठमाडौं । लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ ।
उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।
‘‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले उत्पादन रोकिएको होइन”, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने, ‘‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्यौलता बढ्ेको हो ।”
“अहिले उत्पादन ठप्प छ, तर नियमित खर्च छ जस्ताको त्यस्तै छ”, हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख आचार्यले भने, “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब भत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ ।” जसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइ नै हाल्यो, उनले भने ।
उनका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चापदार्थको समस्या छ । ‘‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० ट्रन कच्चापदार्थ कोइलाको आवश्यक पर्छ”, उनले भने, ‘‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइ नसकेकाले तत्काल कोइला आउने सम्भावना छैन ।” यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीहरुले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन”, उनले भने ।
विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ ।
‘‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रुपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौँ”, उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने, ‘‘त्यही भएर हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौँ, त्यसमा मेकेनिकहरु लगिरहनुभएको छ, धेरै काम सकिसकेको छ र थोरै बाँकी छ, छिट्टै मर्मत काम सक्छौँ ।” त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ ।
एकपछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा हिमपात गएराति सामान्य वर्षासँगै हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए ।
३ हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए ।
यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।
रामेछाप । नेकपा माओवादी केन्द्र मन्थली नगर कमिटिको माघ २१ गते सम्पन्न भएको दोश्रो अधिवेशनबाट निर्बाचित नगर सदस्यहरुको पहिले बैठकले भक्तवहादुर बलम्पाकी (जाग्रित) को अध्यक्षतामा ७ सदस्यीय पदाधिकारीको निर्बिरोध चयन गरेको छ ।
शनिबार मन्थलीमा भएको पहिलो बैठकले कमिटिको उपाध्यक्षमा नारायण दाश श्रेष्ठ, गंगालाल गोले र राजेन्द्रवहादुर कार्की, सचिवमा राम बहादुर तामाङ र कोषाध्यक्षमा हिरा गिरी लाई सर्बसम्मतले चयन गरेको छ ।
त्यस्तै कार्यलय सदस्यमा कुंगलाल तामाङ , जित बहादुर घिसिङ र युवराज सुबेदी रहेका छन् भने सह-इन्चार्जको जिम्मा भने दिपकराज प्रसाई र दिलिपराज गिरीले पाएका छन् ।
गत माघ २१ गते भएको नगर अधिवेशनले अन्य सदस्यहरु निर्बिरोध चयन गरीसकेको थियो । अधिवेशन पूर्व गृहराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्र रामेछाप जिल्ला ईन्चार्ज श्यामकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।





