
काठमाडौं । जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठनका प्रतिनिधिहरूले आज सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) का अध्यक्ष महेश थापासँग भेटघाट तथा छलफल गरेका छन् ।
काठमाडौंको हाँडीगाउँस्थित आयोगको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संगठनका केन्द्रीय उपाध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा महासचिव भक्तराज थापा, सचिव शंकर बोहरा, अपाङ्ग योद्धा चम्पा कार्की लगायतको उपस्थिति रहेको थियो ।
भेटघाटका क्रममा संगठनले सशस्त्र द्वन्द्वको समयमा घाइते भएका योद्धाहरूको वर्तमान अवस्था, उनीहरूले भोगेका पीडा, न्यायको अभाव, पुनःस्थापना र सम्मानका विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आयोगको ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी, संक्रमणकालीन न्याय प्रक्रिया लम्बिँदै जानु र अहिलेसम्म ठोस निष्कर्षमा नपुगेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उक्त प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्याउन आयोगले स्पष्ट रणनीति तय गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
अध्यक्ष महेश थापाले आयोग पीडितप्रति संवेदनशील रहेको भन्दै संक्रमणकालीन न्याय सम्पादनमा निष्पक्ष र प्रभावकारी पहल भइरहेको जानकारी गराएका थिए। उनले पीडितको आवाज र सुझावलाई प्राथमिकताका साथ समेटिने र प्रक्रिया पारदर्शी बनाइने आश्वासन पनि दिएका थिए ।






सिन्धुपाल्चोक । लगातारको वर्षासँगै आएको भीषण पहिरोका कारण भोटेकोसी गाउँपालिका–२ अन्तर्गत अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। बुधबार बिहान खसेको ठूलो पहिरोले तातोपानी नाका जोड्ने मुख्य सडक मार्ग ठप्प बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
बाह्रबिसे–कोदारी सडकखण्ड अन्तर्गत पहिरोले सडक माथिबाट बगाएको छ भने तलतर्फ भोटेकोशी नदीको कटानले सडक भासिएको छ। यसले गर्दा मालबाहक कन्टेनर, यात्रुबाहक बस, साना ठूला सवारीसाधन तथा एम्बुलेन्सहरु समेत रोकिएका छन्। विशेष गरी बिरामी र यात्रुहरूलाई ठूलो समस्या परेको छ।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठका अनुसार पहिरोले अवरुद्ध सडक खुलाउन डोजरसहितको टोली खटाइएको छ। भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नृर्पु शेर्पाले सडक खुलाउने कार्यमा आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको जानकारी दिनुभयो।
सडक अवरुद्ध हुँदा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीको आवागमन ठप्प बनेको छ। प्रशासनले जनतालाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।





