२०८३ मंसिर ९
२०८३ मंसिर ९

काठमाडौँ — नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन आगामी पुस अन्तिम सातामा गर्ने निर्णय गरेको छ। सोमबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

बैठकले नयाँ क्रियाशील सदस्य वितरण प्रक्रिया मंसिर २० गतेसम्म सीमित गर्ने निर्णय गरेको छ। मंसिर २४ गतेभित्र वडासम्म फाराम वितरण गर्नुपर्ने र पुस ८ गतेभित्र नयाँ क्रियाशील सदस्यता सम्बन्धी सम्पूर्ण काम सकाउनु पर्ने बैठकले निर्धारण गरेको महतले बताए।

उजुरी आह्वान तथा छानबिन गरी नयाँसहितको अन्तिम सदस्य सूची पुस १४ गतेभित्र सभापतिलाई बुझाइनेछ। नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता, नयाँ पुस्ताको सहभागिता तथा अन्य पार्टीबाट भएका प्रवेशलाई प्राथमिकता दिने निर्णय बैठकले गरेको छ।

त्यस्तै विभिन्न तहका अधिवेशन मिति पनि तोकिएको छ। वडा, गाउँ तथा नगर अधिवेशन पुस १६ र १७ गते; प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते; एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा पुस २२ गते र एकभन्दा बढी क्षेत्रमा पुस २२ कै दिन अधिवेशन हुने महतले बताए। प्रदेश अधिवेशन भने पुस २३ र २४ गते गरिनेछ।

जेरुसेलम । भ्रष्टाचारको अभियोगको सामना गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो समयदेखि चलिरहेको र देशलाई विभाजित गरिरहेको मुद्दाका कारण आफूले राष्ट्रपति समक्ष माफीको औपचारिक अनुरोध पेस गरेको घोषणा गर्नु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनामा इजरायली राष्ट्रपति आइज्याक हर्जोगलाई पत्र पठाई नेतान्याहुलाई क्षमा गर्न आग्रह गरिसक्नु भएको थियो । नेतान्याहुले आफूले कुनै पनि गैरकानूनी कार्य नगरेको दाबी दोहोर्‍याउँदै छ वर्षदेखि मुद्दा निरन्तर रहँदा देशभित्र गम्भीर विभाजन बढेको बताउनुभयो ।

प्रधानमन्त्रीका अनुसार उहाँ निर्दोष प्रमाणित नभएसम्म मुद्दा लडे पनि ठीक हुने थियो, तर राष्ट्रिय सुरक्षात्मक र राजनीतिक परिस्थितिले मुद्दाको निरन्तरताले राष्ट्रलाई भित्रैबाट विभाजित गरिरहेको देखाएपछि माफीको अनुरोध गर्नु अपरिहार्य भएको उहाँको भनाइ छ ।

समर्थकले मुद्दालाई राजनीतिकरूपमा प्रेरित आरोप भन्दै अस्वीकार गर्दै आए पनि नेतान्याहुमाथि अर्बपतिबाट राजनीतिक फाइदाका सन्दर्भमा सिगार, गहना र श्याम्पेनसहित करिब दुई लाख ६० हजार डलर मूल्यका सामान लिएको, साथै दुई ठुला मिडियाबाट अनुकूल कभरेजका लागि वार्ता गरेको आरोप छ ।

उहाँले हप्तामा तीन पटक अदालतमा उपस्थित हुनुपर्ने मागलाई ‘असम्भव माग’ भन्दै मुद्दा जित्ने आफ्नो दृढता कायम रहे पनि यसको तत्काल अन्त्यले देशमा आवश्यक राष्ट्रिय मेलमिलापलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो । यही बयानसँगै राष्ट्रपति हर्जोगलाई पेश गरिएको १११ पृष्ठ लामो पत्रमा समेत दोषी स्वीकार गरिएको छैन ।

राष्ट्रपति कार्यालयले यो असाधारण र गहन प्रभाव पार्ने अनुरोध भएको बताउँदै सबै पक्षको राय लिँदै निर्णय हुने जानकारी दिएको छ । सेप्टेम्बरमै हर्जोगले मुद्दाले ‘इजरायली समाजमा भारी बोझ’ पारेको सङ्केत गर्नुभएको थियो । ७६ वर्षीय नेतान्याहु इजरायलको सबैभन्दा दीर्घकालीन प्रधानमन्त्री हुनुहुन्छ ।

वर्तमान कार्यकालमा उहाँले अघि सारेका न्यायिक सुधारका प्रस्तावलाई आलोचकले न्यायालयलाई कमजोर पार्ने योजना भनेका थिए, जसले देशव्यापी विरोध प्रदर्शन जन्माएको थियो । हाल उहाँले सन् २०२६ को अन्त्यअघि हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । कानुनी विज्ञले नेतान्याहुको अनुरोधलाई ट्रम्पको पत्रपछि आएको सुनियोजित कदमका रूपमा व्याख्या गरेका छन् ।

इजरायली कानुनअनुसार माफी केवल दोषी ठहर भइसकेका व्यक्तिलाई मात्र दिन सकिन्छ । यदि माफी अस्वीकार भएमा, अभियोक्तासँग सम्झौता गर्ने विकल्प नै प्रधान हुने अनुमान विज्ञले गरेका छन् । सोही विकल्प जसलाई नेतान्याहुले अहिलेसम्म नकार्दै आउनुभएको छ ।

विपक्षी नेता यायर लापिदले नेतान्याहुले अपराध स्वीकार, पश्चात्ताप र तत्काल राजनीतिक जीवनबाट फिर्ता हुनु माफीको आधार हुनुपर्ने बताउनुभएको छ । अर्का विपक्षी नेता यायर गोलानले ‘दोषीले मात्र माफी माग्छन्’ भन्दै कडा प्रतिक्रिया जनाउनुभयो । यता सरकारका शीर्ष मन्त्रीले भने नेतान्याहुको अनुरोधलाई समर्थन गरेका छन् ।

रक्षामन्त्री इजरायल काट्जले माफीले दशकदेखि बढ्दै आएको सामाजिक दरार मेट्न सक्ने दाबी गर्नुभयो । अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रधानमन्त्रीले ‘राजनीतिक उद्देश्यले बनाइएका मुद्दाले वर्षौदेखि यातना भोगिरहेको’ टिप्पणी गर्नुभयो ।

नेतान्याहु भ्रष्टाचार मुद्दा सामना गर्ने पहिलो कार्यरत इजरायली प्रधानमन्त्री हुनुहुन्छ । यसअघि पूर्व प्रधानमन्त्री एहुद ओल्मर्टले सन् २००९ मा राजीनामा दिएर धोखाधडी मुद्दामा जेल सजाय पाइसक्नु भएको थियो । यता तेल अभिवमा हर्जोगको निजी आवासअगाडि प्रदर्शनकारीले माफी नदिन आग्रह गर्दै प्रदर्शन गरेका छन् ।

कार्यकर्ता सिकमा ब्रेसलरले देशको लोकतान्त्रिक भविष्य जोखिममा परेको बताउँदै नेतान्याहुले न्यायिक प्रणाली कमजोर पार्ने प्रयासलाई रोक्नुपर्ने दाबी गर्नुभयो । प्रदर्शनकारी मोशे राडम्यान र अमी ड्रोरले पनि माफीले कानुनको शासन कमजोर पार्न सक्ने तथा इजरायली लोकतन्त्र नै समाप्त हुन सक्ने चेतावनी दिनुभएको छ । रासस/एएफपी

काठमाडौँ — नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन र नगदसहित एक युवा पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका–१३ बाफल क्षेत्रमा लागूऔषध बिक्री तथा ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा सिन्धुली घर भई नागार्जुन बस्ने युवराज लाखेलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार लाखेको साथबाट ५.८२ ग्राम खैरो हिरोइन र नगद ५४ हजार ६०० रुपैयाँ बरामद गरिएको छ। साथै एक थान मोबाइल फोन पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका लाखेलाई लागूऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

काठमाडौं — नेपाल पौडी संघले आयोजना गर्दै आएको एनएसए कप पौडी प्रतियोगिताको १३ औं संस्करण आगामी मंसिर २० र २१ गते ललितपुरस्थित सातदोबाटो हिटिङ पौडी पोखरीमा हुने भएको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमार्फत प्रतियोगिताका सबै तयारी पूरा भएको जानकारी दिएको छ।

यस वर्षको प्रतियोगितामा ३१ विभिन्न स्पर्धा समावेश गरिएको छ। कुल १८२ खेलाडीमध्ये १०५ पुरुष र ७७ महिला सहभागी हुनेछन्। देशभरका विद्यालय, स्वीमिङ क्लब तथा तीन विभागीय टिमले प्रतिस्पर्धामा सहभागिता जनाउनेछन्।

नेपालमा पौडी खेलको स्तर अभिवृद्धिमा योगदान दिँदै आएको एनएसए कपले खेलाडीहरूलाई क्षमताप्रदर्शन तथा प्रतिस्पर्धात्मक भावना बढाउने अवसर प्रदान गर्दै आएको आयोजकले उल्लेख गरेको छ।

यो वर्षको प्रतियोगिता विद्युतिय गाडी कम्पनी विवाइडी (BYD) को प्रमुख प्रायोजनमा सञ्चालन हुनेछ। काष्ठमण्डप टिभी गोल्ड तथा नेपाल पौडी संघको फेसबुक पेजमार्फत कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरिनेछ।

प्रतियोगिताका संयोजक उमेश प्रधानका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको र प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनेमा संघ विश्वस्त रहेको छ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।